
उहिले जब मुगलान पढेथें; उतिबेलै सुनेको थिएँ– मणिपुरको चिट्ठी । यसबारे म अपरिचित नै थिएँ तर एउटा अनौठो छटपटीले उखुम मच्चाएको थियो । नाम सुन्ने बित्तिकै यससँग मेरो आत्मा गाँसियो । तब, सोधखोज गरें । यता र उता दौडिएँ । अलिकति पसिना पनि निस्के हुन् । फेला पार्न सकिएन । अनि, धेरै दिन मुगलानको धङधङीमा रुझेर आत्मलापमा हराएँ ।
आज धेरै कालपछि हृदयमा एउटा आश्चर्यको भुमरी नाचिरहेको छ । म सुनाउन हतारिएको छु– मुगलानले उत्तरआधुनिक रूप धारण गरेर आएको छ, अर्को मुगलानमा । त्यसभित्रको गोप्यता म योभन्दा बढी खोल्दिनँ । मणिपुरको चिट्ठीतिरै जान्छु, जुन मेरो चेतनामा सधैं चिबे चरीजस्तै घरीघरी च्याँच्याँ गरेर बासिरह्यो ।
शहरका धेरै पुस्तक पसल चहारेर नभेटेपछि मणिपुरको चिट्ठी खोज्ने काम एक छिमललाई टुङ्गियो । बेलाबेला कीर्तिपुर सुकर्मटोल गुरु–निवास (गोविन्दराज भट्टराई) पुग्थें तर त्यहाँबाट पनि मलाई निराशा मात्र हात लाग्यो । निवास पुग्दैपिच्छे आफ्ना कुनै न कुनै कृति थमाएर पठाउने गुरुबाले त्यो कृतिबारे मसँग कहिल्यै चर्चो गरेको सम्झना छैन । एक दिन त मुखै फोरेँ, ‘गुरु मलाई मणिपुरको चिट्ठी पढ्ने इच्छा छ, यहाँ होला नि !’
मेरो जिज्ञासाले उहाँको अनुहार उज्यालिन सकेन । जबकि, अन्य कृतिको नाम उच्चारण गर्नासाथ शुक्ल पक्षको जूनजस्तै चहकिलो देखिनु हुन्थ्यो । मलाई अचम्म लाग्यो । पाठकले आफ्नो कृतिबारे सोधखोज गर्दा एउटा सर्जक हर्षले फुर्किनुपर्ने । त्यसबारे पुराण लाउनुपर्ने । लय हालेर टाढाटाढासम्म सुनिने गरी गाउनुपर्ने तर यस्तो केही भएन ।
उहाँका ओठबाट यत्ति शब्द चुहे – यहाँ छ, छैन खोजुँला ।
अब मेरो चलमलाई ठन्नाराम भयो । म मरीचजस्तै चाउरिएर बसें । यसरी धेरै समय मैले मणिपुरबाट आएको चिट्ठी पढ्न पाइनँ । यसै बीच बाह्रखरी अनलाइन पत्रिकामा महेशराज खरेलले कृतिमाथि एक समीक्षात्मक आलेख लेखे । त्यो आद्योपान्त पढेपछि सुषुप्त मोह पुनः जागृत भयो तर पाइन्छ कहाँ ? म विभ्रान्तिमा हराइरहें ।
गुरुबा यस कृतिमाथि किन यति बेप्रवाह ? उदेक लाग्यो– सिर्जनाको राँको बालेर दुनियाँ उजिल्याउन अविराम हिंडिरहेको एक साहित्यकार आफ्ना कृतिमाथि कतिसम्म निर्मम हुन्छ ? प्रश्नहरूको मुठो बोकेर म फेरि कुदिरहें, शहरका गल्ली गल्ली । यो मुठो बिसाउन ठाउँ भएन । मेरो बिसौनी भत्किंदै गएझैं भयो । यही क्रममा म गुरुबा–आमासँग २०७९ साल कात्तिकको तेस्रो साता साँच्चिकै पूर्वोत्तर भारतको मणिपुर पुगेँ । उहाँले नाकेडोरी लाएर नतानेको भए म त्यतिवेला गौहाटीबाट फिर्थें कि ! मणिपुरमा चार दिन, चार रात बिताइयो ।
मणिपुर बसाइकै क्रममा युवा–सर्जक भाइ राहुल राई ‘बोगिको’ले उनको ‘अगम’ टिभीमा गुरुबा–आमाको अन्तर्वार्ता लिए । बालखझैं म नजिकै बसेर सुनिरहें । राईको एउटा प्रश्न थियो– तपाईंले मणिपुरको चिट्ठी कसरी लेख्नुभएको थियो ? यहाँ घुमेर लेख्नुभयो वा पढेर र सुनेर ?
