म मरेँ भने
मलाई आर्यघाट लगेर नजलाउनू
किनकि मलाई जलाउने दाउराको चिताबाट
हावामा उत्सर्जन हुनसक्ने विषालु कार्बनले
म तिम्रो फोक्सो जलाउन चाहन्नँ

मेरो मृत्युमा
तिमी बाँच्नेहरूलाई अक्सिजन दिने रुखहरूको पनि
म मृत्यु देख्न चाहन्नँ

म बाँचुन्जेल
मेरा दुव्यर्वहारले तिम्रो मन कति धमिलिए होला !

म मरेँ भने
मेरो खरानी बाग्मतीमा बगाएर
भो, तिमीले पिउने पानीलाई धमिलो पार्न म चाहन्नँ

म बाँचुन्जेल
कार र प्लेन चढेर
वायुमण्डलको अक्सिजनमा यति धेरै कार्बन घोलेँ हुला कि
ऋणमुक्त बनेर मर्न देऊ मलाई
म कार्बन न्युट्रल भएर स्वर्ग जान चाहन्छु

त्यसैले भन्द्याछु-
म मरेँ भने
सफा ऊर्जाद्वारा संचालित इन्सिनरेटरभित्र हालेर जलाइदिनु मलाई
मेरो कार्बन फूटप्रिन्ट घटाएर मर्न चाहन्छु

होइन भने,
मेरै बारीमा लगेर गाडिदिनू
ताकि, गड्यौंलाहरूको एक छाक आहारा बन्न सकूँ
र उर्वर माटोमा अर्को वर्ष राम्रो फसल लाग्न सकोस्

तर, मलाई आर्यघाट लगेर नजलाउनू ।