विश्व विजेता सिकन्दरले मृत्यु हुनुभन्दा ठीक अगाडि आफ्ना सहयोगीलाई भनेका थिए रे, ‘ मृत्युपछि मेरो पार्थिव शरीर चारजना डाक्टरहरूलाई बोक्न लगाउनू। मेरो लासबाट मेरा दुवै हातहरू सबैले देख्ने गरी बाहिर निकालेर राखिदिनू । लास लगेको बाटो वरिपरि सुन, चाँदी र पैसा छरिदिनू ।’

सहयोगीहरूले गम्भीर भएर सिकन्दरलाई सोधेछन्, ‘यस्तो किन गर्ने सरकार ?’

सिकन्दरले रहस्य उद्घाटित गर्दै भनेछन्, ‘मैले विश्व जितेर पनि आखिर मरेर जाँदा केही लिएर गइनँ । म अरूलाई सम्झाउन चाहन्छु, बुझाउन चाहन्छु । डाक्टरले घेरिएर बसे पनि मृत्युलाई सिकन्दरले जित्न सकेन । विश्वविजेता सिकन्दर पनि मृत्युपछि खाली हात नै गयो । विश्व जितेर कमाएको सम्पूर्ण सम्पत्ति सिकन्दरले यही लोकमा नै छोडेर गयो ।’

सिकन्दरको यो भनाइ वास्तवमा ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड, सरह भएको छ । तर मलाई सिकन्दरको यो महान् विचारले यतिखेर संवेदनशील बनाएको छ । मान्छे आखिर जीवनभर के जित्न दगुर्छ ? किन मान्छे यति स्वार्थी हुन्छ ? किन अरूलाई यातना दिन्छ ? मानव भएर पनि किन अमानवीय कार्य गर्छ मान्छे ? आफ्नै देशका नागरिकलाई किन देश निकाला गर्छ ? किन अरूको अस्तित्वलाई स्वीकार्न सक्दैन ?  किन झुठ्ठा मुद्दा लगाएर ऊर्जावान् युवालाई जेलभित्रै वृद्ध पार्छ ? किन कसैको परिवारलाई तितरबितर गर्दै बर्बाद गर्छ ?

सिकन्दर सँगसँगै लियो टलस्टायलाई पनि स्मरण गर्दैछु यस घडी । सिकन्दरले विश्व जितेर पनि आन्तरिक सुख र शान्ति प्राप्त गर्न सकेनन् । ‘विश्वविजेताले पनि आखिर मर्दा त केही लिएर जाने होइन रहेछ नि ! भन्ने यथार्थ किन बुझ्न सक्दैनन् मान्छे। ‘सिकन्दर पनि खाली हात नै गए’ यो भन्दा ठूलो दर्शन के हुन सक्छ । लियो टलस्टायले लेखे कालजयी कथा ‘मान्छेलाई कति जमीन चाहिन्छ ?’

अध्ययन, अनुसन्धान र अनुभवले खारिए पनि मान्छे किन विवेकको प्रयोग गर्दैनन् ? पैसाको लागि किन कोही यतिसम्म गिर्न सक्छन् । आफ्नो सबैथोक गुमाएर शरणार्थी जीवन भोग्दै आएका निरीह मान्छेमाथि पनि किन छल, कपट र धोका दिन्छ मान्छे ? कसरी बेच्न सक्छ मान्छेले आफ्नो इमान ? कसरी जन्माउन सक्छ पैसाको खातिर नक्कली शरणार्थीहरू ?

शरणार्थीहरूमाथि गरिएको अन्यायले पोल्दैन ती मान्छेलाई ? अन्नको साटो के पैसै खान्छन् ती सत्तासीन व्यापारीहरू ? युद्ध, आतङ्क र अन्यायलाई चिरेर किन मान्छे आफूलाई जित्न सक्दैन ? किन मान्छेले मान्छेलाई समान व्यवहार गर्दैनन् ? विवेकी हुँ भन्ने मान्छेले पनि आफ्ना कुविचारहरूलाई किन त्याग्न सक्दैनन् ? मानवता अक्षुण्ण राख्न किन सक्दैन मान्छे ? आखिर अन्तमा त सबै कुरा छोड्नु नै छ ।

इतिहासमा कस्ता कस्ता शासकहरू जन्मिए आखिर यहीँ समाप्त भए । किन बुझ्दैन मान्छे जीवन विज्ञान ? किन अपनाउँदैन समाज विज्ञान ? आखिर अन्त्यमा त आफ्नै अहंकारसँग पराजित हुन्छ मान्छे । प्रेम, सद्भाव, शान्ति र सहयोगलाई अङ्गाल्न किन सक्दैनौँ ए प्रिय मान्छे ? एन बी गिरीको ‘जनरव फिराद’ पढेपछि मलाई सताइरहेका छन् यस्ता प्रश्नहरूले ।

