मेरा छिमेकी दाजु तथा निर्देशक केदार श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा चलिरहेको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ र सिङ्गो नाटक टोलीसँग दिल खुस छ । यसबाहेक थप बोल्नु ‘सुनमा गन्ध’ हुनेछ । अझ भन्दा, दुर्गन्धै हुनेछ ।
तर, मलाई बोल्नु छ । मुख चिलाएको छ । औँलाहरू सकसकाएका छन् । जिब्रोमा एउटा खसखस छ । भन्नुस्, ‘खुस दिल’लाई अझ ‘खुस’ बनाउन मन लागेको छ ।
दिल सामान्यतया ६०-१०० प्रति मिनेटको गति र तालमा धड्किरहन्छ। तर, कहिलेकाहीँ कुनै विशेष कारणले यो गति र तालमा असामान्य तरङ्ग आउँछ र ढुकढुकी तीव्र हुन्छ। मैले गुगलमा फेला पारेको जानकारीलाई च्याटजीपीटीले थप स्पष्ट पारेर भन्यो, “स्वस्थ वयस्कका लागि ७२ धड्कन प्रति मिनेटको आरामदायी हृदयगति सामान्य मानिन्छ। तथापि, हृदयगति व्यक्ति अनुसार फरक हुन सक्छ र विविध कारणहरूले यसमा प्रभाव पार्न सक्छ।”
यसप्रकार, यस नाटकको नामकरणमा चिकित्सकीय नातागत साइनो-सम्बन्ध पनि देखिन्छ । उसैपनि नाटकमा पटकपटक- एक कुनोमा घडी बाधेको, हात मात्रै हल्लाइरहने चिकित्सकको हरेक शब्दले नाटकलाई नयाँ दिशातर्फ डोर्याइरहन्छ । यसप्रकार भन्न सकिन्छ कि, यस नाटकले सानो, मधुर र सूक्ष्म ‘ढुक् ढुक् ढुक्’ आवाजलाई पछ्याउँदै आफ्नो कथनि अघि सारेको छ र मजस्ता कमजोर दिलवाले मनुवालाई बेला-कुबेला झङ्कार दिएको छ । ढुकढुकी बढाइदिएको छ ।
त, धेरै भन्नु परोइन, यस नाटकले मेरो हृदयगतिको ताललाई अनपेक्षित ढङ्गले तलमाथि गराइरह्यो। रुवाई र हाँसोमिश्रित मनोभावनाहरू हृदय र मस्तिष्कमा ऊछ्लकुद गरिरहे । एकतमासको बेपत्ताको चिसो स्याँठ भित्र कतै बत्तिइरह्यो । यस्तो बत्ताइले मलाई कताकता इ.सी.जी वा ईको-को याद पनि दिलायो । र, सोही यादले मलाई लेख्न हौसायो । र, मेरो लागि लेखन सदैव एक उपचार हुँदै आएको छ, जो फलदायी पनि ठहरिएको छ ।
मेरो हृदय लेख्न पाउँदा ‘खुस’ हुन्छ, त्यो भन्दा बढी लेख्नका लागि नवीनतम र रोमाञ्चक विषय पाउँदा हुने गर्दछ । अझ, जुन कुराले ‘दिल खुस’ भएको हो, सोही कुरा लेख्न पाउँदा दिलको ढुकढुकी अझ बढ्दछ । भन्नुस्, लेखिरहेको यस क्षणमा, मेरो हृदयगति सामान्यभन्दा अलि बढी छ । एक मन्द आवाज, ‘ढुक् ढुक् ढुक्’।
मलाई लाग्छ, तपाईँहरूले पनि आ-आफ्ना भावनात्मक फ्रिक्वेन्सीमा मेरो हृदयको यो ‘ढुक् ढुक् ढुक्’ सुन्न सक्नुहुन्छ। एक मन्द आवाज- ‘ढुक् ढुक् ढुक्’ ।
नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ सुन्नका लागि चाहिँ तपाईँ मण्डला उक्लनु, झर्नु, तेर्सिनु वा ओर्लनु पर्दछ । वा, तपाईँ यस्तो केही नगर्न पनि सक्नुहुन्छ किनभने हरेक कुरा हरेकका लागि हुँदैनन् । र, नाटककै एक ‘दिल खुस संवाद’का अनुसार, ‘हरेक कुराको रिफरेन्स अनिवार्य छैन ।’ जीवन धेरै हदमा सन्दर्भ-स्रोतहरू बेगर नै प्रमाणित वा अर्धप्रमाणित हुने गर्दछ तर, अप्रमाणित भने होइन । वा, तुलसी दिवसका अनुसार, ‘हिँड्दा-हिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दोरहेनछ ।..’
