अर्जुन प्रधान

विमल सुवेदी

नेपालीभाषी भूटानी समुदायको यथार्थपरक र ऐतिहासिक संघर्षलाई चित्रण गर्ने सङ्गीतमय नाटक “हिटलर आउँदै छ” हालै अमेरिकाको विभिन्न राज्यहरूमा भव्य रूपमा प्रदर्शन भइरहेको छ। यस नाटकले भूटानी समुदायको सन् १९९० को दशकको अन्धकारमय इतिहास, मानसिक स्वास्थ्य समस्या, निर्वाशन, र पुनर्वासका कथाहरूलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको निर्देशक विमल सुवेदीले बताउनु भयो ।
“हिटलर आउँदै छ” नाटक भूटानी शरणार्थीहरूको संघर्ष, बलिदान, र असमानता विरुद्धको लडाइँलाई नाटकीय तरिकाले प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको हो। ह्याप्पी होम स्टुडियोजद्वारा प्रस्तुत यो नाटक भूटानी कम्युनिटी एसोसिएसन अफ एक्रन र इन्ट्रा-नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको पहल र समन्वयमा तयार पारिएको हो।
विभिन्न साझेदारहरू र समर्थकहरूको सहयोगमा यो कार्यक्रम सफल भएको समाजसेवी मनोरथ खनालले मिडियालाई बताउनु भएको छ । भूटानी कम्युनिटी एसोसिएसन अफ एक्रनका अध्यक्ष मनोरथ खनालले अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन २१ जुलाई, २०२४मा  “भूटानबाट निष्कासनपछि नेपालका शरणार्थी शिविरमा हुर्किएका तथा अहिले अमेरिका बसाइँ सरेका युवाहरूमा मानसिक समस्या, चिन्ता, तनाव, ड्रग्सको दुर्व्यसन, तथा सांस्कृतिक पहिचानको संकट देखा परिरहेको सन्दर्भमा यो अभियान महत्त्वपूर्ण रहेको एक प्रेस विज्ञाप्तिमार्फत मिडियलाई बताएका हुन् ।
यो नाटक एक साङ्गीतिक, गम्भीर, डार्क, र हास्य मिश्रणको रूपमा डिजाइन गरिएको छ। यसको निर्देशन विमल सुवेदीले गरेका छन् भने लेखनमा जोएस पाण्डेले सघाएका छन् । संगीतकार कालीप्रसाद बास्कोटा, मदन गोपाल, र अर्जुन रसाइलीले गीतकार कौशिला खनाल कर्मचार्य, प्रतिमा श्रेष्ठ, र आर.बी. खड्काका शब्दहरूलाई संगीतबद्ध गरेका छन्।
नाटकमा विभिन्न उमेर समूहका कलाकारहरूको सहभागिता रहेको छ, जसले नाटकलाई अझ जीवन्त र प्रभावकारी बनाएको छ। प्रमुख कलाकारहरूमा वर्षा राउत, जोएस पाण्डे, अर्जुन रसाइली, आर.बी. खड्का, विक्रम मोहन, र आकाश खतिवडा, हेमन्त तिर्वा लगायतका कलाकार छन् । नाटकको कोरियोग्राफी विक्रम मोहनले गरेका छन् भने कार्यकारी निर्माता राकेश भट्टराई हुन्। ध्वनि डिजाइनर इसाबेला जिमन, प्रकाश डिजाइनर लोगन बुशर, र छायांकनकर्ता लोगन हरिच रहेका छन्।
“हिटलर आउँदै छ” नाटकले नेपालीभाषी भूटानी समुदायको इतिहास, परम्परा, र संघर्षलाई अमेरिकामा रहेका नेपाली भाषी दर्शकहरू माझ प्रभावशाली रूपमा प्रस्तुत गरिरहेको छ। यो नाटकले मनोरञ्जन मात्र प्रदान गरेको छैन, यसले सामुदायिक एकता र सशक्तिकरणको भावना पनि बलियो बनाएको संगीतकार अर्जुन रसाइलीले बताउनु भएको छ ।
यो नाटक सेप्टेम्बर १ देखि टलमाज हाई स्कूल थियटर, ओहायोमा प्रदर्शन भइसकेको छ। भने यसको अन्य राज्यहरू लगायत अन्य देशहरुमा पनि माग बढेकोमा पनि बढेको देखिन्छ । यसै सन्दर्भमा अर्जुन प्रधानले निर्देशक विमल सुवेदीसँग गर्नु भएको कुराकानीः