जवाफ थियो– म मणिपुर पहिलो पटक आएको हुँ । यहाँ नआईकन मैले त्यो कृति रचना गरें । आज यो भूमि, वातावरण र परिवेश घुम्ने मौका जुर्यो । धेरै कुरा बुझ्ने मौका मिलेको छ । शायद, यो कृतिलाई म पुनर्लेखन गरेर नयाँ ढाँचामा बाहिर ल्याउँछु । त्यसरी संवादको सन्दर्भ टुङ्गिएको थियो । त्यताबाट फर्केपछि ममा पुनः त्यो चिट्ठी पढ्ने उत्सुकताले अत्त्यायो । यसरी भुटभुटिएकै बेला साझा प्रकाशनले ‘पुस्तक मेला’ लगाएछ । मेलाको अन्तिम दिन, असोज १४ गते कवि वन्दना गौतमले त्यसको जनाउ दिइन् । म हतार–हतार उनीसँगै पुल्चोकस्थित साझा प्रकाशन परिसर पुगेँ । अनेक रङका पुस्तक हेर्दै जाँदा एउटा अँध्यारो कुनामा मणिपुरको चिट्ठी फ्याँकिएको देखियो ।
मैले हात लम्काएर कृति उठाएँ र खुशीले उचालिएँ । तीन फन्को नाचूँनाचूँ भयो । कति बर्खा र हिउँद खपेर भेटेको यो चिठीप्रति मेरो हृदयमा प्रेम फर्केको रहेछ । जतनले झोलामा राखेँ । किनकि, यो वृद्ध भएर होला यसका पात र बोक्रा झर्न झर्न लागेका । सोचेँ– यसलाई भरे गाँसगुँस, टालटुल पार्छु र सिरानीमा राख्छु; सुक्दै गएको बिरुवालाई मल–पानी हालेर हरियो पारेजस्तै म यसको कलेवरलाई नयाँ बान्की दिन्छु ।
ठानेको थिएँ, कृति मोटो ढड्डा होला तर यो त रातो कलेवरको पातलो लिखुरे रहेछ । निवास फर्केर उक्किन ठिक्क परेको आवरण कृति हेरें । एक प्रेमिल जोडी मलिन अनुहारमा लोलाएजस्ता देखिए । म भावुक भएँ । उहिलेदेखि यसको नाम उच्चारण गर्नासाथ अलग्गै बौद्धिकताको झलक मिल्थ्यो । यद्यपि, यहाँभित्रको घटना र परिवेशबारे म अज्ञात थिएँ । ‘चिट्ठी’ हातमा च्यापेर म खुशी सुनाउन गुरु–निवास पुगेँ । कालो फलामे ढोकाभित्र पसेर मुवालाई सुनाएँ ।
उहाँको पनि गुनासो रहेछ, ‘मलाई निकै मन परेको हो तर उहाँले यसलाई साह्रै हेलाँ गर्नु भो । यो पुनः प्रकाशन गर्नसके हुन्थ्यो ।’
म केहीबेर अडिएर माथिल्लो तलामा पुगेँ, जहाँ विशाल पुस्तकालय फैलिएको छ । यसलाई पुस्तकालयभन्दा ज्ञानगृह भन्दा न्याय होला । जहाँबाट हरेक प्रातः कालदेखि गोधूलि छिप्पिंदासम्म अविरल सिर्जनाको धारो छुट्छ । त्यो धारोले विगत चार दशकदेखि साहित्यका अनेकन फाँट सिञ्चित गरिरहेको छ । एउटा मालीले फूलबारीमा ऋतुअनुसार नयाँ फूलका बिरुवा सारेजस्तै गुरुबा सिर्जनाका बोट सारिरहनु हुन्छ । कतिलाई कलमी गर्नु हुन्छ । कति ठाउँमा बीउ छर्नु हुन्छ । ती बोटबिरुवाले पक्कै भोलि साहित्यका खेतबारीमा लहलह बाली झुलाउने छन् । धर्तीबाट उठेर साहित्याकाशमा तारा बनेर चम्किरहलान् ।
म अध्ययनशालाको दैलो खोलेर भित्र पसेँ र शिर झुकाएँ । गुरुबा उही इसापूर्व पाँचौं शताब्दी तिरका ग्रिसेली सुकरात जस्तै सानो काठे टेबिलअगाडि घोप्टिएर केही लेखिरहनु भएको थियो । मैले हाँस्दै मणिपुरको चिट्ठी देखाएँ । उहाँ मुसुक्क मुस्कुराउनु भयो ।
अलिकति अन्तर्य पनि खुल्यो– उहिले हुरहुरे उमेरमा लेखेँ । बैंसको धङधङीमा कृति रचें । यो कमजोर भयो कि भन्ने सधैँ लागिरह्यो र चर्चा गर्दै हिँड्न सकिनँ । अब यसलाई फेरि छाप्नुपर्छ ।
यत्ति सुनेपछि म फुकेको बाच्छो भएँ । हुर्रिएर नाँच्दै हिँडेँ । निजी निवास फर्केँ र घोप्टिएर पढ्दै गएँ, त्यसमा अलग्गै स्वाद भेटियो । एउटा अनौठो फूलको सुगन्धले लट्ठ्याइरह्यो । केही घण्टामै पठन सक्कियो । अब कृतिमाथि मेरा पाठकीय अनुभूतिको चर्चा गर्छु :
– – – – –
प्रवेशद्वार
अलिकति दर्शन, थोरै विश्लेषण र केही मनोगत भावनाबाट शुरू हुन्छ– मणिपुरको चिट्ठी । केही पृष्ठ त कुनै दर्शनको पुस्तक पढिरहेको छु भन्ने भान पनि हुन्छ । शोभा दिदीको वैवाहिक जीवनका कष्टसाध्य भावनामा बेरिएर चिट्ठीको मेलो शुरू हुन्छ । उसको विवाह कसरी भयो ? स्पष्ट नखुले पनि लीलानाथसँग मागी विवाह भएको र त्यसले पारिवारिक संरचनाको जग बसाउन नसकेको अर्थ खुल्छ ।
कृतिमा स्रष्टाको लेखन कला, शिल्प, भावगङ्गा, विद्रोही चेतना, सामाजिक जडताप्रतिको आक्रोश पढ्दा पाठक पनि जुरुक–जुरुक उचालिन्छ । समाजमा कुहेर थुप्रिएका पातपतिङ्गर सफा गरेर नयाँ र समतामूलक समाज निर्माणमा उहाँको कमलले झोसेको राँकोले त्यतिवेला पक्कै नवपरिवर्तनको उज्यालो बाल्ने प्रयास ग¥यो ।