पुस्तक पढ्दै गर्दा म पुग्छु भर्खरै सम्पन्न भएको बौद्धिक विमर्शमा । म यतिखेर पुतलीसडकको ग्रीनलिफ रेस्टुरेन्टमा एक बौद्धिक सभामा सोचमग्न भएकी छु । ‘भूटानी शरणार्थी मुद्दामा बुद्धिजीवीहरूको बैठक’ ग्रीनलिफको सभा हलमा सबैले देख्ने गरी ठूलो अक्षरमा ब्यानर टाँसिएको छ । अगाडि देख्दैछु डाक्टर गोविन्दराज भट्टराई, हिरण्यलाल श्रेष्ठ, नरेन्द्रजंग पिटर, जनरव फिरादका लेखक एन बी गिरी र कार्यक्रम सञ्चालक पत्रकार अरुणदेव जोशी लगायतका बुद्धिजीवीहरूलाई । टेबुलको वरिपरि देख्छु बुद्धिजीवीहरू ।

उत्कृष्ट पुस्तकको सङ्गत, उत्तम विचारको सत्सङ्ग र सुमधुर सङ्गीतले जीवनको धार बदलिदिन्छ । असल सङ्गत मानव जीवनको आशीर्वाद हो । मान्छे होस्, पुस्तक होस् या होस् उचित वातावरण उत्तम सङ्गत फलदायी हुन्छ । असल सङ्गतको परिणाम यो बौद्धिक सभामा म पनि उपस्थित भएकी छु । सुन्दैछु विद्वत् जगत्लाई ।

अध्ययन र अनुभवले खारिएका विश्लेषकहरूलाई । सबैले शरणार्थीका मुद्दामा आ-आफ्नो धारणा राख्दै हुनुहुन्छ । म सुन्दैछु त्रिभुवन विश्वविद्यालयका वर्तमान र निवर्तमान प्राध्यापकहरूलाई, राजनीतिक चिन्तक अनि विश्लेषकहरूलाई, मानव अधिकार कर्मीहरूलाई, भूतपूर्व राजदूतहरूलाई, मन्त्री लगायत अन्य बुद्धिजीवीहरूलाई ।

सबैका कुरा सुनिसकेपछि म बबुरी पनि सोच्न बाध्य हुन्छु, ‘कुनै समस्या, समाधानको बाटोमा नगएर समस्याकै रूपमा यति लामो समयसम्म किन रहिरन्छ ? भूटानी शरणार्थी समस्याबाट कोही पनि अनभिज्ञ थिएनन् सभामा । समस्या सबैलाई थाहा छ । भूटानको राजनीति सबैले बुझेका छन् । समाधानको मार्ग पनि सबैलाई अवगत रहेछ तर समाधानको मार्गमा जान कोही सक्दैनन् ?

बौद्धिक जगत् कसैको पेवा होइन । ती त राज्यका सम्पत्ति हुन् । ३५ वर्ष लामो यो मुद्दा अझ किन समाप्त भएन ? म छक्क पर्दैछु कूटनीति सम्झेर । मेरो मनमा बारम्बार प्रश्न उठ्दैछ ।

विद्वानहरू भन्दै हुनुहुन्छ, ‘वास्तवमा जुन कारणले भूटानी शरणार्थी समस्या उत्पन्न भएको थियो त्यो समस्याको सम्बोधन अहिलेसम्म भएकै छैन । जातीय समस्यालाई नबुझ्नु र सम्बोधन नगरिनु मुख्य कारण हो । जबसम्म एक जना मात्र भूटानी शरणार्थी नेपालमा हुन्छन् तबसम्म यो समस्या समस्याकै रूपमा रहिरहन्छ । अहिले नेपालमा ६३५० जना शरणार्थी छन् । नेपाल बलियो भएको भए, शासक इमानदार भएको भए, नेपालीहरूले यति धैरे दुःख पाउँदैनन् थिए ।

शरणार्थी समस्याभित्र अन्य समस्याहरू पनि विकराल छन् । लामो समयसम्म राजबन्दी भएर बसेकाहरूको डरलाग्दो अवस्था छ । भूटानका जेलमा अझ पनि नारकीय जीवन बिताउन विवश छन् गोर्खा जातिहरू । लैङ्गिक समस्याहरू उस्तै छन् । परिवारसँगको पुनर्मिलनको समस्या अर्को टिठ लाग्दो विषय छ । भूटानी शरणार्थीहरूका सबै समस्यालाई सम्बोधन गरिनुपर्छ ।

