बिहान उठ्दा गर्दन र काँधको भाग पूरै दुखेको थियो । अत्यधिक कम्प्युटरको प्रयोगले हो भन्ने जान्दा जान्दै पनि म कम्प्युटरको प्रयोग कम गर्न सक्दिनँ । मेरो काम नै कम्प्युटरको प्रयोग हो । उठेर जीउ तन्याकतुनुक पारें । दुई चार वटा जोर्नी पड्किए, आनन्द आयो । ट्वाइलेट जान लाग्दा रिङटा लाग्यो । भनन पार्‍यो । ढल्छु कि भनेर सम्हालिएँ । एकछिन उभिएर रिङटा अलि कम भएपछि ट्वाइलेट पसेँ । मानसिक थकान भयो भने मलाई त्यसरी रिङटा लाग्छ ।

‘कम्प्युटर अलि बढी नै भा’छ, अब कम गर्नुपर्छ । नत्र कुन दिन बर्लङ्ग ढले भने बर्बाद हुन्छ !’ ट्वाइलेटमा सोचें । तर मलाई थाहा छ त्यो मेरो सोचाइ मात्र हो । मैले पहिले पनि धेरै पटक त्यस्तै सोचिसकेको छु तर ती सोचलाई व्यवहारमा उतार्न सकेको छैन ।

दाँत माझेँ । ऐनाले दाह्री बढेको जानकारी दियो । तर काट्ने जाँगर चलेन । हातले दाह्री सुमसुम्याउँदै ‘आजको लागि चल्छ !’ भनेर दाह्री नकाटी निस्केँ ।

ट्वाइलेटबाट निस्केर भित्तामा टाँगेको घडी हेरें । बिहानको चार बजे नै घडी रोकिएको रहेछ । आफ्नै समय रोकिए जस्तो लाग्यो । कतै आज नै बढी रिङटा लागेर मेरो समय पनि घडीको जस्तै हुने त हैन ? एकाएक घडी रोकिनु कुनै संकेत त हैन ? मन सिरिङ्ग भयो । म अलि बढी अन्धविश्वासी छु । अन्ध विश्वास भन्ने जान्दाजान्दै पनि म विश्वास गर्छु । आफ्नो अन्धविश्वास कम गर्न प्रयास गरेको निकै समय भैसकेको छ । त्यसले राम्रै नतिजा पनि दिएको छ । मैले धेरै अन्धविश्वासलाई विश्वास गर्न छोडिसकेको छु । त्यसमा मलाई गर्व छ । तर अझै धेरै अन्धविश्वासका विश्वास तोड्न बाँकी नै छ ।

‘ह्याँ के सोचिराखेको हुँला मैले ? यस्ता कुरामा विश्वास गर्दिन !’ मनलाई दह्रो बनाएर बाहिर निस्कन्छु ।

छोरीले दूध तताएर भान्छामा राखिदिएकी छन् । मैले बिहान विरलै चिया पिउँछु । तर एक गिलास दूध भने नियमित जस्तै हुन्छ । दूध राखेको कप उठाउन लागेको बिँड चिप्लियो र अलिकति दूध भुइँमा पोखियो । दूध पोखिनुमा पनि मेरो अन्धविश्वास जोडिन पुग्यो । तर फेरि पनि वास्ता नगरेको नाटक गरेर मनलाई अर्कैतिर मोडेँ ।

स्कूल जान छोरी तयार भैसकेकी थिइन् । लुगा लगाएर बाऊ छोरी निस्क्यौँ । छोरीलाई स्कूल पुर्‍याएर त्यतैबाट अफिस गएँ । अर्को महिना अफिसको काममा युरोप जानुपर्ने छ । आज भिसाको निवेदन दिन जानुपर्ने । मलाई खासै मन छैन । यो भन्दा पछिल्लो पटकको मेरो भिसा अस्वीकृत भएपछि मलाई निकै रिस उठेको थियो ।

