फ्रान्सेली प्रतीकवादको उत्तराधिकारीको रूपमा विम्ववादको उदय बीसऔँ शताब्दीको शुरूवातमा अर्थात् १९०९ अप्रिलमा भएको हो । वास्तवमा भन्ने हो भने विम्ववादीले पुराना विचारमा क्रान्ति नै ल्याए – कविताको प्रकृति र कविताको कामको विषयमा ।
सन् १९०९ मा एज्रा पाउण्ड र टी.ई. ह्युल्मले नेतृत्व गरेको एउटा कवि समूहमा परिचित भए । तिनीहरू नियमित रुपले विहीवार सोहो रेष्टुँरामा भेट्दथे र कविताको बारेमा छलफल बहस गर्दथे अनि साग र रक्सी खान्थे ।
टी.इ. ह्लेयुल्मले भने, “कविता अहिले रोमान्सेली विकटता, साधारण प्रेरणामा हराइ सक्यो । अतः म ठोस, कडा कविताको निर्माण गर्न चाहन्छु । कविताले एउटा नयाँ मान्यता खोजेको छ। मानिस त एउटा सीमित प्राणी हो । गहिराइको लागि कसैले गहिरो इनार नै खन्न जरुरी छैन । यसलाई त एउटा कुवाले नै काम दिन सक्छ ।”
उनको यही भनाइ र सोहो रेस्टुराँमा नियमित सहभागी हुनेहरूले विम्ववादी आन्दोलन यसै पृष्ठभूमिमा शुरू गरेका हुन् ।
टि.ई. ह्युल्मको यही प्रतिरोमान्सेली विचारहरूलाई बेलायतमा बहस गरियो, छलफल गरियो, आधुनिक कवितामा प्रयोगधर्मितालाई जोड दिइयो । परम्पराबाट स्वतन्त्र हुनुपर्ने बताइयो र मूल रूपमा विम्वको सही प्रयोगको लागि ध्यान दिइयो । यी कुराहरूले एज्रा पाउण्डलाई जोडदार प्रभाव पा-यो र उनले सर्वप्रथम विम्ववादी शब्द प्रयोग गरे उनका समकालीन रिचार्ड एलिङ्गटन र एच.डी.का पूर्ववर्ति रचनाहरूका लागि ।
यसरी शुरु भएको विम्ववादी आन्दोलनको नेता एज्रा पाउण्ड हुन पुगे । विम्ववादका संस्थापकहरू एमी लवेल, रिचार्ड एलिङ्गटन आदि हुन् । यिनीहरूले अलङ्कारलाई अस्वीकार गरे कवितामा । कवितामा शाब्दिक मितब्ययितालाई उक्साए। साधारण भाषा रुचाए, पूर्ण स्पष्टता तथा विषयको रोजाइमा पूर्ण स्वतन्त्रता हुनुपर्ने मान्यता कायम गरे ।
विम्ववादीहरुले फ्रान्सेली प्रतीकवादीहरूलाई पछाडि फर्केर हेरे । चिनियाँ कविता हेरे, तथा जापानी हाइकुको एक्लो र धारिलो विम्व विकास गरे । सन् १९०० भन्दा अलिअघि एज्रा पाउण्डले एउटा कविता लेखे जुन पेरिसको मेट्रो स्टेशनको सुन्दर अनुहारहरूको प्रतिकृया स्वरूप जन्मेको थियो त्यो । त्यसलाई उनले पछि काटछाँट गरेर ३० हरफको विम्बवादी कविता बनाए।