भूटानसँग हाम्रो देशको सीमा जोडिएको छैन । भारतले जबसम्म यो समस्यालाई विवेकी आँखाले हर्दैन तबसम्म यो समस्याले मूर्तरूप लिनसक्दैन । नक्कली शरणार्थी प्रकरणले वास्तविक शरणार्थीहरूको छातीमा छुरा धसेको छ । नक्कली शरणार्थी बनाएर शक्ति हातमा लिएकाहरूले घृणित खेल खेले । नक्कली शरणार्थीका कारण आज पनि पीडित भुक्तभोगी शरणार्थीहरूले बारम्बार शरणार्थीको परिचय देखाउँदा अपमानित हुनुपरेको छ । प्रश्नको सङ्गिनले बारम्बार घोच्छ नक्कली कि सक्कली भनेर ?’

बौद्धिक बहस सक्कियो । मेरो मन भारी भएको छ ।

स्मरणमा आउँछ अतीत, ‘आज म यहाँ शरणार्थीको बारेमा लेख्दैछु । वर्षौं अगाडिदेखि सुन्दै आएको अन्तर्राष्ट्रिय मुद्दा । भूटानको घिनलाग्दो राजनीतिक खेललाई आधार बनाउँदै छु । सन् १९९० बाट आरम्भ भएको भूटानी शरणार्थी समस्या आज पनि पूर्ण रूपमा समाधान भएको छैन । पहिलो चोटि भूटानी शरणार्थी शब्द सुन्दा जम्मा ११ वर्षकी रहिछु । हरेक दिन रेडियोबाट सुन्थें भूटानी शरणार्थीका समाचार । तर बुझ्ने उमेर खासै थिएन त्यसैले हृदय संवेदनशील भएन । शरणार्थी हुनु  भनेको के हो ? किन शरणार्थी भए केही थाहा थिएन । एकोहोरो रेडियोमा सुनेको नाम चाहिं स्मरणमा अझ ताजै छ टेकनाथ रिजाल, खुदुनाबारी, बेलडाँडी, जिम्मे सिङ्गे वाङचुक ।

भिमानमा पनि आएका थिए भूटानीहरू । मलाई लाग्थ्यो भूटानबाट बसाइँ सरेर आएका होलान् । हाम्रो गाउँमा आफ्नो थातथलो छोडेर नयाँ मान्छेहरू आउने क्रम जारी नै थियो । बसाइँ सरेर गएका र आएका मान्छे देखेकी थिएँ । ती नेपाली भाषा बोल्ने भूटानीहरू पनि बसाइँ सरेरै आएका होलान् ठान्थें ।

मलाई अझ स्मरण छ भूटानबाट आएका ती योग्य सरहरू कति राम्रो अंग्रेजी पढाउँथे । हामी पढ्थ्यौं ती सक्षम सरहरूसँग । हामीलाई ती सरहरूको नाम थाहा थिएन सबैले भूटानी सर भनेर बोलाउँथ्यौं । पछि अग्रजहरूले भूटानी सर नभन्नु सबैको नाम हुन्छ भनेर नामले नै बोलाउन लगाउनुभयो । आज बुझ्दैछु त्यो समयमा कसैलाई पनि भूटानी भनेर सम्बोधन गर्दा कस्तो असर परेको थियो भनेर ।

बसाइँ सर्नु र निर्वासित हुनुमा कत्रो भिन्नता रहेछ । सबैका लागि आफू जन्मेको, हुर्केको र खेलेको ठाउँ अति प्यारो हुन्छ । देश भनेको वास्तवमा भूगोल मात्र कदापि होइन । स्मरणमा कैयौं संवेदनाहरू बाँचेका हुन्छन् आफू हुर्किएको माटोका । आफू हुर्किएको भूगोल छोडेर पनि कहिले छोडिंदैन । चिरकालसम्म बाल्यकाल टेकेको भूगोलले मोहित पार्छ । नेपालमा शरण माग्न बाध्य पारिएका ती नेपाली भाषी भूटानीहरूको हृदयमा कत्रो पीडा उठेको थियो, भन्ने कुरा मैले कल्पनासम्म पनि गर्न सकिनँ । आज आएर बुझ्दैछु । जुन देशलाई आमा ठानेर निर्धक्कसँग जीवनयापन गर्दै आए, जहाँ आफ्ना सपना सजाए, जहाँ आफ्नो परिचय बनाए जहाँ आफ्नी आमाको काखमा बसेर भविष्यको सुन्दर योजनाहरू बुन्दै थिए ती भूमि पुत्रपुत्रीहरू कसरी राजनीतिको दाइँमा पेलिए ?