एक दिन मणिपुरबाट चिट्ठी आउँछ । कयौं दिनदेखि दिदीको चिन्तामा व्याकुल भाइको हृदयमा खुशी सञ्चार हुन्छ । खासमा, यो कृति दिदी–भाइ बीचको चिट्ठी आदानप्रदानमा केन्द्रित छ । यसलाई पत्रात्मक आख्यान भन्न सकिन्छ । यही संवादमार्फत समाजमा गाडिएर बसेका कुरीतिका किला उखेल्ने काम भएको छ । दिदीबाट पहिलो चिट्ठी हात परेपछि भाइ स्मृतिको टाकुरमा पुग्छ । अनि, ती हिजोका तस्बिरहरू एक एक गरी वर्तमानको क्यानभासमा टाँस्दै जान्छ ।
लीलानाथसँग सामाजिक प्रचलनअनुसार विवाह भए पनि लामो समयसम्म शोभाको कोख र काख भरिँदैन । तब, ऊ अपमानित हुँदै जान्छे । नेपाली समाजलाई आजसम्म यो समस्याले लखेटिरहेको छ भने झण्डै ६० वर्षअघिको अवस्था कस्तो होला ? कोख भरिन नसक्दाको वहले उसको हृदय कतिसम्म खोक्रो पार्यो हो ? उसले सहेका पारिवारिक तथा सामाजिक यातना, दुर्वचन र अपहेलना पढ्दा शरीरभरि काँडा उम्रिन्छन् ।
सन्तान उत्पादनमा मुख्य भूमिका महिलाको मात्रै ठान्ने तत्कालीन समाजको एउटा खिया लागेको पात्र हो, लीलानाथ । ऊबाट थोपरिएको मानसिक हिंसा कम गर्न शोभाले माइतबाट भाइ ल्याएर राखेकी हुन्छे । बाँझो जिन्दगीको तिर्खा मेट्ने पानीको मूल त्यही भाइ हुन्छ । लीलानाथले अर्को बिहे गरेपछि ऊ घरबाट निकालिन्छे । यही चोटले भाँच्चिएको मनको हाँगोमा काप्रो लाउन ऊ जेठो कामीसँग भागेर मणिपुर पुग्छे ।
– – – – –
तिरस्कारको भुमरी
मणिपुरको चिट्ठीको एउटा महत्वपूर्ण पाटो हो, शोभा जेठोसँग भागेर मणिपुर पुग्नु ।
लीलानाथको दुर्बलतामाथि कसैले प्रश्न नगर्नु, शंका नहुनु तर सन्तान उत्पादनमा शोभाकै कमजोरी देखिनु भयानक सामाजिक रोग हो । आफ्नो दुर्बलता लुकाउँदै एकपछि अरू शोभाहरू भित्र्याइरहनु तर यसबाट पनि लीलानाथमा चेतना नआउनुका पछाडि तत्कालीन समाज कतिसम्म विवेकहीन रहेछ भन्ने बुझिन्छ । यस्तै, अँध्यारो कुनामा कुहिराको काग भएर बसेको समाजकै कारण शोभाहरू सधैँ थिचिइरहेको र मिचिइरहेको दृश्य छ, कृतिमा । यसैबाट मुक्ति पाउन उसले जेठोको सहारा लिएकी छे ।
कुसंस्कार र अन्धविश्वासले शोभालाई लखेटिरहेको छ । ऊ आफ्नो अस्तित्व जोगाउन देशै छोडेर हिँड्नु परेको छ । यो अर्को कहालीलाग्दो अवस्था हो । पुरुषले रोजी–रोजी विवाह गर्न हुने । महिलाले आफूले चाहेको पुरुषलाई आफ्नो भन्न डराउनुपर्ने, धकाउनुपर्ने र लुक्नुपर्ने ! यसबाट जोगिन बा–आमा, दाजुभाइसँग नै अलग्गिनुपर्ने ? देशै छोड्नुपर्ने ? यो महिलामाथिको बर्बरता र अमानवीय पक्ष हो । नेपाली समाजमा यसको जरो अझै उखेलिएको छैन । कुन युगमा पुगेर उखिलिन्छ भन्न गाह्रो छ ।
ठूला–ठालु, जान्ने–सुन्ने र अझ पढे–लेखेकाले नै तत्कालीन समाजलाई जर्जर र पाशविकतातिर धकेलिरहेको तथ्य मणिपुरको चिट्ठीले खोलेको छ । निर्धो, अबला, दीनहीन व्यक्ति आफ्नो थातथलो, घर–परिवार र छिमेकी छोडेर परपर बसाइँ जानु वा मुगलानिनुको एउटा बाध्यता यही हो । आज मेची पारिका सिलीगुडी, दार्जीलिङ, खर्साङ र कालेबुङमा जमेको नेपाली बस्ती हिजो यस्तै अँध्यारो व्यवस्था चिरेर उज्यालो खोज्न हिँडेकाहरूको एउटा अंश हो भन्न सकिन्छ ।
जात व्यवस्था, धार्मिक थिचोमिचो, शोषकको हैकम, अत्याचार र गरिबी छल्ने बाध्यता नहुँदो हो त, पुस्तौँदेखि आफू बस्दै आएको समाज, आफ्ना आफन्त, आफ्नो डाँडोपाखो, उकाली–ओराली, भन्ज्याङ र देउराली, धारापँधेरा छोडेर कसलाई बसाइँ जाने रहर हुन्छ ? त्यसो नहुँदो हो त, आज रित्तिँदै गएका नेपालका पहाडी थुम्का र देउरालीहरू मान्छेको सामीप्य खोजेर रुने थिएनन् । यहाँ, जात–व्यवस्थाले थिचेर लघारिएकी पात्र हो, शोभा । लोग्नेले सौता हालेपछि समाजको बज्र सहन नसकेर मणिपुर पुगेकी उसले नागाल्याण्डबाट भाइलाई पहिलो चिट्ठी लेख्छे– दश वर्षदेखि मैले समाजको अपुत्र र बन्ध्याको मर्मान्तक वाणलाई मुटुमा अल्झाएर हिँडेँ । एउटा स–सानो काँडाले पैतालामा बिझेर कति दुखाउँछ ? (पृ. २९)