विम्ववादलाई विकास गर्न हेरिट मुनरोको “कविता” (अमेरिका) र ‘हगोइस्ट’ (बेलायत) आफ्ना पत्रिका तथा अन्य साना पत्रिकाहरु मार्फत विचारहरू प्रवाहित गरेर एज्रा पाउण्ड सफल भए। सन् १९१४ मा उनले ‘लेस इमाजिस्टेस’ नामक सङ्कलन प्रकाशित गरे जसमा उनी लगायत रिचार्ड एलिङ्गटन, एच.डी., विलियम कार्लोस विलियम्स, एमी लवेल आदिका रचनाहरू सङ्कलित थिए। तर क्रमशः पाउण्ड यो विम्ववादी आन्दोलनबाट उदासिन हुँदै गए र एमी लवेल नयाँ नेता बनिन्-विम्ववादी आन्दोलनको । उनले आफ्नो नेतृत्वमा ३ वटा सङ्कलनहरू बजारमा ल्याइन् र अन्तत्वगत्वा उनी पनि यसबाट टाढा भइन्।
एज्रा पाउण्डले यो आन्दोलन शुरू हुनु पूर्वसन्ध्यामा विलियम कार्लोस् वोलियम्सलाई लेखेको पत्रमा ४ वटा यस्ता बुँदाहरू पनि उल्लेख गरेका थिए जुन पछि विम्ववादको पनि मूलमन्त्रका रुपमा समाहित भएको थियो –
१, जस्तो देखिन्छ त्यस्तै लिपिबध्द गर्ने ।
२, सौन्दर्य
३, विषयगत स्वतन्त्रता
४, संक्षिप्तता
यथार्थमा भन्ने हो भने विम्ववाद आधुनिक कलाको परिवर्तनको सूचक सावित भयो र परिवर्तनको शक्तिको सानो अंश पनि । टी.एस. इलियट र कार्ल सैण्डवर्गजस्ता कविमा परेको प्रभाव बढी प्रभावकारी रह्यो ।
विम्ववादी कविहरूले यस्तो कविता लेखे जसका ठोस स्पष्टता र कडा संरचना थियो जसबाट दृष्य विम्व बन्थ्यो र पूर्ण काव्यात्मक विवरण । यो फ्रान्सेली प्रतीकवादीहरुको उत्तराधिकारीको रुपमा आएको थियो । प्रतीकवादीहरु संगीतसँग पनि सम्मिलित थिए भने विम्ववादीहरु मुर्तिकलासंग पनि सम्मिलित हुन पुगे ।
विम्ववादी कविता लेख्ने अरु कविहरू जोन गुड फ्लेचर, हेरिट मुनरो हुन् । अन्य कविहरु कर्नार्ड आइकेन, मैरिन मूर, वालेस स्टेभेन्स, डी. एच. लरेन्स र टि.एस. इलियट आफ्ना कवितामा विम्ववादबाट प्रभावित देखिन्छन् ।
विम्ववादी कविहरु मध्ये एक एफ.एस.फ्लिष्टले “कविता” को मार्च १९१३ मा विम्ववादको ३ वटा नियम निर्धारण गरे
१, सिधै प्रयोग गर्ने, वस्तुपरक वा विषयगत जे विषय भए पनि ।
२, प्रस्तुतिलाई योगदान नगर्ने एक शब्द पनि प्रयोग नगर्ने ।
३, संगीतको लयमा कविता रचना गर्ने
विम्ववादी आन्दोलनको क्रममा एज्रा पाउण्डको माध्यमले रिचार्ड एलिङ्टनको परिचय सुश्री एच.डी. सँग भयो । र उनीहरूले सन् १९१३ मा विवाह गरे । रिचार्ड एलिङ्टनले विम्ववादी आन्दोलनको क्रमा “ईगोइष्ट”पत्रिकाका केही अङ्क सम्पादन पनि गरे र “लिल्याक्स” एवम् “प्याटर्नस” उनका त्यस समयका महत्वपूर्ण कविताहरुका रुपमा लिइन्छ । र पछि एच.डी.सँग उनको पारपाचुके भयो । एच.डी. का उत्तम कविताहरु भने विम्ववादी आन्दोलनका उत्तरवर्ती सङ्कलनमा मात्र आए ।
खासमा विम्ववादी आन्दोलनमा सुश्री एमी लवेलको प्रभाव बढ्दै गएपछि एज्रा पाउण्ड र एमी लवेल वीच मतभिन्नता आएको थियो र पाउण्ड यो आन्दोलनबाट अलग्गिएका थिए ।
