जब सम्बन्धमा पुषको तुसारो पर्छ; मनको घाम हुस्सुभित्र गुम्सिन पुग्नेरहेछ । दुवै मनालयमा उकुसमुकुसको वातावरणले साम्राज्य बनाउँदो रहेछ । त्यो छटपटी, बेचैनी, औडाहलाई निर्मूल पारिहालौं, जिद्दीपनको बादल पन्छाएर जिन्दगीको न्यानो घामलाई स्वागत गरौं भन्ने दुवैको मनमस्तिष्कले सोचिहाले पनि व्यवहारमा उतार्न भने मुश्किल कुरा हुने रहेछ । विवादको कारण त पक्कै हुन्छ । दुवै पक्षले `मेरो केही गल्ती छैन । ऊ नै झुक्नुपर्छ पहिले ।´ भन्ने अठोटका साथ अगाडि बढिरहने हुँदो रहेछ । फकाउन को अगाडि जाने ! कसले गल्ती स्वीकार्ने भन्दाभन्दै सम्बन्धमा ढुसी पर्न बेर लाउन्न । प्रतीक्षा दुवै पक्षले गरेका हुन्छन् । प्रतीक्षाको आशा सकिएपछि सम्बन्धले सुसाइड गर्न पनि सक्छ । अनि जन्म हुने रहेछ अहम् तन्दुरुस्त अवस्थामा । सम्बन्ध पुषको ठन्डीमा कठ्यांग्रिएर मर्ने रहेछ, विचरा ।
यस्तैयस्तै सोचले खाइरहेको छ मलाई । हुरुहुरु आउने सोचका जुलूसले मनमस्तिष्कमा आन्दोलन गर्छन् । ढुङ्गामुढा बर्साउँछन् । वार्ताको कुनै सम्भावना देख्दिनँ । माग नै गलत पो राखे लाग्छ । यो आन्दोलनको कुनै तार्किक पक्ष देख्न छोडेको छु ।
तीन महीना पहिला जीवन एकदम शरद थियो । सयपत्रीको मगमग वासना थियो । घरपरिवारमा मखमली मुस्कान थियो । मेरो जीवन हावामा उडेको मच्चिएको पिङ थियो । कुनै पनि कुराको महत्त्व थाहा हुन त्यसको अनुपस्थिति हुन जरूरी रहेछ भन्ने कुराको ज्ञात आज भएको छ । एकदिन घरमा डस्टबिन नहुने हो भने घर डम्पिङसाइट बन्दो रहेछ । पाक्दै गरेको खाना ग्यास सकियो भने जिन्दगी काँचो हुनेरहेछ । बार्दलीमा परेवाले बिस्टाएर गइदिन्छ, त्यसमा कुचो परेन भने घर कुरूप देखिंदोरहेछ । सुतेको ओछ्यान मिलाएन भने मूड खिजिमिजी बन्दोरहेछ । यस्तो समस्या पनि मान्छेको जिन्दगीमा आइपर्छ भन्ने बारे त म अनभिज्ञ नै थिएँ ।
`तिम्रो के काम छ र ? तिमी त यो कुर्सी जस्तै त हौ, जो विश्राम गरिरहन्छ । यति जाबो काम पनि सही ढङ्गबाट गर्न सक्दिनौ है !´ मैले उनलाई प्रहार गरेको कुरा यत्ति नै थियो । मैले जे भने शतप्रतिशत सही भन्ने मानेको थिएँ ।
`म बाहिर कमाउन जानपर्ने । हाकिमको टोकसो सहन पर्ने । दौडधुप गर्नपर्ने । ऊ भने घरमै आनन्दले बस्ने । तनाव छैन । खायो, बस्यो । त्यही बराबर काम गर्न नसक्ने ।´ मेरो मनमा यही कुरा खेलिरहन्थ्यो । मैले यी सबै कुरा भन्ने जन्मजात अधिकार राख्छु भन्ने लाग्थ्यो । यसमा मलाई कुनै अपराधबोध थिएन ।
त्यसदिन छोरा लडेर निधारमा चोट लागेको थियो । छोरीले गृहकार्य नगरेको भनेर विद्यालयबाट फोन आएको थियो । मेरो पारा कार्यालयमा हुँदा नै तातेको हो । घरमा आउँदा छोराको पनि त्यो हाल देख्दा रीसले भाउन्न भएको म नियन्त्रणभन्दा बाहिर पुगिसकेको थिएँ । यो सबको कारण उनकै हेलचेक्र्याइँ हो भन्ने नै मेरो मान्यता थियो ।