हिटलर आउँदै छ” नाटकको मुख्य उद्देश्य के हो, र यसले नेपालभाषी भूटानी समुदायलाई कसरी सम्बोधन गर्छ?
नेपालीभाषी भुटानीहरुको भुटानदेखि नेपाल र नेपालदेखि अमेरिका लगायत विभिन्न देशमा आइपुग्दा भोग्नु परेका काहालीलाग्दो कालखण्डहरुको ईतिहास र त्यसबाट भएका विभिन्न शारिरिक तथा मानसिक यातनाहरु, साथै हाल हाम्रो नेपाली भाषी भुटानी तथा नेपाली डाएस्पोराका परिवार र समाजलाई नै छिन्नभिन्न बनाइरहेको मानसिक स्वास्थ्यको विकराल समस्याहरुलाई समेत समेटी तयार गरिएको यो नाटक, एउटा कालखण्डमा चरम यातना दिइ देशबाट जबसजस्ति लखेटिएका, पहिचान विहिन बनाइएका र शरणर्थी बनाइएका नेपाली भाषी एैतिहासिक, राजनितिक, सामाजिक तथा सँस्कृति दस्तावेजको एउटा अँश हो । यसले सबै कुरा समेट्न नसकेपनि समग्रमा यो इतिहासको अन्तरआत्मा लाइ बोकेको छ ।

यो नाटकमा सन् १९९० दशकको भूटानी शरणार्थीहरूको इतिहासलाई कसरी चित्रण गरिएको छ?
यो नाटक मैले विगतमा गरेको कामहरु भन्दा धेरै हिसावले भिन्न छ । यसमा अधिकाँश कलाकारहरु यसै समुदायका हुनुहुन्छ जसले यो इतिहास भोग्नु भएको छ । यो रिसर्च बाट तयार पारिएको नाटक हो । बन्द कोठामा बसेर कल्पनामा बगेर लेखिएको नाटक हैन । तसर्थ यसले सन् १९९० को दशको कहाली लाग्दो घटना र त्यसबाट भएको विकाराल समस्यालाइ विम्बात्मक प्रयोग बाट जस्ताको तस्तै देखाउने प्रयाश गरिएको छ । जसलाइ यो सम्पूर्ण इतिहाँस थाहा छ वाहाँहरुलाइ साक्षात्कार गर्ने अवसर मिल्ने छ भने जसलाइ आफ्नो इतिहास राम्रो सँग थाहा छैन । वाहाँहरुको लागी यो एउटा किताव हुनेछ भन्ने हामीलाइ लाग्छ ।

नाटकको नाम “हिटलर आउँदै छ” किन राखिएको हो? यस शीर्षकको पहिचान के अर्थ लुकेको छ?
हिटलर आउँदैछ नाम को प्रयोग विम्बको रुपमा भएको छ , हिटलर को थिए, त्यस्तो प्रवृत्ति कसरी विभिन्न कालखण्डमा विभिन्न ठाउँमा दोहोरिएको छन्, समाजमा, देशमा र आफ्नै घरमा पनि भन्ने कुरालाइ यसले विम्वको रुपमा भन्ने गर्छ । यसको गहिराइ बुझ्न नाटक नै हेर्नुपर्ने हुन्छ ।

नाटकका लेखक विमल सुवेदी र जोयस पाण्डेले नाटकमा कसरी संगीत, हांस्य र दुःखको संयोजन गरेका छन्?
यो कथा अत्यन्तै काहाली लाग्दो वर्वरताको अभिलेख हो । हामीले यो नाटक गरिरहँदा मानसिक स्वस्थ्यको कुरालाइ पनि समेटेका छौं । दर्शक पनि सर्भभाइभर र कलाकारहरू पनि सर्भाइभर भएकोले उहाँहरूलाई यसले मानसिक रुपले आघात नपुर्यायोस् भनेर यो कालो दर्दनाक इतिहास र त्यसको पराकम्पलाई सहज तथा रमाइलो तरिकाले स्मृतिभित्र लान खोजिएको छ । जसले गर्दा त्यो नाटक हेरिरहँदा उहाँहरूले आफ्नो इतिहासलाइ रिभिजिट गर्न असहज महसुस नहोस् ।

“हिटलर आउँदै छ” नाटकको कोरियोग्राफी र मञ्च सज्जा कस्तो छ, र यसले दर्शकलाई कस्तो अनुभूति दिलाउँछ?
नाटक दृश्य विधा हो । यसको सशक्त माध्याम भनेकै भिजुअलबाट कसरी देखाउन नकिन्छ भन्ने नै हो । सहित्यले भन्दा यसले फरक तरिकाले भन्न सक्नु पर्छ र शब्दले भन्न सजिलो पनि हुन्छ तर भिजुअल गाह्रो प्रक्रिया भए पनि यो युनिभर्सल हुन्छ र नाटक यूनिभर्सल विधा हो । यसको मिडियम भिजुअल नै हो । संवादबाट मात्र देखाइने प्रक्रिया एकदमै पुरानो र अटोक्रेटिक प्रक्रिया हो । जसलाई कन्टेम्पोरेरी आर्ट मेकरहरूले रिजेक्ट गरिसके ।

नाटकका मुख्य पात्र को हुन्, र उनीहरूको भूमिकालाई कसरी नाटकीय रूपमा प्रस्तुत गर्न सकिन्छ?
यसका सबै कलाकारहरू मुख्य पात्र हुन् । सबैको भूमिका उत्तिकै सशक्त र महत्त्वपूर्ण छ । उनीहरूको चरित्रले सन्देश मात्र नभएर जीवन दर्शन बाँडेर जान्छ दर्शकसँग ।