नेपाली भाषी भूटानीहरू चौधौं शताब्दी देखिनै भूटानमा बस्दै आएका रहेछन् । आफ्ना पुर्खाले निर्माण गरेको समाज, जात र धर्ममाथि अधिनायकहरूले यति तल्लो स्तरको षड्यन्त्र गर्छन् भनेर कसले विश्वास गरेको थियो होला र ? हरेक जातजाति, भिन्न भाषाभाषी र विविध संस्कृति,परम्परा, सामाजिक मूल्यमान्यताको साझा फूलबारी पो आकर्षक हुन्छ त ! तर कति विमूढ रहेछ शासक । उखेल्यो आफ्नै फूलबारीका सुन्दर फूलहरू ।

अनेकतामा एकता पो टिकाउ हुन्छ त । सबै नागरिक मिलेर बसेको समाज पो सुन्दर हुन्छ त । भूटानी गोर्खाहरूले निर्भीक भएर भविष्यको योजना बुनेका थिए आफ्नो भूमिमा । जुन देशको नरेशलाई देउता मानेर सेवा गरे । त्यही नरेश कसरी हिंस्रक जनावर बन्यो । देवता मानेको नरेशले मानवता विरोधी कार्य गर्न पछि हटेन । जो प्रजाको रक्षा गर्ने पदमा थियो सोही शासकले आमाको काखमा खेलिरहेका सन्तानलाई गलहत्त्याएर देश निकाला गर्‍यो । त्यो बेला देशबाट लखेटिएर शरण खोज्दै नेपाल आएका शरणार्थीहरू पो रहेछन् ती सरहरू पनि ।

शरणार्थी हुनुको वास्तविक पीडा के हो शासकलाई के थाहा । देश नहुनुको भयावह दुःख के हो, देश हुनेलाई के थाहा । पहिचान लिएर हिंडेकाहरूलाई के थाहा पहिचान गुम्दाको पीडा । घर र परिवारमा बस्नेलाई के थाहा परिवार छुट्नुको पीडा । यस्तो विकराल दुःख नभोगेको मान्छेलाई थाहा हुँदैन शरणार्थीको वास्तविक अभिघात ।

आदिकवि भानुभक्तको पंक्ति ‘जिउँदै मरेको भनी नाम कसको ? उद्यमबिना बित्दछ काल जसको, गाउँदै आएकी थिएँ तर उद्यम गरेर बसेका कर्मवीर एवम् वीराङ्गनाहरू कसरी जिउँदै मारिए ?

जनरव फिराद नाम सुन्दा अंग्रेजी नाम हो कि जस्तो लाग्छ । जब मैले शब्दकोश पल्टाएँ म अचम्मित भएँ जनरव त संस्कृत शब्द पो रहेछ । जनरव- जनआवाज । फिराद- फारसी शब्द जसको अर्थ सम्बन्धित अधिकारीका समक्ष न्याय पाउन गरिने प्रार्थना । बडो अर्थपूर्ण लाग्यो शीर्षक । एन बी गिरी जनरव फिराद मार्फत भूटानको साङ्गोपाङ्गो आवाज लिएर आएका छन् ।

भूटान देश कसरी स्थापित भयो । भूटानीहरू कहाँबाट भूटान आए । भूटानको अधिनायकवादी सरकारको इतिहास के हो ? तिब्बतसँग भूटान कसरी नजीक छ । नेपाली भाषी भूटानीहरू भूटान कहिले प्रवेश गरे । किन भूटानमा विद्रोह भयो  ? लोत्सम्पाहरूलाई (दक्षिण भूटानी, नेपाली जातिहरूको समूह ) भएकै कारण बिना कसुर तानाशाहहरूले किन र के का लागि भूटानबाट लखेटे  ? समस्याको फेदैसम्म पुगेर गिरीले यो फिराद लेखेका छन् ।

एन बी गिरी एक भुक्तभोगी भूटानी नागरिक हुन् । भूटानको शाही सुरक्षा निकायमा माथिल्लो तहमा बसेर राजाको सेवा बडो इमानदारीपूर्वक गरेका थिए । भूटान सरकारको नियम र कानूनमा बसे । निष्ठापूर्वक राजाको आज्ञा पालन गरे । तर जब भूटानमा लोत्सम्पा भएकै कारण बिना कसुर यातना भोग्न विवश भए । उनले मात्र होइन उनको परिवारले पनि अधिनायकवादी सत्ताको अमानवीय व्यवहार भोग्नु पर्‍यो । श्रीमतीको मृत्यु भयो । लोत्सम्पाहरू प्रताडित भए । विरोधमा आन्दोलन चर्कियो । ती तमाम विषयहरू समेटेर  गिरीले शरणार्थीहरूको समस्याहरूको दस्तावेज लिएर आएका छन् । गिरीको अपिल छ संसार भरिका शरणार्थीहरूले न्याय पाउनुपर्छ ।