`दिनभर कार्यालयको बोझ; घरमा आयो परिवारले दिएको बोझ । तिमीहरू सधैं मोजैमोज । दिनभर रिमोटको ब्याट्री सक्ने । बिजुलीको बिल बडाउने । वाईफाईको भरपूर प्रयोग गर्ने बाहेक के नै छ र हँ काम ।´ मैले अनियन्त्रित भएर मुखमा आएका सबै कुरा बिना फिल्टर खनाउँदै थिएँ ।
थप मुरमुरिंदै भनें,`तिम्रो कुनै काम छैन । तिमी प्रयोगहीन छ्यौ ।´
मैले यति मात्र त भनेको हो भन्ने लाग्थ्यो । यसले ममा कुनै ग्लानिको भाव ल्याएको थिएन । मेरो आक्रोशलाई सुनेर एक वाक्य नफर्काईकन बसिरहेकी थिइन् ।
हुन त पहिला पनि बेलाबेलामा यसरी नै भन्थेँ । उनी वादविवाद पनि गर्थिन् । तर त्यस दिन कुनै प्रतिक्रिया दिएकी थिइनन् । भावशून्य भएर मेरो गुलेली हानेको जस्तो शाब्दिक मट्यांग्राको प्रहारलाई बिना कुनै चोट लिईकन चट्टान भएर उभिएकी थिइन् । हल्का फिरफिर ओठ काँपेको थियो । अनि मन्द स्वरमा बारम्बार एउटै शब्द दोहोर्याएर बसेकी थिइन्, `मेरो कुनै काम छैन । मेरो कुनै काम छैन । मेरो कुनै काम छैन ।´ यति भन्दैगर्दा आँसुका ढिक्काले जमीन टेक्न पुगिसकेको थियो ।
नाक रसाएको देखेको थिएँ । र्यालले पनि ओठ हुँदै चेपुतिरको डीलबाट झर्ने तयारीमा थियो ।
मैले यति विधि गाली गर्दा पनि उनको कुनै प्रतिक्रिया देखिएको थिएन । उनको मौनताले मलाई अझ बढी क्रोधित तुल्याएको थियो ।
शायद हामी झगडा यसकारण गर्छौं कि दोस्रो पक्षलाई त्यसको प्रभाव परोस्, छटपटी होस्, प्रतिक्रिया जनाओस् । झगडा गर्ने व्यक्तिको तर्कलाई जित्न अर्को तर्कको निर्माण गर्न पाइयोस् । एउटा रोमाञ्चक प्रतिशोधको खेल जस्तै उसका हरेक जवाफलाई परास्त गर्दै जान पाइयोस् । झगडा दोहोरी गीत जस्तै हुनुपर्छ होला । एउटाले टुक्का प्रहार गरेपछि अर्कोले त्यसको कडा जवाफ सहित उपस्थित होस् ।
तर हाम्रो झगडामा यस्तो भइरहेको थिएन । जसले मेरो अहंलाई अझ बढी चोट परेको थियो । उनी चूपचाप रहेर मेरो आक्रोशमा पेट्रोल खनाइरहेकी थिइन् । वास्तवमा झगडामा प्रतिकार नहुने हो भने प्रहार गर्ने व्यक्ति निकै कमजोर हुने रहेछ । आफ्नो कमजोरी लुकाउन उसले थप मति बिगार्न पुग्ने रहेछ । त्यसदिन मसँग भएको यही थियो । मैले आफूलाई विजेता सावित गर्न आफ्नो अहंकारलाई जित्न क्रोधको पराकाष्ठा नघाएको थिएँ । मान्छे आफू कमजोर छु भन्न कति नसकेको है । यदि म कमजोर छु भनिदिन सक्ने सामर्थ राख्ने हो भने, म गलत छु भन्न सक्ने स्वीकारोक्ति राख्न सक्ने हो भने, म क्षमा चाहन्छु भन्न मात्र सक्नेले जीवनमा कहिले ग्लानिको भारी बोक्न पर्दैन । मैले कुतर्क निर्माण गरेर उनलाई तल देखाउन सकिने सबै अस्त्र प्रयोग गरेँ । उनको गल्ती छ भनेर आफैलाई भ्रममा राख्न अनेक विष ओकलेँ ।