पहिले धेरै पटक गैसकेको भएपनि भिसा दिन अस्वीकार गरेपछि मैले मनमनै ‘अब म युरोप जाँदैन’ भनेर प्रण गरेको थिएँ । तर प्रण गरेर मात्र के गर्नू ? अफिसले ‘जा’ भनेपछि फेरि ‘त्वम् शरणम्’ भनेर भिसाको निवेदन दिन जानै पर्‍यो । त्यसै पनि युरोप जान मलाई मन लाग्दैन । नगएको ठाउँ भए पनि गैहालौ भन्ने हो । त्यो पनि भएन । सरकारी कर्मचारी भए भत्ता आउँछ भन्ने हो त्यो पनि छैन । एक सुक्को अतिरिक्त पैसा आउँदैन । इकोनोमी श्रेणीमा लामो उडान । थाकेर पुगिन्छ । तीन दिन बैठकमा सामेल भयो । कतै घुम्न जाने समय पनि हुँदैन । होटेलबाट बैठक स्थल, बैठक स्थलबाट होटेल । थकानमा थकान थप्दै फेरि फर्कियो । उपलब्धि शून्य ! राहदानीमा एउटा स्ट्याम्प थप्नु बाहेक अरू केही हात लाग्ने हैन । अनि कसरी जान मन लागोस् ? भिसा स्वीकृत होस् या नहोस् अब केही मतलब छैन ।

अफिसमा पुगेर कम्प्युटर खोलेर छोडेँ अनि भिसाका कागतपत्र बोकेर निस्कें । सार्वजनिक सवारी साधनमा यात्रा नगरेको धेरै भएको थियो । अफिसको समय- भीड बाक्लै थियो । तर सीट पाएँ । सीटमा बसेर अन्य यात्रुलाई नियाल्न थालें ।

सबैजसोको हातमा मोबाइल थियो अनि नजर चाहिँ मोबाइलमा । कसैलाई कसैको मतलब थिएन । यात्रुको त्यो भीडमा मोबाइल नहेर्ने म मात्र थिएँ । म पनि उपाय नलागेर नहेरेको मात्र हो । मोबाइलले मेरो टाउको, आँखा, ढाड सबै बिगारिसकेको छ । अरू बढी बिगार्न चाहन्न । अब त मेरो दिमाग बिग्रन मात्र बाँकी छ, त्यो पनि शुरू भैसकेको जस्तो भान हुन्छ । त्यसैले मैले काम नपरेर रमाइलोको लागि मोबाइल हेर्न छोडेको लामै समय भैसकेको छ ।

कागको भीडमा बकुल्ला जसरी मैले यात्रुहरूलाई नियाल्छु । उनीहरूको बारेमा केही विचार मनमा आउँदैन । मनमा अझै पनि भिसा अस्वीकृत भएको दृष्यले बास गरेको छ । संयोग मात्र पनि हुन सक्छ, मेरो भिसा अस्वीकृत भएको समय नेपालीलाई भुटानी बनाएर अमेरिका पठाएको काण्ड चर्चामा थियो । नेताहरूले कस्तो बनाए देश ? यो सोचले उनीहरूप्रति रिस उठ्छ । जनता बेच्ने तिनै ठग मन्त्री छन्, तिनकै हालीमुहाली चल्छ । तर अचम्म जनता पनि तिनैलाई भगवान् सरह मानेर पूजा गर्छन् जयजयकार गर्छन् । मैले बुझ्न सक्दिनँ ।

चूपचाप भिसाको निवेदन दिएर अफिस फर्कें । दिउँसो हाकिमसँग मिटिङ थियो । उनले मलाई दुई हप्ता अगाडि एउटा काम दिएका थिए । त्यसकै रिपोर्ट बुझाउने मिटिङ थियो । मैले समयमै काम सक्काएको थिएँ- छिटो पनि हैन ढिलो पनि हैन । आफैंलाई पनि आफूले निकै राम्रोसँग त्यो काम सक्काएको भान भैरहेको थियो । मिटिङमा रिपोर्ट प्रस्तुत गरें । हाकिम निकै खुशी भए । मैले उनले सोचेको भन्दा राम्रो काम गरेछु । आखिर राम्रो काम गरेपछि सबैले राम्रो भन्ने नै रहेछन् । तर हामी किन आफ्नो काम यस्तो उस्तो बनेर विज्ञापन गर्छौ ? राम्रो भए त देखिने नै रहेछ । मलाई केही दिनको लागि राम्रो शिक्षा प्राप्त भयो । केही दिनपछि फेरि त्यो शिक्षा भुलेर आफ्नै पुरानो सोचमा फर्किनु त छँदैछ तर दुई चार दिन मन अफिसमा खुशी हुने बहाना चाहिँ मिल्यो ।

