मकवानपुर मनोहरीका रोशन बिकले व्यावसायिक रुपमा चित्र बनाउन थालेको १८ वर्ष भयो ।
चित्रकलामा नै रूचि छ भन्ने उनले निकै पछि मात्र चाल पाएका थिए । गाउँ छोडेर काठमाडौँ छिरिसकेपछि साइनबोर्ड लेख्ने काम गर्न थाले ।
‘गाउँमा हुँदा चित्रकलाबारे केही थाहा थिएन्,’ उनले भने, ‘काठमाडौँ आइसकेपछि भने साइनबोर्ड लेख्ने काम गर्दागर्दै रङको बारेमा थाहा पाउँदै गएँ । त्यसपछि विस्तारै चित्र बनाउन थालियो ।’
विभिन्न चित्रकारहरु र चित्रकलाका बारेमा जान्न बुझ्न थालेपछि उनलाई चित्र बनाउने अभिरुचि बढ्दै गयो । त्यसपछि उनी चित्रकलालाई निरन्तरता दिँदै जाँदा अब्बल चित्र कोर्न सफल भए ।
उनले २०७६ सालमा एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् भने सामूहिक रुपमा पनि थुप्रै प्रदर्शनीमा सहभागी भइसकेका छन् ।
आफ्ना चित्रहरुमा उनी बढीजसो वाटर कलरको प्रयोग गर्ने गर्छन् । काठमाडौँका कला-संस्कृतिले चित्र कोर्न रोशनलाई प्रेरित गर्ने गर्छन् । उनी भन्छन्, ‘मलाई यहाँका मठमन्दिर र नेवारी संस्कृतिहरु यति मन पर्छन् कि ती प्रत्येकलाई चित्रमा उतारूँजस्तो लाग्छ ।’
त्यसैले पनि उनले अधिकांशतः देवीदेउताका मूर्तिहरुलाई नै सिर्जनाको मूलमन्त्र बनाएका छन् ।
चित्रकलालाई नै व्यावसायिक पेसाका रुपमा अँगालेका रोशनले आफ्ना चित्रहरु १० हजारदेखि ६० हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