प्राचीन मूर्ति जस्तै ठिङ्ग उभिएकी उनी रहस्यमय पाइताला चाल्न थालिन् । सिधै बैठक कोठामा प्रवेश गरिन् । एउटा झोला उठाएर त्यसमा केही लत्ताकपडा कोचिन् ।
खुरुखुरु घरबाहिर निस्कँदै गर्दा भनेकी थिइन्, `मेरो कुनै काम छैन यो घरमा । छोराछोरी र आमाबुबाको ख्याल राख्नू ।´ यो उनको आग्रह होइन । निर्णय थियो ।
मैले नजाऊ, के गरेकी ? भनेर सोध्न र रोक्न सकिनँ । मेरो अहंकारले त्यसो भन्ने अनुमति दिएन । अहंकार त अझै बढी जडताको गुफाभित्र प्रवेश गर्दै गयो । `गए जाओस् । केही फरक पर्दैन । लुरुलुरु फर्केर आउँछे भोलि । त्यसको जाने ठाउँ माइत हो । माइतीले दुई दिनमा पठाइदिन्छन् ।´ मनमनै यही कुरा खेलाएर आफ्नो अहंलाई बलियो बनाएँ ।
मलाई तिमी नजाऊ भनेर रोक्न मन नलागेको होइन । तर म घट्छु । म हार्छु भन्ने चिन्ता बढी थियो मलाई । मलाई आफ्नो पक्षमा वकालत गर्ने तर्कको निर्माण गर्नु थियो । मैले सोचें, `कस्ती घमन्डी आइमाई, छोराछोरीको चिन्ता छैन । बाआमाको ख्याल छैन ।´
घमन्डको सूचाङ्क उसको घट्न पर्छ भन्ने मेरो अधिकतम तहमा पुगेको अहंकारको सूचाङ्कले निर्देशन गरिरहेको थियो ।
मान्छेलाई आफू हार्ने चिन्ताको बढी चिन्तन हुने रहेछ । जित्न पर्छ भन्ने चलन कहाँ कसरी बस्यो थाहा छैन । यही जित्न पर्छ भन्ने मानसिकताले गर्दा नै मान्छे दिनहुँ हारिरहेको छ जस्तो लाग्छ । मान्छे कारखाना रहेछ, जसले समस्या उत्पादन गर्छ । हुन त मान्छे समाधानको उत्पाद गर्ने कारखाना पनि हो । मान्छेसँग प्रायः दुईवटा विकल्प हुनेरहेछ । समस्याको पहाड बनाउने वा समाधानको सम्म बनाउने । मान्छेको मनोविज्ञानले समस्यालाई बढी मलजल गर्ने रहेछ । त्यसले ऊ जहिले पनि समस्यालाई घटाउनेभन्दा बढाउने पदमार्गमा उन्मुख देखिन्छ । जब समस्याको पहाडमा पहिरो जान्छ अनि मान्छेले बल्ल समाधानलाई सम्झिएर आत्तिन्छ । मान्छेलाई समस्याको निर्माण गर्न प्रेरित गर्ने तत्त्व भनेकै अहंकार हुने रहेछ । हारको हार गलामा पहिरहने मन उसलाई हुन्न । फेरि हरेक मान्छेभित्र गलत गर्दैगर्दा मैले गलत गरिरहेको छु भन्ने आभास नहुने होइन । बारम्बार उसलाई महसुस भइरहेको हुन्छ । तर, एक मात्र कारण अहंले उसलाई म गलत छैन भन्ने सूचना दिइरहन्छ । मान्छेको सबैभन्दा ठूलो समस्या नै सहज रूपमा हार स्वीकार्न नसक्नु रहेछ ।
