एकहार्ट टोल

मेरा लागि विगतको महत्त्व लगभग नगण्य छ। सायदै म यसबारेमा सोच्छु। तैपनि, म कसरी आध्यात्मिक गुरु बन्न पुगें र यो पुस्तक अस्तित्वमा आयो भनेर संक्षिप्तमा बताउन चाहन्छु।

जीवनको तीस वर्षसम्म म लगातार अनेक चिन्ताहरूबाट घेरिइरहें। कैयौं अवस्थाहरूमा मैले आफूलाई आत्महत्या गर्न मन लाग्नेसम्मको घोर मानसिक समस्याले घेरिएको पाएँ। अहिले सम्झँदा लाग्छ, त्यो मेरो कुनै पूर्वजन्म थियो। अथवा अन्य मानिसको जीवनमा भएको घटना थियो।

उनान्तीसौं जन्मदिनभन्दा केही दिनपछिको त्यो भयावह रात! आधा रातमा अत्यधिक डर र चिन्ताले मेरो निद्रा खुल्यो। पहिले पनि कैयौंपटक म यसरी नै ब्युँझिएको थिएँ। यसपटकको अवस्था अझै असह्य र पीडादायी थियो।

रातको गहिरो सन्नाटा! अँध्यारो कोठामा फर्निचरको उस्तै धमिलो आकृति ! टाढाबाट आइरहेको रेलको आवाज! सबै एकलयमा थिए। मलाई ती सबै अनौठा मात्र लागेनन्, मेरा शत्रु भएझैं अनुभूति भयो। त्यसपछि ममा संसारप्रति गहिरो अरुचि र विरक्ति पैदा भयो। सबभन्दा धेरै अनिच्छा र अरुचि त मेरो आफ्नै अस्तित्वका प्रति थियो। यस्तो घोर दु:ख र तनावको बोझले दबिएर बाँच्नुको के अर्थ? बाँच्नैका लागि लगातार संघर्ष गर्दै जीवनलाई किन बोकिरहनु? ममा आफैंलाई मेटाउने इच्छा जागृत हुन थाल्यो। जीवन बाँच्नुको मूल र स्वाभाविक इच्छाभन्दा कैयौं बलवान भयो – आफैंलाई मेटाउने इच्छा।

‘अब म आफैंसँग धेरै समय बाँच्न सक्दिनँ,’ मनमा यस्तो विचार बारम्बार आइरहेको थियो।

अचानक म यस अनौठो अनुभूतिप्रति सचेत भएँ- ‘म एक हुँ या मेरा दुईवटा अस्तित्व छन्? यदि म आफैंसँग बाँच्न सक्दिनँ भने मेरा दुईवटा अस्तित्व हुनुपर्छ– म र मेरो अस्तित्व। ‘म’ ‘मेरो अस्तित्व’ को साथमा बाँच्न सक्दैन।’

पावर अफ नाउको नेपाली अनुवाद वर्तमानको शक्ति

मैले यीमध्ये ‘एउटै मात्र सत्य हुन सक्छ’ भनेर सोचें।

यस अनौठो बोधले म चकित हुन पुगें। मेरो मन एक्कासि रोकियो। म पूरै सचेत थिएँ तर पनि म पूर्णत: विचाररहित हुन पुगें। मलाई आफू कुनै शक्तिको भुमरीमा परिरहेको छु जस्तो लाग्न थाल्यो। शुरूमा यस्तो प्रक्रिया निकै सुस्त थियो, पछि तीव्र हुँदै गयो। म गहिरो डरले भरिएँ। मेरो रोमरोम काँप्न थाल्यो। यत्तिकैमा मैले आफ्नो हृदयमा यस्तो गुञ्जिरहेको सुनें, ‘कुनै पनि खालको प्रतिरोध नगर।’

आफूलाई केहीले शून्यतामा खिचिरहेको महसूस भइरहेको थियो। मलाई त्यो शून्यता बाहिर नभई मभित्रै भएको अनुभूति भयो। अचानक मभित्रको सारा डर मेटियो। मैले आफूलाई त्यस शून्यतामा समाहित हुन दिएँ।

त्यसपछि के भयो?