‘शरणार्थी फिराद’ शीर्षकमा गिरी भन्छन्, ‘मानिसमाथि अपराध गर्ने देशको शासक विरुद्धको कानून खोइ कहाँ छ ? कानून एक पक्षीय हुनुहुँदैन । यदि शासकले देशबाट लखेट्छ भने त्यस्तो अपराध गर्नेमाथि पनि अन्तर्राष्ट्रिय कानून हुनुपर्छ । जबसम्म कानून सबैका लागि बराबर हुँदैन विश्वबाट शरणार्थी समस्या निर्मूल हुनसक्दैन । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उद्देश्य एवं महासन्धिका कानूनहरूमा अनुकूल सुधार हुन आवश्यक देखिएको छ (पृष्ठ २९ ) ।’

भूटानी शरणार्थीहरूको त्यो कन्तबिजोक संसारले देख्यो तर पनि भूटान सरकारलाई मानवता विरोधी कार्य गर्नबाट रोक्न सकेनन् । आफ्ना नागरिकहरूलाई देश फिर्ता ल्याउन दबाब दिएन। कति पीडादायी कुरा छ ।

आफू जन्मिएको भूमि सदाका लागि खोसिनु, देशविहीन हुनु, रातारात भेडा बाख्रा जसरी गाडीमा कोचेर अर्को देशमा धकेलिनु, आफ्नो समाज, समुदाय र सम्बन्धहरू छोडेर आफ्नो प्यारो जन्मभूमिबाट निष्कासित हुनुपर्दाको विकराल अवस्था जनरव फिरादमा आएको छ ।

शरणार्थीहरूको  हृदयमा कस्तो पीडा उत्पन्न हुन्छ होला । बाबुबाजेहरूले सिर्जना गरेर स्थापित गरिदिएको आफ्नो घर, आँगन, गोठ, गाईबस्तु सबैसबै छोडेर खुल्ला आकाशमा शरण लिनुपर्दा कति रोयो होला त्यो विक्षिप्त मन । यस्तो संवेदनशील विषयमा पनि छलको राजनीति गर्न पनि पछि परेनन् टाठाबाठाहरू । धिक्कार छ तिनीहरूलाई जो पैसाको खातिर यो किसिमको अमानवीय व्यवहार गर्छन् ।

‘जरव फिराद’ पढ्दैगर्दा म निकै भावुक भएँ । त्यहाँ भूटानी शरणार्थीहरूलाई कसरी नेपाल रातारात ल्याइयो । उनीहरूलाई तेस्रो मुलुक पठाउन शासकहरू कुन हदसम्म तल झरे भन्ने कुरा आएको छ । पुनर्वास कारण आफ्ना बालबच्चा र परिवारबाट छुट्टिनुपर्दाको मानसिक आघातको हिसाब कोसँग छ ? कोही अमेरिकामा छन्, कोही नेपालमा त कोही अस्ट्रेलियामा छन् । जम्मा दश एघार देशमा छरिएर रहेकाछन् भूटानी शरणार्थीहरू । तिनीहरूको पुनर्मिलन कहिले हुन्छ ? भूटान, नेपाल र भारतले मानवतालाई कुन हदसम्म कुल्चिए भन्ने कुराको केही लेखाजोखा नै छैन ।

अन्याय, अत्याचार र आफूमाथि भएका जघन्य अपराधहरू झेलेर आएका गिरीले पनि सर्वस्व गुमाएका छन् । पहिचानविहीन, देशविहीन र नागरिकताविहीन भएको अवस्थामा उनी निकै भावुक हुन्छन् । आफू शरणार्थी भएर यति लामो समयसम्म अपमानित भएर बाँच्नु पर्दा उनी अस्तित्व चेतले उकुसमुकुस हुन्छन् ।

‘भूटानीहरूलाई सत्य निस्तार चिठ्ठी’ शीर्षक मार्फत ‘हान्ना एरेन्ड’को वाणी सापट लिएर अभिव्यक्त हुन्छन्, ‘कुनै पनि व्यक्तिको नागरिकता खोसिनु भनेको विश्व सभ्यताबाट अलग्याइनु हो । यो असभ्य वा जङ्गली मान्छे आफ्नै जङ्गली गुफाको जीवनमा फर्किनु जस्तै हो । यो मानिसको केही नभएको अवस्था मात्र नभई अन्य व्यक्तिहरूले मानिस सरह व्यवहार गर्ने गुण नरहेको अवस्था हो । उनीहरू यो संसारलाई कुनै योगदान नगरी पहिचान बेगर बाँच्न वा मर्न सक्छन् ( पृष्ठ ७५ )।’ जनरव फिराद मार्फत एन बी गिरीको हृदयको आवाज सबैले एकपटक पढ्नै पर्छ ।

