कवि दुर्गालाल श्रेष्ठको जन्मको प्रसङ्ग नै अलि असाधारण छ । उनको जन्मको कुरा गर्दा कुनै नाटकको दृश्यझैं लाग्छ ।
काठमाडौं सहरको एउटा निम्नमध्यम वर्गीय परिवार, जसमा एउटा लोग्ने, एउटी स्वास्नी र तिनका केही ससाना सन्तानहरू थिए । लोग्नेचाहिँ सखारै केही मिठाई, सागसब्जी किनेर ल्याई आफ्नो सानो पसलमा बेच्थ्यो । उनीहरूको घर वरिपरिका घरहरूमध्ये पनि सबभन्दा होचो र सानो थियो । केही कारणवश उनीहरूको घरसँग टाँसिएको घरवालाले घर बेचेर जान चाह्यो र उनीहरूलाई घर किन्न अनुरोध गर्यो । उनीहरू घर किन्न त चाहन्थे तर पैसा भने पुग्दो थिएन । त्यस बेला त्यस घरको मोल पनि त्यस्तै एक–डेढ सय मात्रै थियो । तर उनीहरूसँग पचास रूपैयाँ मात्र थियो । त्यसैले लोग्ने चाहिं गयो आफूले सधैं सेवा गर्ने मालिकसँग केही सापटी माग्न गयो। साहूले दिन्छु पनि भन्यो । तर समयमा नदिएकोले फेरि भन्न गयो । साहूले भन्यो “तँलाई दिन्छु भने पछि दिइहाल्छु नि ! ल त्यो बेच्ने मान्छे बोलाएर ल्याऊ,” साहूले केही कागज गराएर पैसा दियो र साहूको जयजयकार गर्दै उनीहरू त्यो घरमा बस्न पनि थाले ।
तर एक साल नबित्दै त्यो साहूले तिनीहरूलाई घर खाली गर्न भन्यो । वास्तवमा साहूले कागज बनाएको त सापटीको नभई घरै उसको नाममा पो गरेको रहेछ त ! अशिक्षा र त्यसभन्दा पनि बढी साहूलाई पूरा विश्वास गरेको कारण उनीहरू नराम्ररी खाल्डोमा परे । साहूले जाऊ भनेपछि जानै पर्यो । उनीहरू घर खाली गर्न थाले ।
यसै क्रममा एउटा सानो सन्दुक झ्यालबाट झार्नु थियो । लोग्ने चाहिं माथि झ्यालबाट सन्दुकलाई डोरीले बाँधेर खसाल्दै थियो । स्वास्नी चाहिं तल उभिएर सन्दुक थाप्दै थिई । यत्तिकैमा डोरी चुँडेर सन्दुक तल खस्यो । त्यसले सन्दुक थाप्दै बसेकी गर्भवती स्वास्नीको पेट थिचिन पुग्यो । त्यो सन्दुकको थिचाइले ब्यथा सुरु भयो र त्यसै कारण असमयमै एउटा बालकको जन्म भयो ।
त्यही बालक नै थियो – आजका सुप्रसिद्ध कवि दुर्गालाल श्रेष्ठ । त्यो दिन थियो ने. सं. १०५६ दिल्लागा एकादशी (वि.सं. १९९२ साल साउनकृष्ण एकादशी) र स्थान काठमाडौंको न्हैकंतलाको चाबहालको दथुननी । उनलाई जन्म दिने मातापिता थिए — आशामोती श्रेष्ठ र गणेशलाल श्रेष्ठ ।
आफ्नो जन्मको विषयमा बताउँदै कवि दुर्गालाल भन्छन्, “मान्छेलाई आफ्ना दुइटा कुरा थाहा हुँदैन भनिन्छ – एउटा जन्म र अर्को मृत्यु । यो मेरो जन्मको कथा मेरी आमाले बडो दुःखपूर्वक सुनाएकी थिइन् । मलाई त्यो सुनाएको क्षण मेरा आँखामा यति झल्झल्ती छ — भरखरै सुनिरहेझैँ लाग्छ ।”
उनको जन्मको यस घटनाको विषयमा उनले एउटा कविता पनि लेखेका छन्, जुन ”किरमिरे धर्साहरू” कवितासङ्ग्रहमा सङ्ग्रहित छ ।
एकतमास म हेर्दै गर्छु
तिम्रो तस्बिर जब आमा,
मधुर वेदना छाएजस्तो हुन्छ
ज्वलित मेरो आत्मा !
