तसलीमा नसरीनलाई चिनाउन कुनै शाब्दिक मेहनत जरूरी छैन । उनले पछिल्लोपटक आजतक डिजिटल मिडियामा गएको सेप्टेम्बर १६, २०२४ मा पत्रकार केशवनंद धर दुबेलाई दिएको अन्तर्वार्ता हिन्दीबाट अनुवाद गरेर नेपालीमा प्रस्तुत गरिएको छः
प्रस्तुत अन्तर्वार्तामा तसलीमा नसरीनले बाङ्लादेशको वर्तमान राजनीतिक अवस्था, बाङ्लादेशमा जिहादी शक्तिको बर्चस्व, शेख हसिना पतन हुनुका कारणहरू, बाङ्लादेश विद्यार्थी आन्दोलनभित्र कट्टरपन्थीको चलखेल, युनुस सरकार र कट्टरपन्थीसँगको साँठगाँठ, भारतमा रेसिडेन्स पर्मिट नवीकरण नभएको चिन्ता, साहित्यिक लेखनजस्ता आदि विषयमा सनसनीपूर्ण खुलासा गरेकी छिन् ।
तसलीमाजी, तपाईं दुर्घटनामा पर्नुभएको थियो, अहिले स्वास्थ्य अवस्था कस्तो छ ?
– तीव्रगतिमा सुधार हुँदैछ । शारीरिक तथा मानसिक तवरबाट निकै समस्यामा परेकी थिएँ; तर, मान्छे कति दिन समस्यामा रहिरहन सक्छ ? अहिले पनि स्वास्थ्यमा समस्या छ; दुर्घटना त भइरहन्छन् । तर, जीवन रोकिदैन; त्यसैले म फेरि लेख्न सुरू गर्दैछु ।
तपाईं बाङ्लादेशमा जन्मिनुभयो; त्यहीँ हुर्किनुभयो; तपाईंको बाल्यकाल कस्तो थियो ?
– मेरो जन्म साठीको दशकको सुरुवातमा भयो । बुवा चिकित्सक हुनुहुन्थ्यो । आमा गृहिणी हुनुहुन्थ्यो; शिक्षित हुनुहुन्थ्यो । उहाँले जागिर गर्ने कोसिस गर्नुभयो; तर, सफल हुनुभएन । हामी चारजना सन्तान थियौँ । म मावली हजुरामाको घरमा जन्मिएँ । मैलै बाल्यकालमै जनआन्दोलन देखेँ सन् १९६९ मा, धेरै सानी थिएँ । त्यसपछि सन् १९७४ मा युद्ध देखेँ; युद्ध देख्नु एउटा मान्छेको लागि निकै दुखद् कुरा हो ।
तपाईं जुन परिवेशमा हुर्किनुभयो त्यसले तपाईंको जीवनमा कस्तो असर पार्यो ?
– म जुन माहोलमा हुर्किएँ; त्यहाँ जीवन त्यति कठिन थिएन । धर्मको वर्चस्व थिएन । मलाई कुरआन पढाउने, स्कूल नपठाउने, हिजाब लगाउन बाध्य बनाउने, यस्ता केही अवस्था थिएनन् । मेरा आसपासमा एकदम सेक्युलर समाज थियो । मेरा पिताले कहिले नमाज पढ्नुभएन , धार्मिक अभ्यास गर्नुभएन। नमाज/ कुरआन पढ्ने, रोजा राख्ने आदेश कहिले आएन, पिताबाट । म कुनै धार्मिक माहोलमा जन्मिइनँ, पिताले हातमा कोर्स बुक वा अन्य किताब देख्न रुचाउनुहुन्थ्यो । मेरी आमा नमाज पढ्नुहुन्थ्यो, त्यो पनि निकैपछि सुरू गर्नुभएको हो । यस किसिमको माहोल मेरा लागि एकदम फलदायी रह्यो; जसले मलाई स्वतन्त्र विचार निर्माण गरायो । विज्ञानलाई जान्ने मौका पाएँ, जसमा मेरा पिताको ठूलो योगदान छ । मेरो घरमा साहित्यिक तथा सांस्कृतिक माहोल थियो । मेरो भाइले वाद्ययन्त्र बजाउँथ्यो । बहिनीले रवीन्द्र संगीत गाउने गर्थी । मेरा मामाघरमा यस्तै माहोल थियो ।
तपाईंले त चिकित्सा शास्त्रको अध्यन गर्नुभएको थियो; फेरि लेखनमा कसरी प्रवेश गर्नुभयो ?