नाटक हेर्ने क्रममा दर्शकहरूले कसरी भूटानी-नेपाली समुदायको वास्तविकता र संघर्षको अनुभव गर्न सक्छन्?
अहिले सम्मको दर्शकले दिनु भएको प्रतिक्रियाबाट यो नाटक नेपालीभाषी भुटानी जो शरणर्थी भएर तेस्रो मुलुक पुनर्वास हुन बाध्य हुन पर्यो, उहाँहरू सबैले यो हाम्रो समुदायको पहिलो सशक्त र सहि दस्तावेज हो भनेर भन्नु भएको छ । यो नेपालीभाषी भुटानीले मात्र नभएर सबैले हेर्ने पर्ने नाटक हो भन्नु भएको छ । यो एउटा दृश्य किताब हो, हाम्रो अथेन्टिक इतिहास हो भन्नु भएको छ जसले गर्दा यसले वास्तविकतालाई उजागर गरेको छ भन्ने लाग्छ । र, यो नाटक हेरिरहँदा उहाँहरूले आफ्नो इतिहास र भोगाइलाई ऐना अगाडि उभिएर हेरेजस्तो हुनेछ ।

यो नाटक विभिन्न अमेरिकाका राज्यहरूमा किन प्रस्तुत भएको छ र यसले प्रवासी नेपालीभाषी भूटानी समुदायलाई कसरी सम्बोधन गर्छ ?
यो नाटकले जीवन दर्शन बोल्छ । समग्रमा आफ्नो इतिहास बोल्छ , आफ्नो संस्कृति, पहिचान र भोगाइ बोल्छ । यसलाई हामीले हिलिङ या थेरापी पनि भन्ने गरेका छौँ । यसले सम्पूर्ण प्रवासी भूटानी नेपालीलाई जोड्न मद्दत गर्न, परिवारभित्रै एकआपसमा जोड्न, एकअर्काको परिस्थितिलाई समानभूति राख्न, समभाव राख्न मद्दत गर्छ । प्रवासी भुटानी नेपालीमाथि भएको ज्यादति र अन्यायको मुद्दालाई पनि अन्तराष्ट्रियकरण गर्न सहयोग गर्छ । यस नाटकमा धेरै लेयर्सहरू छन् र यसका इम्प्याक्टका पनि लेयर्स छन् एउटा मात्र छैन । यो एउटा पारिवारिक नाटक हो । यसले सम्बन्ध बुझ्न पनि मद्दत गर्छ ।

“हिटलर आउँदै छ” नाटकले भविष्यमा अन्य मानशिक र सांस्कृतिक कार्यक्रमहरूलाई कसरी प्रेरणा दिन सक्छ?
यो नाटकले एउटा बहसको ढोका खोल्छ अन्तराष्ट्रिय स्तरमा भन्ने लाग्छ हामीलाई, हाम्रो प्रयास पनि यही हो । यस्तो कार्य, अमानवीय कार्य कुनै पनि कालखण्डमा कुनै पनि देशमा दोहोरिनु हुन्न भन्ने हो । यो नाटक न्यायको लडाइँ पनि हो । यो नाटक मानसिक स्वास्थ्यको एउटा क्याम्पेन पनि हो । यसले आउने दिनमा धेरै कुरामा नयाँ आयम दिनेछ भन्ने लाग्छ । बाँकी कुरा दर्शकदीर्घामै छोड्नु पर्छ । तर प्रवासी नेपालीभाषी भुटानी र प्रवासी नेपालीहरूले एकपल्ट हेर्ने पर्ने नाटक हो भन्ने लाग्छ हामीलाई । यो एउटा मनोरन्जन मात्र होइन । मेरोलागि लामो मेडिटेशन, साधाना रियलाइजेसन र ट्रान्सफरमेशन हो । यो कथाको लागि मैले आफ्नो जीवनको आधा समय बिताएको छु । यस अर्थमा पनि मेरो लागि पनि अगाडिको कामहरू भन्दा यो फरक अनुभूति हो ।

यो नाटक प्रस्तुत गर्दा फिल्म फोटो या भिडियो किन अनुमति छैन ? यसले दर्शकलाई कस्तो अनुभव प्रदान गर्न चाहन्छ ?
यो नाटकको एउटा डिसिप्लिन हो । हामीले नाटक हेर्ने दर्शकलाई कतै पनि यस्तो कार्य गर्न दिँदैनो । यसका विविध कारण छन् । यो नाटकको एउटा एथिक्सभित्र पर्छ । नेपालका शरणार्थी शिविरमा हुर्किएका तथा अहिले अमेरिका बसाइँ सरेका युवाहरूमा मानसिक समस्या, चिन्ता, तनाव, ड्रग्सको दुर्व्यसन, तथा सांस्कृतिक पहिचानको संकट देखा परिरहेको सन्दर्भमा यो अभियान महत्त्वपूर्ण रहेको दर्शक तथा सरोकारवालाहरूले नाटकको विशेष प्रिमियर सोमा बताएका छन् ।