‘जनरव फिराद’मा एन बी गिरीले भूटानी शरणार्थीहरूको वास्तविक समस्या, अवस्था,पीडा, दुःखलाई उजार गरेका छन् । नेपाली भाषी भूटानीहरूले भोगेको कारुणिक अवस्थाको दस्तावेज रहेछ यो कृति । भूटानको भौगोलिक, राजनैतिक, सामाजिक, धार्मिक, आर्थिक लगायत कूटनीतिक अवस्था र इतिहासलाई समेटेका छन्  । निरङ्कुश शासकले लोत्सम्पाप्रति गरेको अराजक व्यवहारलाई छाम्न सकिन्छ । एन बी गिरी भूटानी शरणार्थीका प्रतिनिधि पात्र हुन् । वास्तवमा गिरी मार्फत भूटानी शरणार्थीहरू के चाहन्छन् भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ । शरणार्थीहरूको शाश्वत अपिल के हो ? भूटानी शरणार्थीहरूको सामूहिक आवाज सुनिन्छ जनरव फिरादमा ।

गिरीले यस पुस्तकलाई १४ वटा शीर्षकमा समेटेका छन् । भूटानी शरणार्थीहरूको खुल्ला बिन्तीपत्र हो जनरव फिराद । भूटान तथा छिमेकी राष्ट्रहरूको स्वार्थपूर्ण राजनीतिलाई गहिरोसँग अध्ययन गरेर लेखेका रहेछन् गिरीले । भूटानमा आफूले देखेको, भोगेको मानवता विरोधी कार्यलाई विश्वसामु पुर्‍याउने कोशिश गरेका छन् ।

बिना कसुर आफ्नो देशबाट लखेटिएका एन बी गिरी ‘शरणार्थी फिराद’ शीर्षकमा यसरी अभिव्यक्त भएका छन्, ‘सरकारले जनतामाथि गरेको दुर्व्यवहारको वर्णन गर्न पनि शरम लाग्छ । सँगै हुर्केका सेना र प्रहरीका मित्रहरू, एकै हाडका सन्तान समेतका चरित्रहरूको बारेमा के लेखौँ आफ्नैले बहिष्कार गरेको सुन्दा घाउमा नून छर्किए झैँ हुन्थ्यो । परिवारका सदस्यहरूबीच समेत शंका र ईर्ष्या उत्पन्न गराउन सरकार सक्षम थियो । राजा भएको देशका जनताले शान्तिसँग जीवन जिउन पाउँदैनन् भन्ने ज्ञान जेलबाटै प्राप्त भयो । राजाको लागि देशका जनता खोरमा पालेको खसी- बोका जस्ता रहेछन् जतिबेला काटेर खाए पनि हुने ( पृष्ठ २४) ।’ यो पुस्तकमा एन बी गिरीलाई पढ्दै गर्दा संवेदनशील हृदय काँप्छ, रुन्छ र छातीमा ऐंठन पर्छ ।

भूटानी शरणार्थी समस्या यतिका वर्षमा त टुङ्गिनु पर्ने ठाउँमा झन् झन् शरणार्थी समस्या बल्झिएको छ । अन्तर्राष्ट्रिय कानून अझ मौन छ ? एउटा राजाको विभेदकारी अमानवीय व्यवहार देख्दादेख्दै पनि मानवताको वकालत गर्ने संघसंस्था किन चूपचाप छ भन्ने प्रश्नमा गिरीको उत्तर ‘पुनर्वास तानाशाहलाई उन्मुक्ति होइन’ भन्ने शीर्षकमा यस्तो रहेको छ, ‘ विश्वका शक्तिशाली देशहरूका केही लेखकहरू र मानवअधिकारवादी भनाउँदाहरू साना देशका मानिसहरूभन्दा ज्यादै अवसरवादी, निर्दयी र धोकेवाज भएको मैले पाएको छु । त्यस्ताहरूका सहयोगमा भूटानी शरणार्थीहरूमाथि गरिएको दानवीय व्यवहार, अत्याचार तथा जिग्मे सिङ्गे वाङचुकको अपराधलाई छोप्ने प्रयास भइरहेको छ । त्यसैले हामी सत्य, न्याय, मानवता र प्रकृतिमाथि विश्वास गर्नेहरू कहिल्यै पनि डरपोक भएर बाँच्नु हुँदैन । आखिर मर्नु त छदैँछ एकदिन तर इमानदार र बहादुरीकै मरण मरौँ (पृष्ठ ८९)।“  स्वाभिमानी गोर्खा जाति सरल छन्, शान्त छन् र दृढ भएर लडेका छन् अधिनायकवादीहरूका विरुद्ध  ।