एकछिन फुर्सद भयो । धेरै दिनदेखि पढ्ने भनेर एउटा पुस्तक झोलामा बोकेर हिँडिरहेको थिएँ । शुरूमा पाँच पृष्ठ पढेपछि अगाडि बढेको छैन । बीचमा साहित्यको नोबेल पुरस्कार घोषणा भयो । हान काङको भेजिटेरियनको निकै चर्चा भयो । मैले पहिले त्यो पुस्तक र लेखिका हान काङको नाम पनि सुनेको थिएन । नोबेल पुरस्कार प्राप्त गरेपछि पढ्ने मन लाग्यो । पुस्तक छोटो रहेछ । पढ्न त्यति लामो समय लागेन । राम्रै लाग्यो । भेजिटेरियनले गर्दा पनि मेरो झोलामा पर्खिरहेको पुस्तकले समय पाउन सकेको थिएन । तर भेजिटेरियन पढिसकेको पनि एक हप्ता भन्दा बढी भैसकेको छ तर फेरि अर्को पुस्तक खोल्न मनै लागेको छैन । झोलाबाट पुस्तक निकालेर टेबलमा त राखेँ तर पुस्तक खोल्न हात खुलेन ।

समाचार हेर्नुपर्‍यो भनेर कम्प्युटरतिर आँखा गयो । समाचार पनि कति हेर्नू ? के हेर्नू ? गतिलो र विश्वास लाग्ने समाचार भए पो हेर्नू ? खाली राजनीति, धोकाधडि, खुट्टा तानातान, भ्रष्ट्राचार, अनैतिकता । समाचारपत्रहरू पनि सबै पूर्वाग्रही भैसकेका छन् । पाठक पनि त्यस्तै । हरेक क्षेत्रमा दलीयकरण छ । गुटबन्दी छ । राजनीतिले देश खत्तम पार्‍यो । मलाई पनि कहिलेकाहीं आन्दोलन गरेर यी सारा नेताहरूलाई एउटै खाल्डोमा गाड्न पाए हुँदो हो जस्तो रीस उठ्छ । तर के गर्नू ? हिम्मत छैन । प्रत्येक नागरिक दलका र तिनका अनैतिक नेताका अन्ध भक्त बनेका छन् ।

आफूले अलिकति विश्वास गर्ने समाचार साइट खोलें । नौलो समाचार केही छैन । समाचारमा फोहरी राजनीति बाहेक केही छैन । भ्रष्ट्राचार, ठगी, कुशासन, खुट्टा तानातान, अनैतिकता, व्यक्तिगत आक्षेप बाहेक कुनै आशलाग्दा समाचार छैनन् । पहिले लुकेर गर्थे अहिले त सरकारी पदमा बसेर खुल्लमखुल्ला गर्न थालेका छन् ।

तर पनि उनीहरूलाई न त कुनै गल्ती बोध छ, न त कुनै ग्लानि छ, न त कुनै डर । तिनका अन्धभक्त कार्यकर्ताहरूले आफ्ना नेताका जतिसुकै निकृष्ट कार्य भए पनि त्यसको महिमा गान गर्न तँछाडमछाड गरिरहेका छन् । आफूलाई बुद्धिजीवी भन्न रुचाउनेहरूले पनि कुनै न कुनै दलको टोपी लगाएका छन् र त्यसकै आधारमा देशमा घटिरहेका घटनाको विश्लेषण गरिरहेका छन् । आँखामा दलीय चस्मा लगाएर गरिएका विश्लेषणहरू मलाई हेर्नै मन लाग्दैन । यही कारणले गर्दा मैले अब एउटा मात्र पत्रिका हेर्ने गरेको छु । त्यो पनि हेड लाइन मात्र ।

अन्य सबै पत्रिका मैले खोल्न छोडिसकें । स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्ने पत्रकार नै छैनन् कि भन्ने लाग्न थालिसक्यो । पहिले समाचार बिक्थे अहिले पत्रकार बिक्छन् भन्ने कथन वास्तविकतामा परिणत हुन लागेको जस्तो लाग्छ । मैले मात्र हैन मेरा धेरै साथीहरूले पनि यस्तै सोच्छन् । कुनै समय निकै चलेका साइटहरूको अहिले लोकप्रियता ह्वात्तै घटेको छ ।