– मैले पहिला कविता नै लेख्थेँ; बच्चैदेखि लेखेकी हुँ । कविता पत्रिका सेजुतीको मैले सम्पादन सुरू गरेकी थिएँ । मेरो ठूलो भाइले पनि कविता लेख्थ्यो । मेरो जीवनमा लेखन अचानक घटेको घटना होइन । साहित्यिक माहोल भएको घरमा हुर्केकी थिएँ ।
मेरो पहिलो किताब सन् १९८६ मा प्रकाशित हुँदा मैले चिकित्सा विश्वविद्यालय पार गरिसकेकी थिएँ । पहिलो किताब `शिकरे विपुल खुदा´ हो । सन् १९८५ मा म सरकारी नोकरी गर्दै थिएँ, विश्वविद्यालय पढ्दै थिएँ साथसाथै साहित्यिक पत्रिकाको सम्पादन पनि गर्थेँ । विश्वविद्यालयको पढाइ सकेपछि डाक्टरी काममा व्यस्त हुनाले समयको अभाव भयो । विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादन र स्तम्भ लेख्नका लागि अफर आउँथ्यो । `निर्वासितो बाहिरे अंतरे´ मेरो दोस्रो कवितासङ्ग्रहको नाम हो भने तेस्रो सङ्ग्रहको नाम `आमार किछ जाए आसे´ हो ।
मलाई स्तम्भ लेख्न अनुरोध गरिएपछि मैले सोचेँ, मलाई राजनीति त आउँदैन अनि महिलाका मुद्दामा किन नलेखूँ ? त्यसपछि लेख्न सुरू गरेँ । महिला जीवनका कुरा, मेरो जीवनमा के के भयो ? पुरुषप्रधान समाजमा महिला कसरी जिउँदै छन् ? मैले लेखेका कुरा लोकप्रिय हुँदै गयो । जुनजुन पत्रपत्रिकामा छापिन्थ्यो, त्यसको सर्कुलेसन बढी हुन्थ्यो । महिलाबाट मलाई `लेख्न बन्द नगर्नु; हामीले साहस पाएका छौँ´ भन्ने प्रतिक्रिया आउँथ्यो । त्यसैबेला मेरो किताबले `आनन्द पुरस्कार´ पाएको थियो ।
तपाईं पहिलोपटक सन् १९८९ मा कलकत्ता आउनुभएको थियो; अनुभव कस्तो रह्यो ?
– मैले कलकत्ताको बारेमा यति धेरै पढेकी थिएँ, उपन्यास पढेका कारणले त्यहाँको सडकलाई पनि चिन्छु होला भन्ने लाग्थ्यो । लेखकले जसरी कलकत्ताको वर्णन गरेका थिए, त्यस्तै पाएँ । रवीन्द्रनाथ टैगोरको शान्ति निकेतन पुगेपछि म त्यहाँ यति आनन्दित भए कि आँशु नै खसे । म यति धेरै खुसी थिएँ कि वर्णन गर्न सक्दिनँ ।
तपाईंले कसलाई आइडल बनाउनु भएको थियो ? को जस्तो बन्न चाहनुहुन्थ्यो ?