सन् २०१२ मा राष्ट्र संघले आयोजना गरेको ‘सुख र कल्याण’ सम्बन्धमा एउटा बृहत् गोष्ठीको आयोजना गरेको थियो जसमा भूटानले पनि भाग लिएको थियो । जिग्मे सिङ्गे वाङ्चुकले ल्याएको सकल राष्ट्रिय आनन्द’को  बारेमा  भूटानका तत्कालीन प्रधानमन्त्रीले बडो चातुर्यताका साथ कर्णप्रिय शब्दमा प्रस्तुत गरेका थिए । आफ्ना नागरिकलाई अकल्पनीय पीडा, दुःख र सकस दिने शासकहरू नै ‘सकल राष्ट्रिय आनन्द’ को भ्रान्ति फैल्याउन पछि परेनन् । भूटानका कुटिल राजाको कुरा सबै राष्ट्रले पत्याउनु अर्को विडम्बनाको कुरा छ । ‘

सकल राष्ट्रिय आनन्दको सवालमा एन बी गिरी ‘गोर्खा जाति तथा भूटानी –लोत्सम्पा’ शीर्षक मार्फत् ‘यसरी कोक्किन्छन्, ‘ देशको नागरिकहरूलाई मारकाट गरी आतङ्कित बनाएर देशबाट लखेटी ‘सकल राष्ट्रिय आनन्द’को तर्कगर्ने राजालाई पत्याउने विश्वका नेताहरू पनि मानव जातिकै कलङ्कहरू नै हुन् । भूटानी राजाले गरेको अपराधहरूको वास्ता नगरी मानव- अधिकार, न्याय र शासन व्यवस्थाको मूल्याङ्कन नगरी राजालाई सहयोग गर्नेहरू मानवता विरोधीहरू मात्र होइनन्, उनीहरूले विश्वव्यापी रूपमा स्वीकार गरिएको संयुक्त राष्ट्रसंघको पनि उपहास गरेको छन् (पृष्ठ ५४ ) ।

अन्तर्राष्ट्रिय नीतिनियममा आबद्ध, मानव अधिकारका सम्बन्धी सन्धि र सम्झौताहरूमा हस्ताक्षर गरेर, विश्वमा आफ्नो बेग्लै पहिचान बनाएको राष्ट्रले आफ्ना नागरिकहरूलाई बिनागल्ती रातारात जनावरलाई जसरी गाडीमा कोचेर भारतको भूमि हुँदै नेपाल ल्याएर छोड्दा किन कोही मानव अधिकारको वकालत गर्ने शक्तिशाली राष्ट्रले भूटान नरेशलाई सजाय दिएन ? मानवता माथि यत्रो प्रश्न उठ्दा किन सबै राष्ट्र मौन भए ? राष्ट्रले गरेको मानवता विरोधी अपराधको लागि कुनै दण्ड छैन अन्तर्राष्ट्रिय कानूनमा ?

यतिका वर्षसम्म समाधान गर्न नसक्ने ठूलो समस्या भूटानी शरणार्थीका विषयले मलाई संवेदनशील बनाएको छ अहिले । म चिन्तनशील छु यतिखेर, ‘के पुनर्वास भूटानी शरणार्थी समस्याको पूर्ण समाधान थियो ? पुनर्वासमा गएका शरणार्थीहरूलाई भोलि त्यहाँ पनि जातीय आन्दोलन उत्कर्षमा पुगेर ती देशबाट निकालियो भने ती भूटानी शरणार्थीहरू कुन देशमा फर्किन्छन् ? तेस्रो मुलुकले पनि गलहत्त्याएको खण्डमा मेरो देश भन्दै ती गोर्खालीहरू कुन देशमा शरण लिन जान्छन् ? जुन देशमा जन्मे हुर्के बढे, पढे,लेख, काम गरे तिनैका दरसन्तानहरूले भोलि पनि पहिचानविहीन हुँदा कस्तो अवस्था सिर्जना होला ?’