अहंकार जीत क्षणिक मीठो हुनेरहेछ । अहंकारले प्राप्त गरेको खुसीको मिठास भनेको फलफूल जस्तै हुनेरहेछ । ताजामा मीठो जति बासी हुँदै गयो उतिउति खल्लो । बासीपनको म्याद नाघेपछि त झन् कुहिएर आफ्नै सोच गनाउन थाल्ने रहेछ । मसँग आज यस्तै भएको छ । तीन महीना भयो उनले घर छोडेर गएको । फर्किएर आएकी छैनन् । माइतीमा छिन् भन्ने थाहा छ तर लिन जान सकेको छैन । अहंकार अब कुहिएको छ मेरो । दुर्गन्धित भएको छ । केही दिनमा यो अहंकार फ्याँकिएन भने स्याउँस्याउँ किरा पनि पर्नेछ ।
उनी गएपछि नाङ्गिएका छन् मेरा सोचमा भएको विकार । उनी जानु मेरो जिन्दगीबाट मणि हराउनु बराबर भएको छ । उनी जानु भनेको धूपको सुगन्ध सुँघी उनी नहुनु भनेको धूप त छ तर त्यसलाई जलाउने सलाई नहुनु जस्तै भएको छ । उनी नहुनु भनेको जीवनमा शनिवार हराउनु जस्तै भएको छ । उनी नहुनु भनेको टाँक खसेक सर्टमा सोही रंगको धागो नपाएर अर्कै धागोले सिलाएर लगाए जस्तै बेमेल भएको छ, जीवन ।
यो खोलानाला, झरना, वनजङ्गल, जूनतारा, घाम आदि प्राकृतिक कुराहरूको हामीले जति उपयोग गर्छौं नि त्यति कृतज्ञता कहिले गर्न सकेका हुँदैनौं । हाम्रो जीवनलाई सहज बनाउन सहयोग गर्ने यी सबै कुरालाई अनुग्रहित भएर साधुवाद टुक्राउन सकिएको हुँदैन । यसो सोच्छु यदि यी सबै कुरा नहुने भने त मान्छेको जीवन नै सम्भव हुन्थेन होला । जसरी उनको अभावमा त जिन्दगीको यात्रामा पूर्णविराम लागेको छ । चिल्लो कालोपत्रे सडकबाट अचानक कच्ची सडकमा हिँडेको जस्तो भएको छ । मान्छेसँग जे कुरा हुन्छ, त्यसको महत्त्व बुझ्न नसक्नु मानव सभ्यताकै सबैभन्दा ठूलो गल्ती रहेछ । महत्त्व बुझ्न अभाव हुनैपर्ने रहेछ ।
उनलाई कति सजिलैसँग जान दिएको थिएँ । तर, अहिले असजिलोसँग सजाय भोग्दै छु । उनी गएपछि घर बिरामी पर्दै गएको छ । अस्तव्यस्त छाएको छ । कुनै पनि कुरा ठीकठाक चलेको छैन ।
उनी गएपछि खाटमै चिया चाहिने म आजभोलि सबेरै उठ्नु परेको छ । घरको सरसफाइदेखि आमाबुबाको चियापानी र छोराछोरीको नास्ता तयार पार्दैमा बिहान बितेको पत्तो हुन्न । सँगसँगै खाना पनि बनाउनै पर्यो । कार्यालय जान सधैं ढिलो हुन थालेको छ । हाकिमको अगाडि लुत्रुक्क पर्नु बाहेक कुनै उपाय छैन । अफिसबाट फर्केपछि फोहोर कपडा धुने, छोराछोरीलाई गृहकार्य गर्न मद्दत गर्ने । अनि पुनः बेलुकाको खानाको तयारी । यति धेरै व्यस्त भएको जिन्दगीमा थाहा थिएन । अहिले सम्झिएर पश्चात्ताप हुन्छ; यो सब मेरो आरामको पछाडि उनको कति धेरै मेहनत रहेछ ।
घरमा जति काम हामीले अफिसमा कहाँ पो गरेका रहेछौं र ? घर सम्हाल्ने जिम्मेवारी जत्तिको चुनौतीपूर्ण काम त अरू हुँदै होइन भन्ने ज्ञात भएको छ । सजिलै खाना डाइनिङमा आउँथ्यो, सधैं सफा कपडा तयारी हुन्थ्यो, एकपटक लगाएको मोजा कहिले दोहोर्याएर अर्को दिन लगाउन परेन, थरीथरीका परिकार पाक्थे । यी सबै काम गरेर कहिले नजताईकन गर्नसक्ने उनी महान् थिइन् ।
