नेपालमा विराटनगरमा स्थायी बसोबास भई हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यको एपेक्ष शहरमा बस्नुहुने नितिन मिश्र मनोवैज्ञानिक कथा लेख्न निकै रुचाउनुहुन्छ । सामान्य होइन, विशेष पात्र एवं परिस्थितिहरू खोजेर त्यस उपर कथा लेख्नु उहाँको रुचि रहेको स्वयं उहाँ आफै भन्नुहुन्छ । मिश्रले लेखेका कथाहरू पढ्दा सामान्य लागेता पनि ती कथाहरूको गहिराइमा पुग्दा, तिनको विश्लेषण गर्दा ती कथाहरूले पाठकको मनमा कम्पन ल्याइदिने म स्वयंले एक पाठक भएर अनुभूत गरेको अनुभव हो ।
प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले नितिन मिश्रसँग गरेको प्रवास वार्ता ।
आफ्नो छोटो परिचय दिनुहोस्, कृपया ।
– नमस्कार ! मेरो नाम नितिन मिश्र ! म हाल नर्थ क्यारोलिना राज्यको एपेक्ष भन्ने शहरमा आफ्नो परिवारसँग बसोबास गर्दै आइरहेको छु । म सूचना प्रविधि (Iinformation Technology) मा काम गर्छु । झन्डै दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आइरहेको छु ।
अमेरिका कुन सन्दर्भमा वा के उद्देश्यका लागि र कहिले आउनु भएको हो ?
– सन् २००५ मा म MBA गर्न भनेर University of Rhode Island मा आएको थिएँ ।
अहिले अमेरिकामा कुन काम वा पेशामा हुनुहुन्छ ?
– म Oracle Database Developer हो ।
प्रवासको बसाइमा गृह पीडा (नेपाल छुटेको) ले कत्तिको सताउने गर्छ ?
– एकदमै ! म आफू भौतिक रूपमा अमेरिकामा बसोबास गरे पनि मन चाहिं सधैं आफ्नै मातृभूमिमै रुमलिन खोज्दछ । आफ्नो जन्मभूमिको माया नगर्ने को नै हुन्छ होला र ? कहिलेकाहीं त सब छोडछाड गरेर नेपाली फर्कौं जस्तो लाग्छ ।
साहित्य क्षेत्रमा कसरी आउनुभयो ?
– म सानै छँदा कथा, कविता पढ्ने रहर थियो र पछि ठूलो भएपछि पनि त्यो रहर रहिनै रह्यो । खासगरी रुसी साहित्य (Russian Literature) ले मलाई गहिरो प्रभाव पारेको छ । नेपाली भाषामामा चाहिं लैनसिंह बाङ्गदेल र बिपी कोइराला मेरा प्रिय लेखकहरू हुनुहुन्छ ।
साहित्यमा कुन विधा मन पर्छ ?
– मुख्यतः मैले आख्यान र छोटा कथाहरू लेख्नेगर्छु ।
तपाईंले लेख्नुभएको उपन्यास ‘म र म’ कस्तो किसिमको उपन्यास हो ?
– यो एक मनोवैज्ञानिक उपन्यास हो । प्रत्येक मानिसमा दिनहुँ घटिरहने अनेक द्वन्द्वहरू यस उपन्यासले प्रस्तुत गर्न खोजेको छ । यस उपन्यासको उद्देश्य एक व्यक्तिभित्र सधैं चलिरहने अनेक अन्तर द्वन्द्वहरू देखाउनु हो । मैले यो उपन्यासको माध्यमबाट मानव-मनोविज्ञानलाई ज्यादै नजिकबाट र सूक्ष्म किसिमले हेर्ने प्रयास गरेको छु । यस अर्थमा यो एक अति नै मनोवैज्ञानिक उपन्यास हो ।
तपाईंले कथाहरू पनि लेख्नुभएको छ । कस्ता किसिमका कथाहरू लेख्न रुचाउनु हुन्छ ?
– म यसो अंग्रेजीमा पनि कलम चलाउने गर्छु । छिट्टै अंग्रेजी भाषामा छोटा कथाहरूको एक संग्रह प्रकाशित गर्ने तयारीमा छु । लगभग कथाहरू लेखेर सक्याएको छु । अहिले सम्पादनको कार्य गर्दैछु ।
तपाईंले लेखेका धेरै कथाहरू मैले पढेको छु । तपाईंका कथाका पात्रहरू किन ‘क्रेजी’ हुन्छन् ?
– मेरा कथाका पात्रहरू अलि फरक किसिमका हुन्छन् । आम जीवनमा पाइनेभन्दा मेरा कथाका पात्रहरू अलिक बेग्लै किसिमले व्यवहार गर्छन् । मलाई दर्शनशास्त्रमा पनि निकै रुचि छ । त्यही भएर पनि मेरा कथाहरू अलिक दार्शनिक किसिमका हुन्छन् । अब‘ क्रेजी’ चाहिं यस कारणले छन् कि मेरा पात्रहरू दैनिक जीवनमा एकदमै कम देखा पर्छन् ! तर उनीहरू प्रत्येक समाजमा रहेका हुन्छन् ।
तपाईंका कथाका पात्रहरूले किन उटपट्याङ वा असामान्य क्रियाकलाप वा व्यवहार गर्छन् ?
