११. नयाँ देवमूर्ति
अझै पनि कतै-न-कतै केही मानिस र अनेकौं भीड छन् । तैपनि ती हामीसँग जोडिएका छैनन् मेरा दाजुभाइ हो ! हामीसँग त राज्यहरू छन् ।
राज्य ? त्यो के हो ? खैर ! अब आफ्नो कान खोल र मलाई सुन, अब तिमीहरूलाई मानिसको मृत्युबारे मेरो वाणी सुनाउनेछु ।
राज्यलाई सबैभन्दा झूट र कठोर राक्षस मानिन्छ । यो अनावश्यक झूट बोल्छ, र यसको ओठबाट यस्तो नारा गुञ्जन्छ: “म नै राज्य र जनता हुँ ।”
तर यो झूट हो ! स्रष्टा ती हुन्, जसले जनतालाई सिर्जनशिल बनाए । प्रेम र विश्वासले एउटै धागोमा मालासरी उने, यसरी उनीहरूको जीवनको सेवा गरे ।
तर विनाशकहरू ती हुन्, जो कैयौंका लागि जाल थाप्छन् र त्यसैलाई राज्य भन्छन् । तिनीहरू तरवारको साथै सयौं वासनाहरू जनताको शिरमा थोपर्छन् ।
जहाँका जनता आजसम्म जीवित छन्, त्यहाँको राज्यलाई बुझ्न सकिँदैन, बरू त्यसलाई दुष्ट नजरले हेरिन्छ । त्यस राज्यलाई कानुन र परम्पराविरुद्धको पाप मानिन्छ ।
म तिमीहरूलाई एउटा सङ्केत दिन्छु, प्रत्येक जनता आफ्नो भलाइ र कामनाको भाषा बोल्छन् । जसका छिमेकीहरू त्यसलाई बुझ्न सक्दैनन् । जनताले आफ्नो भाषा आफ्नै कानुन र परम्पराको आधारमा बनाएका हुन्छन् ।
तैपनि राज्य समस्त भलाइ र कामनाका भाषाप्रति झूट बोल्छ । यसले जे भन्छ, त्यो प्रायः झूट हो । यसले जे राख्छ, त्यो चोरिएको हो ।
राज्यमा समस्त चीज झूट छ । जो चोरिएका दाँतले त्यसलाई चपाउँछ । यसको पेट पनि झूटले भरिएको छ ।
भलाइ र कामनाको भाषामा बुझ्नुपर्दा यो राज्यको संकेत हो भनी तिमीहरूलाई बताउँदैछु । वास्तवमा यो मृत्युको कामना हो ! यसले मृत्युका प्रचारकहरूलाई स्वागत गर्ने काम गर्छ ।
अत्याधिक धेरै मानिसहरू जन्मिएका छन्, जो निकै फुर्सदिला छन् । तिनै फुर्सदिला मानिसहरूका लागि नै राज्यको आविष्कार भएको हो ।
हेर, कस्तो गरी राज्यले तिनीहरूलाई लोभ्याउँछ ! तिनीहरूलाई निल्छ, चपाउँछ, र फेरि पनि चपाउँछ ।
“पृथ्वीमा मभन्दा महान् केही छैन: म नै ईश्वरद्वारा निर्मित नियमहरूको संकेत हुँ !” यसरी त्यो राक्षस गर्जन्छ । त्यसको सामु केवल मूर्ख र अदूरदर्सी बाहेक अरूले घुँडा टेक्दैनन् ।
अहो ! महान आत्माहरूको कानमा पनि यसले आफ्नो झूट फैलाउँछ । अहो ! यसले त्यस्ता उदार र बलिया हृदयहरू पत्ता लगाउँछ, जो आफैँलाई खुशीसाथ बलिदान दिन चाहन्छन् ।
हो, यसले तिमीहरूलाई पनि भेट्छ, ए पुराना मूर्ति पुजकहरू हो ! तिमीहरू संघर्षबाट थाक्यौ, अब तिमीहरूकै थकानले यो नयाँ मूर्तिको सेवा गर्छ ।
यो नयाँ मूर्ति नायक तथा सम्माननीयहरूलाई वरिपरि सजाउन चाहन्छ । यसलाई सम्मानको उज्यालोमा रमाउन मन पर्छ, यो क्रूर राक्षस !