त, मेरो सिफारिस छ कि तपाईं मण्डलाको व्यापारिक परिसरमा एक पाइलो हाल्नुस्, एउटा कलात्मक नाटक मञ्चनको साक्षी बन्नुस् । र, मण्डला तथा अन्य थिएटरहरूले पनि ‘मुद्दा प्रधान भइरहनु पर्ने समकालीन गह्रौँ’ बिसाएर यस्तै जीवनको सूक्ष्म धड्कनहरूमा केन्द्रित केन्द्रित गरुन् भने सदिच्छा मनमनै गरेर आफ्नो धड्किरहेको मुटु छाम्नुहोस्- ‘ढुक् ढुक् ढुक्’ ।
***
अब लुइँलुइँ कुरा सुरु गरौँ । धेरै अलमलिनु वा टहलिनु ढुकढुकीको स्वभाव होइन । हृदयको चरित्र होइन । लेखनको त झन् हुँदै होइन । यसकारण जे हो, त्यसकै कुरा गरौँ । जसो हो, तसो गरौँ ।
स्थूल जगतलाई भाव जगत्मा प्रतिबिम्बित गर्न सकेका कारण नाटक मन परेको हो । दिल खुस भएको हो । त्यो काम, निर्देशक, निर्माता, कलाकार, चरित्र, कथा, सेट डिजाइन जम्मैले गरेका छन् भन्ने होइन, तर त्यो काम हुन् सकेको छ । नढाँटी भन्दा, नाटकले च्याप्प घाँटी अट्ठयायो, अट्ठयाइरह्यो र अन्ततः हृदय निचोर्यो र बरर.. आँसु निकाल्यो । हत्केलाले आँसु पुछ्न मन गरेन, आँसुलाई लपक्क गालाले समायो र समाइराख्यो । भएको जम्मामा यत्ति हो, यत्ति मात्रै हो ।
यो पक्का कुरा हो कि, कमबेसी मेरो हृदयको पर्खाल चिसो छ । भावुकताको कमबेसी छिर्कना मेरो स्वाभाविक ओस हो । मेरो हृदयको लेऊ हो । लाज नमानी भन्दा, म अलि रुन मन पराउने मान्छे हुँ, तर साना-मट्याङ्ग्रा कुराले च्वास्स पारिहाल्दैन मलाई । फेरी ग्वाँग्वाँ गरेर रोई हाल्दिन तर एकनास भक्कानिने गर्छु । रोशी खोलाको आतङ्कजस्तो एकसाथ गरर पहिरिदा पनि आवाज निकाल्दिनँ । मेरो रुवाइ म बाहेक अर्कोले थाहै पाउँदैन । फेरी रुनु, यस साजसज्जाले भरिएको दुनियाँमा सबैभन्दा वास्तविक ठान्दछु म । किनभने, रुवाइ मुस्कान जस्तो बनावटी हुँदैन भन्ने म जान्दछु । यसकारण, यो गलफतीलाई मेरो ढुकढुकी भन्दा पनि ‘सुकसुकी’ भन्दा हुन्छ ।
नाटक हेरेर रोएको मान्छेले नाटक हेरिसकेपछि किन रोएछु भने थाहा पाउनका लागि आफैसँग गरेको संवाद भन्दा हुन्छ । यसलाई नाटक रिभ्यू वा समीक्षा ठान्दिदा धेरै बढी बोर हुन्छ । बढी धेरै भुल हुन्छ । नाट्यचिन्तक भन्दा नाट्यपाठकको रूपमा म ‘नाटकानूभूति’ लेखिरहेछु । नाटक हेरिसकेपछिको एक अनुभूतिको लिपिबद्धता । बस्, त्यत्ति ।
त, फेरी कुरा लुइँलुइँ अघि बढेन । यसकारण, पुनः अब लुइँलुइँ कुरा सुरु गरौँ ।