भनिन्छ, एज्रा पाउण्ड विम्ववादी कविता सङ्कलनहरू सम्पादन गर्न चाहन्थे तर एमी लवेलले उनीसँग झगडा गरेर आफैँ सम्पादन गर्छु भनेर जिद्दी गरिन् र जितिन् । अनि आफैंले सम्पादन गरिन् । यही कारणले उनीहरुलाई पृथक बनायो ।
जव एमी लवेल यो आन्दोलनको नेता बनिन् तब एज्रा पाउण्ड समेत कतिले यसलाई विम्ववाद (Imagism) नभनी उनको नाउँमै एमिवाद ( Amysism)को उपनामले समेत सम्बोधन गर्न थाले ।
सुश्री लवेलको नयाँ नेतृत्वमा तीन अमेरिकी -एच.डी., जोन गुड फ्लेचर तथ स्वयम् एमी लवेल तथा तीनवेलायतीहरु डि.एच.लरेन्स, रिचार्ड एलिङ्टन र एफ.एस. फ्लिन्ट संलग्न थिए ।
यो नेतृत्वपछि विम्ववादको ६ नियम बनाइयो जुन ‘नर्थ अमेरिकन रिभ्यू’मा प्रकाशित भयो –
१, साधारण बोलिचालीको भाषा प्रयोग गर्ने ।
२, नवीन लयको सिर्जना गर्ने ।
३, विषयको रोजाइमापूर्ण स्वतन्त्रता प्रदान गर्ने ।
४, विम्वको निर्माण ।
५, त्यस्तो कविता लेख्ने जुन ठोस होस् र स्पष्ट ।
६, एकाग्रता कविताको मूल मन्त्र मान्ने ।
तर एमी लवलले “आधुनिक अमेरिकी कविताका प्रवृत्ती”(१९१७) भन्ने लेखमा विम्ववादको ७ विशेषता उल्लेख गरेकी छिन् जुन माथिका ६ बूँदाका ज्यादै नजिक थिए । सातौं बूँदामा भने “सबै अस्पष्ट अभिव्यक्ति नकार्ने” भन्ने थियो ।
विम्ववादी कविताको संरचनामा तीन तत्व हुने कुरा “कविताका स्वरुपहरु” (Forms of Poetry) मा यसरी उल्लेख गरिएकोछः
१, वस्तु
२, विम्व
३, विम्वको विकास
जस्तोः
हुस्सु आउँछ
सानो विरालोको खुट्टामा
यो शहरको खोरमाथि बसेर हेर्दछ र चूपचाप
पुच्छर हल्लाएर हिंड्दछ।
(कार्ल सैण्डवर्ग)
त्यस्तै एमी लवेलको एक विम्ववादी कविता “बूढो हिउँ”को नमूना यस्तो छः
पृथ्वी फलाम हो
हावा स्टिलका पाताहरु हुन्
हिउँ एउटी माग्ने स्वास्नीमानिस हो
सडकछेउ बसिरहेकी माग्न
दरिद्रगान दोह-याई दोह-याई
भन्छन् तिनी कुनैवेला सेतो र कुमारी थिइन्
तर कसले सम्झन्छ र यो
डरले छटपटाइरहेकी स्टिलको हरेक थप्पडमा
कराइरहेकी फलामे पृथ्वीमाथि छाप्रोमा ।
सन् १९१४ मा एज्रा पाउण्डले विम्ववादी रचनाहरुको सङ्कलन “द ईमाजस्टस्” सम्पादन गरेका थिए । उनीयसबाट अलग्गिएपछि एमी लवेलले सन् १९५, १९६ र १९१७ मा “केही विम्ववादीहरु” शिर्षकमा विम्ववादी कविताका ३ सङ्कलनहरु सम्पादन गरिन् । त्यस्तै “कविता” (Poetry)ले सन् १९१२ देखि तथा “ईगोइस्ट” (Egoist) ले सन् १९१४ देखि क्रमसः अमेरिका र वेलायतका एक दर्जन विम्ववादी कविहरुका कविताहरु प्रकाशन गरी यो आन्दोलनको औचित्यलाई प्रमाणित गरिदिए र विम्ववादको विकासमा महत्वपूर्ण योगदान दिए ।