पुनर्वासको सम्बन्धमा एन बी गिरीको धारणा यस्तो देखिन्छ, ‘अवसरवादीहरूको लागि विकसित मुलुकमा पुनर्वास हुनु अहोभाग्य हुनसक्छ । तर सबै भूटानी अवसरवादी छैनन् । समग्रमा भन्नुपर्दा पुनर्वास भूटानी शरणार्थीहरूको सुरक्षाको लागि अपनाइएको विकल्प हो ( पृष्ठ ८३ ) ।’ लोत्सम्पाहरूलाई अनागरिक बनाउन भूटानमा होस् या शरणार्थीहरूको पुनर्वासको सन्दर्भमा नेपालमा कस्तो कस्तो नाटक मञ्चन गरे शासकहरूले । नेपाली भाषी र गोर्खा जातिलाई भूटानबाट खेदाउन के कस्ता राजनीति भयो ? कसरी लोत्सम्पाहरू देशविहीन भए भन्ने विषयमा गहिरो अनुभव गरेर लेखिएको यो पुस्तक निकै महत्त्वपूर्ण रहेछ ।

अन्त्यमा, भूगोल, शासन, शक्ति र सत्ता प्राप्तिको लागि विश्वभरि कति युद्ध भए आजसम्म ? आ-आफ्नो अहंकारलाई सन्तुष्ट पार्न मान्छेले आफ्नै जातिको रगत कति बगायो ? निजी स्वार्थपूर्तिको खातिर मान्छेले कस्ता कस्ता अमानवीय व्यवहार गर्दैआएको छन् आजसम्म ? चेतनशील प्राणी मानवताको विनाशमा किन होमिन्छ ? आखिर कुन कुरा प्राप्त गर्न मान्छे यसरी विवेकशून्य भएको छ ? शक्तिको घोडा चढेर मानवताको निर्मम हत्या गर्न किन पछि हट्दैन यो मान्छे ? इतिहास साक्षी छ मानवताको सर्वनाश गरिएका विभिन्न युद्ध, दाउपेच, आरोपप्रत्यारोप र मुद्दामामिलाहरू । आफ्नै जातलाई मान्छेले कति पीडा दियो, कति यातना दियो, जिउँदै ग्यासच्याम्बरमा आफ्नै जातिलाई पोल्यो । विवेकको हत्या गरेर रचिएको नरसंहारका तमाम इतिहास हाम्रो सामु छर्लङ्ग छ ।

वास्तवमा जुनसुकै नाममा गरिएका युद्ध हुन् ती सबै मानवता विरोधी कार्य हुन् । युद्ध जहिले पनि मानवजाति, प्रकृति र पर्यावरणका लागि घातक हुन्छ । युद्ध नभोगेको मान्छेले युद्धको गहिरो पीडा व्यक्त गर्न सक्दैन । युद्ध यस्तो घाउ हो जो युगयुगसम्म बल्झिरहन्छ । युद्ध समाप्त भएर पनि युद्धले कहिले समाप्त नहुने गहिरो पीडा र आघात छोडेर जान्छ । एन बी गिरी भन्छन् , ‘ मलाई लाग्छ, जुनसुकै परिस्थितिहरूका कारण मानिस देशबाट टाढा भए पनि जबसम्म ऊ यस धर्तीमा जीवित रहन्छ तबसम्म आफ्नो देशका गाउँहरू र आफू रमेको क्षणहरूको सम्झनामा बाँचिरहन्छ ।’…( पूष्ठ ८७ )

आशा गर्छु एन बी गिरीको जनरव फिरादको सम्बोधन होस् । गिरीको अध्ययन, अनुभव र अनुसन्धानबाट लेखिएको यो कृतिबाट म निकै लाभान्वित भएँ । गिरीको यो विचारले मलाई निकै सन्तुष्टि  प्रदान गर्‍यो ।

‘सत्य अभिव्यक्ति र मनोविज्ञान’ शीर्षकमा गिरी भन्छन्, ‘हिटलरले गरेको विनाशकारी विश्वयुद्धको इतिहास पढेर, थेसिस लेखेर,परीक्षामा पास भएर शिक्षा हासिल हुँदैन । जबसम्म मानवताप्रति अवहेलना गरी मेरो देश, मेरो घर्म, मेरो सैन्यशक्ति, मेरो मान र प्रतिष्ठा भन्ने अहंकारमा डुबेर आफ्ना छिमेकी जो आफूभन्दा सानो, निर्बलहरू छन् ऊनीहरूप्रति दुश्मनलाई झैँ व्यवहार गर्न बन्द हुर्दैनौं तबसम्म संसारमा कसैको पनि आनन्दले नीद पूरा हुनेछैन । साम्राज्यवाद, पूँजीवाद, साम्यवाद, उदारवाद, राष्ट्रवाद, आदिका अभिमानमा जलेर विनाशकारी हतियारहरू निर्माण गरेर तथा खरीद गरी थुपारेर आफ्नै घरको पनि सुरक्षा हुँदैन ( पृष्ठ १७१ ) ।’ सबैलाई चेतना भया ।