जनक
“किन बाबु तिमीलाई सन्चो छैन?”
केही दिनअघि मात्र अध्यापन गराउन नियुक्ति पाएको विद्यालयको एक कक्षा कोठामा अन्य बालबालिका भन्दा फरक, चूपचाप टोलाएर बस्ने बालकले मेरो ध्यान खिच्न थालेको थियो । उसको मुहारमा हेर्थें । ओठमा मुस्कान हराएको, आँखाले केही खोजे जस्तो केही चाहे जस्तो देखिन्थ्यो । एकदुई दिन त साधारण केही भएको होला भनेर मन बुझाउन खोजें तर दिनहुँ उसको एकै अवस्था देखेर खुलदुलीवश उसलाई प्रश्न गरेको थिएँ । मेरो प्रश्नको उत्तरमा वास्तविक कारण नभनी उसले टार्ने प्रयास गर्यो ।
मध्याह्नको खाजा समयमा फेरि उही प्रश्न गरें । मौन रह्यो, मैले पनि धेरै घचघचाउन चाहिन ।
उठेर जानै लाग्दा उसले प्रश्न गर्यो, “सर, यो आमा-बुबाको माया कहाँ किन्न पाइन्छ ?”
उसको अप्रत्याशित प्रश्नले मलाई विचलित बनायो । दिमाग घोरिन थाल्यो ‘कस्तो प्रश्न हो यो आमा र बुबाको माया पनि किनेर पाइन्छ र ?’
उसको उत्तर दिनु भन्दा पहिला फेरि प्रश्न गरें, “तिम्रो आमाबुबा कहाँ हुनुहुन्छ बाबु ?”
उसले जवाफ झन् झनझनाउने थियो, “खै सर थाहा छैन, मलाई क्लोनिङ पद्धतिबाट बनाएको भन्छन् ।“
– – – –
मृत्युको मूल्य
“ल आमा अझ थप औषधी लेखिदिएको छु ।“
प्रिस्क्रिप्शनमा औषधीको नाम लेख्दै उनीतिर बढाएँ । प्रिस्क्रिप्शन हातमा लिंदै एकटकले हेरिरहिन् ।
“चिन्ता नलिनुस् आमा बुढेसकालको रोग हो, अलिअलि तलमाथि त भइहाल्छ नि । नियमित औषधी सेवन गर्नुस् खानपिनमा ध्यान दिनुस् सब ठिक हुन्छ।“ उनको मुहारमा चिन्ताको रेखा कोरिएको देखेर सान्त्वना दिंदै भनें ।
“कति जति पर्ला बाबु यो ओखतीको ?” सुस्तरी सोधिन् ।
औषधीको अन्दाजी दाम बताएपछि उनको चाउरिएको नेत्र झन् तन्कियो । थरथराउँदो स्वरमा भनिन्, “डाक्टर बाबु ओखतीको दाम धान्नै गाह्रो हुन थाल्यो, बरु यो मृत्युको दाम चाहिं कति होला ?”
– – – –
अपूर्व झोली
ब्रह्मलोकमा त्रिदेवहरूको बैठक बस्यो । विषयवस्तु थियो मर्त्यलोकको गरीबी निवारण ।
“लौ ब्रह्मा, सृष्टिकर्ता तिमी नै हौ । मर्त्यलोकको गरीबी निवारण तिमी आफै गर ।“ दुवै शिव र विष्णुले जिम्मेवारी ब्रह्मालाई दिए ।
ब्रह्मा पनि जिम्मेवारी पूरा गर्न आवश्यक अन्नपात, असर्फी बोकेर मर्त्यलोक झरे ।
गरीबी निवारणको लागि ब्रह्मा स्वयम् मर्त्यलोकमा झरेको थाहा भएपछि भिक्षाटनहरूको ताँती नै लाग्यो ।
ब्रह्माले आफ्नै हातले दान दक्षिणा दिन शुरू गरे । उनलाई पहिलो भिक्षुलाई दान दिन नै निकै सकस पर्यो ।
थकित हुँदै सोधे, “तिमी नेता हो ?“
“हो प्रभु, कसरी थाहा भयो हजुरलाई ?“ भिक्षुले अचम्म मान्दै सोधे ।
“यो तिम्रो झोलीमा जति हाले पनि भरिंदै भरिंदैन ।“
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।