– मैले अत्यधिक किताब पढेकी छु, तर कहिल्यै फलानो लेखक जस्तो बन्छु भन्ने भएन । म स्वयं आफूजस्तै बन्न चाहन्थेँ र बनेँ पनि । म कोही अरू जस्तो बन्ने कोसिस गरिनँ ।
सबै कुरा राम्रै चलिरहेको थियो भने बाङ्लादेशमा अचानक यहाँको विरोध किन गरियो ? जबकि महिलाहरूले यहाँलाई अत्यधिक पढ्थे ।
– केवल महिला मात्रै होइन सबै प्रगतिशील मेरा लेखनीबाट प्रभावित थिए । मेरा लेखनमा इस्लाम नियमका आलोचना थिए । कुरआन हदीस पढेपछि मलाई धेरै कुरासँग आपत्ति भयो; जुन महिलाका लागि निकै खराब थियो । त्यतिबेला देशमा धर्मलाई बढवा दिन सुरू भइसकेको थियो । इस्लामी शक्ति भएका सरकार बन्न थालिसकेको थियो । मलाई देश पछाडि फर्किन थालेकोमा चिन्ता थियो । देशमा धर्मनिरपेक्ष व्यवस्था हुनुपर्छ भन्ने मेरो विचार थियो । सबै धर्ममा महिलाहरूका हकहित, अधिकारका लागि स्थान छैन । मेरो देशले परिवर्तन आत्मसात गरोस् भन्ने चाहेको थिएँ । महिला स्वावलम्बी हुनुपर्ने आवश्यकता थियो । धर्म र राष्ट्र अलगअलग भएन भने समस्या आउँछ । मलाई लाग्छ: सबै धर्म महिलाका विरुद्धमा छन् । संविधानले महिला र पुरुष एक हो भन्छ । तर, धर्ममा त्यस्तो हुँदैन ।
सरकारले यस्तो चाहेन, राजनीति र धर्मलाई मिसायो । मैले इस्लामको विरोध गरेकाले कट्टरपन्थी मेरो विरोधमा सडकमा उत्रन थाले । नब्बेको दशकको सुरुवातबाट विरोध सुरु भएको थियो । सुरुमा पचास हजार, त्यसपछि लाख र अनि त्यसपछि लाखौँलाख विरोधमा निस्किए । एउटा मौलनाले त सन् १९९३ मा मेरो नाममा फतवा नै जारी गरे । बाङ्लादेशमा फतवा निषेध छ तर सरकारले फतवाबाजलाई कुनै कारबाही गरेन । मेरो टाउकोको मूल्य पचास हजार राखिएको थियो ।
यस्तो गर्न अनुमति छैन । सरकारले तिनीहरूलाई कारबाही नगरेर मलाई गर्यो । मौलाना जनप्रिय हुँदै गयो, कट्टरपन्थी र धर्मलाई कारोबार बनाउनेहरूले समाजबाट सम्मान लिँदै गए । सन् १९९४ मा मलाई गिरफ्तार गर्नका लागि सरकारले पक्राउ पुर्जी जारी गर्यो ।
त्यतिबेला तपाईंको किताब `लज्जा´ प्रकाशित भएको थियो ?
– हजुर, लज्जा प्रकाशित भएको थियो । जसलाई खालिदा जियाले ६ महिनामै प्रतिबन्ध लगाइदिइन् । त्यसमा इस्लामको विषय थिएन । महिलाका मुद्दामा लेखेकी थिएँ, इस्लामका विरूद्धमा लेखेकी थिइनँ । मैले इस्लाम मात्र होइन, सबै धर्ममा महिलाको स्थान के छ भनेर देखाउने प्रयास गरेकी थिएँ । महिलाई सन्तान उत्पादनको यन्त्रको रूपमा हेरिन्छ । कट्टरपन्थीहरू पूर्ण रूपमा महिलाका विरोधी हुन् । महिलाले धर्मको आलोचना गर्नासाथ उनीहरू धेरै आक्रोशित हुन्छन् । मेरा लागि फाँसीको माग गरिएको थियो । सरकारले गिरफ्तार गर्न वारेन्ट निकाल्यो । त्यसपछि म भूमिगत हुन बाध्य भएँ । मलाई धार्मिक आस्थामा ठेस पुर्याएको आरोप लागेको थियो । सन् १९९४ मा वारेन्ट निक्लेको थियो; त्यसपछि म स्वीडेन गएँ । त्यहाँको मानव अधिकार संस्थाले अधिकारको माग उठाएर मलाई युरोपमा स्वागत गर्यो । निर्वासनको जीवन एकदम कठिन हुन्छ । पाइतालामुनि कुनै जमिन हुँदैन । हेर्नोस्, म सन् २००४ बाट भारतमा छु । मेरो रेसिडेन्सियल पर्मिट नवीकरण भएन । भारतमा बस्न मन पराउँछु तर डेढ महिना भयो रेसिडेन्स पर्मिट नवीकरण भएको छैन ।
यस्तो पहिला कहिल्यै भएन । मिति सकिनुपूर्व नवीकरण गरेर दिइन्थ्यो । यो सरकारको कसैलाई चिन्दिनँ म । कोसँग कुरा गर्न पर्ने हो मलाई थाहा छैन । गृह मन्त्रालयमा कोसँग सम्पर्क गर्नुपर्ने हो, अनलाइनमा स्टाटस कुरिरहेकी छु । मैले मेरो साथीलाई यसबारे जानकारी लिन आग्रह गरेकी थिएँ । आममान्छेलाई लाग्छ कि सरकार, नेताहरूसँग मेरो चिनजान छ, तर, यस्तो छैन । यदि मैले पर्मिट पाइनँ भने मेरो जाने कुनै ठाउँ छैन ।
यहाँ सन् १९९४ सम्म बाङ्लादेशमा हुनुहुन्थ्यो । त्यतिबेलाको देश र आजको देशमा के अन्तर पाउनुभएको छ ?
