लेखान्त त्यस्तै, पुचुने धामीको मरण उसका शत्रुहरूले भनेजस्तै गरेर भयो…

केर्खा बजारमा लिम्बूहरू सधैं राँगा काट्छन् । पुचुने धामी जेसुकैको मासु खान्थ्यो । ‘भेटे आमाकै मासु खान्छु’ सम्म भन्थ्यो । पुचुने दश वर्षको हुँदा नै आमा खसिन् । टुहुरा हुनु र दुःखको कारण उसले सानो छँदा धित मरुञ्जेल मासु खान पाएन । त्यसै भएर पाए गाईको मासु पनि खान्छु भनेको होला । यस्तै ठम्याउन सकिन्थ्यो ।

पुचुने धामी शुद्ध ब्राह्मण हो । एकरात उसको घरमा डाकाहरू आए । डाकाहरूले बूढालाई नाङ्गोझार पारेर खम्बामा हातखुट्टा बाँधिराखेर दुहुनु भैंसी फुकाएर लगे । पाडाचाहिं बूढासँगै अल्मलियो । मुखमा कपडा कोचेकाले बाजेले गुहार माग्न पनि सकेन । रातभरि पाडाले दुःख दिइरह्यो । बिहान मात्र छिमेकीहरूले देखे । हातखुट्टा खोलिदिए । पुचुनेले रीसमा केही नबोली बन्चरो टिप्यो र पाडाको घुच्चुकमै हान्यो । पाडा ठहरै भन्यो । ‘त्यही दिनदेखि उसले राँगाको मासु खान थालेका हो’ भन्थे देखी जान्नेहरू ।

त्यस घटनापछि पुचुनेले घरमा कुकुर पाल्न थाल्यो । जसो मालिकको बेहोरा, कुकुरले पनि टपक्क टिपिहाल्ने, उसले पालेका सबै कुकुरहरू खिच्चा भए । उसको घरमा मान्छे त के छिमेकीका बाख्रा-कुखुरा पनि ढिम्किन पाउँदैन थिए ।

एकदिन-

पुचुनेको कुकुरले छुट्टिएर बसेकी बुहारीको चाकैमा टोकिदिएछ । बुहारीले गाउँ-समाज भेला गरिन् । गाउँसभा बस्यो । बुहारीले समाजको अघि ‘ससुराको कुकुरले टोकेकाले उपचार खर्च पाउनुपर्ने’ दावी गरिन् । बूढालाई मन नपराउनेहरू बुहारीको पक्षमा उफ्रिए ।

पुचुने बूढा के कम ! सभाको बीचमा बुरूक्क उफ्र्यो- ‘टोक्यो भनेर मात्र हुन्छ । कहाँ टोक्यो ? कति टोक्यो ? अलिलि टोक्यो कि साह्रै टोक्यो ? पहिला घाउ देखा ! घाउ हेरी पो निया हुन्छ, टोक्यो भनेर त्यतिकै फत्तुर लाउन पाइन्छ ?’

पुचुने बूढाको तर्क सुनेर सभाका मान्छेहरू सबै अवाक् भए । बुहारी आपतमा परिन् । उनको बोली हरायो । यत्रोभरि मान्छेहरूको मुखेन्जी लुङ्गी उचालेर कसरी चाक देखाउनु ? ‘यो असती बूढासँग सकिंदैन’ भन्दै एकएक गरेर गाउँलेहरू आ-आफ्नो घरतिर लागे । बुहारीको पनि भन्नु बाँकी केही रहेन ।

‘तँ असती बूढाको मरन राम्रो गतिले हुँदैन । पत्थर पापी ! मर्न नसकेको ।’ ससुरालाई सरापेर बुहारी घरतिर लागिन् ।

बुहारीले सरापेको तीन महिना पुगेको थिएन । माईखोला पारिबाट भट्भटे चढेर एकजना मान्छे ‘खड्गो काट्नपर्नेछ’ भन्दै पुचुने बूढालाई लिन आए । माईखोला वारिपारि पुचुने बूढा मात्र एकजना खड्गो काट्ने, नाश तान्ने, भेद काट्ने धामी थियो ।

बाटोमा जाँदाजाँदै पुचुने बूढालाई भोक लाग्यो । माईखोलाको पुलनेर भट्भटे रोकियो । बूढा बाइकबाट ओर्लिएर एक्लै पसलतिर लागे । पसलमा समोसा, पुरी, तरकारी, खीर आदि पाइन्थ्यो । छेउको पसलको मान्छे करायो- ‘बाजे, यता आउनुस् ! गाईको शुद्ध दूधमा पकाको खीर, बडा ताजा छ ।’

पुचुने बुढा गाईको शुद्ध दूधमा पकाएको ताजा खीर खान उतै जान खोज्दै थियो । पसलको भैयाले बाटो छेक्यो- ‘ऊ झूट बोल्छ । मेरो खीर ताजा छैन भने म हजुरको पैसा लिंदैन ।’

पुचुने बूढा एकछिन सोचमग्न भयो । नमागी नै भैयाले पुचुने बूढालाई खीर दिंदै भन्यो, ‘क्या ताजा छ, खाएर हेर्नुस् !’