***
सर्वप्रथम, मन नपरेका कुराहरूलाई अगाडी लगाऔँ ।
कलाकारद्वय मेनुका प्रधान र कार्म शाक्यले दम्पतीको भूमिकामा जेजति वार्तालाप गरेका छन्, म त्यसलाई आजको समयको कुनै पनि एक सामान्य परिवारले गर्न नसक्ने वार्तालाप मान्दछु । कुनै पनि दम्पति त्यति धेरै दार्शनिक, काव्यिक वा चित्रात्मक शब्दहरू बोल्छ भन्ने लाग्दैन । म आफैँ पनि छ्वास्सछुस्स कविता, कथा लेख्ने हुँदा र कवि-साहित्यिकारका दाम्पत्य जीवन निहार्ने अवसर पाउँदा पनि ‘मेनुका-कार्म’ दम्पतीको जति वार्तालाप सामाजिक जीवनका दम्पतीहरू भेट्न सक्दिनँ, सकेको छैन । यसकारण नाटकका दम्पतीद्वयको सुरुवाती वार्तालाप अलिक अस्वाभाविक छ, अलिक कचमेरो छ । भदौताकाको बेलौती जस्तो । असोजताकाको हलुवाबेद जस्तो । गोठालो जाँदा खाएको हर्रो जस्तो । वा, बोटबाट टिप्दाटिप्दैको टिमुर जस्तो । वार्तालापमा प्रशस्त गाम्भीर्यता (काव्यिकता, एब्स्ट्रयाक्टनेस) छ, जुन मज्जाको कुरा हो, तर खानाको सुरुमै डिजर्ट पस्किनु स्वाभाविक नलाग्ने रहेछ । भनेको, मञ्चनमा आएका नाटकहरूले पाठ्य नाटकजस्तो, कोष्ठकमा परिवेश तथा तत्कालीन वस्तुस्थितिको वर्णनको खाँचो महसुस गर्नु सही होइन कि ? नाटकमा सबटाइटल अलि ठिक होइन कि ?
कताकता, निस्सारता, शून्यता, असङ्गतिबोधजस्तो महसुस हुने वा भनौँ, प्रयुक्त विषयवस्तु, संवाद, परिवेश आदि तत्त्वले विसङ्गतिवादका आधारभूत मान्यताहरू ब्वाङ्गबुङ्ग हिर्काइदिएको हो या समातिबसेको हो, यसलाई यो बबुरो मस्तिष्कले समात्नै सकेन । यसको पुस्तक पनि आएको थाहा हुन् आएकाले, नाटकको आरम्भ मैले पढ्नु नै पर्ने भएको छ । यसपछि मात्रै संवादको अमूर्ततालाई मैले बुझ्न सक्छु होला । केदार दाजुले यसमा मलाई सहजीकरण गरिदिनेछन् भन्ने ठान्दै अघि बढ्छु ।
अर्को कुरा, विवाहित दम्पतीले जसप्रकार एकार्काप्रति प्रेमभाव (जिस्काई, चिमोटाइ आदि) गरेका छन्, त्यसमा पनि कमबेसी अस्वाभाविकपन छ । कताकता पुरानो नेपाली फिल्मका हिरो-हिरोइनको भद्दा प्रेमिल बातचित जस्तो । प्रणयको अनुरागी मजस्ता मनुवाहरू यसबाट खुस हुन् नसक्ने जोखिम बढ्ता छ । प्रिमियर शो भएका कारण पनि होला, धोएर सुकाएको जुत्ताको लेस हावाले उडाएजस्तो, सुरुवाततिर केही हराए-हराए महसुस भयो । फेरी, ‘मेनुका-कार्म’ दम्पतीले यस (शृङ्गारिक रस)लाई अझ मुटुले गाँसेर बोल्न नसकेर पनि हो कि ?
