शहरबजारदेखि गाउँघरसम्म
खेतबारीदेखि भकारीसम्म
प्राविधिक जाँच र सिफारिस बेगर
किसिम, मात्रा र अनुपातको ख्याल नगरी
अल्पज्ञान र देखासिकीकै भरमा
बेलगाम प्रयोग छ सर्वत्र हानिकारक विषादीको
स्वाद मानीमानी खाइरहेका छौँ
मन्द जहरघुलित उपभोग्य वस्तुहरू
व्याप्त अज्ञानता भनौँ या खेलाँची
नजरअन्दाज गर्दै यसको घातक असर
राखिएको छ दाउमा स्वास्थ्य सरोकार
हुँदो हो र कसलाई जहर खाने रहर !
किसान-
अन्न तरकारी र फलफूलसँगै जहर पनि फलाउँछ
जहर किन्छ, जहर मिसाउँछ र जहर बेच्छ
आफू, परिवार र अरूलाई पनि जहर ख्वाउँछ
जानीजानी ख्वाउँछ कि अनभिज्ञतामा
लाग्छ, स्वास्थ्य-संवेदनाप्रति ऊ बेमतलब छ
देश कृषि प्रधान
तर
रूचि र रोजाइ देखिन्न अब कृषि र पशुपालन पेशा
नगन्य प्रयोग छ गोबर र प्राङ्गरिक मल
लाग्छ जिम्मा लिएका छन्-
उत्पादन बढाउन रासायनिक मलले
बालीमा रोगकिरा रोक्न विषादीले
साइज बढाउने हर्मोन आदिले
उत्पादन कुहिन बिग्रन नदिन विषचूर्णले
माछामासु सड्न नदिन फर्मालिनजस्ता रसायनले
उपभोग्यवस्तु टिलिक्क टल्काउन वाक्स र अखाद्य रङ्गले
स्वास्थ्य-संवेदनाहीनताको पराकाष्ठ नभनेर के भन्ने ?
सन्तुलित आहारा पर्याप्ति हेतु-
आहारासँगै पठाइरहेका छौँ मन्द-विष रक्तकोषिकाहरूमा
प्रेषित गरिरहेका छौँ निमन्त्रणा ज्यानीदुश्मन रोगहरूलाई
नेपाली संस्कार भनूँ या आडम्बरी चालचलन
दुश्मनलाई पनि निमन्त्रणा पठाउने
किन पछि परून निम्तोको मर्यादा राख्न वैरीहरू
सामेल हुन्छन् बिना हिचकिचावट-
कोही क्यान्सर उपहार लिएर
कोही कोलोस्ट्रोल र उच्च रक्तचापको पाउर लिएर
कोही किड्नी फेल र लिभर सिरोसिसको दक्षिणा बोकेर
कोही थाइराइड र मधुमेयको कोशेली बोकेर
कोही बाथ र दमको भेटी बोकेर
कोही हृदयघात र मस्तिष्कघातको शुभकामना बोकेर
कोही सुस्तमनस्थिति र विकलाङ्गताको केक लिएर
मुटुमाथि ढुँङ्गा राखी पाहुना-रोगको स्वागत गर्नु पर्याछ
हरेक दिन यस्तैयस्तै कारणले मान्छे मर्या छ
दृष्टान्त देख्दादेख्दै पनि खेलाँची गरिरहेका छौँ हामी-
मानवजगतको स्वास्थ्यसँग
माटो, पानी र वायु स्वच्छतासँग
समग्र पर्यावरणको शुद्धतासँग
किसानहरू विषादीको असरबारे सचेत छैनन्
र शायद बाध्य पनि छन्-
आफ्नो बाली र उत्पादन जोगाउन
उसको पसिना र लगानीको मूल्य जोगाउन
वैकल्पिक उपाय देख्दैन ऊ
जैविक विषादीबारे अनभिज्ञ छ या पर्ता देख्दैन उसले
व्यापारी धुर्त छ-
नाफाखोरीमा लिप्त छ
बजार उसको नियन्त्रणमा छ
ग्राहकको संवेदनामा खेलवाड गर्छ
सामाजिक उत्तरदायित्व हात्तीको देखाउने दाँत हो उसको लागि
राज्य-संयन्त्र प्रभाव थेग्न सक्दैन
सरकार विषादी जाँच गर्ने घोषणा त गर्छ तर सक्दैन
किनकि
प्रोटोकल-पेपरको तगारो तेर्सिन्छ
जनस्वास्थ्यभन्दा प्रोटोकल वजनदार बनिदिन्छ सरकारको लागि
सरकार पछि हट्छ
अर्थात् जहरको व्यापार चलिरहन्छ
जहरको कहर बढिरहन्छ ।
*****
चितवन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।