‘अघाउन्जेल खान कति रूप्पेमा दिन्छस् ?’ पुचेने बूढाले सोध्यो । दुई प्लेटमा मेरो खीरले मान्छे पेटभर हुन्छ । तपाईं अघाउन्जेल खानुस् ! पचास रूपैयाँ दिनुस् ।’ भैयाले भन्यो ।

‘पचास रूप्पेमा अघाउन्जेल दिन्छस् ? लु ले त ।’ पुचुने बूढा खीर खान टेबलमा बस्यो ।

पुचुने बूढाले खीर खाँदै गयो, भैया थप्दै गयो । भैयाले तीन प्लेटसम्म त हाँस्दैबोल्दै नै दियो । चार प्लेट पुगेपछि भने भैयाले काम गर्नेहरूलाई गाली गर्नु थाल्यो, ‘अरे जल्दी करो साला ! क्या कर रहे हो ?’

पसलमा अरू पनि आउनेजाने मान्छेहरू थिए । कोही समोसा, कोही पुरी-तरकारी त कोही खीर खाँदै थिए । पसलमा जति आउनेहरू उनीहरू हतारमा खाँदै, जाँदै थिए तर पुचुने बूढा भने आरामले खाँदै थियो ।

‘ओ भैया, अरू दुई प्लेट ले त !’ बूढाले अडर गयो ।

गल्लामा बसेको भैया हातैमा पैसा समाएर ट्वाल्ल परिरहेको थियो ।

‘आ, चारै प्लेट ले । के किचकिच मागिबस्नु ?’ टेबलको खाली प्लेट परतिर सार्दै बूढाले भन्यो ।

‘क्या है ये ? आदमी है कि राक्षस ? जल्दी करो । सप्पै खीर डाल्दो । गल्लाबाट निस्किँदै भैयाले आफ्नो कामदारलाई भन्यो ।

भट्भटेवाला पुचुनेलाई खोज्दै पसलमा आइपुग्यो । भैया निधार हातले थामेर पुचुनेले खीर खाएको हेर्दै बसेको थियो । दश प्लेट खीर खाएर पुचुने बिस्तारै उठ्‌यो ।

‘तिम्रो दोकानमा खीर सकेकै हो त ? अब चार खानु पाएको भाचैं अघाउँथेँ । भइहाल्यो, कहिलेकहीं हल्काफुल्का पनि खानुपर्छ । पुचुनेले पचासको नोट भैयालाई दिंदै भन्यो ।

‘भो हुजुर, पर्दैन । इतना कृपा करिदिनुस्, आजसे मेरो दोकानमा नआइदिनुस् ।’ भैयाले हात जोड्दै भन्यो ।

‘खीरमा सुकमेल धेर नहाल्नू । पेट पोल्छ के ।’ पुचुने बूढा डकार मार्दै बाटो लाग्यो ।

भट्भटेवालाले भट्भटे चालु गर्यो । पुचुने बूढा भने सरासर पुलमुनि गयो र मुखमा औंला छिराएर खीर वाक्यो ।

‘आ, यति भा पुग्छ मलाई । पुचुने बूढा पेट मुसार्दै आएर भट्भटेमा चढ्यो ।

भट्भटे गुड्यो । पुचुने बूढा भट्भटेको पछाडि बसेर माईखोलाको पुल काट्न लागेको थियो । कताबाट आकाशदेखि गोमन सर्प बूढाको काँधमै खस्यो । पुचुने बूढा तर्सेर भट्भटेदेखि सर्पसँगै उफ्रिझर्यो । बूढाको टाउको पुलको रेलिङमा ठोकियो । बूढा ठहरै भयो । सर्प पनि बूढासँगै मरेको थियो ।

एउटा दाह्रीवाला मलामी बूढो भन्दै थिए- ‘सर्प समातेर उडेको चिल, गरूडहरूको पञ्जाबाट कहिलेकहीं सर्प फुत्किन्छ । त्यसरी आकाशबाट सर्प खस्छ ।’

साँच्चीकै पुचुने बूढाको मरण उसका शत्रुहरूले भनेजस्तै राम्रो गतिले भएन….

पुचुने धामीलाई गाउँका केटाहरू ‘बाजीमारा बूढा’ भन्थे । तिनीहरू प्रायः हरेक साँझ चोकको फलैचामा भेला भएर बस्थे । पुचुने धामीले भने ‘साला एक राते हो’ भन्दै केटाहरूलाई गाली गर्थ्यो । अरू गाउँलेहरूले भने उनलाई धामी बाजे’ भनेर बोलाउँथे ।

पुचुनेको उमेर साह्रै बूढो भने होइन, साठी आसपासको जस्तो देखिन्थ्यो । सानो कदको बूढोमान्छे, मुख नधोए पनि एकदुई दिन बिराएर दाह्री भने नियमित काट्थ्यो । जाडो, गर्मी बाह्रै मास कमिज-सुरूवाल लाउने ऊ प्रायः खाली खुट्टामै हिंड्थ्यो । टोपी भने नभई नहुने । कहिले ढाकाटोपी ढल्काउँथ्यो त कहिले क्याप लगाउँथ्यो । उसको हातमा भने जुटको झोला सधैंजसो नै हुन्थ्यो ।

पुचुने धामीलाई केटाहरूले त्यसै बाजीमारा भनेका होइनन् । जोसँग भेट भए पनि, जहाँ भेटे पनि, कुरा गर्यो कि बाजी राखिहाल्थ्यो । बाजी खेलमा कसैसँग हारेको पनि थिएन । बाजी मार्नको लागि ऊ जुनसुकै हद पार गर्न तयार थियो, चाहे त्यो घाटाकै किन नहोस् ? सय रूपैयाँ बाजी जित्न एक पावा अकबरे खुर्सानी खाइदिने पुचुने धामीले पाँच सय रूपैयाँको बाजी जित्न आफ्नै घरको धुरीदेखि हाम फाल्दा खुट्टासमेत भँचायो । त्यही भएर केही खोच्याउँदै हिंड्थ्यो । बाजीकै कारण गाउँमा उसले थुप्रै शत्रु कमायो । छोरा बुहारी छुटेर गए । ऊसँग बाजी हारेकाहरू भन्ने गर्थे, ‘यो असत्ती पुचुनेको मरन राम्रो गतिले हुँदैन ।’

– – –

पुचुनेको मलामीमा उसका शत्रुमित्र सबै भेला भए । माईखोलाको पुलमुनि भेला भएका मलामी हरेकले उसका एउटा एउटा किस्सा सुनाउँदै थिए । किस्सा सुनाउँदै, सुन्दै मालामीहरू मरीमरी हाँसिरहेका थिए । पुचुनेको लाश चितामा लडिरहेको थियो । उसको छोरा दागबत्ती दिने तयारीमा थियो ।

एउटा साठी जस्तैको बूढो मान्छे हाँस्दै आफूसम्बन्धित एउटा घटना यसरी सुनाउँदै थिए-

“…पुचुनेले मलाई त धुरुक्कै रूवायो नि । माघ महिनाको एक बिहान, पट्टा लाउनलाई राँगा नार्दै थिएँ । कतै धामी बसेर फर्किंदै थियो होला, झोला निकै भुक्क थियो । जाडोले कोखिलामा हात लुकाएर आफ्नो बाटो चुपचाप जाँदै थियो । दशाहारी त म नै । उसै जिस्काउन मन लाग्यो । बाजे, परेवा कति जोर भेला परियो त ? भनेर सोधिहालेँ । बूढो त फनक्कै फर्केर सरासर साम्नेमै आयो । आफ्नो ढेडु टोपी आलीमा ओछ्याएर त्यसमाथि थचक्क बस्यो । ओए, कात्तिके । एक घण्टामा एक सय चोटी पाध्न सक्छस् ? हजार दिन्छु पो भन्छ बा । बूढोले हजारको नोट देखायो । यसो सोचें, हिसाब लगाएँ, एक घण्टा भनेको साठी मिनेट । एक मिनेटमा एकभन्दा धेर हिसाब आयो ।

‘हट । कस्ले सक्छ नचाइँदो तेत्ति सारो ?’ मैले भनें ।

‘म सक्छु । सकिनछु भने यो हजार तेरो । सकेछु भने तेरो राँगा मेरो । बूढाले पैसा नचाउँदै भन्यो । एकछिन सोचें । साह्रै असम्भव हो जस्तो लाग्यो । बूढोको हजारको लोभमा परेर ‘लौ हुन्छ’ भन्दिएँ ।

..अलिक पर जोत्दै गरेको भुजेल साइँलालाई साक्षी बोलायौं । भुजेल साइँलाले घडी हेर्ने भयो । ल सुन्नु है । कसैले पत्याउने कुरा हो यो ? एक घण्टामा एकसय चोटी ? – बूढा जोसिँदै  आफ्नो सत्यकथा सुनाउँदै थिए । वरिपरिका मान्छेहरू पनि चाखले सुन्दै थिए ।

…तिहाँदेखि ‘ल शुरू’ भनेर भुजेल साइँलाले भनेपछि बूढाले शुरू गर्यो है । एक दुई गर्दै दश, बीस, तीस, चालीस, साठी बूढाले लगातार देकोद्यै कै गर्न थाल्यो । बूढाले बाजी जित्ने भो भन्ने एकातिर पीर । अर्कोतिर गनाएर हैरान । हामी दुई बीच सतहत्तर र अठहत्तरमा विवाद भो । मैले गर्ने सतहत्तर, बूढा भन्छ अठहत्तर । भुजेल साइँलालाई सोध्दा ‘मैले त टाइम मात्र ख्याल गरें भन्छ । बूढाले जितिसकेको बाजी ढिसमिस हुने भो भनेर एक मनले खुशी पनि भएँ ।

‘लुः भै गो, फेरि शुरूदेखिन् गन्’ पो भन्छ बा ।

…फेरि त के सय पुर्याउँछ होला र बूढाले ? यस्तै सोचें र खुशी हुँदै हुन्छ भनें । तेरिमा गाँठे हो, अघिभन्दा चर्को गरी, नाकै पोल्ने, सही नसक्नुको गनाउने दिन थाल्यो है । त्यस्का बाजेले बाउन्न मिनेटमै सय पुर्यायो । भर्खर नारेको राँगा फुकाएर लग्यो त बूढाले ।

..म त जिल्ल परें । रूनु न हाँस्नु भएँ । के गर्नु ? गाउँमा दुई हजार सापट खोजेर बूढाको घरमै गएर खुट्टा ढोगेपछि बल्ल राँगो छोड्यो । साह्रै नमज्जाले बाजी जित्यो बूढाले ।”

कथा सुन्नेमा एकदुईजनाबाहेक सबैले नाक खुम्चाएर सुनिरहेका थिए । कोहीले त आफ्नो नाकै पनि थुने । माईखोलाको किनारामा पुचुने धामीको चिता जलिरहेको थियो ।

– – –

पुचुने धामी साह्रै उट्पट्याङ मान्छे थियो । बूढो धामी नै हो वा होइन ? यकिन त कसैलाई थाहा थिएन तर धामी काम भने गर्थ्यो । जे बिमार भएको भए पनि बोक्सी नै लाग्यो भन्थ्यो । बोक्सी मन्साउनलाई उसलाई एक्ले परेवा नै चाहिने । बोक्सी मन्साएको परेवा घरको मान्छेले खानुहुँदैन भनेर मारेको परेवा गोजीमा बोकेर घर लाने र मज्जाले तेलमा तारेर खाने ।

गाउँमा केही मान्छेहरू ‘पुचुने बूढा धामी होइन, ठग हो’ भन्ने पनि थिए । ‘एक्ले परेवा खानलाई पल्केको बूढा’ पनि भन्थे । जोडीभन्दा एक्ले बच्चा ठूलो र बलियो हुन्छ । एक्लो ज्यान, धामी काम गरेर मज्जाले पालिएको थियो ।

यस्तो कुरामा पुचुने धामी धक्कु लाएरै भन्थ्यो, ‘खानै जन्मेको म । आजसम्मन् नपुग्दो भन्ने कुरा भोगेको छैन । साला कात्तिके हो, म तिमीहरूजस्तो हो र ?’

पुचुने धामी आफ्नो जन्म बारे पनि कथा सुनाउने गर्थ्यो । उस्को साम्नेमा कसैले मुख नखोले पनि पत्यार भने कसैले गरेनन् । पुचुने धामी पान्थर आङसाराङबाट झापा बसाइँ सरेर आएको हो । यतिसम्म सत्य हो । बाँकी कुरा ऊसँगै खरानी हुँदै थियो । उसले सुनाउने गरेको कथा भने यस्तो थियो-

“मंसीरमा पुचुनेकी दोजिया आमा धानको बिटा बोक्न खेत गइछिन् । आमाले बिटा टाउकोमा राखी बल गरेर जुरुक्क उठ्दा पुचुने फुत्त जन्मिएछ । आमालाई बच्चा जन्मेको ख्यालै भएनछ । धानको बिटा बोकेर आमा खलामा पुगिछिन् । धानको बिटा राखेपछि पो आमालाई थाहा भएछ । जीउ हलुँगो छ, पेट छाम्दा पेटमा त बच्चै छैन । आमा कुद्दै खेतमा पुगिछिन् । बच्चा त पानी पौडी खेलिरहेको थियो रे । धोइपखाल्नु पनि परेन । थपक्क टिपेर आमाले घर ल्याइछिन् रे ।”

पुचुनेको जन्मकथा सुन्ने कसैले पत्याएनन् । उसको साम्ने नपत्याएको कुरा गर्नु बिपत निम्त्याउनु थियो । तत्काल रीस फेर्नु यति माहिर कि गाउँका मान्छे सबै डराउँथे ।

एकदिन-

पुचुने बूढाले राँगा काटेको ठाउँमा गएर गोसवाला लिम्बूलाई एक पावा मासु उधारो माग्यो । भोलि नै तिर्छु भन्यो । कीरेकसम नै खायो तर उसले अनेक भन्दा पनि गोसवालाले उधारो पत्याइदिएन । ऊ बाटैभरि ज-जसलाई भेट्यो, उसैसँग गोसवालालाई सराप्दै घर फर्क्यो । पुचुनेलाई बाटोमा अरू बाहुन-क्षेत्रीहरूले गिल्ला गरे- धत् बेइज्जती बूढा ! हाम्रो इज्जतको त ख्याल गर । बाहुन भएर राँगाको मासु खाने ?’

भोलिपल्ट बिहानै केर्खा बजारभरि हल्ला चल्यो- हिजो केर्खा बजारमा काटेको राँगा बाहुला कुकुरले टोकेको हो रे !

हल्ला सुनेर राँगाको मासु खाने मान्छेहरू अत्तालिए । स्वास्थ्य चौकीमा रेबिज विरूद्धको खोप लाउन आउनेहरूको भीड लाग्यो । खोप लाउन आउने झण्डै आधाजसो त बाहुन-क्षेत्री लोग्नेमान्छेहरू पनि थिए । यस्तो अवसरमा पुचुने बूढा नआइपुग्ने कुरै भएन ।

‘हेर्नु इः कुलङघारे बाहुन-क्षेत्रीहरू ! राँगाको मासु खाएर बाउबाजेका नाकै फाले । धर्मै पोलिखाए । थुइय्य बजिया हो !’ यति भनिराखेर पुचुने त्यहाँबाट हिंड्यो ।

पुचुने गएकोमा धेरै मान्छे खुशी भएका थिए ।

पुचुने बूढा सरासर केर्खा बजार गयो र हल्ला फैलाइहाल्यो, ‘राँगाको मासु खाने बाहुन-क्षेत्री हेर्नु छ भने स्वास्थ्य चौकी जानू !’

रमिता हेर्न मान्छेहरू स्वास्थ्य चौकी ओइरिए । स्वास्नी, छोराछोरी, घरपरिवारबाट लुकीलुकी राँगाको मासु खानेहरूलाई चिनेर तिनका आफन्तहरूले नाक खुम्चाए । धर्म फालेकोमा घीन माने । सत्तो सराप गरे । कान्छा आचार्यकी आचार्यनी त घर छाडेर छोराछोरी र कुम्लोकुटुरोसहित माइतितिरै गइन् ।

रेबिजको सुईको डोज पूरा गरेर कान्छा आचार्य ससुरालघर धरमपुर लागे । बुझिल्याउँदा पो थाहा भयो- गोसवालाले काटेको राँगा त आचार्यको ससुरालघरबाटै पो ल्याएको थिएछ । बहुला कुकुरको हल्ला त पुचुनेले फैलाएको मात्रै पो थिएछ । केर्खा बजार फर्किएर कान्छा आचार्यले लाचार भएर पुचुनेलाई सरापेका थिए, ‘पुचुने बूढाले गर्नुगर्यो । जिउँदै मार्यो असतीले ! त्यो पनि राम्रो गतिले मर्दैन ।’

– – –

हो, पुचुने धामीको मरण राम्रो गतिले भएन ।

माईखोलाको किनारामा उसको लाश खरानी भइरहेको छ । अब

त ऊ आफ्नै किस्साहरूमा मात्रै भेटिनेछ ।

(पद्मश्री पुरस्कार विजेता उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटो पहाड’बाट)