तिमीहरूले यसको पूजा गर्यौ भने यसले तिमीहरूलाई सबैथोक दिनेछ । यसरी यसले तिम्रो सद्गुण र गौरवमय आँखाको ज्योति ग्रहण गर्छ ।
यसले तिमीहरूकै माध्यमद्वारा निकै धेरैलाई आकर्षित गर्न खोज्छ ! हो, यहाँ एउटा नर्क भन्ने जाल बुनिएको छ, जो आफूलाई जीवनको महामहिम भएको घोषणा गर्छ । जो मृत्युको प्रचारकहरूको प्रिय सेवक हो ।
राज्य, जससलाई म त्यस्तो स्थान भन्छु, जहाँ सबै मानिसहरू विष पिउँछन्, असल र खराब दुवैले । राज्य, जहाँ सबैले आफूलाई गुमाउँछन् । राज्य, जहाँ सबैको सुस्त आत्महत्यालाई जीवन भनिन्छ ।
ती फुर्सदिला मानिसहरूलाई हेर ! तिनीहरूले आविष्कारकर्ताहरूका कृति र विद्वानहरूको धन चोर्छन् । तिनीहरू आफ्नो चोरीलाई संस्कार भन्छन् ।
ती फुर्सदिलाहरूलाई हेर ! तिनीहरू प्रायः बिरामी हुन्छन् । तिनीहरू आफ्नो रिस चारैतिर फाल्छन् र त्यसलाई समाचारपत्र भन्छन् । तिनीहरू एकअर्कालाई चपाउँछन् र आफूलाई भने पचाउन सक्दैनन् ।
ती फुर्सदिलाहरूलाई हेर ! जो धन जम्मा गर्छन् तैपनि गरिब बन्दै जान्छन् । शक्ति खोज्छन् (पैसाको शक्ति) तैपनि कमजोर बन्दै जान्छन् ।
तिनीहरूलाई हेर त ! ती चञ्चल बाँदरहरू, जो एकअर्कामाथि चढ्छन्, अन्ततः हिलो र खाडलमा पछरिन्छन् ।
सिंहासनतर्फ तिनीहरूको दौड छ । यो नै तिनीहरूको पागलपन हो । जस्तो कि खुशी सिंहासनमा बस्छ ! तर प्रायः सिंहासनमा मात्र फोहोर बस्छ ।
मेरा दाजुभाइहरू हो ! के तिमीहरू उनीहरूको दुर्गन्धमा निस्सासिन चाहन्छौ ? बरू झ्याल तोड र स्वतन्त्र हावामा उड !
महान आत्माहरूका लागि यो पृथ्वी अझै पनि खुल्ला छ । स्वतन्त्र जीवनका लागि अनेकौं ठाउँहरू खाली छन् ।
जहाँ राज्य समाप्त हुन्छ, मात्र त्यहाँ असल मानिसको जन्म हुन्छ । मात्र त्यहाँ महामानवको आगमन र इन्द्रेणी देखिन्छ ।
जराथुस्त्रले यसो भनेका थिए ।
१२. बजारमा रहेका झिँगाहरू
भाग मेरो मित्र ! एकान्तमा फर्क । तिमीलाई महामानवहरूको कोलाहलले बन्दी बनाएको र सामान्य मानिसहरूको भीडले सताइरहेको देखेको छु ।
कति असल छन् ती पथ्थर र जंगल ! जो तिम्रो साथमा क्या आनन्दसाथ मौन बस्न जानेका छन् । तिमीले मन पराएको महान रूख जस्तै बन । त्यो रूखले चुपचाप र ध्यानपूर्वक समुद्रलाई हेरिरहेको छ ।
जहाँ एकान्त समाप्त हुन्छ, त्यहीँ बजारको शुरूवात हुन्छ । र जहाँ बजार शुरू हुन्छ, त्यहीँ भयानक खलनायकको घिनलाग्दो आवाज र विषालु झिँगाहरूको गुञ्जन शुरू हुन्छ ।
यस संसारमा जति पनि असल कुरा छन्, त्यसलाई हेर्ने आँखा र देखाउने मानिस नभए ती सबै निरर्थक हुन्छन् । त्यो देखाउनेहरूलाई मानिसहरू महात्मा भन्छन् ।
मानिसहरू महान् कुरा के हो भन्ने कुरा बुझ्दैनन्, जसले सृजना गर्छ, त्यो महान् हो । तर त्यो देखाउने र त्यसको नक्कल गर्ने मानिसहरूप्रति मोह जाग्छ ।
नयाँ मूल्य तोक्नेहरूका वरिपरि संसार घुमिरहेको हुन्छ, बडो अदृश्य रूपमा । तर नक्कल गर्नेहरूको वरिपरि मानिस र प्रसिद्दी घुम्छ । यो नै संसारको स्वाभाव हो ।
अभिनेतासँग आत्मा हुन्छ, तर आत्माको विवेक त्यति हुँदैन । ऊ जहिले पनि आफूलाई सत्य मान्छ, किनकि ऊ अरूलाई झुक्याउन सिपालु छ ।
भोलि ऊसँग नयाँ विश्वास हुन्छ, र पर्सि झन् नयाँ । ऊ जनताजस्तै संवेदनशील र परिवर्तनशील स्वभावको हुन्छ ।
भत्काउनु नै उसको लागि प्रमाण जुटाउनु हो । पागल बनाउनु नै उसको लागि विश्वास दिलाउने माध्यम हो । अन्ततः रगत नै सबैभन्दा बलियो तर्क हो भन्ने ऊ ठान्छ ।
ऊ नयाँ विचारलाई झूट र व्यर्थ ठान्छ । उसले सधैँ त्यही देवतामा विश्वास गर्छ, जसले यस संसारमा भयानक आवाज निकाल्न सक्छ ।
शहर ख्यालठट्टाले भरिएको छ र मानिसहरू आफ्ना माहात्माहरूको प्रशंसा गर्छन् । उनीहरू समयका मालिक हुन् ।
तर समय उनीहरूलाई लखेट्छ र उनीहरू पनि तिमीलाई लखेट्छन् । उनीहरू तिमीबाट “हो” वा “होइन” को जवाफ चाहन्छन् । हाय ! के तिमी आफूलाई “पक्ष” वा “विपक्ष” बीच उभ्याउन चाहन्छौ ?