नेपालमा मात्र हैन विदेशमा पनि त्यस्तै छ । मध्यपूर्व र युक्रेनमा नरसंहार जारी छ । हरेक दिन निर्दोष जनताहरूले ज्यान गुमाइरहेका छन् । धर्तीमा भर्खर पाइला टेकेका अबोध शिशुहरूले जिन्दगी के हो भन्ने बुझ्न नपाउँदै बम र बारुदको ज्वालामा जलेर आफ्नो देहलिला समाप्त गरिरहेका छन् । तर कसैलाई त्यसको वास्ता छैन । सबैलाई सत्ता र शक्ति चाहिएको छ । सब आ-आफ्नै मिसनमा छन् । पत्रिकाहरूले पनि आ-आफ्ना एजेन्डाहरू फैलाइरहेका छन् । विदेशका समाचार पनि बीबीसी बाहेक मैले अरू सबै हेर्न छोडिसकें । पूरै त भन्न नसकिएला तर बीबीसी अझै पनि निष्पक्ष नै देखिन्छ ।

हाकिमसँगको मिटिङले दिएको खुशीलाई समाचार हेरेपछि देशको परिस्थितिले निराशामा परिणत गरिदियो । देशको स्थिति देख्दा मलाई रुन मन लाग्छ । नेताहरू कति स्वार्थी, अनैतिक, निकृष्ट हुन सकेका होलान् ? उनीहरू शायद मानिस नै होइनन् कि ? हामीले कथाहरूमा पढेका दानवहरू सायद यस्तै हुँदा हुन् जस्तो लाग्छ ।

समाचारले दिक्दारी दिएपछि ‘यसको पछि लागेर हुँदैन, आफूले गर्नुपर्ने हजार काम छन्, के नचाहिने कुरा सोचेर आफूलाई दुखी बनाउनू ?’ भनेर केही लेख्नुपर्‍यो भनेर बस्छु । तर लेख्न मनै लाग्दैन । चार-पाँच महीना नै भयो, मेरो लेखनमा रोकावट आएको । लेख्नुपर्ने विषय कति छन् कति । लेखिसकेका रचना पनि सच्याउनु पर्नेछ । दिमागमा अनेकौं नयाँ र लेखनीय विचार आएका छन् तर हात चल्दैन । आफैँलाई धिक्कार्छु । नलेख्नको लागि अनेक बहाना बनाउँछु । एक कप कालो चिया पिउँछु । अलिअलि जाडो शुर भैसकेको छ । जाडोले नै होला, घुँडा दुख्न थालेको छ । मलाई ग्रीन टी मन पर्छ । गर्मी भरि ग्रीन टी पिएँ । धेरै ग्रीन टी पिएकोले चिसो भएर घुँडा दुखेको भनेर एक जना साथीले भनेपछि मलाई पनि हो कि जस्तो लाग्यो । अनि कालो चियातिर लागेको छु । जाडोभरि कालो चिया नै हाबी हुनेछ ।

यस्तै गर्दागर्दै घर फर्कने बेला भैसकेछ । म अफिसबाट फर्कंदा अलि ढिलो हुने हुनाले छोरीलाई लिन जानुपर्दैन । उनी आफै फर्कन्छिन् । घर फर्कंदा अँध्यारो भैसकेको थियो । कोठामा पस्दैगर्दा जेठी छोरीको फोन आयो । पढाइको लागि उनी हामीबाट टाढा छिन् । बाबुआमा भएपछि छोराछोरी ठूला भए पनि उनीहरूको चिन्ता लागिहाल्ने ! के खाए, जाडो शुर हुँदैछ, रुघा लाग्ने पो हो कि ? पढाइ कस्तो छ ? बिग्रने पो हुन् कि ? यस्तै यस्तै ।