मलाई अलिकति पनि याद छैन।

झ्याल बाहिर कराइरहेको एउटा चराको आवाजले मेरो निद्रा खुल्यो। त्यसभन्दा पहिले मैले त्यस्तो सुन्दर धुन कहिल्यै सुनेको थिइनँ। मेरा आँखा अहिलेसम्म बन्द नै थिए। बन्द अवस्थामै मैले एउटा अनमोल हीराको जस्तो आकृति देखें। हीराबाट कुनै धुन निस्कन सक्छ भने सायद यस्तै धुन निस्कन सक्छ भन्ठानें।

मैले आँखा खोलें। झ्यालको पर्दालाई छेडेर घामको पहिलो किरण कोठामा छिरिरहेको थियो। ममा विचार चलिरहेको थिएन। त्यस वेला अचानक मलाई महसूस भयो, ‘हामीले जान्न सक्नेभन्दा अनन्त कुराहरू छन्, जुन महसूस गर्न बाँकी छन्। अब मलाई त्यो बोध भइसक्यो।’

पर्दाबाट छानिएर आएको मञ्जुल-किरण प्रेमकै मूर्तरूप थियो। मेरा आँखाबाट अनायासै आँसु बग्न थाल्यो। म उठेर कोठामै यताउता गर्न थालें। म त्यस कोठासँग परिचित थिएँ, तर पनि मलाई त्यो कोठा पहिला कहिल्यै देखेको छैनजस्तो भान भयो। हरेक वस्तु अद्‌भुत ताजापन र शुद्धताले भरिएका थिए, मानौं भर्खरै तिनीहरू अस्तित्वमा आएका होउन्। मैले केही सामान हातमा उठाएँ– एउटा पेन्सिल र खाली बोतल। तिनको सुन्दरता र जीवन्तता देखेर मन्त्रमुग्ध हुँदै मैले तिनलाई एकोहोरो हेरिरहें।

त्यो दिन म पूरै सहर घुमिरहें र पृथ्वीमा जीवनको चमत्कार देखेर परमविस्मयले भरिइरहें, मानौं मैले भर्खरै यस संसारमा पाइला टेकेको हुँ।

लगातार पाँच महिनासम्म म अखण्ड गहिरो शान्ति र आनन्दको स्थितिमा रहें। त्यसपछि भने त्यसको गहनता र तीव्रता घट्दै गयो। अथवा त्यो अनुभव मेरो स्वाभाविक स्थिति बनेकाले मलाई त्यस्तो लागेको पनि हुन सक्छ। आफ्नो सांसारिक काम त म त्यतिवेला पनि गर्थें, तैपनि पहिल्यैदेखि मसँग भएको चीजलाई मेरा कुनै पनि कृत्यले बढाउँदैन भन्ने मलाई बोध भयो।

मभित्र केही महत्त्वपूर्ण कुरा घटित भएको कुरामा त म अवगत नै थिएँ, तर त्यसको महानतालाई बुझ्न भने सकेको थिइनँ। त्यसको धेरै वर्षपछि मैले थुप्रै आध्यात्मिक ग्रन्थहरू पढें। आध्यात्मिक शिक्षकहरूलाई भेटेँ। उनीहरूको संगत गरें। हरेक मानिसले खोजिरहेको कुरा मैले पहिल्यै पाइसकेछु भन्ने बल्ल महसूस भयो।

मैले बुझें, त्यो रात गहिरो तनावले दुःख र पीडाले भरिएको मेरो पहिचानबाट चेतनालाई बलपूर्वक पछि हट्न बाध्य तुल्याएको थियो। त्यो दु:ख र भय मेरो मनबाट उत्पन्न भएको भए पनि वास्तवमा त्यो अनुभव पूर्णतया मिथ्या थियो, जसका कारण पीडित जीवात्मा तुरुन्तै धराशायी बन्यो। मानौं कुनै विद्युत्‌बाट चल्ने खेलौनाको तार झिकिएको होस्। त्यसपछि जे-जति बच्यो, त्यो मेरो वास्तविक स्वभाव थियो– सधैं विद्यमान ‘म हुँ’ को चेतना। अथवा रूपाकारमा बाँधिनुभन्दा पहिलाको अवस्था।

पछि मैले आफैंभित्रको समयातीत र मृत्युभन्दा परको साम्राज्यमा जाने साधना सिकें। म अवर्णनीय आनन्द र पावनताको स्थितिमा स्थिर हुन पुगें। (जसको मैले यहाँ जति वर्णन गरे पनि त्यो फिका नै हुन्छ।) यसैलाई मैले शुरूमा शून्यावस्था भनेर सम्बोधन गरेको थिएँ।

