दशैँको बिदामा घरमा जाँदा जहिले पनि सिमकोट वरपरका सेताम्य हिमशिखरहरूले सधैँ आकर्षित गरिरहन्थ्यो । सिमकोट वरिपरि घेरिएर बसेका पञ्चमुखी, मारघोर, चाङ्ला, बोक्सी हिमालमा जब-जब सूर्यको किरणले स्पर्श गर्दै जान्थ्यो बिहानीको समयमा तब-तब मलाई पनि एक प्रकारको सौन्दर्यको कम्पन हुन थाल्थ्यो । अझै त्यसमा दुधेदहको काखैमा रहेको पञ्चमुखी त विशेष प्रकारले टल्किरहन्थ्यो र रहन्छ पनि ।
साँझको समय थियो। बेलुकाको ६ बजेको थियो। विजयध्वज थापाको यात्रा संस्मरण ‘कर्णालीको कुनादेखि मानसरोवरसम्म’ पढिरहेको थिए । मोबाइलमा घण्टी बज्यो । ईश्वर दाइको फोन रहेछ । भाइ मुक्ति कटेजमा आऊ काम छ भन्नुभयो । साँझको समय दाइको फोन, के काम रहेछ भनेर मनमा कुरा खेल्न थाले । जे भए पनि त्यहीँ गएर बुझौँला भनेर हिँडे । ईश्वर दाइ, वसन्त दाइ, नवीन दाइ र धीरज दाइ त्यहीँ हुनुहुँदो रैछ । कफीको स्वाद लिँदै दुधेदह र लडेदह जाने सरसल्लाह भयो । शुक्रबार गएर शनिबार फर्किने कुरो भो । मिग्युर अंकल पनि आउनु भयो। छ जना जाने कुरा भयो। टेन्टको जिम्मा मिग्युर अंकललाई दिइयो । आफ्नो लागि आफैं स्लिपिङ ब्याग ल्याउने र अरू सरसामानको जिम्मेवारी दिएर त्यो दिन बिदा भइयो ।
अचानक दुधेदह जाने यात्रा जुरेकाले मन हर्षित थियो । शुक्रबार हामी ६ जना मिग्युर अंकलको घरमा भेला भएर यात्रामा चाहिने सम्पूर्ण सामान जुटायौँ अनि यात्राको सुरुवात गर्यौँ । मानसरोवर स्कुलको बाटो पैदल हुँदै हुमाने खोलातिर लाग्यौँ । हुमाने खोलामा पानीको प्यास मेटाउँदै बुराउसेको उकालो लाग्यौँ । फोटो खिच्दै, ठट्टा गर्दै निरन्तर हिँड्यौँ । सिमकोटबाट हिँडेको दुई घण्टामा सिमखर्क पुग्यौँ । त्यहाँबाट सिमकोटको दृश्य मनमोहक देखिन्थ्यो । हामीले त्यो दृश्यलाई मोबाइल र क्यामरामा कैद गर्यौं । थकित हामी आधा घण्टा त्यहीं आराम गर्यौं । अण्डा र नुनको स्वादले यात्रामा थप ऊर्जा दियो ।
यो यात्रामा म यहीँको भए पनि मिग्यूर अंकलले यात्राको क्रममा स्थानीयस्तरमा हुने विभिन्न प्रकारका जडिबुटीहरु र त्यसको उपयोगिताको बारेमा धेरै जानकारी दिँंदा, हामीले पढेका सैद्धान्तिक कुराहरुभन्दा त प्राकृतिकमा हुने यी कुराहरुले हाम्रो अध्ययन र सिकाई पद्धतिका बारेमा सोच्नै पर्ने आभास भएको थियो । हाम्रा वरपरका यी मनोरम कुराहरुका बारेमा पनि कति जान्न बाँकी रहेछ मैंले मनमनै सोचेँ ।
नेपालको सबभन्दा उच्चस्थानमा रहेको सदरमुकाम सिमकोट आफैँ पनि एक प्रकारले हिमालको काखलाई चियाउने एक प्राकृतिक नयन हो । त्यसमा पनि यहाँ रहेको सिम र कोटले पनि इतिहासलाई काखी च्यापेर एक एक नौलो कुराको सन्देश दिने गर्दछ । यसको उचाई तीन हजार मिटरमा रहेको छ । यो आफैँमा एक उच्चसमस्थली भएकाले पनि यसको काखमा अनेकौं प्रकारका प्राकृतिक विविधताहरू समाहित भएका छन् । यिनीहरूलाई हामीले प्रचार प्रसार गर्न सकेमा यो भर्जिनल्याण्डले धेरै जानकारी दिने कुरामा दुई मत नहोला ।
