दिक्षालाई सधैं नै लामो बाँच्छु लाग्थ्यो । अझै पनि उसलाई लामो बाँच्छु लाग्छ । सानैदेखि घरेलु दिक्षालाई एउटा राम्रो परिवार होस् भन्न लाग्थ्यो । गाउनु र नाच्नु उसलाई खूबै मन पर्थ्यो । रेजिनासँग उसले कतिपल्ट स्टेजमा नाचेकी थिई । दुवै जना मिल्ने साथी ।
कलेज पुग्दा दिक्षालाई माग्न विनयको परिवार आएको थियो । एकै भेटमा दुईजनामा माया बस्यो तर कलेज सकेर मात्रै बिहे गर्ने निर्णय भएकाले मगनी आएको दुई वर्षपछि सन्तानहरूले कसार खान पाएका थिए ।
राले बस्तीबाट पाकिम आई दिक्षा । ससुराली त नाम मात्रै हो… दिक्षाले त्यसलाई घर नै बनाइ । दिक्षाले कसार खुवाएको तीन वर्षपछि रेजिना पनि पाकिम पुग्न अघि अँधेरी काटेर आउने आहुमा आई । तर उसको कसार बाँडिएन ।
विनयका बाबा त सानैमा बितेका थिए… आमाले पनि विनयलाई छोडेर गएपछि विनयको संसारमा सुरेश र दिक्षा मात्रै थिए । सबै भनेजस्तै थियो जीवन…एउटा सरल रेखा जस्तै ।
बर्खा… ।
चार दिनदेखि पानी परेको परेकै थियो ।
दिन उज्यालो भए पनि सिमसिम पानी आइरहेको थियो । फेसबुकतिर पहिरो गएको, घर पुरिएको, बाटो बिग्रिएको, ढुङ्गा झरेको नाक्साहरूसँग खबरहरू हुन्थे । बर्खामा फेसबुक पनि पुरै भिजेको हुन्थ्यो ।
झरीको मौसममा एक दिन घाम लागे पनि दुई दिनदेखि दिक्षाको अनुहारमा भने कालो बादल थियो ।
रोजिना पाकिम केही कामले गएकी थिई । बजारमा रेजिनालाई देखेर बोलाई ।
सधैंजस्तो फर्साइली लागेन त्यो दिन दिक्षा, रेजिनालाई ।
घर गाउँको कुरा गर्दै दुईजना चिया खाजा खान होटलतिर गए ।
स्कूलकै साथी भए पनि दिक्षा र रोजिना दिदी बहिनीजस्तै थिए । दिक्षाको मनमा केही छ भन्ने अड्कल त रेजिनले गरेकै हो तर सोध्न भने अपठ्यारो लागिरहेको थियो । धेरै बात गर्न नखोजेको जस्तो लाग्यो । तर रेजिनाले आफैलाई रोक्न सकिन र सोधी…
‘के भयो दिक्षा ? के सोचेको त्यस्तो..के छ मनमा हँ ? किन अघिदेखि नै टोलाइरहेकी छेस् त ?’
अनायासै रेजिनाको यस्तो प्रश्नले दिक्षा तर्सी… ।
‘हँ ! के अरे ? फेरि भन् त । मैले सुनिनँ ।’
‘भोलि लिङ्के जाने होइन ? शान्ता म्याडमको बाबाको काम हो नि भोलि । एउटा गाडी लिएर जाऊ न ।’
‘अँ हौ जानैपर्ने थियो, तेह्र दिन कति छिटो बितेछ । भरे घर सल्लाह गरेर भन्छु नि ल ।’
प्रत्येक शनिवार दिक्षा अफिसबाट घर फर्किंदा बजारबाट सब्जी लिएर जाने गर्छ ।
तर त्यो दिन दिक्षा घरै जाने भनेर रेजिनालाई अलि माथिसम्म छोडेर तेर्सै लागी ।
दिक्षाको मनमा केही त छ भन्ने रेजिनालाई लागिरह्यो । तर भन्न कर गरिन उसले । केही दिनपछि दिक्षा आफैले भन्छ भन्ने उसलाई लागिरहेको थियो ।
बजारमा सौदा गर्न व्यस्त भई रोजिना… ।
***
दिक्षा आफ्नै गतिमा अघि बढिरहेकी भए तापनि उसको मनका तलाउमा छोरो सुरेशले बिहान फोनमा मेसेजद्वारा जनाएका कुराहरूले पौडी खेलिरहेका थिए ।
