बेलायतमा निम्न मध्यम वर्गीय (वर्किङ क्लास)का कला आकांक्षीहरुलाई दिन प्रतिदिन संघर्ष गर्न गाह्रो हुँदै जान थालेको र उनीहरुले ठाउँ पाउन छाडेको एउटा अध्ययनले देखाएको छ ।

सटन ट्रस्टले गरेको एउटा अध्ययनमा उच्च वर्गीय र मध्यम वर्गीय परिवारका सन्तानको ठूलो भिड कला क्षेत्रमा हुन थालेपछि निम्न मध्यम वर्गीय परिवार र मजदूर परिवारलाई कला क्षेत्रमा रोजेको काम पाउन हम्मे हुन थालेको देखिएको हो ।

पहिले यस्ता कामलाई उच्च वर्गले खासै रुचाउँदैनथे । उनीहरुको ध्यान अन्य काममा जाने गथ्र्यो तर पछिल्लो समय उच्च र उच्च मध्यम वर्गीयहरुका सन्तानहरुले चाँडै लोकप्रियता हात पर्ने र पैसा पनि कुस्त कमाई हुने देखेपछि कला क्षेत्रमा गोडा पसार्न थालेका हुन् ।

हुनेखानेहरु कला क्षेत्रमा छिरेपछि हुँदाखानेहरुको संघर्ष पहिलेको तुलनामा कठिन हुन थालेको सो अध्ययनले देखाएको छ ।

बेलायतमा ७ प्रतिशत शिक्षितहरुले मात्र निजी स्कूलमा अध्ययन गर्छन् । तीमध्ये ४३ प्रतिशत बेलायती प्रखयात शास्त्रीय संगीतत्र र ३५ प्रतिशत बाफ्टा नामांकनमा पर्ने फिल्म तथा टेलिभिजन अभिनेताहरु यस्तै निजी स्कूलमा अध्ययन गरेको पाइएको छ ।

यस्तै आधाभन्दा बढी शास्त्रीय संगीतज्ञहरुले विशेष किसिमको संगीत विश्वविद्यालयमा अध्ययन गर्ने गरेका छन् । चारमध्ये एक जनाले त रोयल एकाडेमी अफ म्युजिकमा अध्ययन गर्ने गरेका छन् ।

यस्ता प्रख्यात संस्थालाई विद्यार्थीका बाआमाले ठूलो रकम दानमा दिने गरेका छन् । दान दिएका परिवारका सन्तानले बढी महत्व पाउने हुनाले अक्सफोर्ड वा क्याम्ब्रिजजस्ता प्रख्यात संस्थाबाट मजदूर वर्गका सन्तानले विरलै अध्ययन गर्ने अवसर पाउने गर्छन् ।

प्रख्यात कलाकारहरुमध्ये ६४ प्रतिशतले विश्वविद्यालय अध्ययन गरेका छन् । २९ प्रतिशतले त विशेष किसिमका कला संस्थानहरुबाट अध्ययन गर्ने अवसर पाएका छन् । अक्सब्रिजजस्तो संस्थाबाट अध्ययन गर्नेहरु ९ प्रतिशत र रसेल ग्रुप इन्स्टिच्युटमा अध्ययन गर्नेहरु ६ प्रतिशत खानदानी व्यक्तिहरु छन् ।

यद्यपि पप स्टारहरु भने यो मामिलामा भाग्यमानी देखिएका छन् । प्रख्यात पप स्टारहरुमध्ये ८ प्रतिशतले मात्र निजी स्कूलमा अध्ययन गरेका छन् भने २० प्रतिशत विश्वविद्यालयसम्म पुगेका छन् ।

‘सिर्जनात्मक क्षेत्रमा प्रस्ट रुपमा धनीमानीका सन्तानको भिड देखिएको छ र खासगरी टेलिभिजन त उनीहरुकै कब्जामा देखिन्छ,’ अध्ययन समूह सटन ट्रस्टको निष्कर्ष छ ।

यसको अर्थ, गरीव परिवारका क्षमतावान तथा सिर्जनशील युवाहरुलाई शुरुमै बाटो रोकिन्छ र उनीहरुले कला क्षेत्रमा आफ्नो करियरलाई फैलाउन सक्तैनन् ।

अक्सफोर्ड, क्याम्ब्रिज, किंग्स कलेज लन्डन र बास कलेजका आधाभन्दा बढी क्रिएटिभ कोर्सका विद्यार्थीहरु उच्च वर्ग तथा उच्च मध्यम वर्गका नै हुने गरेका छन् । यस्ता कलेजमा निम्नमध्यम वर्गीय परिवारका विद्यार्थी निकै कम हुने गरेका छन् । उदाहरणक लागि गरीव परिवारका विद्यार्थीहरु क्याम्ब्रिज र बाथमा चार प्रतिशत, अक्सफोर्ड र ब्रिस्टल कलेजमा पाँच प्रतिशत र म्यानचेस्टरमा ७ प्रतिशतले भाग अध्ययन गर्न पाउने गरेका छन् ।