जे होस्, सुरुवाती डाइलग वा घटनाको विस्तारले भन्दा मलाई स्टेजको ‘पुटुस्स भुँडी निक्सिएको बडेमानको रुखले बढी तान्यो । सेट डिजाइनले मन खिच्यो । अझ भन्दा, रुखलाई मानविकीकरण गरिएको कुराले दिमाग हल्लायो । किनभने, आफ्नै जीवनको रूपकभन्दा बढी देख्न र सुन्नका लागि एउटा विशेष प्रकारको दृष्टिकोण आवश्यक हुन्छ र त्यो दृष्टिकोण ‘पुटुस्स भुँडी निक्सिएको’ रुखले ममा सञ्चार गर्न सफल भएको छ । नाटकले प्रतीकात्मक रूपमा रुखलाई उभ्याएको छ, तर आँखाले देखेको भन्दा दिलले देखेको रुख अझ विशाल र मनमोहक छ । गर्भिणी मेनुकाले पुटुस्स भुँडी निक्सिएको रुखसँग गरेको संवादले अनन्त अर्थहरू बोक्न सफल भएका छन् ।
अलिक अगाडी, म्यासेन्जरमा कसैले मलाई एक बाबुले आफ्नो छोरीलाई जोगाउन रुख बनाइदिएको र छोरीको कपालहरू क्रमशः रुखको हाँगा एवं जरा बन्दै गएको गजबको पेन्टिङ बर्थडे गिफ्ट पठाइदिएको थियो । त्यो पेन्टिङ र पेन्टर दुवै यतिबेला मेरो याददासदेखि बाहिर रहे तर, यस्ता बिम्ब उठान मलाई रुचिकर लाग्दछ । पृथ्वीमा सबैभन्दा लामो बाँच्ने सजीव प्राणी रुख, बडो भावुक स्पर्श हो मेरा लागि । रुखलाई अँगाल्नु मेरो प्रिय आदत हो । अनि, मेरा धेर प्रेमक्रीडा रुखमा सामुन्ने वा मुखेन्जी भएका छन् । म र प्रेमिकाज्यूले धेरै ठाउँका धेरै रुखहरूलाई ‘तिमि र म’ भनेर आएका छौँ । हामी विश्वस्त छौँ कि, जीवनको रहस्यमय वृद्धिका रुख सर्वकालिक खपतयोग्य वस्तु हो । शुद्ध सङ्ख्यात्मक सम्बन्धको जालझेलमा रुमल्लिएको यस दुनियाँमा रुख सबैभन्दा भद्र वस्तु हो । प्रकृतिको अत्यावश्यक अंश हो । मानव जातिको इष्टकुल रुख नै हुन् । यति भन्न के आनाकानी, रुख अस्तित्वमा रहेको सबैभन्दा विराट र महानतम् कृति हो । कलाको अस्तित्व प्राचीन सभ्यतादेखि नै विभिन्न रूपमा रहेको छ, जसमा रुख सबभन्दा अग्रपङ्क्तिमा छ । भनौँ न, यस नाटक आफ्नो रचनात्मकताको परीक्षणमा सफल भएको छ ! तर, पुटुस्स भुँडी निक्सिएको रुखले मलाई ‘तुम्बाड फिल्म’को पनि सम्झना दिलायो तर, नाटक हेरेर निस्किसकेपछि केदार दाजुले तुम्बाड आफ्नो दिमागमा बस्दै नबसेको बताएर मेरो यो शङ्का दूर गरिदिए ।
अब फेरी माथि फर्किऔँ । म, सुरुवाती संवादको अमूर्तताबारे कुरा गर्दै थिएँ ।
त, धेरै कुरा सीमित शब्दमा भन्न खोज्दा सुरुमा अलिअलि हाइ आउँछ, त्यसपछि अलि लामो हाई आउँछ । र, एक घाँटी मिनिरल वाटर घुटुक्क पनि पार्न मन लाग्छ । अनि, आँखा अलि खोलेर ‘के गरिरा हो, के भनिरा हो’ भनेर बुझ्नका लागि अघिल्लो सिटमा आङ तन्काइरहेको दर्शकलाई ‘खै छेलियो’ भनेर अलि घोरिन मन लाग्छ, अलि प्रष्ट हुन् मन लाग्छ । अनि एक छिनपछि नाटकले मलाई तान्छ र अन्त्यसम्म तानी नै रहन्छ ।