– एकदम खराब अवस्था छ, एकदम खराब । शेख हसिनाले कट्टरपन्थीलाई प्रमोट गरिन । उनी जिन्दगीभर सत्तामा रहन चाहन्थिन् । उनले बिएनपीलाई समाप्त पारिन, अनि यत्तिकै चुनाव गराइन् । उनी एकदमै अहंकारी बन्दै गइन् । उनी भन्थिन्, यो मेरो पिताको देश हो । तर, बाँकी जसले स्वतन्त्रताको लडाइँ लडे उनीहरूले पनि सम्मान पाउनु पर्थ्यो । उनी चाटुकारका माझमा थिइन् । उनी मतदाता र आममानिससँगको सम्बन्धबाट टाढा पुगेकी थिइन् । उनले धर्मलाई खुब बढवा दिइन्; कट्टरपन्थीलाई महत्त्व दिइन्, मदरसाको डिग्रीलाई सामान्य विश्वविद्यालयको डिग्री बराबर बनाएकी थिइन् । आज जे जति मदरसाका छात्र उनका विरुद्धमा छन्, यो उनकै योजनाको नतिजा हो । मस्जिदको कुनै आवश्यकता छैन् र पनि करिब ५०० वटा मस्जिद बनाइयो ।
उनले कट्टरपन्थीलाई खुसी राख्ने काम गरिन् । उनलाई भ्रम थियो कि कट्टरपन्थीले उनलाई बचाउने छन् । उनले जनता लिगभित्र कट्टरपन्थीको समूह बनाएकी थिइन् । आवामी उलामा लिग बनाएकी थिइन् । जसले इस्लामी प्रवचन दिन्थे । यस्ता भाषण दिनेहरू एन्टी महिला, एन्टि हिन्दु, एन्टी समाज हुन्छन् । सांस्कृतिक कार्यक्रमको ठाउँमा गाउँशहरमा इसलामी प्रवचन हुन थाल्यो । मदरसामा जे पढाइन्थ्यो त्यहाँ कुनै नियन्त्रण भएन । महिलाका लागि शिक्षा र बुर्काको नाममा ब्रेन वास गरियो । उनीहरूलाई इस्लामी जिहादी बनाइयो । हसिना पतन हुनुको पछाडि हसिनाकै हात छ ।
के तपाईंलाई लागेको थियो हसिना यसरी बिदा लिनेछिन् भनेर ?
