ह्यारी पोटरको प्रथम संस्करण

बेलायतको आयल्स अफ वाइट जेलमा रहेका कैदीहरुले ह्यारी पोटर पुस्तक पढ्न चाहेका बेला उपलब्ध हुन सकेन । कारण खोज्दै जाँदा कारागार प्रमुखले यौन दुव्र्यवहार तथा बलात्कार काण्डमा कारागारमा सजाय काट्दै गरेका अपराधीहरुलाई पुस्तक पढ्न प्रतिबन्ध लगाएको खुलेको छ ।

यसको कारण खुलाउँदै कारागार प्रशासनले भनेकोे छ, ‘ह्यारी पोटर पुस्तकका पात्रहरु किशोर किशोरी छन् । बलात्कारीहरुको यौन चाहना वा तृष्णा बढाउन तिनले भूमिका खेल्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तिनलाई सो पुस्तक पढ्न प्रतिबन्ध लगाइएको हो ।’

हालै इन्डिपेन्डेन्ट मोनिटर बोर्डले बेलायतभरिका कारागारहरुमा पुस्तकहरुको अवस्था अध्ययन गरेको थियो । खासमा न्याय मन्त्रालयले देशभरिका कारागारहरुमा कैदीबन्दीहरुको अवस्था के कसो छ भनी बुझ्न सो बोर्ड गठन गरेको थियो ।

बोर्डले अध्ययन प्रतिवेदन बुझाउँदा ह्यारी पोटरको प्रसंग पनि सँगै गाँसिएर आएको हो ।

आयल्स अफ वाइट कारागारमा पुस्तकालयमा जाने कैदीहरुको संख्या उच्च रहेको देखिएको थियो । तर सबैजसो कैदीबन्दीहरुले आफूले ह्यारी पोटर पढ्न चाहेको बताए पनि उनीहरुलाई सो पुस्तक पढ्न वञ्चित पारिएको गुनासो गरेका थिए ।

यसको कारण खुलाउँदै कारागार प्रशासनले आफूले बनाएको नियमअन्तर्गत सो पुस्तक पढ्नबाट वञ्चित गरिएको प्रतिक्रिया जनाएको छ । नियमअनुसार, कारागारभित्र कुनै पनि किशोर वा किशोरी मुख्य चरित्र भएका उपन्यासहरु कैदीबन्दीहरुलाई पढ्न दिइने छैन ।

खासगरी यौन दुव्र्यवहार तथा यौन कल्पनामा बढीजसो रमाउने कैदीहरुका हातमा त्यस्ता किशोर साहित्य नपरुन् भन्ने उद्देश्यले यस्तो नियम लगाइएको कारागार प्रशासनले जनाएको छ । कारागारले भनेको छ, ‘यौन दुव्र्यवहार र खासगरी बाल यौन दुराचारमा कैद भुक्तानी गरिरहेका अपराधीहरुलाई यस्ता साहित्यले बालयौन कल्पना गर्न प्रेरित गर्न सक्ने भएको हुँदा त्यसबाट रोक्न यस्तो नियम लगाइएको हो ।’

यस्तो प्रतिबन्धले त्यस्ता अपराधीहरुको अपराध वा कल्पनाशिलता रोक्न के कस्तो भूमिका खेल्न सक्छ भन्नेबारे अध्ययन हुन सकेको छैन । न्याय मन्त्रालयले भने यसबारेमा कुनै प्रतिक्रिया दिन चाहेन ।