फेरी, नाटक ठ्याक्कै वास्तविकता होइन भन्ने म जान्दछु । नाटक वास्तविकता भन्दा बढी हो वा अझ कम हो, तर बराबर होइन । ठ्याक्कै उही नाटक होइन, यसकारण यस अस्वाभाविकतालाई पनि स्वाभाविक मान्ने अधिकार दर्शकसँग छ तर, अँध्यारो कोठामा पस्नेबित्तिकै हरेक दर्शकको दार्शनिक/काव्यिक/साहित्यिक खोपडी तयार भइहाल्दैन । त्यसका लागि अलिक माहौल चाहिन्छ । यत्ति हो, त्यस वार्तालापको गाम्भीर्यसँग मेरो समस्या छैन तर, सुरुवातमै नाटक अलि गह्रुङ्गो महसुस भयो । अलिकता आफूलाई उचाल्नुपर्छ । कन्नुपर्छ । अलिकता आफूलाई एकाग्र बनाउनुपर्छ । यत्ति हो, नाटकको सुरुवातमा ठस् ठस् छ ।
***
नाटकको स्वाद, शैली, प्रस्तुति र विषयवस्तु मलाई मन परेको छ । त्यो जम्मै यहाँ भन्दा एक्सप्लोयर भइजाने खतरा छ । फेरी, भन्न मिल्नेजति कुरा भन्नुपर्छ, नत्र मुटुमा गाँठो पर्छ । मुटुजस्तो मुलायम वस्तु कसिनका लागि होइन । यसकारण यसलाई फुकाइहाल्नुपर्छ । त, सोही गरौँ । गाँठो फुकाऔँ ।
एउटा अति सामान्य कथालाई अलिकता हास्यरस, अलिकता प्रेम रस, अलिकता कारुणिक रस, अलिकता आवेगात्मक रस (?) सहित प्रस्तुत गरिएको छ । त्यो अति सामान्य कथा क्रमशः अति असामान्य बन्न पुग्दछ र, यसले नाटकको ओज बढाउँछ । नाटकको एक खुसमिजाज स्वभावका दम्पती (चित्रकार र शिक्षिका) को मनोभावनात्मक उतारचढाव (आन्तरिक द्वन्द्व र पारस्परिक द्वन्द्व) नै नाटकको विषयवस्तु हो ।
अझ, विस्तारमा भन्दा (भनौँ न, पाँच नम्बरे प्रश्नका लागि संक्षिप्त व्याख्या गर्दा)- नि:सन्तान दम्पतीको सन्तान चाह, श्रीमान्को श्रीमतीप्रतिको असीमित प्रेम र गर्भवती आमाको सन्तानप्रतिको असीमित मोह नाटकको उकाली-ओराली हुन् । गल्छी र गल्छेडा हुन् । यस नाटकले गति समातेपछि दर्शकका लागि बिसाउने चौतारी वा भन्ज्याङ छैन । देउरालीको सुविधा छैन । निरन्तर ढुकढुक नै नाटकको गति हो । नाटक आश्चर्यचकित रूपमा गति प्रदान छ । निरन्तरको बहाव नाटकको विशेषता हो । र, अन्यमा जसप्रकारको ओपन इन्डीङ छ, त्यसले पनि नाटकको बगाइलाई रोक्ने दुस्साहस गरेको छैन । अझ गति प्रदान गरेको छ । भनौँ न, मूल घटनालाई प्रभावकारी, आकर्षक र कुतूहलपूर्ण बनाउनका मेरा छिमेकी दाजुले लेखनमा गजबका मिहेनत गरेका रहेछन्, त्यो नाटक हेरिरहँदा प्रष्ट हुन्छ । भनौँ, उनी म भन्दा पनि बढी भूमिका बाँध्न र त्यसलाई सिलसिलेवार बनाउन माहिर रहेछन् ।