ती बहादुर र अधीर मानिसहरूकै कारण सत्प्रेमी भइकन पनि ईर्ष्या नगर । सत्यले कहिल्यै कुनै बहादुर मानिसको सहारा लिएको छैन ।
ती अधिर मानिसहरूको भर नपर, आफैँ आफ्नो सुरक्षामा फर्क । बजारमा मात्र “हो ?” वा “होइन ?” भन्दै हल्लाको बिगुल फुकिन्छ ।
गहन स्रोतहरूको अनुभव धीमा हुन्छ । उनीहरूले आफ्नो गहिराइमा के खस्यो भन्ने कुरा थाहा पाउन निकै पर्खनुपर्छ ।
भीड र प्रसंसाबाट टाढै रहे मात्र महान् चीज सिर्जना गर्न सम्भव हुन्छ । भीड र प्रसंसाबाट टाढा रहे मात्रै नयाँ मूल्य तोक्नेहरू सहजै बाँच्छन् ।
भाग मेरो मित्र ! आफ्नो एकान्ततिर फर्क । म तिमीलाई विषालु झिँगाहरूले चिथोरिरहेको देख्दै छु । बरू त्यहाँ जाऊ, जहाँ चिसो बतास चल्छ ।
सामान्य र दयनीय मानिसहरूसँग तिमी निकै नजिक भइसकेका छौ । उनीहरूको अदृश्य प्रतिशोधबाट टाढा भाग । उनीहरूले तिमीलाई बदला लिन कुनै कसर बाँकी राखेका छैनन् ।
उनीहरूसँग भिड्ने प्रयास नगर । उनीहरू असंख्य छन् । तिमी ती झिँगा धपाउने यन्त्र होइनौ ।
असंख्य र दयनीय मानिसहरूले महान संरचनाहरूलाई ध्वस्त पारेका छन् । थोपा र झारहरूले समेत आफ्नो संरचना गुमाएका छन् ।
तिमी ढुंगा होइनौ, तैपनि तिमीलाई थोपाहरूले खियाइसकेको छ । ती साना चोटहरूले तिमीलाई अझैं कमजोर बनाउनेछन् ।
म तिमीलाई थकित देखिरहेको छु, विषालु झिँगाहरूबाट रक्ताम्मे हुनाको साथै सय ठाउँमा चिथोरिएका छौ । तिम्रै गर्वले समेत तिमीलाई धिक्कार्न छाडेको छ ।
उनीहरू तिम्रो रगत निर्दोषतापूर्वक चुस्न चाहन्छन् । उनीहरूको रगतविहीन आत्माले रगत खोजिरहेको छ, तसर्थ उनीहरू निर्दोषतापूर्वक दाग लगाउन चाहन्छन् ।
तैपनि तिमी गहन आत्मा भएको स साना चोटहरूबाट समेत निकै पीडित छौ । तिमी निको नभएसम्म त्यो विषालु कीरा तिम्रै हत्केलामा बस्छ ।
ती कमसल लोभीहरूको हत्या अस्वीकार । तर सावधान रह, कतै उनीहरूको विषाक्त अन्याय त सहेका छैनौ ?
प्रशंसा गरेरै उनीहरूले तिमीलाई घेरिरहेका छन् । उनीहरूको प्रशंसा तिम्रो छाला हुँदै रगतसम्म पुग्न चाहन्छ ।
उनीहरू तिमीलाई देवता वा राक्षसले झैं चाट्छन् र गुनासो गर्छन् । उनीहरू चापलूसी र डरपोक बाहेक अरू होइनन् ।
भाग मेरो मित्र ! आफ्नो एकान्ततिर लाग । तिमी झिँगा धपाउने यन्त्र होइनौ ।
जराथुस्त्रले यसो भनेका थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला