थाहा थिएन यतिविधि होलान् ! सतही रहेछ अहिलेसम्मको बुझाइ र जति बुझिएको थियो त्यो त नगण्य पो रहेछ । बुझिनसक्नु, अद्भुत पो रहेछन् !
हो हजुर, म कुरा गर्दैछु महाकवि लक्ष्मीप्रसाद देवकोटाको र सत्य भन्दैछु, देवकोटा त साँच्चिकै अद्भुत पो रहेछन् ।
नेपाली साहित्यप्रतिको रुचि र जानी नजानी संलग्नता झण्डै पाँच दशक अघिदेखिको भएपनि फाटफुट पढिएको र सतही रूपमा मात्रै पो चिनिएको रहेछ देवकोटालाई !
यो बुढेसकालमा जब गतवर्ष सरस्वती क्याम्पसको नेपाली विषयको स्नातकोत्तर तहको नियमित विद्यार्थीका रूपमा कक्षामा उपस्थित हुन थालियो त्यसपछि बल्ल पो थाहा भयो देवकोटा यत्तिकै जनजनका मनमनमा बस्न सफल भएका रहेनछन् । त्यसै बनेको रहेनछ त्यो उचाइ, त्यसै भनिएका रहेनछन् उनी ‘महाकवि’ ।
अचेल चाकरी, चाप्लुसीले रातारात चुलिन्छन्, चुलिएका छन् मान्छे । योगदान, भूमिका बिना नै पनि झ्याप्पै टुप्पिनेहरू प्रशस्तै देखिन्छन्, भेटिन्छन् अचेल र तिनकै चुरिफुरी देखिन्छ बढ्ता । तर देवकोटा त प्रतिभा र ज्ञानका भण्डार पो रहेछन् ।
प्रतिभा, ज्ञान र अभ्यासले सर्जक बनाउँछ मान्छेलाई, देवकोटामा यी तीनै कुरा रहेछन् । जन्मजात प्रतिभा अनि अध्ययनबाट प्राप्त ज्ञान र निरन्तरको लेखनले नै उनलाई तिख्खर बनाएको र त्यो उचाइमा पुर्याएको रहेछ ।
विलक्षण प्रतिभा पो रहेछ देवकोटामा, ज्ञानको भण्डार उस्तै । भन्ने नै हो भने अभ्यासको खाँचै नपर्ने, कलम चलायो कि स्वादिलो सिर्जना जन्म्यो, अचम्मको आँशुलेखन क्षमता !
प्रतिभा छ भने जेसुकै पनि त लेख्न सकिदोरहेछ, जताजता छरिए पनि त सफल भईँदो रहेछ ! कविता, कथा, नाटक, निबन्ध के लेखेनन् देवकोटाले ? अर्थात् भनौँ साहित्यका कुन चाहिँ विधा छोएनन् देवकोटाले ? बालसाहित्य लेखे र समालोचना पनि छाडेनन् । महाकाव्य, खण्डकाव्यमा त सङ्ख्यात्मक, गुणात्मक र लेखन अवधिको हकमा समेत कीर्तिमान नै बनाए । उपन्यास पनि लेखे देवकोटाले । जे जति लेखे जीवनवादी साहित्य लेखे । मानवतावादी साहित्य लेखे । प्रकृति लेखे । बडो आनन्दले, बडो मजाले, बिना कुनै कडा मेहनत, स्वस्फूर्त, झरना झैँ झरझर, नदी झै निरन्तर प्रवाहित थियो उनको लेखन । गम्भीरतासँगै व्यङ्ग्यचेत पनि प्रशस्त थियो देवकोटामा ।
आयु कसको पो आफ्नो हातमा हुन्छ र ? लामो आयु बाँचेनन् तर जति बाँचे सार्थक जीवन बाँचे देवकोटा । विक्रम सम्वत् १९६६ कार्तिक कृष्ण औंसी लक्ष्मीपूजाका दिन जन्मेका लक्ष्मीप्रसाद देवकोटाको २०१६ साल भाद्र २९ गते देहावसान भयो । पचास वर्षे जीवनको पच्चीस वर्ष साहित्य सिर्जनामा सक्रिय रहे । कत्ति खेर जान दिएनन् समय उनले, समयको सदुपयोग गरे, हर क्षण केही न केही सिर्जना गरी नै रहे । नेपाली साहित्यको भण्डारलाई गहकिला कृतिले भरिदिए ।
लेखन मात्र होइन विचार र चिन्तन पनि भिन्न थियो देवकोटाको । देवकोटा क्रान्तिकारी थिए । के समाजलाई बाटो देखाउने, समाजलाई गति दिने, मान्छे–मान्छे वीचको दुरी हटाउने, जात भातका कुरा व्यर्थ हुन् र मान्छेको लक्ष्य चन्द्रमा छुने हुनुपर्छ भन्ने सन्देश दिने देवकोटाको चिन्तन साँच्चिकै क्रान्तिकारी होइन ? अहिलेका बकम्फुसे अवसरवादीहरूको तथाकथित क्रान्तिकारिता जस्तो कदापि होइन देवकोटाको क्रान्तिकारिता ।
नेपाली निजात्मक निबन्धको प्रारम्भ देवकोटाले गरे । १९९३को शारदामा प्रकाशित आषाढको पन्ध्र शीर्षक उनको निबन्ध नै पहिलो आधुनिक निबन्ध हो । पाश्चात्य साहित्यको आत्मपरक निबन्धलाई नेपाली साहित्यमा भित्र्याउने देवकोटा नै हुन् । विशुद्ध सौन्दर्य चेतना ऐतिहासिक र राष्ट्रिय गरिमा युक्त देवकोटाका निबन्धमा पर्याप्त निबन्धत्व र साहित्यिक उच्चता पाइन्छ ।
नीति, अनुशासन र आदर्शको घेरा भन्दा माथि उठ्न नसकेको नेपाली काव्य जगतलाई स्वच्छन्दतावादी शैलीद्वारा समृद्ध र व्यापक बनाउने श्रेय देवकोटामा जान्छ । यसले नेपाली कवितालाई साँच्चिकै आधुनिक बनाएको र नेपाली साहित्यलाई पाश्चात्य साहित्यसँग जोड्ने काम गरेको थियो ।
साहित्यका सबैजसो विधामा कलम चलाए पनि मूलतः कवि र निबन्धकारका रूपमा उनको स्थान विशिष्ट छ । उनी हालसम्म पनि यी बिधाका केन्द्रीय प्रतिभाका रूपमा रहेका छन् । कल्पनाका धनी थिए देवकोटा । भावना र कल्पनाले भरिपूर्ण थिए उनी र उनका रचना त्यस्तै अर्थात् उनीजस्तै आए । भनिन्छ सरस्वतीका वरद्पुत्र देवकोटाका असङ्ख्य रचना अलपत्र छन् ।
कुनै पनि साहित्यकारको मूल्याङ्कनका आधार सङख्यात्मकता, गुणात्मकता र ऐतिहासिक योगदान हुन् । के कति कृति वा सिर्जना आए, केकस्ता आए र तिनबाट इतिहासमा के कस्तो योगदान पुग्यो ? नयाँ के भयो ? युगान्तकारी परिवर्तनका लागि के कस्तो सहयोग गर्यो ? आदि नै कुनै पनि स्रष्टाको मूल्याङ्कनका आधार हुन् । यो कसीमा राखेर हेर्दा सङ्ख्यात्मक आधारको हकमा देवकोटाले ८०० जति फुटकर कविता, तीन दर्जन जति खण्डकाव्य, छवटा महाकाव्यसमेत थुप्रै कृति रचना गरे । शीघ्र लेखन क्षमताको हकमा देवकोटाको आफ्नै कीर्तिमान छ । गुणात्मकताको हकमा उनलाई भेट्ने त के उनको नजिक पर्नेसम्म कोही अर्को देखा नपर्नुबाटै यसको अनुमान गर्न सकिन्छ । देवकोटाले परिष्कारवादी युगको अन्त्य र स्वच्छन्दतावादी धारा प्रारम्भ गरी उचाइमा पुर्याएको कारण उनको यो योगदान ऐतिहासिक छ ।
लेखेर लेखिसक्नु भए पो, कस्ले लेखेर सक्नु देवकोटा ? सबै अधुरा अपूरा मात्र ! के के लेखे भन्नु भन्दा के लेखेनन् भनेर हेर्दा सजिलो, तर नलेखेको विषय भेटाउन गाह्रो ! न हिजो थियो, न आज छ र न भोली नै हुनेछ देवकोटा जस्तो कोही । यसैले देवकोटा अद्वितीय थिए, छन् र रहनेछन् युगौँयुगसम्म नेपाली साहित्यका उज्याला नक्षत्रका रूपमा ।
विद्वानहरूलाई त गाह्रो छ देवकोटा लेख्न, के के मात्र लेख्नु, कति लेख्नु ? छेउटुप्पो मिलाउनै कठिन । अझ पङ्तिकारजस्ता अल्पज्ञानी र सामान्यले के आँट्नु ? यो धृष्टता मात्र हो । यति भएपनि कोरेर स्वर्गीय महाकविको सम्झना मात्र गर्ने प्रयत्न गरिएको हो । अद्वितीय स्रष्टाप्रति हार्दिक श्रद्धासुमन !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।