म साँझको खाना खाँदिन । शरीरको तौल नियन्त्रणको लागि भनेर शुर गरेको, अब त बानी नै भैसक्यो । एउटा अण्डा उसिनेर खाएँ । अनि एक पसर भटमास र चना भुटेको खाएँ । साँझको खाना त्यही नै हो । एकछिन रुबिक्स क्युब बिगार्दै बनाउँदै गरें । हरेक दिन कम्तीमा तीन चार पटक रुबिक्स क्युब मिलाउने गरेमा वृद्धावस्थामा हुने विस्मृति रोग र पागलपन- डिमेन्सिया रोक्न सहयोग पुग्छ भन्ने कतै पढेको थिएँ । त्यसैले अरू केही काम भएन भने मैले रुबिक्स क्युब समातेर मिलाउन थालिहाल्छु ।

आमालाई फोन गर्नु हरेक दिनको एउटा काम हो । आमा एक्लै हुनुहुन्छ । साथमा रहन नसके पनि दिनमा एक पटक फोन त गर्नै पर्‍यो । जसरी हामीलाई हाम्री छोरीको चिन्ता लाग्छ आमालाई पनि त हाम्रो चिन्ता लाग्दो हो । केही नयाँ कुरा नभए पनि भिडियोमा एक अर्कालाई देख्दा मन त शान्त हुन्छ नि !

आमालाई फोन गरेर ‘अब त पुस्तक पढ्छु’ भनेर झोलाबाट भर्खर पुस्तक निकालेर पढ्ने तरखर गर्दै थिएँ, ससुरालीबाट फोन आयो । श्रीमतीका ठूलो बुवाको निधन भएछ । बिहान घडी रोकिएको दृष्य मनमा आयो । सकभर नकार्न खोजें तर त्यसमै गएर जोडियो । मलाई परिवारले, समाजले हाम्रो सभ्यता र संस्कृतिले दिएको उपहार, त्यति सजिलै किन त्याग्न सक्थें र ? अन्धविश्वासले आफूलाई गाँजेकोमा आफैप्रति लाज र घृणा लाग्यो तर पनि त्यो दलदलबाट निस्कन सकिन । एक वर्ष भित्रमा उनका फुपाजु, ठूलीआमा, भिनाजु र ठूलो बुवाको निधन भयो । उनी निकै मर्माहित छिन् ।

हुन त उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो, वृद्ध पनि भैसक्नुभएको थियो तर पनि मृत्यु आफैमा भयावह हुन्छ । नरमाइलो लाग्यो । उहाँको छोरी ज्वाइँको निधन भएको छ महीना पनि पुगेको थिएन । काठमाडौंमा रहेकी छोरी आफ्नो लोग्नेको तीन महीनाको काम सकाएर शनिवार बाबु भेट्न जाने भनेर टिकट पनि लिनुभएको थियो रे तर बुवाले छोरी पर्खन सक्नुभएन । समयलाई कसले पो रोक्न सक्छ र ? कस्तो विपत्ति ! लोग्ने गुमाएको तीन महीना नहुँदै बुवालाई गुमाउनुपर्ने बाध्यता । कहिलेकाहीं समय निकै निर्दयी बन्छ तर सहनै पर्ने ।

यसरी नै फेरि मेरो अर्को दिन बित्यो । एक एक दिन यसरी बिताउँदै जाँदा मेरो पूरै उमेर बित्नेछ । एउटा पुस्ताको उमेर बित्नेछ । शताब्दी बित्नेछ, सहस्राब्दी बित्नेछ । यही प्रकृया चलिरहेको छ । सबैका आ-आफ्ना दैनिकी छन्, आ-आफ्ना गन्थन छन्, आ-आफ्ना खुशी र दुख छन्, कथा र व्यथा छन् । बालकका आफ्नै दुःख-सुख छन्, युवा युवतीका आफ्नै दिनचर्या छन्, वृद्धवृद्धाका आफ्नै गुनासा छन् । गरीबका आफ्नै समस्या छन्, धनीका आफ्नै समस्या छन् । हरेक व्यक्ति, हरेक परिवार, हरेक समाज, हरेक देश सबैका आ-आफ्नै कहानी छन् । यहाँ म जस्ता अर्बौँ पात्रहरू छन् । सोचेर साध्य छैन, लेखेर साध्य छैन । के लेख्ने ? कसरी लेख्ने ? कति लेख्ने ? लेखेर सकिने पनि हैन । कति लेख्नू र ! ल त कलम बिसाएँ !

विक्रम सम्वत् २०८१ साल कार्तिक ९ गते शुक्रवार, कार्तिक कृष्ण अष्टमी