आज रहरले देश छोडेर परदेश वा तेस्रो मुलुक जानेको ताँती छ । तिनको मन, मुटु र रगतमा नेपाल बोकिएर पुगेको छ । हिजोका अँध्यारा दिनमा मेचीपारि भारतका विभिन्न गाउँ, ठाउँ र बर्मासम्म नेपाली पुग्नुको एउटा कारण सामाजिक विभेद, थिचोमिचो र अत्याचार नै थियो । जसरी शोभा र जेठो मणिपुर पुगे, त्यसरी नै हिजो धेरै शोभा र जेठाहरू आफन्तको न्यानो काखबाट फुस्किएर मातृभूमिलाई काखी च्यापेर बसाइँ गए । अन्धविश्वासको धुनी जागेर दुनियाँ ढाकेको बेला मणिपुरको चिट्ठीले कुरीतिको खरबारीमा आगो झोसेर समाजको अँध्यारो पन्छाउने सत्कर्म गरेको छ ।
—–
मातृत्वको भोक
मणिपुरको चिट्ठीभित्र नारीको कोख र मातृत्वको भोक प्रबल रूपमा देखा परेको छ । सँगसँगै त्यहाँ यौन–मनोविज्ञानका अनेक खहरे, खोल्सी र भेल भेटिन्छन् । शोभाको हृदयको बाटो हुँदै बगेका ती खोल्सीहरूले जीवनलाई आशा र निराशाको दोसाँधबाट अगाडि लैजान्छन् । दिदीको चिट्ठीको उत्तर लेख्दै भाइले स्मृतिको एउटा सुन्दर झ्याल खोलिरहेको हुन्छ, जहाँ अथाह प्रेम छचल्किएको हुन्छ । भाइप्रति हुरुक्क भएर दर्शाएको प्रेम निस्तो प्रेम मात्र हुँदैन, पोखिन बाँकी रहेको मातृत्वको धारा पनि हुन्छ ।
दिदीको चिट्ठीको एउटा हरफले भन्छ– सानो भाइ सम्झेर रुन्छु (पृ. २७) ।
यो जति मर्मच्छेदी भावना अर्को के होला ? यो भाइसँगको निकटता र मनको कुनामा बाँकी रहेको ममताको तिर्खा हो; दिदी–भाइको अगाध प्रेमको रूपक पनि । त्यही वाक्यले भाइ सम्झिँदै जान्छ, ती बाल्यकालीन दिनहरू । जुन, अधिकांश त दिदीकै काखमा बितेका हुन्छन् । बेला–बेला माइत आइरहने दिदीसँग भाइ भिनाजुको घर जान्छ । उतै बस्छ, उतै खेल्छ । नौरङ्गी पुतलीका पछिपछि दौडिन्छ । दिदीको ममताको घडा उसैमाथि पोखिन्छ । दिदीले गालामा टाँसेको चुम्बनको छाप, काखमा राखेर खेलाएको दृश्य, भोक, तिर्खा र निद्रामा गरेको ख्याल एवम् होशियारीले दिदीको भाइप्रति प्रेमधारा बगेको छ ।
दिदीले हरेक पटक भाइलाई चुम्नु, काखमा राखेर खेलाउनु, राति न्यानो पारेर सुताउनुका पछाडि दिदीभित्र रसाउन खोजिरहेको मातृत्वको मूल हो । माइत जाँदा दाइको छोरालाई स्तनपान गराउनुले समेत उसमा मातृत्वको भुल्का फुटेको छर्लङ्ग हुन्छ । त्यतिवेला उसले लीलानाथ र छिमेकीको आरोपको जवाफ दिन सक्दिन तर भाइमाथि मातृत्व खन्याएर हृदयमा दन्केको अपमानको आगो निभाउने प्रयास गरेकी हुन्छे । त्यहाँ, भाइ नै मातृधारा बगाउने खोल्सी भएको छ, उसले त्यही खोल्सीको पानी अँजुलीमा उघाएर पिएकी छे र आफूलाई शीतल पारेकी छे ।
दिदीको बाहुपासमा रहँदा न्यास्रिएको भाइ भिनाजुको घरको छिमेकी तल्लो घरको भाइसँग खेल्न जान चाहन्छ तर दिदी उसलाई रोक्दै भन्छे– पर्दैन मेरो राजा, गलेको छ । घरमै बस्नु, बरु खाना खानु है (पृ.१२) । उता भाइ आफ्नो घरको सानो भाइसँग खेल्न अझ न्यास्रिन्छ । यहाँ पनि दिदीले अर्को भाइ ल्याइदिने आश्वासन दिन्छे– आकाशबाट सानो भाइ ल्याइदिन्छु (पृ. १२) ।
दिदीले बाकस खोलेर साना नानीका लुगा देखाउनु, फेरि बाकसमै राख्नु, भाइले लगाउन खोज्दा भन्नु– राजा, तिमीलाई अर्कै किनिदिन्छु, यी राखौँ है (पृ १३) । यी सबै घटना तथा संवादमार्फत शोभाको मातृत्व अविरल नदीझैँ बगिरहेको पाइन्छ । आँखाको बाटो हुँदै झरिरहने मातृस्नेह देख्दा पनि लाग्छ– उसको मातृदेह सन्तान नहुनुको खडेरीमा कसरी बाँझो खेतझैँ पट्पटी फुटेको रहेछ । उसको हिजोको स्मृतिगङ्गा चिट्ठीमा समेत यसरी पोखिएको छ– मैले अति प्यारो वस्तुको अभाव तिमीबाट सन्तुष्टिको ससानो विन्दु पूरा गर्न पाउँथेँ, त्यसैले तिमीमा अगाध स्नेह पोखिन्थ्यो (पृ. २८) ।
– – – – –
यौन–मनोविज्ञान
शोभाभित्र मातृत्वको तिर्खा मात्र छैन, अतृप्त यौनको भोक पनि उस्तै खरिएर बसेको छ । सन्तान उत्पादन क्षमता नभएको लीलानाथ श्रीमतीमाथि दोष थोपर्दै बाहिरै डुलिहिँड्छ । श्रीमतीले खोजेको सुखमा उसको आकर्षण हुँदैन । लीलानाथले लुकाएको आफ्नो नामद्र्याइँलाई शोभाले भाइमार्फत यसरी उजागर गर्न खोजेकी छे … अबदेखि भिनाजुलाई कहीँ नजानू भन है, … (पृ. ११) । यो वाक्यांशको आशय हो– लोग्ने आफूसँगै रहोस्, सँगै सुतोस्, यौनसुखसँगै कोख भरिदेओस् । यद्यपि, लाग्नेबाट उसले जिन्दगीको यो सुख कहिल्यै प्राप्त गर्दिनँ । शोभाले यो कुरा हृदय फोरेर लेखेकी छे, चिट्ठीमा– उनले मलाई माया, प्रेम, ममता, आफ्नोपन, मानवीय गुणको सुक्षतम बूँद पनि चुहाउन सकेनन्ल । तृषित म हृदय शून्यसँग रातोदिने बसेँ (पृ. २९) ।