नाटकमा ‘द्वन्द्व’लाई अनिवार्य तत्त्व मानिन्छ, र यस नाटकमा त्यो तत्त्व स्पष्ट रूपमा उपस्थित छ। र, त्यो तत्त्व हो- गर्भमा रहेको भ्रूण । जो, एकपटक, आफ्नो आमालाई कठोर प्रश्न गरिदिन्छ, ‘तपाईँहरूको शारीरिक सुखको परिणाम म हुँ या मेरो जन्मको कुनै कारण पनि छ ?’ यो प्रश्न निकै तीव्र र तिखो छ। यस प्रश्नले ढुकढुकी एक्कासि बढाउँछ र मेरो मुखबाट अचानक एउटा लामो सुस्केरा छुट्छ ।..खुइय । विवाहित दम्पतीको प्रजनन स्वास्थ्यका सवालमा यो प्रश्न निकै बलशाली छ । तिखो छ । यसले सोच्न बाध्य तुल्याउँछ – ‘सम्भोग शारीरिक सुख हो कि, यसको कुनै गहिरो कारण र उद्देश्य पनि छ?’ अतः एक वाक्यमा भन्दा- गर्भभित्र रहेको भ्रूणको यै-यस्तै भावको प्रश्न नै नाटकको नाभीस्थल हो । नाइटो हो ।
गर्भमा हुर्किरहेको र धर्तीमा आउने-नआउने टुङ्गो नभएको र बाबुआमाको निर्णयशक्तिमा जीवन वा मृत्यु पर्खिरहेको सो भ्रूणको सम्बन्धमा अलिकता कुरा गर्नु मन छ । चिकित्सकको निगरानी र पटकपटक परीक्षणपछि यो पक्का हुन्छ कि ‘आमा र बच्चा’मा एउटा बाच्नेछन् । दुवैको जीवन एकसाथ सम्भव छैन। यसले दम्पतीद्वयले दुई धारमा विभाजन गर्दछ तर, गर्भको भ्रूणको निर्णायक अधिकार छैन । यी सबै भावनात्मक उतारचढाव नाटकको मुख्य सङ्घर्ष र विकासको आधार हुन् ।
आजको समयमा, गर्भवती सेवा लिनेको सङ्ख्यामा सुधार हुँदै गएता पनि, बालबालिकाको मृत्युदरमा पनि उल्लेखनीय कमी आएता पनि, प्रजनन दर ह्वात्तै घटेको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा प्रजननदर आधा घटेको औँल्याएको समाचार दुई वर्ष अघि म आफैँले लेखेको हुनाले यस विषयप्रति म थोरबहुत जानकार छु । पहाड रित्तिएको र नेपालले जनसाङ्ख्यिक लघुताभास (अल्पता) खेपिरहेको कुरा पनि प्रष्ट छ । यस्तोमा प्रजनन उमेरका म जस्ता पुरुष र प्रजनन उमेरकै मेरो भूतपूर्व प्रेमिका जस्ता महिलाहरूले विवाहलाई कुहिनोले घुच्च दिएर ऊ..पल्तिरै धकेलिदिने प्रचलन बढेको छ । फेरी, विवाह बेगर बच्चा हुर्काउन पाउने नैतिक हैसियत कायम गर्न नेपाली समाजले अझै सकेको छैन । अझ, भविष्यमा विवाहयोग्य पुरुषले महिला जोडी नै फेला नपार्ने अवस्था टड्कारो देखिएको छ । वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा युवा विदेश पुग्नुले सन्तान उत्पादनको उर्वर समयमा श्रीमान्-श्रीमती सँगै नबस्ने स्थिति टड्कारो बनेको छ, जसले यौन सम्बन्धी विचलन पनि ल्याइरहेकै छ । यी विविध कारण, गाउँघरका माध्यमिक विद्यालयहरूमा बच्चा भन्दा बढी भवनहरू देखिन थालेका छन् । नेपालले राजनैतिक आपत् एवं प्राकृतिक विपद् सँगसँगै जनसाङ्ख्यिक चुनौती व्यहोर्नुपर्ने प्रष्ट भएको मानवशास्त्री र समाजशास्त्रीका टिप्पणीहरू छन् । यस्तोमा, यस नाटकले कहीँ न कसो, यस विषयलाई कोट्याउने काम पनि गरेको छ । यस नाटकलाई यस तरिकाले पनि विचार-विमर्श गरिओस् भन्ने मेरो व्यक्तिगत अनुरोध हो ।