शीघ्र स्मृतिको आँचल पक्री पुग्छु
म अनि त्यो विगतमहाँ,
हाम्रो बुइँगल, साँझ परे पनि
चुलो चिसो नै देख्छु जहाँ !
तिम्रो काखैमा पल्टी म
सुँकसुँक गर्दै अनि रुन्छु,
शिरमा सुमसुम गरी तिमीले
बोलेको म अझै सुन्छु–
‘छोरा ! तिम्रो जन्मै जुन भो
बिल्कुल असमयमा नै भो !
किन भो ? यो पनि सम्झी राख्नू
शोषणले गर्दा नै भो !
कस्ता हुन्छन् यो पनि सम्झ
टोले ठूला–ठालुहरु ?
तीभन्दा बरु जाती हुन्छन्
जङ्गलका ती भालुहरु !
तिम्रा बाबा दङ्ग परेथे
हामीलाई घर किन्न
सेठबाट भो कर्ज निगाहा
ठयाम्मै रुपियाँ पचपन्न !
अनि त्यो घरमा गर्दै बास
छाकै काटी तिर्न रिन,
पैसा जम्मा पारिरहेको
मात्र भएथ्यो वर्ष दिन ।
तर उसको गुलियोले हामी
बल्छीमा पो अड्केछौँ !
घरको कागज हेर्दा त्यसमा
नाउँ त उसकै पो देख्यौँ !
मानिसको, मानिसकै ऊपर
यो कस्तो धुत्र्याइँ अहो !
किन्तु निहत्था हाम्रो त्यो क्षण
बल नै यौटा सहनु थियो !
‘दानी’ को यो शैतानीले
हामी क्षुब्ध अवश्य थियौँ,
मौन छ ईश्वर, आखिर
हामी घरबाटै उठिबास भयौँ !
रुनु–हाँस्नु हुँदै सामानहरू
सब ओसारपसार गर्यौँ,
बाँकी सन्दुक झ्यालैबाट
तल ओसार्न तयार भयौँ ।
डोरी चुँडिई तर सन्दुकले
मेरो पेटैमा थिचियो !
त्यही चोटले छोरा, तिम्रो
बेला नहुँदै जन्म भयो !
हैन तिमी हुर्केको कारण
केवल मेरो वात्सल्य,
शोषणमोचनको पनि त्यसमा
निहित छ मेरो तात्पर्य !’
बुवाको नाङ्लो पसल
आफ्ना बुवालाई सम्झँदै कवि दुर्गालाल भावुक हुँदै विगतको कथा सुनाउँछन्ः
बाथ रोगले पीडित उनका बुबा बिहान उज्यालो नहुँदै उठेर सीतापाइलातिर हिँडेर जान्थे । थायमदुदेखि सीतापाइलासम्म हिँडेर जाने–आउने सजिलो कुरा होइन । तर तरकारीको थोक बिक्री त्यहीँ हुन्थ्यो । अनि अहिले जस्तो यातायातको साधन त्यसबेला थिएन ।
उनका बुबाले त्यहाँबाट एक डाला तरकारी किनेर ल्याउँथे । उज्यालो भएपछि आफ्नो सानो पसल खोल्थे । नाङ्गलोमा तरकारी र अन्य ससाना सामान फिजाउँथे । एकातिर दाउराका मुठा बेच्नराख्थे । दिनभरि पसलमा बस्थे । बुबाको त्यही कमाइले हाम्रो परिवार चल्थ्यो ।
दुर्गालाल भन्छन्, “रात नपरी बुबा घर फर्केको हामीलाई कहिल्यै थाहा भएन । सधैं कमाउनमा तल्लीन हुनुपर्दा छोराछोरी के गर्दैछन् भन्ने भेउ पाउने फुर्सद पनि उनलाई भएन, त्यसैले हामी पनि सीधा बाटो हिँड्न नजान्ने जस्तै भयौं । बुबाले हामीलाई पढसम्म पनि भन्दैनथे । पढाउन नचाहेर होइन, पढ भनेपछि त्यसको लागि केही खर्च गर्नुपर्ला, कापी–कलम किनिदिनुपर्ला भनेर हो, जसको लागि उनी समर्थ थिएनन् । नभए कुन चाहिं बुबाले आफ्नो छोराछोरी पढेको हेर्न चाहँदैन होला र ?”