चिट्ठीको हरफमा पनि त्यस्तै ममताको धारा बगेको छ– … नारीका निम्ति जब काखभरिको स्नेह र ममताको पिण्ड शून्य रहन्छ, जग शून्य र मृतवत् छ उसलाई (पृ. ३०) । यो आमा हुन नपाएकी एउटी नारीको आर्तनाद र यौनसुखको सम्मिश्रणको भाव हो । शारीरिक भोक त एक थाल भातले मेट्न सक्ला तर हृदयमा उम्लिएको त्यो अदृश्य भोक मेट्न चेतनामा इन्द्रियहरू तरङ्गित हुनुपर्छ । त्यसले पिङ मच्चाउन शरीरमा अलग्गै ऊर्जा भरिनुपर्छ । शोभाको त्यो भोक जेठोसँग मणिपुर पुगेपछि मात्र तृप्त भएको छ । नररूपी लीलेलाई धिक्कार्दै उसले नारी हुनुको आत्मगौरव गरेकी छे ।
कृतिभित्रको एउटा अनौठो पक्ष हो– हरेक चिट्ठीको अन्त्यमा शोभाले लीलानाथ सम्झिनु । यो ऊप्रति बाँकी रहेको प्रेमको थोपो वा बदलाको भाव प्रस्टिँदैन । छोडिएको लोग्ने, आफूलाई बाँझो धर्ती ठान्ने त्यो ढुङ्गोजस्तो जन्तुलाई निरन्तर सम्झिरहनु ऊप्रति बाँकी रहेको प्रेमको अंश हो कि ! जडताको जरो उखेल्ने प्रतिशोधपूर्ण भावको रूपमा पनि लिन सकिन्छ । यद्यपि, शोभाको मनोविज्ञानभित्र एउटा सुषुप्त प्रेम छिपेको आभास हुन्छ ।
– – – – –
प्रेम र अनमेल विवाह
जब बैंसको बिरुवा हुर्किंदै जान्छ, तब त्यसले कुनै न कुनै लहरा खोज्छ । सहारा खोज्छ । त्यस्तै तत्वसँग टाँसिन र गाँसिन खोज्छ । इन्द्रियमा खरिँदै गएको भोकको आगो निभाउन खोज्छ । यी चिज लीलानाथबाट पूर्ति नभएपछि शोभा जेठोतिर ढल्किनुलाई स्वाभाविक र प्रकृतिप्रदत्त नियम मान्नुपर्छ । भोक, भोक नै हो– त्यो हृदयको, पेटको वा यौनको जेसुकै होस् । त्यसको पूर्ति नभएपछि मान्छे बहुलाउँछ । कहीँ न कहीँबाट त्यसको पूर्ति गर्ने उपाय खोज्छ । यहाँ, जेठोको रूखसँग शोभाको हृदयको हाँगो टाँसिनु त्यसैको खोज हो ।
लीलानाथबाट प्राप्त हुन नसकेको प्रेम, उता जेठोबाट भरिपूर्ण हुन्छ । एउटा फ्याँकिएको खोलाको बगरमा हरियो पलाउँछ, बर्खा लाग्छ र खोलो सुसाएर प्राकृतिक स्वरूपमा बग्न थाल्छ । यो प्राकृतिक सिलसिला न्यायसङ्गत देखिन्छ । चिट्ठीका यी हरफले तिनैलाई पुष्टि गर्छन्– अँ, भलै तिम्रो सेकन्ड भिनाजु नभन (कामी) मेरो निम्ति प्रेमको अगाध समुद्र र एउटै मुटु भएका छन् । पहिलोले मेरो एउटै मुटुलाई दुई पारेथे भने यिनले दुई हृदयलाई एकाकार पारेका छन् (पृ. ३१) ।
जेठोसँगको प्रेमकै कारण शोभाले ‘जीवन’ हुनुको अनुभूत गरेकी छे । उसले भनेकी छ– भाइ ! मैले मभित्रको अतृप्त प्यासलाई एकपल्ट बुझाउन सकेँ (पृ. ३६) । यसरी उसको जीवनमा फूल फुलेको छ । फल लागेको छ र एउटा पारिवारिक बगैंचा पूर्ण भएको छ । उसका जीवन र वीना दुई सन्तान हुन्छन् । यिनैले उसको संसारलाई उज्यालो पारेर समाजका कुरीतिसँग जुध्ने उत्साह थपेका छन् । जातीय विभेद मेटेर बराबरीमा पुर्याउनुपर्छ भन्ने आख्यानकारको हृदयमा मच्चिएको आन्दोलन शोभामार्फत पूर्ण भएको छ । यो कर्मलाई अभिषेचनीय मान्नुपर्छ ।
– – – – –
कुरीतिको पर्दाफास
मणिपुरको चिट्ठीको एउटा पातोमा कुरीति मौलाइरहेको छ । शोभा र लीलानाथको मागी विवाह हुनु । शोभाबाट सन्तान नहुनु । लोग्नेले बहुविवाह गर्दै जानु । त्यसबाट पनि सन्तानसुख प्राप्त नहुनुले एकातिर महिलामाथि निर्मम लाञ्छनाको वाण छोडिएको छ । अर्कोतिर, समाजले बहुविवाहलाई प्रशय दिइरहेको छ । हुर्काइरहेको छ । पुरुषमा हजार कमजोरी भए पनि उसमा खोट नदेख्नु अन्धो परम्परा हो ।
… भएनन् । तँबाट भएनन् । अर्को बिहे गर्नुपरेको छ, ज्योतिषीले त्यस्तै भनेको छ (पृ. ६) । जैविक र ऐन्द्रियिक आवश्यकता एकातिर छ । सन्तान सुखका लागि अपनाउनुपर्ने विधि अर्कै छ । ती पक्ष एकातिर मिल्काएर पुरुष अहंकार उचालिएको छ । नारी हर क्षण अबला घोषित छ । यस्ता अमानवीय कृत्य मौलाउँदै र समाजले त्यसैलाई मलजल गरेपछि लीलानाथले अर्को बिहे गर्छ । बिहे गरेको वर्षदिनमै शोभा जेठोसँग सल्केको ठोकुवा गरी घरबाट निकालिन्छे ।
यहाँ एउटी नारीले अर्की नारीको मर्म र भावना बुझेको देखिँदैन । नारीमाथि सौता बनेर आउनुले नारीको शत्रु नारी नै देखिएको छ । यो अन्ध–परम्परामा शोभाले सौतालाई ठाउँ खाली गरिदिएर एउटा सुधारवादी महिलाको भूमिका खेलेकी छे ।