अझ, प्रजनन उमेरकै अविवाहित म, यस नाटकपश्चात् भविष्यमा ‘आमा कि बच्चा’ भन्ने डाक्टरको प्रश्नको सामना कसरी गर्छु होला भनेर सोच्न बाध्य पनि भएँ । यस विषयमा प्रथमपटक मेरो ढुकढुकी बढ्यो । श्वास फुल्यो । अनि, के लाग्यो भने, समाजले उत्तर दिन नखोजेको/नचाहेको यस्ता तमाम विषयलाई कला-साहित्यले यसप्रकार मुखाग्र भएर सोध्ने आँट पनि गर्नुपर्दछ । यही विषयमा थिएटर बाहिर निस्किएपछि, यस समयकी भिटरान थिएटर आर्टिस्ट सरिता गिरि दिदीसँग मेरो कुरा पनि भयो । मैले भने, “नाटकले मलाई सोचमग्न बनायो । समवयस्ककी साथीलाई प्रेमिकाका रूपमा हेरिरहेको मैले उनलाई श्रीमतीको रूपमा अझ हेर्न भ्याएको रहेनछु । आमाको रूपमा त अझ सोच्नै भ्याएको रहेनछु ।” दिदीले मन्द मुस्कानले भन्नुभयो, ‘भनेसी तिमीलाई छोयो, यो राम्रो भयो ।”
त्यसपछि, दिदीसँग मेरो नेपाली समाजका यस्ता कतिपय विषयवस्तु होलान्, जसलाई यसैप्रकार डेढ घण्टाका नाटक, हप्ता दिनका पेन्टिङ एक्जिविसन, ३०० पेजका उपन्यास वा अन्य कला-साहित्यका माध्यमले उधिन्न बाँकी होलान् भनेर निकैबेर कुराकानी भयो । हामीले पहाड रित्तिएको र भोटका लागि हरेक घरमा बाटो पुर्याइएको, वन्यजन्तु-मानव द्वन्द्व बढेको र त्यसलाई अत्यन्त सामान्यीकृत गरिएको, जलवायु परिवर्तनका कारण क्यालेन्डर बनेर हरेक वर्ष दोहोरिन थालेका प्राकृतिक विपद् र त्यसले निम्ताउने सामाजिक उतारचढाव, सामाजिक सञ्जाल र समाज र सांस्कृतिक एवम् बौद्धिक ह्रासका विषयमा एक-एक कप चिया समय बराबर गफियौँ । हाम्रो गफमा केदार जी, आरति गौतम, उषा रजक आदिले पनि साथ दिइरहे । समापिका जी र अनामिका दिदीसँग पनि यै-यस्तै विषयमा गफ हुन् पायो । (यसतर्फ बिट मारौँ ।)
***
अर्को पाटो, विषयवस्तुको ओज र नाटकको दृश्य परिवर्तनसँगै ‘कर्मा-मेनुका’ दम्पतीले दर्शकसँग गर्ने अन्तर संवाद बडो गजबको छ । किनभने ‘कर्मा-मेनुका’ दम्पतीमा संवादको प्रभावकारिता वा भनौँ संवादात्मक प्रयोगशीलता देख्न पाइन्छ । केही हदसम्म कलाकारले अभिनयात्मक नवीनता देखाएका छन् । प्रेमपासमा बाँधिँदा होस् या एकअर्काप्रति चिच्याएर बोल्दा, रुँदा होस् वा दिल खोलेर हाँस्दा, उनीहरूमा जीवन्तताको सहज विकास एवं विस्तार हुन् सकेको छ । पात्रको