त्यसपछि एउटा यस्तो पनि समय आयो, भौतिक रूपबाट मसँग केही पनि रहेन। न कुनै सम्बन्ध, न कुनै नोकरी, न घरबार, न कुनै सामाजिक पहिचान। लगभग दुई वर्षसम्म मैले परम उल्लासको स्थितिमा रहेर सहरको पार्कका बेञ्चहरूमा बसेर बिताइदिएँ।

सुन्दरभन्दा सुन्दर अनुभवहरू आउँदै-जाँदै गरिरहन्छन्। कुनै पनि अनुभवभन्दा अझै धेरै मौलिक अनुभव भित्री मनमा प्रवाहित भइरहन्छ। यस्तो अनुभवले त्यस रातपछि मलाई कहिल्यै छाडेन।

कहिलेकाहीं अनुभव निकै तीव्र र घनीभूत हुन्छ। यस्तो लाग्छ, यसलाई स्पर्श गर्न सकिन्छ र अरूले पनि महसूस गर्न सक्छन्। अरू वेला यस्तो अनुभव भित्री गहिराइमा, टाढा बजिरहेको संगीतको सुस्त धुनझैं बगिरहन्छ।

पछि अनेक अवसरमा मानिसहरू आएर भन्न थाले, ‘मलाई तपाईंसँग भएको जस्तै अनुभव चाहियो। के तपाईं मलाई त्यो चीज दिन सक्नुहुन्छ?’ अथवा, ‘के तपाईं मलाई त्यो चीज कसरी प्राप्त गर्न सकिन्छ भनेर बताउन सक्नुहुन्छ?’

म भन्थें, ‘तपाईंसँग त्यो चीज पहिल्यैदेखि नै छ। तपाईंको मनले गरेको ठूलो हल्लाका कारण सुन्न नसक्नुभएको मात्रै हो।’

वास्तवमा, यही उत्तर विकसित भएर यस पुस्तकका रूपमा आएको हो, जुन यतिखेर तपाईंको हातमा छ।

मैले थाहा पाउनुभन्दा पहिल्यै फेरि मैले बाहिरी पहिचान पाएँ। म एक आध्यात्मिक शिक्षक बन्न पुगें।

तपाईंभित्रै स्पन्दित सत्य

एकहार्ट टोल

बितेको दश वर्ष मैले अधिकांश समय युरोप र उत्तर अमेरिकामा बिताएँ। ती ठाउँमा मैले व्यक्तिगत र स-साना समूहमा जिज्ञासुहरूलाई अध्यात्मका बारेमा मार्गदर्शन दिएको थिएँ। त्यसैको सम्पादित साररूप हो– यो पुस्तक।

उनीहरूमा साहस थियो, भित्री रूपान्तरणलाई हृदयबाटै स्वीकार गर्ने दृढ इच्छाशक्ति थियो। उनीहरूसँग चुनौतीले भरिएका प्रश्न थिए। ती प्रश्नको उत्तर सुन्ने तत्परता थियो। यस्तो क्षमताका लागि म उनीहरूप्रति आभारी छु। उनीहरूविना यसले पुस्तकको रूप लिन सक्ने थिएन।

उनीहरू ती आध्यात्मिक अग्रदूतहरूमा पर्छन्, जुन समुदाय अहिले सानै छ। तर, भाग्यवश त्यो समुदाय विस्तारित हुँदैछ। उनीहरू त्यस मुकामसम्म पुग्दैछन्, जहाँ पुगेर उनीहरू विरासतका रूपमा प्राप्त भएको मानसिक संस्कार र मनका वृत्तिहरूलाई तोड्न सक्षम बन्नेछन्। यिनै वृत्तिले मानवलाई सदियौंदेखि पीडा र दु:खको बन्धनमा जकडेर राखेको छ। मलाई विश्वास छ, मूलभूत आन्तरिक रूपान्तरणका लागि तयार मानिसहरूसम्म यो पुस्तक पुग्नेछ र उत्प्रेरकको काम गर्नेछ।

कैयन् मानिसहरू अझैसम्म यसलाई आत्मसात् गर्न र जीवनमा यसको अनुशीलन गर्न पूर्णत: तयार छैनन्। उनीहरूले पनि यसको अवश्य प्रशंसा गर्नेछन् भन्ने मलाई आशा छ। यस पुस्तकको अध्ययनले जुन बीउ उनीहरूमा रोपिनेछ, त्यो पछि उनीहरूभित्र पहिल्यैदेखि विद्यमान परम चैतन्यको बीजसँग एकाकार हुनेछ। यस्तो बीज हरेकभित्र व्याप्त छ। कुनै पनि समय त्यो बीज उनीहरूभित्र अचानक अंकुरित भएर सजीव बन्न सक्नेछ।