यी सबका बीच पनि म उनीसँग रिसाई नै रहेको थिएँ । म किन लिन जाने । आफैँ फर्किएर आउनु पर्दैन ? छोराछोरी कसरी सम्हाल्यो होला । आमाबुबा रोगी छन् । केही सोच्नु पर्दैन ?- मनमा यस्तैयस्तै विचार आइरहेकाले मैले पनि आफू हार नमान्ने । आफैँ जानेर फर्किनुपर्छ भन्ने मान्यता राखिरहेँ ।
मेरो अहंकारलाई उच्च राख्न मैले प्रयास गरिरहने प्रण गरिसकेको थिएँ । एक हप्तापछि कपडा धुन सकिन्न भन्ने लागेर मैले वासिङ मेशिन लिएर आएँ । अर्को हप्ता पनि उनी नफर्किए पछि अब यसरी खाना बनाउन सकिन्न भनेर मैले एकजना खाना बनाउने र भाँडा माझ्ने दिदीलाई काममा बोलाउन थालें । त्यसपछिको महीनामा छोराछोरीलाई पढाउने र गृहकार्य गराउने काम पनि अल्छी लाग्न थालेकोले होम ट्यूशनको लागि एकजना भाइलाई बोलाउन थालेँ ।
यो सबै गरेपछि मलाई अलिकति आराम भयो । म हार्दिनँ । झुक्दिनँ भन्ने अहंकारले अझै पोषण पायो ।
दोस्रो महीनाको तलबमा जब वासिङ मेसिन किन्न लिएको ऋणमा अलिकति किस्ता बुझाएँ, घरमा खाना बनाउने दिदी र ट्यूशन पढाउने भाइलाई तलब दिएँ । ओहो ! घरखर्च चलाउने पैसा पनि पो अपुग भयो ।
मैले गरेका यी सबै खर्चको हिसाब निकाल्दा एउटा कुराले दिमागमा झट्का हानिहाल्यो । `यो सबै काम जसलाई मैले पैसा तिरेर गराइरहेको छु । ती सबै काम त उनले नै गरिरहेकी थिइन् । त्यो पनि बिना तलबमा । उनले घरको काम गरेको तलब माग्ने हो भने त मैले दिन असक्षम पो हुने रहेछु ।´
मैले उनलाई तिम्रो के काम छ र ? भनेर हिर्काएको वचनको हतियार उनलाई कति दुखेछ भन्ने कुरा अनुमान लगाउन थालेँ । उनले गरेको सबै कामको तलब त मैले दिनै नसक्नु रहेछु भनेपछि मसँग यत्रो अहंकार किन छ ? पक्कै पनि यस्तै सिकायो मलाई समाजले । यसरी नै सोच्ने बनायो । गृहिणीको कामको कुनै पारिश्रमिक तोकेन । पुरुषसत्ताले महिलालाई सधैं दबाएर राख्यो । यस्तो कुरा बल्ल बुझ्न थालेको छु । उनले आफूले गरेको कामको मूल्य मागेको भए त म धोती न टोपी हुनेरहेछु । एउटा घर चल्न पैसा कमाउने र घर सम्हाल्ने दुवैको बराबर जिम्मेवारी र मेहनत हुने रहेछ भन्ने कुरा बुझ्दै जान थालेको छु ।
यतिका वर्ष भयो उनी मेरो घरमा आएको । मैले उनले कहिले पनि ढुक्कले आराम गरेको देखेको छैन । आमाबुबाको आदेश,छोराछोरीको आवश्यकता र मेरो गुनासो सुन्न उनका कान चौबिसै घण्टा तयार भएर बसेका हुन्थे । मैले सामान्य बिरामी हुँदा पनि कार्यालयबाट बिदा स्वीकृत बनाइहाल्थे तर आजसम्म उनले बिरामी भए भनेर आराम गरेको दिन छैन । उनको बिरामी बिदा खोइ ? यो प्रश्नले पनि मलाई नराम्रो गरी हिर्काएको छ ।
