सानो छँदा
हामीलाई फकाउँदै
बा भन्नु हुन्थ्यो–
हाम्रो नाति कति जाती
हाम्री नानी कति ज्ञानी
पल्लो घरको दादा त नजाती
माख्लो घरकी बुनु त अज्ञानी…
हामीले तोते बोलेको
नखरा पारेको
आफूभन्दा ठूलो मान्छेलाई
“तिमी” सम्बोधन गरेको
हिलोमा खेलेर
कपडा फोहोर पारेको
भान्छामा
भाँडाकुँडा फालेको
इत्तरिएर
बोटबिरुवा ढालेको
हाम्री आमालाई राम्रो लाग्थ्यो
मस्तिष्कको कलिलो ऐनामा
पहिले हामी अरूलाई हेर्थ्यौं
फेरि
आफैँलाई हेरेर दङ्गदास पर्थ्यौं
पछि स्कूल जान थाल्यौं
प्राथमिक कक्षामा
कखरा पढाउँदै गर्दा
अरू अक्षरलाई
गुरूले
कहिल्यै राम्रो भन्न सिकाउनु भएन
तर
म लाई देखाउँदै भन्न सिकाउनु भयो–
राम्रो म
गुरु
म जस्तै अनुहारको ञ लाई
गोरूको सिङ जस्तो भनेर
खिसी गर्नुहुन्थ्यो
ग लाई गाई गोडे ग भनेर
होच्याउनु हुन्थ्यो
अरूजस्तै उमेरको य लाई
बूढो य भनेर खिज्याउनु हुन्थ्यो
कोदाली त भन्दा
मुख बंग्याउनु हुन्थ्यो
ट लाई ओठ काटे ट र
न लाई निउरीमुन्टी न भनेर
अपमानित गर्नुहुन्थ्यो
बदमास ब भनेर
ब लाई बदनाम गर्नुहुन्थ्यो
छेपारो छ भनेर
छ को छविमा दाग लगाउनु हुन्थ्यो
तर म लाई
कहिल्यै नराम्रो भन्नु हुन्नथ्यो
बरू राम्रो म भन्ने बेलामा
मुस्कुराउँदै
जुँगामा ताउ लगाउनु हुन्थ्यो
त्यही भएर होला
आजसम्म पनि मलाई
म जति राम्रो
अरू कोही छैन जस्तो लाग्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।