स्वरूप, प्रवृत्ति वा भूमिका झल्काउने सवालमा कुनै हडबड वा गडबड छैन । भनेको, ‘चरित्रचित्रण’ मज्जाको छ । जस्तो हुनुपर्ने हो, त्यस्तै छ । मानवीय वा मानवेतर दुवै गुण, यी कलाकारले देखाउन सकेका छन् । भनेको, नाटकको केन्द्रीय कथ्य वा भाव जे हो, त्यो देखाउन सकेका छन् । बताउन सकेका छन् । यसबाहेक पनि ‘परिवेश’ अनुरूप उनीहरूको मुखाकृति, हाउभाउ प्रष्ट देखिन्छ । त्यो भनेको उनीहरू रुँदा रोएकै छन् र हाँस्दा हासेकै छन् । रिसाउँदा रिसाएकै छन् । चरित्रको भावअनुसारको सम्प्रेषण कलाकारद्वयमा देख्न पाइन्छ । यसतर्फ, अझ अलिकता भन्दा, कलाकारद्वयले नाटकको रूपान्तरित वा विस्तारित घटनाक्रमलाई दृश्यसंरचनामा ढाल्ने सवालमा बबाल काम गरेका छन् । यी दुईको अभिनय कौशलताको म प्रशंसक हुँ । यी दुई आदरणीय कलाकारको अभिनयको जीवन्ततालाई दिल खोलेर प्रशंसा गर्न कुनै कन्जुस्याइँ गर्नुपर्दैन ।
यसपछि, सेट डिजाइन (बाह्य बनोट)को कुरा रह्यो, त्यसले पनि दिल खुस गरेको छ । हामी लेख्नेहरू लेखिसकेपछि ‘साफी लेखन’ गर्छौँ, त्यस्तो केही चाहिँ सेट डिजाइन एवं लाइटिङका हकमा हुन् सक्थ्यो । आगामी मञ्चनहरूमा त्यो सुध्रिएला । निर्देशक/लेखक तथा कलाकारहरू सिकारु चरण नभएका कारण यस सम्बन्धमा ‘छुचो मुख’ गर्न मन लागेकै छैन । (गर्दिनँ भनेसी गर्दिनँ ।)
तर, बेबी पम्प फोटोसुटको कुरा नाटकले गरेको हुँदा, इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबी लगायतका कुराहरू पनि थिए, तर त्यसबारे नाटकले ध्यान दिएको छैन । दिँदा अझ बेस हुन्थ्यो ।
***
अब यसलाई टुङ्ग्याउनु पर्छ ।
महिला र पुरुषको सहअस्तित्वको सवालमा धेरैले बोलेका छन्, तर यस नाटकले अझ प्रष्टसाथ् बोलेको छ । त्यो भनेको, नाटक यी दुई फरक लिङ्ग धारी जन्तुको सम्बन्ध र यी दुईको सम्बन्धका कारण प्रस्फुटित हुने संवेदनाको विषयमा मुखाग्र हुन् सकेको छ । दाम्पत्य जीवन सम्बन्ध र संवेदना दुवैको मिश्रण हो । सम्मिश्रण हो । यसको स्थायित्वका लागि प्रश्नहरू आवश्यक छन् र उत्तरहरू आवश्यक छन् । तर, हरेक प्रश्नको उत्तर हुँदैन र हरेक उत्तरको प्रश्न हुँदैन । सम्मान र आत्मसम्मान; सम्बन्धका प्रश्न र उत्तरहरू हुन् । उत्तर र प्रश्नहरू हुन् । यस कुरालाई नाटकले जताएको छ ।
धेरै लामो भइसकेकाले,
नेपाली नाटकको समकालीन परिभाषा, संरचना र चिनारीभन्दा भिन्न र प्रयोगधर्मी रहेकै कारण यस नाटकले दिल खुस गरेको हो । र, यति लेखिसकेपछि, दिल अझ बढ्ता ‘दिल खुस’ भएको छ ।
लौ त, अस्तु !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।