गरिबीको सजाय
उनको बुबा साहुहरूमा धेरै नै निर्भर थिए । उनको जन्मभन्दा अघिको अर्को एउटा घटना पनि उनकी आमाले सुनाएकी छन् । त्यसबेला उनीहरूको टोलनजिकै एउटा गल्लीको कुनामा कोठी थियो । राणाहरूको चाकडी गर्न जाने समाजमा प्रतिष्ठित भनिएका मानिसहरू त्यो कोठीमा जान्थे ।
कोठीमा धेरै नै जथाभावी हुनथाल्दा पुलिस आए । कसैले त्यहाँको अँध्यारोको फाइदा उठाएर पुलिसलाई पनि कुटेर भगाइदिए ।
उनीहरूलाई थाहा थियो पुलिस फेरि फौज लिएर आउनेछ । उनीहरूले पसलमा बसिरहेका उनका बुबालाई ‘पुलिसहरूले कसले पिटेको’ भनेमा ‘मैले हो’ भन्देऊ भनेर सिकाए । उनका बुबाले साहुहरूले भनेजस्तै बोले । अनि त उनका बुबा जेल परे । जेलभित्रै पनि काम गरेर उनका बुबाले घर चलाउने पैसा पठाउनुहुन्थ्यो रे ! उनकी आमाले यस्तै यस्तै दुःखका कुरा सुनाएको उनलाई अझै झल्झती आइरहन्छ ।
जन्मघर
राजधानीको व्यस्त बजार असन नजिकैको न्हैकंतलाटोलमा दुर्गालालको जन्म भएको थियो । सहरको आफ्नै किसिमको सम्पन्नता र दरिद्रता हुन्छ । बाहिरबाट हेर्दा सहर गाउँभन्दा कता हो कता सम्पन्न देखिन्छ तर सहरको दरिद्रता कतिपय अवस्थामा गाउँको अभावभन्दा धेरै दुःखदायक हुन्छ ।
असन नजिकैको न्हैकंतला टोल भने पनि उनको घर त्यस टोलको चाबहालभित्रको एउटा सानो चोक दथुननीमा थियो । चोकभित्रका चारपाँच घरमध्ये पनि सबभन्दा दुब्लो र पुड्को घर उनकै थियो । माटोको त्यो पुरानो घरको प्रत्येक तला होचा थिए, निहुरेर हिँड्नुपर्ने गरी । कवि आफ्नो जन्मघर सम्झँदै भन्छन्, “सबैतिर उज्यालो भइसक्ता पनि हाम्रो घरमा बिहान भएको हुँदैनथ्यो । तल रछान थियो । घरपस्ने ढोकैनिर अर्काको शौचालय थियो । त्यसैले गर्मी सुरु नहुँदै पनि मेरो घरमा लामखुट्टे आउँथे ।”
दुर्गालालले बाल कविता लेख्ने क्रममै आफ्नो त्यो जन्मघरलाई व्यङ्ग्य गर्दै लेखेका छन्ः
जिमि ला भाइ सा ! क्या जक मज्जा !
साःगाः दथ्वी छेँ !
साःगाः साःगाः माःमाः हना
स्वांमाः क्वखाय् थें !
(श्रोतः दुर्गालाल श्रेष्ठ, ताइभाबा, (काठमाडौंः ज्योति पुस्तक भण्डार, ने.सं. १०८६), पृष्ठ २३–२४ ।)
सो व्यंग्यात्मक बाल कविताको नेपाली अनुवाद यस्तो छः
हाम्रो त आहा ! कस्तो मज्जा !
रछान बीचमा घर !
रछानैको माला पहिरी
बसे जस्तो वर !
हावा चल्नासाथै उठ्छ
फोहरको हरक
झ्यालबाट पसी कोठा
पार्छ नरक
संगीत सम्मेलनझैं दिउँसो
झिंगाको भनभन
राति फेरि लामखुट्टेको
चल्छ है गनगन
छेरौटी मैँया भित्र्याउने
दैलोझैं सुन्दर
तिम्रो पनि छ कि साथी
हाम्रोजस्तो घर ?
(मूलतः नेपालभाषाका लेखक आर. मानन्धर दुर्गालाल श्रेष्ठ विषयक शोधार्थी हुन् । नेपालीमा उनको ‘क्षितिजको स्पर्श’ पुस्तक प्रकाशित छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।