सिमकोटको उत्तरतिर पञ्चमुखी हिमशृङ्खलाका काखमा अनेकौं प्रकारका सानाठूला पानीका स्रोतहरू समाहित भएका छन् । जसको कलकल र छलछलले मनै लोभ्याई दिन्छन् । यसैले सिम छहरा, हुमाने खोला, छोवाझोड, ठूलाचौर, नर्केनी, किरने खर्क, सानधारा, सिमखर्क, गुल्दुम, मसिना, केउकेउ, निच्चाखौला, भित्तखोला, जस्या, कब्या जस्ता स्थानीय नामहरूले पनि खश र जाडको मातृभाषा, संस्कृति, संस्कार र आचारविचारलाई प्राकृतिक धारसँग जोडेको छ । यसैको काखमा रहेको छ सत र असतलाई तराजुमा राखेर नापतौल गर्ने पानीको मुहान, जलको स्रोत, हिमनदीको आधार दुधे दह र लडे दह ।
पञ्चमुखीको पश्चिमोत्तर काखमा रहेको यो सुन्दर तालले स्थानीय रुपमा दुधे दहले सत्यको अर्थ बुझाउँछ भने लडे दहले असत्यको प्रतिनिधित्व गर्ने गराउने स्थानीयहरूको जनविश्वास रहेको छ । यसैले पनि यहाँ स्थानीयहरू घुम्नुभन्दा पनि आफ्नो कुल र मूल शुद्ध बनाउनको लागि यी दहहरूको दर्शन गर्ने गराउने चलन रहेको छ । यसैले पनि दुधे दहलाई पार्वती, देवी, लक्ष्मी, भगवती, दुर्गा, मालिका, कालिका आदिको स्वरुपमा लिइने गरिएको छ । जो जसले वार्षिक रुपमा अनिवार्य एक पटक र जीवनकालमा तीन, पाँच, सात, नौ, एघार, तेह्र, पन्ध्र गरी जसले परिक्रमा गर्छ, उसको पाप काटिन्छ भन्ने मान्यता रहेको छ । यहाँको पवित्र जलबाट जो सिञ्चित हुन्छ, ऊ पवित्र हुन्छ । यसैले पनि दुधे दहको अनिवार्य स्पर्श गर्नैपर्ने स्थानीय मान्यता रहेको छ ।
असोजको महिना चिसो मौसम थियो । सिरसिर चिसो हावा चलिरहेको थियो । बाक्लो जाकेटले चिसो छेकेको थियो । कलकल बगिरहेका खोलानालाका आवाजमा वरपरका विभिन्न प्रकारका बास्नादार वनस्पतिहरु पनि मन्दमन्द बतासमा आफ्नो सुवास छर्नका लागि तँछाड मछाड गरिरहेका थिए । र त यात्रालाई निरन्तर बढाउन सहयोग पुगेको थियो । सिमकोटबाट तीन घण्टा पैदल हिंडेपछि हामी बुराउँसेको खर्कमा पुग्यौँ । खर्क वरिपरि विभिन्न प्रकारका बास्नादार धुपी, चिमालो र विभिन्न प्रकारका फूलपत्करले झनै रमाइलो बनाएको थियो । त्यसमा पनि हामीहरुले आगो बालेर त्यसको वरिपरि बस्दै आआफ्ना मनोभावनाहरु एक अर्काका साटासाट गर्न लाग्यौं ।
जति जति हिमालमा गयो, आगो पनि त्यति धेरै प्यारो हुने रहेछ । त्यहाँ पनि आगोले हामीहरुलाई मितेरी लगाउन आइपुग्यो । आगो ताप्दै भोटे चियाको चुस्कीको मज्जा बेग्लै थियो । त्यो खर्कभन्दा पनि माथि अझै एउटा अन्तिम खर्क छ भन्ने खबर पायौँ । आजको रातको बास त्यहीँ खर्कको नजिक बस्ने निधो गरेर यात्राको रफ्तार अगाडि बढायौं । धुपिका बोटबिरुवाको मिठो बास्ना, हिउँको सेताम्मे दृश्यले यात्राको थकानलाई मेटाउन सहयोग गर्यो । तर जब जब हिमालमा माथि माथि गयो उति उत गाह्रो हुने कुराको अनुभव बल्ल भयो । जीउ थकित हुँदै गयो तर पनि मन भने हिमालमा उड्ने सुनौलो चीलझैँ माथि माथि जान तम्तयार हुँदै गयो । सबै साथीहरुको सल्लाहअनुसार हामी आज माथि खर्कको नजिकै बस्ने निधो गरेर झोली तुम्बा बिसाएर टेन्ट कस्ने सुसारमा लाग्यौँ । मिग्युर अंकल, मैले र वसन्त दाइले टेन्ट मिलायौँ । नवीन दाइ, ईश्वर दाइ र धीरज दाइले धुपीको दाउरा ल्याउनुभयो । धुपीको दाउराबाट ठूलो आगो बाल्याैँ अनि बारबिक्यू बनाउँदै खान थाल्यौँ । एकातिर आगोको तातो, अर्कातिर रमाइलोपन न्यानो र अझ झनै तातो थियो चौंरी र जुमाको अर्गानिक दुधको बास्नादार स्वाद । सबैले नौलो अनुभव, नौलो वातावरण र नौलो ठाउँसँग साइनो गाँसेर गीत गाउँदै, जोक्स भन्दै, नाच्दै राति दश बजेसम्म रमाइलो गरेर निद्रादेवीको काखमा गयौं । साँच्चै निद्रा पनि भुजपत्र, धुपी, चिमालो, बास्नादार फूलहरु र हिमाली काखमा घुम्दै र झुम्दै गरेका तरंगका तरेलीहरु सपनामा गाँसिन आइपुगे ।