अब मेरो अहंकारको लगभग मृत्यु भइसकेको छ । तिमी हुनुले के के फरक पार्छ भन्ने बोध गरिसकेको छु । तिमी भएर मलाई घरको काम गर्न मात्र सजिलो हुन्छ । मेरो पैसा बच्छ भनेर मैले तिमीलाई लिन आउने निर्णय गरेको होइन । मलाई तिम्रो साथ भएन भने के हुन्छ ? म कति कमजोर हुन्छु । मेरो मुड कति हलचल हुन्छ । यी सबको हिसाबकिताब गरिसकेको छु । मलाई तिमी चाहिन्छ । तिम्रो दृश्यलाई यो दृष्टिले देख्न पाएन भने आँखामा भिटामिनको कमी हुनेछ । घर फर्किंदा ढोकामा तिम्रो मुस्कानले स्वागत गरेन भने म ओइलाउने छु । छोराछोरी मसँग भन्दा तिमीसँगै खुसी हुन्छन् । आमाबुबाले पनि तिमीलाई लिन जा भनेर बारम्बार कराइरहनुहुन्छ ।
तिमी हुनु भनेको घरले श्वास फेर्नु हो रहेछ । तिमी हुँदा चराहरू पनि गीत गाउन आउने गर्छन् । फूलमा भमरा डुल्छन् । अहिले त फूल काकाकुल भएर अन्तिम आश पर्खिरहेका छन् । तिमी भएर पो झ्यालबाट मात्तिंदै आएका बतास पर्दालाई अँगालोमा राखेर युगल गीत गाउँछन् सुसेलीमा । म आउँछु तिमीलाई लिन ससम्मान । म माग्ने छु-याचना क्षमाको । – यस्तै यस्तै सोचिरहेको थिएँ । मुसाले भान्साको भाँडा खसालेर बिथल्यो । उनी गएपछि मुसा पनि कति बढेका छन् भने नियन्त्रण गरिसक्नु छैन ।
`म भोलि बिहानै जानेछु । तिमीलाई लिन अहंको वस्त्र फुकालेर आउनेछु । स्नान गरेर पखाल्नेछु – म भित्रको पितृसत्तात्मक सोचको मैला । मस्तिष्कको विकारलाई मिचिमिची पखालेर जानेछु ।´- मनमनै कुरा खेलाइरहेको थिएँ, लामखुट्टेले गालामै टोकेर गयो । उनी गएपछि झारपात यति बढेको छ कि लामखुट्टेको राज छ ।
तर म भोलि जानेछु । उनीलाई लिन । म अब पनि जान सकिनँ भने मेरो चेतनालाई यो अस्तित्वमा रहने कुनै अधिकार छैन ।
भोलि तिमीले मलाई भेट्दा एउटा नयाँ पुरुषलाई भेट्नेछौ । भोलि मभित्र स्त्रीत्वको अंश पनि पाउनेछौ । म भोलि थोरै म धेरै तिमी बनेर आउनेछु । म सधैं तिमी बनिरहन सक्ने प्रेरणा सापटी लिन आउनेछु । भोलि तिमी घर फर्काएर ल्याएपछि आइसियुमा भएको हाम्रो घर निको भएर उफ्रिन थाल्नेछ ।
मनभित्र यस्तै विचारको लहर चलेको थियो । पाइतालामा काउकुती लागे जस्तो भयो । काउकुती बढ्दै पेटबाट उकाल्यो लाग्यो । घाटीसम्म आइपुग्दा मेरो हात पुगेछ । साङ्लो पिचित्तै भयो । उनी गएपछि फोहोरसँगै साङ्लाको पनि जनसंख्या वृद्धि भएको छ । अब त सुत्छु । भोलि घामसँगै उनलाई भेट्न जानुछ; प्रकाश बोकेर सह-अस्तित्वको । मेरो जिन्दगीको कार्यालय घर प्राइभेट लिमिटेडको प्रबन्ध निर्देशक तिमीलाई घोषणा गरेर; भद्रगोल जिन्दगी व्यवस्थापन गर्नुछ ।
अनि भन्ने मन छ, `तिमी यो सृष्टि सम्हाल्ने ऊर्जा हौ । तिम्रो काम टन्नै मात्रै होइन तिमीबिना हामी पुरुषको कुनै काम छैन ।´



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ माघ २०८२, बुधबार 