विम्ववादका अनुयायीमध्ये एक विलियम कार्लोस विलियम्सलाई जब विम्ववादले कविताको संरचनामासीमितता राखेको अनुभव भयो, तब यिनी अधैर्य भए र भने, ” विम्ववादले आफ्नो संरचनागत आवश्यकतालई गुमाइसक्यो । विम्वले सबैथोकको लागि संरचनाको सेवा ग-यो जसले गर्दा कमजोर र झन् कमजोर हुँदै गयो…” भनेर यसबाट टाढा हुनथाले । तर विलियम्सको कविताको भाषालाई बनाउने कार्यमा भने विम्ववादको ठूलो भूमिका देखिन्छ । विम्ववादीआन्दोलनलाई यिनले आफूले जे जति सिकेका थिए त्यसकै माध्यमले सक्दो योगदान गरे ।
अल्फ्रेड क्रेम्वोर्गले आफ्नो पत्रिका “ग्लिव” का लागि पनि विम्ववादी रचनाहरुको माग गरे र पाउण्डले एलिङ्टन,एच.डी., फ्लिण्ट, हौफर, विलियम, कोन्नेल, लवेल, अपवार्ड, काउर्नोस र जेम्स ज्वायसका कविताहरु पठाइदिए । यसरी “ग्लिव” पत्रिकाले पनि विम्ववादी आन्दोलनलाई सहयोग पु-याएको र योगदान गरेको देखिन्छ ।
एज्रा पाउण्डले विम्बको निर्माण सामाग्री चिनियाँ र जापानी कविताहरूको पाण्डुलिपि अध्ययन गरेपछि लिइएको देखिन्छ । उनले ह्विस्लरबाट पनि केही अवश्य लिएका हुन् जसको प्रमाण “कविता” (Poetry- Oct.1912) मा प्रकाशित “ह्विस्लर, अमेरिकीका लागि” ले दिन्छ ।
विम्ववादी आन्दोलन -आन्दोलनकै रूपमा लगभग १९१८ सम्म चल्यो र यसको अवसान भयो । तर पनि विम्ववादको प्रासाङ्गिकताको अवसान भने भएन । यसले विसौं शताब्दीको विश्व कवितामा एउटा नयाँ दिशा दियो । सोचमा नयाँ ढङ्गको विकास ग-यो र कविताको स्वरूपमा, नविनतामा तथा संरचनामा मौलिकता थप्यो ।
रिचार्ड एलिङटनको सुझाव अनुसार विम्ववादीआन्दोलन समाप्त भइसकेपछि सन् १९३० मा “ईमाजिस्ट एन्थोलोजी”” (Imagist Amthology) प्रकाशित भयो र सन् १९६३ मा डब्ल्यू सी प्राट ले पनि “द ईमाजिस्ट पोयम”(The Imagist Poem) प्रकाशन गरे ।
प्रत्यक्ष रूपमा एज्रा पाउण्ड विम्ववादी आन्दोलनबाट टाढिए पनि उनका महत्वाकाँक्षी लामा कविताहरु “क्यान्टोस” मा विम्ववादको प्रभाव प्रष्ट रुपले देख्न सकिन्छ । उनका “क्यान्टोस” शिर्षकमा कविताको सिलसिला सन् १९३०, १९३४, १९३७ र १९४० मा गरी ४ वटा सङ्ग्रह प्रकाशित छन् । ती सङ्ग्रहहरुमा विम्ववादको स्पष्ट झल्को देखिन्छ । त्यस्तै टि.एस.ईलियटको “द वेष्टल्याण्ड” मा पनि विम्ववादको प्रभाव देख्न सकिन्छ ।
यसरी हेर्दा विसौं शताब्दीका युरोप अमेरिकाका कविताहरु विम्ववादको प्रभाववाट मुक्त नभएको सत्य देखा पर्छ । यसैवाट पनि विम्ववादको महत्व आँक्न सकिन्छ ।
०००
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।