बिहानीको चिसो चिसो तर स्वच्छ हावको वेगसँगै सुसाएर बग्ने हिल्दुम खोलाको कलकल आवाजले निद्रा भंग भयो । आँखा खोलेर हेर्दा उही निर्जन ठाउँ, उही एकलास ठाउँ, उही बास्नादार ठाउँ तर पनि मेरो प्यारो त्यो सानैदेखिको साथी, मित्र र आत्मीय हिमाल साँच्चै आँखामा नै बस्न आयो, अँगालो हालेर माया कस्न आयो । मैले बिहानीको हावासँग सोधे के तिमी पञ्चमुखी नै हौ त ? पञ्चमुखी मेरो आँखामा आएर मात्र सुमधुर मुस्कानका साथ हाँस्दै मेरा आँखामा झनै टाँसिन पुग्यो, मैंले सूर्य देवलाई नमन गरेँ किनकि मेरो त्यो हिमाललाई अलौकिक सुनौलो रुपमा मेरो मन मन्दिर र आँखामा टाँस्ने काम सूर्य देवले सहजीकरण गरेका थिए । त्यसपछि सबै साथीहरु उठ्न थाले अनि यो क्रम भंग भयो ।
पञ्चमुखी हिमालको चुचुरोमा टलक्क टल्केको घामको दर्शन छायाँमा चौरी गाईको दूधसँगै पाउरोटी र अण्डा खाएर हामीले यात्रालाई बढायौँ । खर्कबाट हिँडेको एक घण्टापछि अलि वर डाँडाबाट नै दुधेदहको मनोरम र सुन्दर दृश्य देखियो । यो पानीको ताल त बिहानीको मन्द मन्द बास्नादार हावामा हामीलाई स्वागत गरिहेको थियो । सूर्यका किरणले पानीको सात रङहरु आफ्नो पालो उछिनेर प्रस्तुत हुने होडबाजीमा थिए । त्यो निर्मल, कञ्चन, शुद्ध, पवित्र र मनोरमा तालको दर्शन गरेर बाटोको ससानो दुःख कष्टलाई पनि हामीले बिर्सिएर फोटोसेसनमा लाग्यौँ ।
सिरसिर चल्ने चिसो हावा, छिनछिनमा लाग्ने घाम अनि जमेको हिउँमा चिप्लेटी खेल्दै करिब ४५ मिनेट उकालो हिँडेपछि लडेदह अर्थात राक्षेस तालमा पुग्यौं । लडेदहबाट पञ्चमुखीको लोभलाग्दो दृश्यलाई अघाउन्जेल हेर्यौं । मन लोभ्याउने प्रकृतिको सुन्दरता र विशाल जैविक विविधताले भरिपूर्ण पञ्चमुखी, दुधेदह र लडेदह आसपास घुम्न पाउँदा हाम्रो ६ जनाको टोलीको मन हर्षित भयो ।
आफूलाई एक सिपाहीझैँ विजेता जस्तै मानसिकतामा हामीहरु बेलुका साँझ छ बजे सिमकोट पुगेर सबै आआफ्नो बासस्थानतिर लाग्यौं । यो यात्राले एक प्रकारको मेडिटेसनमा गए जस्तै आभास दियो ।
आज पनि यो अविस्मरणीय यात्रामा स्पर्श गरेका विभिन्न स्थानहरु, विभिन्न प्रकारका जडीबुटीहरु, विभिन्न खर्कहरु, विभिन्न प्रकारका हिमाली चराचुरुङ्गीहरुको स्पर्शको कम्पनले मनलाई चंगा बनाइदिन्छ । भावनाको पखेटामा तरंगीत भएर मनलाई दुधेदह, लडेदह र पञ्चमुखी हिमालमा पटक पटक पुग्ने गरेको छु । लाग्छ यो हिमालको काख एक प्राकृतिक ऐना हो जहाँबाट धेरै धेरै क्षितिजमा हराउन लागेका हिमशिखरहरुसँग एकाकार गर्न सकिन्छ । क्षितिजलाई नाप्न सकिन्छ । भावनालाई छाम्न सकिन्छ । र त दुधे दहको यात्रामा तपाईं हामीहरु सबै एक पटक अवश्य पनि पुग्ने गरौं । प्रकृतिसँग मितेरी गाँसौं । आफू शुद्ध र पवित्र हुन प्रकृतिसँग एकाकार बनौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।