गाउँ समाजलाई गतिला मसला हुन्छन्– बाहुनकी छोरी कामीसित (पृ. ७) … दाजुले बहिनीप्रति देखाएको सद्भाव र प्रेमलाई बाबु–आमाले डाँकोले टिप्छन्– थुक्क ! कुलङ्गार, त्यो डाङ्ग्रालाई मुखले ज्वाइँ भन्छस् (पृ. ७) । उता, ज्वाइँ भनाउँदोले छोरीमाथि सौता हालेको पीर छैन । छोरीको घरबार नहसनहस भएको चिन्ता छैन । छोरीले आफ्नो आत्माले रोजेको प्रेमको फूलबारी रोजेर सुखी जीवन बिताउन चाहेकोमा रगत उम्लिएको छ । यसैले देखाउँछ, त्यो समाजमा कतिसम्म कुरीति जमेर बसेको थियो ।
छोराहरूप्रति लक्षित गर्दै बाबु विरक्तलाग्दो स्वरमा बोल्छ– तिमीहरू यस्तै भयौ । कामी, दमाईं कुन, जातीय मर्यादा कुन सम्पूर्ण भष्म पार्यौ । पढाएँ, छोरा खुब पढाएँ । छोरा खुब सपारेँ । विद्यालयले पात्रत्व भरिदिएनछ । अंग्रेजी विद्याले बुद्धि भ्रष्ट पारिसकेछ (पृ. ७) । शिक्षाले के गर्ने ? समतामूलक समाज निर्माण गर्ने हो वा कु–संस्कारलाई मलजल गरेर हुर्काउने ? रुढीगत जगतले आधुनिक शिक्षा लिनुलाई बुद्धि भ्रष्टको दर्जामा राखेर समाजमा अराजकता फैलाउने तत्व मानेको छ । तत्कालीन समाजका यी अवयव देखेर, बुझेर र पढेर चकित परिन्छ । शिक्षा विश्वस्तरीय हुनु वा अंग्रेजी जानेर ज्ञानको नयाँ आँगनमा उक्लिनुलाई ‘भ्रष्ट’को संज्ञा दिइएको छ । कृतिले तत्कालीन समाजका यी कुरीतिका जरा काट्ने प्रयास गरेको छ ।
– – – – –
वियोगको बिम्ब
यस कृतिभित्रको एउटा दुःखान्त चित्रले पाठकको मुटु बिझाउँछ । त्यो हो– बाटैमा शोभाको निधन हुनु र बाबुआमा, दाजुभाइले उसको मुख हेर्न नपाउनु । जेठोसँग हिँडेकी छोरीलाई बाबुआमाले एउटा समयको खण्डसम्म त तिरस्कार गर्छन् । घृणा गर्छन् । घर, समाज र दुनियाँको नाक काटेको आरोप लाउँछन् । अझ बाबुले त ऊ ‘मरी’ … काजक्रिया गरिसकेँ सम्म भन्छन् । पुराण, पूजापाठ र धूपधुवाँ गरिन्छ । चारधाम तीर्थ, उपासना, दानपुण्यले क्षयोन्मुख कूलको उद्धार गरिन्छ तर बाबुआमाको मन कहाँ मान्छ र ! ममताको आरनको ताप बढ्दै र समयले खोल फेर्दै गएपछि मन पनि फेरिँदै जान्छ ।
भाइले दिदीले पठाएको चिट्ठीको बेहोरा सुनाउँदै तस्बिर देखाएपछि छोरीप्रतिको आमाको माया यसरी अटूट रूपमा प्रवाहित भएको छ– कस्ती भै होली ? फोटोमा त मेमसाहेबनी जस्ती भएकी छे । शरीर दुब्लो भएर गएछ … । अझ उनमा छोरीको प्रेम उम्लेर गहबाट पोखिन्छ– छोरी कमिनी भै तर के ऊ पापिनी हो ? यसरी नै बाबुको मन पनि फेरिँदै गएको हुन्छ ।
एक दिन एक्कासि आमाले भाइलाई सोध्छिन्– दिदीलाई चिट्ठी लेखिस् ? … जस्तै भा पनि आफ्नो कोख … असाध्य माया लाग्छ । … पापिनीलाई के गर्नु ! बिर्सिनसक्नु भएर सम्झना जाग्छ । … जसरी पनि फिरिदिए आफूलाई सन्तानको मुख हेर्नु हो, एकपल्ट । यी हरफहरू निकै मार्मिक र गहकिला छन् । यो भनेको ऋतु फेरिएर रूख–पातमा नयाँ बान्की देखिएजस्तै समाजले खोल फेर्दै गएको हो । नयाँ बिहानीमा न्यानो घाम हेर्ने चाहना बोकेको हो । यसले अर्को सन्देश पनि दिएको छ । समाज त्यो होइन, जो कहिल्यै परिवर्तन नै नभएको होस् । ढिलोचाँडोको कुरा न हो, त्यो एक दिन समय डोरी समातेर नयाँ थुम्कीमा पुगेरै छोड्छ ।
– – – – –
विद्रोह र द्वन्द्व
मणिपुरको चिट्ठीको सबैभन्दा सशक्त पाटो नारी विद्रोह हो । नारीले पनि पुरुषसरह ठाडो शिर गरेर आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ । निजी जीवनको निर्णय आफैँले गर्न पाउनुपर्छ भन्ने सन्देश पाइन्छ, त्यसमा । कृतिकारले पात्रमा त्यस्तो चेतना नभरिदिएको भए शोभा लीलेको अत्याचारको चपरीमुनि सौता खपेर सामाजिक अपहेलना र दुर्वचन सहेर बस्ने थिई । उसलाई युद्धका लागि विद्रोहको राँको बोक्न सिकाइएको छ ।
मागी विवाह गरेको घर र लोग्ने त्याग्नु, जेठो कामीसँग जोडिनु र भाइलाई परिवर्तनको सन्देश पठाइरहनु सबै विद्रोहका रूप हुन् । अर्कोतर्फ, भाइले दाजुलाई बारम्बार दिदीको चिट्ठी देखाउनु, दाजुले बहिनीको पक्ष लिनु विद्रोहका अनुगामी अंश हुन्; विदेशी भूमिबाटै नेपाली समाज रूपान्तरणको मौलो गाड्न खोजेको सङ्केत पनि । हिजो जननेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह जस्ता नेताले प्रवासमा रहेरै नेपाली राजनीति र समाज रूपान्तरणको जुन आन्दोलन चलाए, त्यसैको एउटा झिल्कोको रूपमा समेत मणिपुरको चिट्ठी र यसकी पात्र शोभालाई लिन सकिन्छ ।