पुस्तकको वर्तमान स्वरूप प्राय: सेमिनार, ध्यानकक्षा र व्यक्तिगत परामर्श सत्रहरूमा सोधिएका प्रश्न र तिनको सहज स्फुरित उत्तरहरूको आधारमा तयार पारिएको हो। त्यसैले मैले यसको शुरूआती स्वरूप प्रश्नोत्तरलाई कायमै राखेको छु। ती कक्षा र सत्रहरूमा जति प्रश्नकर्ताहरूले सिके, साँच्चिकै भन्ने हो भने मैले पनि त्यत्ति नै प्राप्त गरें। केही प्रश्न त मैले शब्दश: लेखेको छु। केही सामान्य र उस्तै प्रश्नलाई भने मिलाएर एउटै बनाएको छु। उत्तरहरूलाई पनि एकसाथ मिलाएर तिनको सारलाई राखेको छु।

लेख्दै गर्दा कुनैकुनै प्रश्नको एकदमै पूर्ण, सटीक र नयाँ अन्तर्दृष्टियुक्त उत्तर फुऱ्यो, जुन मैले पहिला कहिल्यै भनेको थिइनँ। पुस्तक सम्पादनका क्रममा सम्पादकले कतिपय कुराहरूमाथि स्पष्ट हुन केही अतिरिक्त प्रश्नहरू सोधे। तिनको उत्तर पनि यस पुस्तकमा समाविष्ट गरिएको छ।

शुरूदेखि अन्तिम पन्नासम्म पढिसक्दा तपाईंले सबै संवाद लगातार दुई भिन्न स्तरमा पुगेको पाउनुहुनेछ। एक स्तरमा मैले असत् या भ्रम के छ भनेर तपाईंको ध्यानाकर्षण गर्छु, जसमा म मानवीय अचेतनाको प्रकृतिका विषयमा बोल्छु। त्यसले सामान्य रूपबाट कार्य नगर्ने विषयमा बोल्छु। त्यसको प्रचलित स्वभावगत अभिव्यक्तिहरूका बारेमा पनि विचार राख्छु। सम्बन्धहरूमा समस्या उत्पन्न हुनुदेखि नस्लवादी या अन्तर्राष्ट्रिय युद्धहरूसम्मका कुरा राख्छु। तपाईंले यसरी बुझ्नु अति महत्त्वपूर्ण हुन्छ।

असत्यलाई त्यही रूपमा थाहा नपाएसम्म अन्तिम रूपान्तरण हुन सक्दैन। यस्तो अवस्थामा तपाईं सधैं संघर्ष, माया या कुनै न कुनै दु:खको कुवामा खसिरहनु हुनेछ। त्यसैले असत्यलाई आफ्नो अस्तित्व र व्यक्तिगत समस्या नबनाउनुहोस् भन्ने कुरा बताउँछु। यही तरीकाद्वारा असत्यले आफूलाई स्थायित्व दिने प्रयास गरिरहेको हुन्छ।

अर्को स्तरमा म मानवीय चेतनाको पूर्ण रूपान्तरणका विषयमा बोल्छु। तपाईं जो र जहाँ भए पनि रूपान्तरण वास्तवमा अहिल्यै छ। भविष्यको कुनै सम्भावित समयमा छैन रूपान्तरण। तपाईं कसरी आफैंलाई आफ्नो मनको दासताबाट मुक्त गरेर सही बुझाइका साथ चैतन्य स्थितिमा प्रवेश गर्न सक्नुहुन्छ भन्नेबारे म बताउँछु। हरेक दिन त्यही अवस्थामा कसरी बाँच्न सक्नुहुन्छ भनेर सिकाउँछु।

तपाईं यस किताबका सूचनाहरूको कुनै चिन्ता नगरी पढ्न थाल्नुहोस्। म चाहन्छु– तिनले तपाईंलाई नवचेतनाको स्थितिमा तानेर लैजान सकून्। यही आधारमा पुस्तकमा शब्दहरू छानिएका छन्।

