
कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो एघारौँ श्रृंखला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृंखलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना कविका लुकेका कवितालाई यसले बढी महत्व दिए पनि नयाँ पुस्ताका असाध्यै राम्रा कविताहरू पनि यो अभियानमा समावेश गरिने डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् ।
प्रस्तुत छ, यसपटकका स्मार्ट पोयम्सहरू :
१. उनको छोरो
(डा. अभि सुवेदी)

डा. अभि सुवेदी
उनको बालक छोरो
जङ्गबहादुरको घरमा हाँस्यो—
यस देशको इतिहास
दुःस्वप्न मात्र होइन !
२. ठेस
(आहुति)

आहुति
बाटो छ जीवनको ठीक सामुन्ने
ढुङ्गैढुङ्गा छन् बाटोमा
र छलेर जति हिँडे पनि
लाग्नेछ कतै न कतै यात्रामा ठेस !
ठेस लाग्दा
ढुङ्गाले हुत्याउनेछ मलाई अगाडितिर
रक्ताम्मे त हुनेछ गोडा
तर प्रत्येक ठेसपछि
छोटो हुनेछ
गन्तव्य र मेरो जीवनबीच
कष्टकर दुरी !
३. समुद्रपीडा
(भूपाल राई)

भूपाल राई
त्यसले धस्किएको कुम देखाई,
मैले भनेँ— फक्रिनै लागेको बेगमबेली फूल !
त्यसले वक्षछेउको जीर्णतालाई औँलाले कोट्याई,
भनेँ— बादलको कोसबाट चियाइरहेको जून !
फेरि काँडाले सोहोरेको पिँडुला देखाई,
भनेँ— समुद्रमाथि नाचिरहेको इन्द्रेणी !
फाटेको पोल्टोनिर निहुरिएर फुसफुसाएँ—
आहा ! मकैभटमासको ताजा बास्ना !
त्यसपछि आफैबाट च्युत भएर
रुन थाली त्यो,
तर त्यसलाई थाहा थिएन
कि, त्योभन्दा कति अगाडि
रोइसकेको थिएँ म … !!
४. म हराएको सूचना
(मीन द्वन्द्वी)
दुःखले पनि होइन
सुखले पनि होइन
बात लागेर पनि होइन
मात लागेर पनि होइन
आफूले आफैलाई खोज्ने क्रममा
म आइपुगेको छु
सत्तलसिंह राजाको देशमा !
मेरा आफन्तहरू, मित्रहरू !
नखोज्नू मलाई आफ्नो वरिपरि
म तिमीहरूको वृत्तबाट
केही समयका लागि हराएको छु ।
५.अग्रजहरूसँग
(स्नेह सायमि)

स्नेह सायमि
कि कुद्नुस्,
तपाईँको पछिपछि आउन
ठाउँ दिनुस्,
कि छोड्नुस् बाटो
साइड लाग्नुस्,
हामीलाई
कुद्न दिनुस्
कुद्न पनि सक्नुहुन्न
बाटो पनि छोड्नुहुन्न भने
तपाईँ आफ्नो बाटो लाग्नुस्
हामीलाई नयाँ बाटो रोज्न दिनुस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ मंसिर २०८२, सोमबार 