दाजुले दोस्रो विवाह गरेकी बहिनीको समर्थन गर्दै भनेको छ– … के भयो त ठीकै छ । अर्को ज्वाइँ रोजिन् (पृ. ६) । भाइ त्यसको अनुगामी भएको छ । लोग्नेमान्छेले एकपछि अर्को विवाह गर्दा सुधारिएको देख्ने, स्वास्नीमान्छेले दोस्रो वा अनमेल विवाह गर्दा पथभ्रष्ट देख्ने समाजका लागि शोभा एक विद्रोही पात्र पनि हो । अन्धो समाजका कृत्यहरूलाई जलाउन ऊ राँको भएर बलेकी छ– त्यो प्रतिशोधको विद्रोही भावले वेलावेलै मभित्र यो संसारलाई ध्वस्त पार्ने तागत पलाउँछ (पृ. ३०) ।
एकपल्ट सम्पूर्ण नारी–स्वर बटुलेर विद्रोह गर्ने विचार छ । मभित्र युद्धाग्नि जमेको छ । शीतयुद्ध छ, हरेकसँग । मौन विद्रोह छ प्रत्येकसँग … (पृ. ३८) । यो स्वर एउटा विद्रोह मात्र नभएर क्रान्तिसँग पनि तुलना गर्न सकिन्छ । दिदीबाट धाराप्रवाह आएका यस्ता सन्देशले भाइमा ऊर्जा सञ्चित हुनु र घरमा आइरहने लीलानाथप्रति घृणा उत्पन्न हुनु विद्रोहको अर्को रूप हो । दिदीले पठाएका प्रथमदेखि अन्त्यसम्मका सबै चिट्ठीमा विद्रोहका अनेक स्वरूप छन्, जसले समाजको नियमितता भत्काएर रूपान्तरणको लिक जोडेको छ ।
रहँदा बस्दाको समाजबाट लखेटिएर विदेशिनु र त्यहाँ देश–प्रेमले व्याकुल हुनु सिङ्गो नेपाली जातिको विशेषता जस्तै हो । विदेशमा रहेर पनि निरन्तर समाज बदल्ने शंखनाद गरिरहनु चानचुने काम होइन । यो त्यसैको अंश हो– म जस्ता हजारौं विदेशिएका नहोलान् । रोटो, भोटो र गाँसको समस्याले विदेशिनु म अर्कै ठान्छु । फराक संसार स्वयम् घर हो । …. तर एउटा कुरा … लीलेहरूको संख्यालाई शून्यप्रायः घटाउँदै लानुछ (पृ. ५२) ।
घरदेशमा नियमित जीवन चलाउने उद्यममा अलमलिएको भाइलाई परदेशबाट दिदीको आदेशात्मक चुनौती हुन्छ । रूढिवादी दुनियाँ परिवर्तन गर्न देशमै बसेको पुरुष लरखराएको आभास पाएपछि दिदीका नसानाडीमा रगत तातिन्छ । यो विद्रोही भएर द्वन्द्वप्रति लम्किरहेको पाइला हो । उसले भाइमा उत्साह भर्दै भनेकी छे– किन तिमीमा त्यो सुषुप्ति आयो भाइ ? यौवनको नयाँ आरोहणको क्षणमा पुरुषले पर्वत टुक्र्याइदिन्छ, नदी सुकाइदिने आत्मविश्वास पलाउँछ, उसमा । उथलपुथल र नयाँपनको सपना देख्छ, उसले रातोदिन (पृ. ५१) ।
एउटी परित्यक्त नारीले प्रवासबाट विद्रोहको आगो फुक्नु, लरखराउन खोजेको देशको शक्तिवान् पुरुषमाथि हुटहुटी जगाउनु र रूपान्तरणका लागि निरन्तर झक्झक्याइरहनुलाई शोभाको बहादुरी मान्नुपर्छ । शायदै, यसैको परिणति हुनुपर्छ, भाइ लीलानाथमाथि जाइलाग्नु । बारम्बार घरमा आएर, धर्म संस्कृति, परम्परा, आस्तिकताको कुहेको पाठ सिकाउने लीलानाथको प्रतिकार गर्दै भाइ भन्छ– लीले मुर्ख ! तँलाई धिक्कार छ । तँ भेडो रहिछस् … विषालु गोमन सर्प … चार जना नारीलाई हाडमासु पार्नु कहीँ आस्तिकता छ (पृ. ५८) ?
समाजको थोत्रिएको खोलमा आगो लगाउन राँको लिएर नेपाल हिँडेकी शोभा बाटैमा विरामी पर्छे । त्यसपछिको पत्रालाप मामा र भान्जाबीच हुन्छ । अन्त्यमा बाटैमा उसको देहान्त हुन्छ । यो खबर रतनवीर विश्वकर्मा (जेठो कामी) बाट प्राप्त हुन्छ । यद्यपि, शोभाको विद्रोह सानो भाइमा पुस्तान्तर भइसकेको हुन्छ । त्यसमा दाजुको सुसुप्त समर्थन छ । समतामूलक समाज देख्ने शोभाको चाहना, ऊभित्रको विद्रोह आत्मासँगै कतै उडिरहेको र त्यो मूर्त चित्र यो आकाश ओढेको धर्तीमा कहीँ न कहीँ सलबलाउने कृतिकारको विश्वास छ ।
मणिपुरको चिट्ठीलाई युद्धाख्यानको दृष्टिबाट पनि हेर्न सकिन्छ । शोभ एउटी युद्ध–नायक पनि हो । प्रथमतः ऊ आफ्नो भर्भराउँदो यौवनसँग प्रतिकारमा उत्रिएकी छे । यौनसुख दिन नसक्ने लीलेप्रति सुषुप्त रूपमा भए पनि आक्रोशको हुँकार फ्याँकेकी छे, यसमा द्वन्द्वात्मक भाव छ । दोस्रो, हृदयमा फुटेको मातृत्वको मूलप्रति गुनासिन्छे । उसलाई छटपटीले औडाहा बनाउँछ । यही औडाहा साम्य पार्न उसको मातृत्व सानो भाइतिर पोखिन्छ । यो आफैँप्रतिको विद्रोह, युद्ध र नतिजा हो ।