म बारम्बार तपाईंलाई वर्तमानरूपी समयातीत र गहन चेतनाद्वारा स्पन्दित स्थितिमा लैजाने प्रयास गरिरहनेछु; ताकि यसबाट तपाईंले चैतन्यबोधको अनुभव गर्न र सही तरीकाले बुझ्न सक्नुहोस्।

मैले गरिरहेका कुरा पढ्दा म किन वाक्यहरू दोहोऱ्याइरहेको छु होला भन्ने तपाईंलाई लाग्न सक्छ। तैपनि मलाई विश्वास छ, अभ्यास गर्न थालेपछि तपाईंलाई ती वाक्यहरूमा निहित आध्यात्मिक शक्तिको अनुभव हुनेछ। यस्तो अनुभव तपाईंका लागि पुस्तकको अत्यधिक कल्याणकारी पाटो बन्नेछ।

हरेक व्यक्तिमा चेतनाको बीउ निहित हुन्छ। त्यसैले धेरैजस्तो म तपाईंको मनभन्दा गहिराइमा विद्यमान ज्ञातासँग, चेतनासँग वार्तालाप गर्छु। चेतनाले तुरुन्तै आध्यात्मिक सत्यलाई चिन्छ, यसैसित प्रतिध्वनित हुन्छ र यसकै शक्ति ग्रहण गर्छ।

केही विशिष्ट उद्धरण या अनुच्छेदपछि राखिएको (S) प्रतीकले एक-दुई क्षणका लागि पढ्न बन्द गर्नुहोस् र अहिलेसम्म पढेका कुराको अनुभव गर्न शान्त बस्नुहोस् भन्ने सल्लाह दिन्छ। यो पुस्तकमा अन्य पनि यस्ता विन्दु हुन सक्छन्, जहाँ तपाईंले अहिलेसम्म पढेका कुरालाई शान्तिका साथ आत्मसात् गर्न सकियोस् भनेर आफैंले पढ्न बन्द गर्न चाहनु हुनेछ।

पुस्तक पढ्न थालेपछि शुरूका केही शब्दहरू, जस्तै– ‘स्वभाव’ र ‘उपस्थिति’ तपाईंका लागि स्पष्ट र बोधगम्य नहुन पनि सक्छन्। यस्तो अवस्थामा पनि चिन्ता नगरी पढाइ जारी राख्नुहोस्।

पढ्दै गर्दा कुनै पनि वेला मनमा केही प्रश्न उठ्न सक्छ, कहींकहीं आपत्ति पनि आउन सक्छ। पढ्दै जाँदा, पछि ती प्रश्नहरूको उत्तर यही पुस्तकमा भेटिनेछ। तपाईंले ती कुरालाई आफ्नै गहिराइमा आत्मसात् गर्नुभयो भने ती प्रश्न या आपत्ति तपाईंका लागि महत्त्वहीन पनि बन्न पुग्नेछन्।

यस पुस्तकलाई केवल मनदेखि नपढ्नुहोस्। पढ्ने समयमा आफ्नो भित्रबाट निस्केको कुनै पनि प्रतिक्रिया, भाव-संवेग आदि अनुभवप्रति सजग बन्नुहोस्। म तपाईंलाई कुनै नयाँ सत्य बताउन गइरहेको छैन। सत्य पहिल्यैदेखि आफूभित्रै छ भनेर तपाईंलाई थाहा नभएको होइन। तपाईंले त्यसलाई भुल्नुभएको छ। म त बस्, तपाईंलाई त्यो फेरि स्मरण गराउन चाहन्छु। त्यसपछि तपाईं भित्र रोमरोममा, शरीरका हरेक कोषमा जीवनदायी बुझाइ र ज्ञान सक्रिय भएर बग्न थाल्छ।

मन सधैं चीजहरूको श्रेणी बनाउन र तुलना गर्नमा व्यस्त रहन्छ। यदि तपाईंले यस पुस्तकका शब्द र शैलीको तुलना अन्य आध्यात्मिक ग्रन्थ र सिकाइसँग गर्नुभएन भने यो पुस्तक तपाईंको श्रेष्ठ मित्र बन्न सक्छ। नत्र तपाईं सम्भवत भ्रमित हुनुहुनेछ। मैले यहाँ ‘मन’, ‘प्रसन्नता’ र ‘चेतना’जस्ता शब्दहरूको प्रयोग जुन अभिप्रायका साथ गरेको छु, त्यो अरू ग्रन्थहरूसित मेल नखान पनि सक्छ। त्यसैले कुनै पनि शब्दमा नअड्किनुहोस्। शब्द त सिँढीको ढुंगाजस्तै हो, जसलाई माथि चढ्नका लागि प्रयोग गरेर जति सकिन्छ छिटो छाडिदिनुपर्छ।

