साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

समाजका कथा बोल्ने ज्योति प्रकाशका चित्रहरु

Chovar Blues Mobile Size

पछिल्लो समयका चर्चित युवा चित्रकार हुन्, ज्योति प्रकाश ।

प्रदेश नं. ४, नवलपुर (सुस्तापूर्व) डेढगाउँमा जन्मिएका उनी माध्यामिक तहको शिक्षा सकेर ललितकला अध्ययनका लागि काठमाडौँ पसेका हुन् । उनी ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ र ललितकला केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका अध्यापक पनि हुन् ।

सानैदेखि चित्र कोर्न मन पराउने ज्योतिको चित्रकलामा रुचि देखेपछि उनका विज्ञान विषयका गुरु पशुपति ओझाले ललितकला अध्ययन गर्नका लागि प्रेरणा दिए । उनी भन्छन्, ‘पशुपति सरको त्यो माया नै मेरो सुरुवाती रङहरु हुन् ।’

त्यसो त उनलाई अब्बल चित्र कोर्न उनको विकट गाउँ र परिवेशले थप जिज्ञासु बनायो र प्रेरित पनि गर्यो ।

अहिलेसम्म ज्योतिले ७ वटा एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । उनी नेपाल, भारत, बाङ्लादेश, चीन आदि देशहरुमा भएका सामूहिक कला प्रदर्शनी तथा कला कार्यशालामा पनि सहभागी भइसकेका छन् ।

sagarmani mobile size

उनी भन्छन्, ‘मैले कुनै पनि चित्र सिर्जना गर्नुभन्दा पहिला विषयको खोज गर्छु । मेरो मनले उपयुक्त ठानेका विषयको लागि चाहिने सामग्री खोज्छु, अनि मात्रै क्यानभासको अगाडि जान्छु र त्यो भावनालाई मूर्त रुप दिन्छु ।’

उनका चित्रहरुमा प्रायः मिक्स मिडियाको प्रयोग हुन्छ । कुनै कुनै एसेम्बल्ड काम गर्ने गरेको पनि उनले बताए ।

उनी भन्छन्, ‘कला को यही क्षेत्र भन्ने हुँदैन, यसलाई कसरी र कहाँ प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण रहन्छ । जीवन जिउनको लागि कला अत्यावश्यक चिज हो । कला बिनाको समाज कुरुप हुन्छ ! हरेक वस्तुदेखि लिएर मानव विचारको लागि कला अपरिहार्य छ ।’

उनको टर्निङ पोइन्ट कुनै चित्र छन् कि भन्ने साहित्यपोस्टको प्रश्नमा उनी भन्छन्, ‘त्यस्तो कुनै चित्र छैनन् । मेरो पहिलो चित्र १५०० मा बिकेको थियो । त्यो बेला लाग्यो, मेरो चित्र पनि बिक्यो । त्यस रातभर निद्रा लागेन ।’

उनले व्यावसायिक रुपमा १००० भन्दा बढी चित्रहरु कोरिसकेका छन् । उनले बनाएका चित्र २ लाख ५० हजारसम्म बिक्री भएका छन् ।

पछिल्लो समय उनी समाजिक कथा बोल्ने चित्रहरु बढी कोर्न थालेका छन् । उनी भन्छन्, ‘एउटा कलाकारले सिर्जना गर्ने कला आम जीवनसँग सम्बन्धित हुनु पर्दछ । त्यो सिर्जनाले, कलाले आम मानिसलाई, समाजलाई के सन्देश दिन्छ भन्ने कुरा मुख्य हुन्छ । अहिलेको परिस्थितिमा मुख्य उद्देश्य भनेको चित्रका माध्यमबाट सन्देश दिने र समाज परिवर्तन गर्ने हो ।’

उनलाई आफूले सिर्जना गरेका हरेक चित्रहरु राम्रै लाग्छ । ‘मलाई मन परेको चित्रहरुमा चाहिँ मेरो छैटाैँ एकल चित्रकला प्रदर्शनी ११ः५६ एएमका चित्रहरु विशेष थिएजस्तो लाग्छ’, उनले भने ।

उनका ७२ सालको भूकम्पपश्चात बनाएको ‘११ः५६ एएम’ शीर्षकको चित्र , नाकाबन्दीको समयमा वसन्तपुर डबलीमा आगोको घेराभित्र बसेर बनाएको नेपालको चित्र र कोरोना महामारी लकडाउनको बेला बनाएको ‘रियालिटी अन दि वाल’ नामको चित्र विशेष चर्चित चित्रहरु हुन् ।

उनी चित्रबाहेक संगीतमा पनि उत्तिकै रुचि राख्छन् । उनलाई संगीत कम्पोज गर्न मन पर्छ । फोटोग्राफी पनि उनको रुचिको विषय हो ।

प्रतिक्रिया
Loading...