अर्कोतर्फ कुरीति, अन्धता, अधर्म र अनमेल जातीय व्यवस्थासँग शोभाको द्वन्द्व छ । लीलानाथबाट अप्राप्य यौन र सन्तान सुखका विरुद्ध विद्रोही छ । घरबाट निकालिनु युद्धका लागि प्रस्थान गर्नुसँग तुलना गर्न सकिन्छ । बाबुआमाबाट तिरस्कृत हुनुले पनि उसलाई द्वन्द्वोन्मुख गराएको छ । समाजको कोर्राले हिर्काएका नीलडामलाई शक्तिमा बदल्दै उसले स्थिर समाजमा विचलन ल्याएकी छे । विद्रोहले निम्त्याएको युद्धले अग्लो र होंचो सामाजिक संरचनालाई समथर बनाउने सङ्कल्प लिएकी छे ।
शोभाले नारी शिक्षाको समेत वकालत गरेकी छे । शिक्षा अभावकै कारण समाजमा नारी र पुरुषबीच असमानताको दूरी बढ्दै गएको निर्क्योल छ । ऊ बोल्छे– … शिक्षाले उसमा ज्योति बाल्दछ । ज्योतिले अन्धकार नष्ट गर्छ । … विवेक तेजस्वी हुन्छ (पृ. ३९) । नारीमाथि बज्रेका लात्ती, मुङ्ग्री र प्रहारको प्रतिरोधमा उसको आवाज चिट्ठीमार्फत निरन्तर ध्वनित भइरहेको छ– … यसको निम्ति म विद्रोही छु । यसको सफलतामा तिम्रो पनि समान हात चाहिन्छ । भनिहालेँ, दुई–चार आँतहरू ब्युँझाउँदै गरे (पृ. ४०) । यो युद्धका लागि आह्वान गरिएको आवाज हो ।
आफूभित्र बलिरहेको विद्रोहको अग्निलाई शोभाले अलमलिएको भाइमा लगेर झोसेकी छ । नेपोलियन बोनापार्ट, मुसोलिनी, औरङ्गजेब, चङ्गेज खाँ, जङ्गबहादुर जस्ता योद्धाहरूलाई उच्चारण गर्नु विद्रोहमात्रै होइन, द्वन्द्वको उद्घोष हो । सिङ्गो युगले नवनिर्माण चाहेको हुँदा त्यसको साहसी योद्धा बनाएर भाइलाई उभ्याएकी छे । दिदीले प्रवाह गराइदिएको विद्रोही चेतकै कारण भाइले दोस्रो विश्वयुद्ध सम्झिन्छ । देश, जाति, भातृत्व, राष्ट्रियता, अधिकार, कर्तव्य र समान चेतनाको परिकल्पना गर्छ । यी रूपान्तरणकारी द्वन्द्व र युद्धका प्रतिफल हुन् । रतनवीर विश्वकर्माले अन्तिम चिट्ठीमा बोलेको … परिवर्तन समाजमा थियो (पृ. ६८) … यो वाक्यांश पनि विद्रोह, द्वन्द्व र परिणामप्रति लक्षित छ । अतः मणिपुरको चिट्ठीलाई द्वन्द्वाख्यानको रूपमा पुष्टि गर्न सकिन्छ ।
– – – – –
बिट मारौं
कृतिले शुरूदेखि नै पाठकलाई तान्तै, पोको पार्दै, घेर्दै पठनीय नदीमा पौडी खेलाइरहेको हुन्छ । यसले पुरातन समाजको धुरीमा बराबरीको झण्डा गाडेर उज्यालो घाम देखाउने प्रयास गरेको छ । पाठक कहीं कतै झिंजिएर, आलस्य र दिक्दारीको चौतारीमा थकाइ मार्नु पर्दैन । जम्मा ६९ पृष्ठको कृतिले सयौँ पृष्ठले भन्दा बढी दर्शन, चेतना, सन्देश र जीवनको गतिशीलता बोकेको छ । विद्रोहका झाँकी र द्वन्द्वको रूप देखाएको छ । सँगसँगै त्यसका अंशको रूपमा तराईको जनजीवन छ । त्यहाँको दुःख, पीर, दुई छाक जोर्न लतारिरहनुपर्ने बाध्यता उजागर गरिएको छ । त्यहाँ, धुलो छ । धूवाँ छ । खमारका खेसरीको दाउनी, फुइँ, फुइँ मुटु छेड्ने चिसो सिरेटो, भुस, धानको खगडी सबै चिट्ठीभित्रका अक्षरहरू हुन् । यी हरेकले कुनै न कुनै गति समातेर पाइला चालेका छन् ।
खोलाको गडतिर हावाले उठाएको बालुवा, साँढे जुधेर सिँगौरी खेल्दा उठेको धुलो, फुस्रा खेतका आली, हुलका हुल शिरमा पोका राखेका उडियाहरू, लाज हुने गरी भिरेका च्याङ्ला कपडा कृतिभित्रको क्यानभासमा उतारिएका कलाजस्तै लाग्छन् । काला नग्न शरीरहरू, मृत मुसाका पुच्छर गाँठो पारेका मुसारेहरू, देहातबाट पर कतै देखिने जूनकिरीको टिमटिम बत्ती, राता, सेता, पहेंला झल्याकझुलुक लाइट बालेर भ्वाँक्भ्वाँक् आवाजसँगै गुड्ने मोटर र ट्रकहरू सबैले झण्डै ६० वर्ष पुरानो नेपालको पूर्वी तराईको परिवेश बताउँछ ।
तिरस्कार, कुरीति, विद्रोह, द्वन्द्व, मनोविज्ञान, प्रेम जस्ता अगणित थुम्काहरूमा टेक्दै मणिपुर र नेपाल ओहोरदोहोर गरिरहने चिट्ठीले बोकेको मर्म नेपाली समाजको एउटा अंश हो । आज पनि यसका रूप, रङ्ग, ढङ्ग, चालढाल, बान्की, हिस्सी करिब उस्तै छन् । अनमेल विवाह, जातीय विभेद, आस्तिकतावादको बर्को ओढेर एउटा ढेडू अझै हाम्रै वरिपरि धुम्धुम्दै बसेर पुरातन धुनी जगाइरहेछ । यस्तो धुनीको धूवाँ निभाउन यो कृतिले आज पनि पानीको काम गर्न सक्ने सामर्थ्य राख्छ । एउटा सिङ्गो समयको चित्र कोरेको यस कृतिले श्रृंखलाबद्ध अर्को नयाँ युग जन्माउने छ । कृतिकारले बराबरीमा उभ्याउन नसकेको र प्रकाशकले सेपिलो ढुसीमा फ्याँकेको यस कृतिले भोलि पक्कै अमरत्व प्राप्त गर्नेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