– उनीहरू शायद ‘क्रेजी’ भएर नै होला ।
कथा लेख्नका लागि कथा र कथाका पात्रहरूको छनौट कसरी गर्नुहुन्छ ?
– आफ्ना वरिपरिका घटना, अनुभव र दिनहुँ भेटिने मानिसहरूबाट म आफ्नो पात्रहरूको चयन गर्छु । र कहिलेकाहीं अरूका कथा र जीवनबाट पनि प्रेरित भई छोटा कथाहरू लेख्ने गर्दछु ।
सामाजिक कथा लेख्न सजिलो छ कि मनोवैज्ञानिक कथा लेख्न ?
– सधैं घटिरहने घटना भए लेख्न सजिलै हुन्छ तर असामान्य घटना भए चाहे त्यो सामाजिक होस् या मनोवैज्ञानिक लेख्न गाह्रो नै हुन्छ ।
कथा वा साहित्य आफ्नो सन्तुष्टिको लागि लेख्नुहुन्छ वा समाजको उत्थान वा प्रगतिको लागि ?
– आफ्नो मनको कुराहरू पोख्नका लागि र यी ‘क्रेजी’ पात्रहरूलाई समाजको अगाडि ल्याउनका लागि कथा वा साहित्य लेख्ने गर्छु । बस त्यति मात्र भन्न खोजें ।
तपाईंको साहित्य लेखनले समाजलाई सही मार्ग दर्शन गरोस् । यस्तो अपेक्षाका साथ साहित्य लेख्नुहुन्छ वा साहित्य भनेको स्वतन्त्र अभिव्यक्ति हो भन्ने विचारलाई केन्द्रमा राखेर लेख्नु हुन्छ ?
– दुवै नै हो । कुनै वेला जनचेतना जागरण गर्नको लागि र कुनै वेला आफ्नो मनको खुलदुली र गुनासो व्यक्त गर्नलाई लेख्ने गर्दछु ।
पछिल्लो समयमा कुन नेपाली साहित्यकारको कुन कृति पढ्नुभयो ?
– नगेन्द्र न्यौपानेले लेख्नु भएको उपन्यास ‘दरबारबाहिरकी महारानी’ पढें ।
नेपालमा पठन संस्कृतिको विकास नहुनमा कसलाई दोषी मान्नुहुन्छ ?
– यो समस्या अहिले नेपालमा मात्र नभई सारा विश्वको साझा समस्या हुन गएको छ । यसको दोषी मात्र इन्टरनेट हो । अहिले सबैजना फेसबुक र ट्विटर मा व्यस्त छन् अनि किताब कसले पढ्ने ?
नेपालमा पुस्तक खरिद गर्दा पाठकहरूले खास विषय वा समस्या केन्द्रित पुस्तक भन्दा पुस्तकको लेखकको नाम हेर्ने गर्छन् । के यो भनाइ सही हो ?
– एकदम सही भनाइ हो ! चर्चित (Celebrity) लेखक भए उक्त लेखकले लेखेको पुस्तक राम्रो नै हुन्छ होला भन्ने पाठकहरूको व्यवहार वा चलन भएकोले त्यस्तो भएको हुन सक्छ ।
हामीकहाँ (नेपालमा) चर्चित वा स्थापित लेखकहरूले नयाँ लेखक वा साहित्यकारहरूको कृति पढ्दैनन् । यो भनाइ पनि सही हो ?
– मैले भरखरै भने जस्तै सबैजना चर्चितको नै पढ्न, सुन्न र हेर्न खोज्दछन् । नयाँ लेखकको पुस्तक एकदमै राम्रो भए सबैले अवश्य पढी नै हाल्छन् ।
नेपालमा पठन संस्कृतिको विकास गर्न के गर्नुपर्छ होला ?
– नेपाली भाषामा अझै स्तरीय साहित्य लेखिनुपर्छ र एक, दुई जना नेपाली लेखकले नोबेल पुरस्कार पाएको पनि हुनुपर्छ ।
नेपाली (भाषी) साहित्यलाई विश्व बजारमा पुर्याउन के गर्नुपर्छ होला ?
– धेरैभन्दा धेरै भाषामा लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइराला, पारिजात तथा अन्य वरिष्ठ लेखकहरूको कृति अनुवाद गरिनु पर्दछ ।
संसारका विभिन्न देशहरूमा, मुख्य गरी अमेरिका र युरोपका देशहरू, विभिन्न विषयमा पुस्तकहरू लेखिएको पाइन्छ । र ती पुस्तकहरू ठूलो संख्यामा बिक्री भएको पनि पाइन्छ । हामी कहाँ किन सीमित विषयमा पुस्तकहरू लेख्ने गरिएको होला ?
– एक त हाम्रो देश सानो अनि देशको जनसंख्या पनि सानो भएर होला । अझै पनि नेपालमा धेरै ठाउँमा इन्टरनेटको सुविधा छैन र ती ठाउँका जनताले अन्तर्राष्ट्रिय स्तरका विषयहरूमा चासो नराखेर पनि त्यस्तो भएको मलाई लाग्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।