– मैले सोचेकी थिइनँ; बरू हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिन्छिन् लागेको थियो । तर प्रगतिशील विचार बोक्नेहरूलाई यस्तो हुन्छ भनेर लागेको थिएन । विद्यार्थी उनको निवासमा बढ्दै थिए; यदि त्यतिबेला हसिना भेटिएकी थिइन् भने हत्या नै हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई मैले सपोर्ट गरेकी थिएँ । उनीहरूको माग सही थियो । तर, त्यतिबेला मैले यो बुझ्न सकिनँ कि विद्यार्थीका पछाडि इस्लामिक समूहको हात रहेछ । हसिना गएपछि देशमा जुन अराजकता फैलियो, त्यसपछि बल्ल अनुमान लगाएँ, यसका पछाडि जमात र इस्लामिक समूहको हात छ । यदि हसिनासँग रुष्ट थिए भने उनका पिताको मूर्ति किन फोडियो ? बाँकी स्वतन्त्र सेनानीका मूर्ति किन तोडिएन ? अडिटोरियम किन जलाइयो ? जो जिहादी थिए, जसले ब्लगरका हत्या गरेका थिए, उनीहरूलाई नै जेलमुक्त गराएपछि आन्दोलनको पछाडि इस्लामी समूहको हात थियो भन्ने पक्का भयो । हसिनाले जमाती इस्लामीलाई प्रतिबन्ध लगाएकी थिइन् भने युनुसले सो प्रतिबन्धलाई हटाएका छन् । यसको मतलब, यो आन्दोलनका पछाडि इस्लामी समूहको हात थियो । अब के हुन्छ ? देश अब इस्लामिक स्टेटतर्फ बढ्ने छ । अलकायदा समूह पनि यसमा समावेस भएको छ । यिनीहरू बहाववाद फैलाउन चाहन्छन् । सुफीका मजार फोडिँदै छन् ।
मलाई लाग्थ्यो कि युनुस प्रगतिशील विचारधाराका मान्छे हुन् । तर, यो तोडफोड, हिन्दुमाथिको अत्याचारमा केही नबोल्नुको अर्थ उनी पनि जमाते इस्लामी समूहसँग मिलेका छन् । जमाते इस्लामीका नेताहरूसँग भेट्दै छन् । म आशावादी थिएँ, यिनीहरूले चुनाव घोषणा गर्ने छन् तर, अहिलेसम्म यो हुन सकेको छैन ।
युनुसलाई शान्तिका लागि नोबेल पुरस्कार दिइयो तर अशान्तिको विरुद्धमा चुप छन् । हिन्दू माथिको दमनविरुद्ध किन खरो उत्रन सकेका छैनन् । उनी भनिरहेका छन् कि यो विजय उत्सव हो । के जनताको हत्या गरेर विजय उत्सव मनाइन्छ ? अत्याचार गरेर विजयोत्सव हुन्छ ? यो मामिलामा यो सरकारबाट कोही पनि बोलेका छैनन् । यसको मतलब हो, जे इस्लामीले गरिरहेका छन् सबै ठीक हो । रवीन्द्रनाथ टैगोर मुस्लिम थिएनन्, त्यसैले उनले लेखेको राष्ट्रगान परिवर्तन गरिँदै छ । त्यसैले मलाई लाग्छ, विद्यार्थी आन्दोलनको पछाडि इस्लामी समूहको हात छ ।
आमार सोनार बंगाललाई रजाकारको समर्थनमा परिवर्तन गराउने कुरा चलिरहेको छ । यसका विरुद्धमा प्रगतिशील बाङ्लादेश, युरोप र अमेरिकामा राष्ट्रिय सङ्गीत गाइँदै छ । एउटै सुरमा राष्ट्रिय गीत गाइएको छ । यो सकारात्मक पक्ष हो ।
अहिले जे जस्तो अवस्था छ; हिन्दुमाथि अत्याचार भइरहेको छ ; हिन्दु र महिलाको अवस्था कति खराब बन्न सक्ने देखिन्छ ?
– यसपटक हिन्दुद्वारा विशाल र्यालीको आयोजना भएको छ । हिन्दुहरूले सबै कुरा सहेर पनि यही माटोमा बस्ने आवाज उठाएका छन् । यो कसैको बाउको देश होइन । अहिले उनीहरूको जनसंख्या आठ प्रतिशत छ । पलायन हुने अवस्था आयो भने उनीहरू भाग्नै पर्छ । इस्लामी तथा कट्टरपन्थीले सबै कब्जा गरे भने भाग्नुको विकल्प छैन ।
यहाँले कहिलेदेखि कुनै धर्मको पालना नगर्ने र सेक्युलर रहने निर्णय गर्नुभयो ?
– बच्चैदेखि हो किनभने मेरा मातापिताले धर्मको अनुशरण गर्दैनथे । उहाँहरूले ईद मात्र मनाउनु हुन्थ्यो । उहाँहरूलाई नमाज पढ्न पनि आउँदैनथ्यो । आमाले चाहिँ कुरआन र नमाज पढ्न जोड दिनुहुन्थ्यो । मैले म किन फारसी भाषामा पढ्ने भन्थेँ । एकदिन चौधपन्ध्र वर्षको उमेरमा मैले बंगाली भाषामा कुरआन-हदीस पढेँ; मलाई थाहा भयो कि त्यहाँ महिलाका बारेमा के लेखिएको छ ।
८० को दशकसम्म धर्मको त्यति चर्चा हुँदैनथ्यो । मस्जिद जाने वृद्धवृद्धा मात्र हुन्थे । अहिले त बालकदेखि बूढासम्म सबै जान्छन् । सडक अवरुद्ध गरेर नमाज पढ्छन् । अतिरिक्त धर्मको पालनले कट्टरपन्थी अनि आतंकवाद जन्मिन्छ । एकदिनमा कोही आंतकवादी बन्दैनन् । लामो समयसम्म निरन्तर इस्लामी ब्रेन वासबाट आतंकवाद सिर्जना हुन्छ ।
सुरक्षित र सेक्युलर वातावरणका लागि के कस्ता सुधारको आवश्यकता हुन्छ ?