जुन वेला मैले सिकाइका लागि क्राइस्ट, महात्मा बुद्ध, ‘अ कोर्स इन मिराकल्स’ या अन्य ग्रन्थहरूबाट कुनै उद्धरण दिएको हुन्छु, त्यस वेला म तुलनात्मक दृष्टिले यस्तो गर्दिनँ। बरु सधैं मूलत: एउटै आध्यात्मिक सत्य रहिआएको छ, जसलाई अनेक रूपहरूमा प्रतिपादन गरिएको छ भन्नेतर्फ तपाईंको ध्यान आकृष्ट गर्न गर्छु।

प्राचीन केही धर्म-सम्प्रदायहरू बाह्य आडम्बरबाट ढाकिएका छन्। तिनको आध्यात्मिक सार नै अस्पष्ट हुन पुगेको छ। त्यसैले वास्तविकता थाहा पाउनु फलामको चिउरा चपाउनुभन्दा कठिन हुन जान्छ। यही कारणले अधिकांश प्राचीन धर्मका गहन अर्थहरूको कुनै चिनारी बाँकी छैन। तिनको रूपान्तरणकारी शक्ति पनि लगभग मरिसकेको अवस्था छ।

मैले कुनै प्राचीन धर्मग्रन्थ या अन्य पन्थहरूको उद्धरण दिनुको कारण यति मात्रै हो– तिनको गहन अर्थलाई प्रकट गर्न र तिनको रूपान्तरणकारी शक्तिलाई फेरि सक्रिय गर्न सकूँ। त्यो पनि विशेषत: ती पाठकहरूको हितका लागि, जो यस्ता धर्म या मतका अनुयायी छन्। म उनीहरूलाई भन्न चाहन्छु, सत्य अनुभव गर्न कतै जानु आवश्यक छैन। त्यो सदैव तपाईंभित्रै विद्यमान छ। पहिल्यैदेखि तपाईंसँग भएको कुरामा अझै गहिरोसँग कसरी पस्ने भनेर म दृष्टान्त मात्र प्रस्तुत गर्न चाहन्छु।

मैले अधिकांश मानिसहरूसम्म पुग्नका लागि सहज होस् भन्ने हेतुले त्यस्तो शब्दावली प्रयुक्त गरेको छु, जो सबैले बुझ्न सकून्। यस पुस्तकमा समयले प्रभाव नपार्ने परम आध्यात्मिक शिक्षा छ र यसलाई सबै धर्महरूको सारको आधुनिक संस्करण पनि भन्न सकिन्छ। यो कुनै बाह्य स्रोतहरूबाट उदित भएको होइन, बरु आफैंभित्रको वास्तविक स्रोतबाट जन्मिएको हो। त्यसैले कुनै मत-मतान्तर, सिद्धान्त र अनुमानलाई यस पुस्तकमा समेटिएको छैन।

म आफ्नै भित्री अनुभवबाट बोल्छु। यदि कुनै वेला म बलपूर्वक केही भन्ने प्रयास गर्छु या भन्छु भने; केवल तपाईंको मानसिक प्रतिरोधको मोटो पर्दा हटाउन, तपाईंलाई भित्री अवस्थामा पुऱ्याउनका लागि हो।

तपाईंलाई पहिल्यैदेखि थाहा भएकै कुरा मलाई पनि थाहा छ। त्यस अवस्थामा सुनेर मात्रै पनि सत्यलाई चिन्न सकिन्छ। त्यसपछि तपाईंमा एकखालको हर्ष, उल्लास र जीवन्तताको भाव जाग्नेछ। मानौं अन्तरहृदयमा कसैले भनिरहेको छ, ‘मलाई थाहा छ, सत्य यही हो।’

(सिकाइ समूहद्वारा प्रकाशित भरखरै बजारमा आएको पुस्तक ‘वर्तमानको शक्ति’ को परिचय खण्डबाट। यो एक्हार्ट टोलद्वारा लिखित विश्व प्रसिद्ध पुस्तक ‘द पावर अफ नाउ’को नेपाली अनुवाद हो। अनुवाद रोशन दाहालले गर्नुभएको छ ।)