– मैले चालीस वर्षदेखि रटान लगाइरहेकी छु; मदरसाको आवश्यकता छैन; विज्ञानका पाठशाला खोल । धर्मको अध्ययन गर्नु छ भने घरैमा गर । यति धेरै मस्जिद किन बनाइरहेका छौँ; बरू विज्ञान प्रयोगशाला बनाऊ । मान्छेभित्र संस्कृतिको निर्माण गर । यसोउसो गर्यो मस्जिद नै बनाइँदै छ । सारा जीवन पाप गरिरहेका छौँ; हज गर्न दौडिरहेका छौँ । उनीहरू पापबाट मुक्ति पाइन्छ भनेर चोकमा आएर अर्को मस्जिद बनाउँदै छन् । यसमा परिवर्तन हुनुपर्ने आवश्यकता छ ।
सबै सरकारले यसलाई बढवा दिए, धर्मलाई बढवा दिए, कट्टतपन्थीलाई बढवा दिए । यसरी केही दिन कुर्सीमा टिक्न सकिएला । तर, यसले देशलाई फाइदा भएन । देश बनाउन वैज्ञानिक,शिल्पी, बुद्धिजीवी आवश्यक पर्छ । देश धर्मको नाममा अन्धो हुँदैछ । पाकिस्तानको झन्डा फहराइरहेका छन् । पाकिस्तान एउटा फेल्ड स्टेट हो । किन पाकिस्तानको अनुशरण गर्नु ? रजाकारहरू अहिले पनि पाकिस्तानसँग सम्बन्ध बढाउन चाहन्छन् र भारतले विरोध गरिरहेको छ ।
कलकत्ताको आरजीकर अस्पतालमा जे भयो; न्यायका लागि एक महिनादेखि आन्दोलन भइरहेको छ । तपाईंले फलो गर्दै हुनुहुन्छ ?
– जानकार छु, आन्दोलनमा ऐक्यबद्धता छ । आन्दोलन गरिरहन जरूरी छ । यो आन्दोलन ढाकाको आन्दोलन जस्तै छ । जबसम्म न्याय प्राप्त हुन्न, आन्दोलन जारी राख्नुपर्छ । हेर्नोस्, पहिला निर्भया घटना घट्यो । त्यतिबेला जनताद्वारा आन्दोलन भएको थियो । तर, के भयो? त्यसपछि पनि बलात्कारको घटना घटिरहेका छन् । रोकिएको छैन; फाँसीको कानुनका बाबजुद बलात्कार भएकै छ्न् । यसका लागि मानसिकता परिवर्तन हुन जरूरी छ । मानसिकता एकदिनमा परिवर्तन हुँदैन । समाजमा महिलालाई यौनिक वस्तुको रूपमा हेरिन्छ; त्यसैले महिलामाथि आक्रमण हुन्छ । बलात्कार महिलामाथि गरिने आक्रमण हो । जबसम्म समाज पुरुषप्रधान रहन्छ, तबसम्म महिलामाथि हिंसा हुन्छ । समान अधिकारको समाज निर्माण भएपछि मात्र मानसिकतामा परिवर्तन हुनेछ ।
अहिले के लेख्दै हुनुहुन्छ ?
– मैले सानो किताब लेख्दै छु; पचासवटा कथाको सङ्ग्रह तयार गर्दै छु । यो किताब यसपालिको पुस्तक मेलामा प्रकाशित हुनेछ । सामान्य दैनिकी यस्तै छ; जब मन लाग्छ लेख्छु । लेख्नु नै मूल हो । किताब पढ्छु । मसँग एउटा बिरालो छ; जसको उमेर एक्काइस वर्ष भयो । त्यसको सेवा गरिरहेकी छु यतिबेला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।