एक हप्ताको छुट्टीमा घर आउँछु भनेको छोराले अचानक त्यस्तो मेसेज पठाउँदा विनय र दिक्षाले केही सोच्नै सकिरहेका थिएनन् । नयाँ जमानाको नयाँ संसार र संस्कार छ । आमा बाबु अब सम्बोधन मात्रै बनेका छन् । गाउँ घरमा सहर पसेको छ अनि शहरले गाउँलाई नयाँ नयाँ गीतहरू सिकाएको छ । यसलाई शहरमा ‘सिभिलाइज्ड’ भनिन्छ ।
पूर्व सिक्किमको पाकिमस्थित सेन्ट जेभियर्स स्कुलमा पढेर र कलकत्ता युनिभर्सिटिसीबाट उतै एउटा कम्पनीमा एसिस्टेन्ट डाइरेक्ट्र भएर काम पाउँदा विनय र दिक्षाले गाउँमा सबैलाई मिठाई बाँडेका थिए । आमा बाबुहरू छोरा होस् वा छोरी समयमा नै बिहे गर्नु पर्छ भन्ने विचार राख्छन् । यो उनीहरूको डर पनि हो, कतै यता उता हुन्छ कि भन्ने । विनय र दिक्षा पनि सुरेशको बिहे गरिदिनु पर्छ भन्ने सल्लाहमा एक भइसकेका थिए । एक दुईपल्ट सुरेशसँग कुरा पनि गरिसकेका थिए तर अहिले बिहे गर्दिनँ भनेर सुरेशले अरू केही भनेको थिएन ।
‘दिदी अफिसबाट फर्किनुभएको ?’
आफ्नै सोचको भुँवरीमा घुमिरहेकी दिक्षालाई अगाडि पछाडि को छ त्यो केही थाहा थिएन । अगाडिबाट आएको आवाजले झन्डैझन्डै ठोक्किन लागेकी छिमेकी तारा बहिनीलाई आफू अघिल्तिर पाउँदा आफैलाई सम्हाल्न खोजी दिक्षाले ।
‘हो बहिनी, तपाईं कता ?…’
‘बजार गएकी दिदी ! सौदा लिन… ।’
ताराका वाक्यहरूलाई टुङ्गिनै नदिई दिक्षाले छिटो छिटो निस्कन खोजी । हिंड्न नसकेको हो वा जीउ भारी भएको हो तर उसलाई पछिल्तिरबाट कसैले धकेलिरहेको जस्तो लागिरहेको थियो । छेउबाट चिनेकाहरू जाँदा पनि दिक्षाले कसैलाई चिनिरहेकी थिइन ।
आज अफिसबाट घर पुग्न उसलाई गाह्रो परिरहेको थियो । कति लामो लागिरहेको थियो घर – दिक्षालाई ।
***
थकाइ सँगसँगै चिटचिट पसिना भए पनि गरम भने उसलाई लागेको जस्तो थिएन उसलाई । घर पुगेपछि दिक्षाले ताला खोल्नुपरेन ।
विनय ऊभन्दा अघि नै घर पसिसकेका थिए । तिर्खा र भोक बिर्सेका थिए दुवैले । चिया खाजा खानुपरेन त्यस दिन दुवैले । राति पनि बिहानकै खाने सल्लाह गरे ।
धेरै बेरसम्मको शून्यता भङ्ग गर्दै विनयले भने, ‘अब के गर्ने त ! होस् । एउटै छोरा.. । पढेको छ, जानेको छ, के गर्दैछु भन्ने हामीले सिकाउनु र !’
दिक्षाले चुपचाप सुनिरही ।
‘हामीले दिएको संस्कार त त्यस्तो होइन नि.. तिमीले दिएको माया त्यस्तो हो र ! आफैलाई किन यस्तो पार्छौं तिमी… । होस् त्यसको जीवन हो, त्यसकै मर्जी नि !’
‘त्यसको मर्जी ?’ हामी चैं कोही होइनौं ? हाम्रो बारेमा सोच्नु पर्दैन त्यसले ? गाउँ घर, शाखा सन्तान, इष्ट मित्र हेर्नु पर्दैन ? आमा बाबालाई कस्तो लाग्छ होला ? अरूले के भन्छन् होला भन्ने डर हुँदैन ? त्यति पनि डर नबोक्ने ? अब सिभिलाइज्ड भाको त्यो ?’ – दिक्षाले मनको भारी बिसाउन खोजी.. रिस र दुखका शब्दमा… यति भनिसक्दा आँखाभरि आँसु थियो उसको ।
‘जमान नै त्यस्तो छ -अहिले हामीले के गर्नु र…!’ विनयले भन्यो ।
‘जमाना त जस्तो सुकै होस् न अनि… त्यसको जमनामा हामी चैं कोही होइनौं…? हामीलाई पनि सोध्नु पर्ने होइन त्यसले…? तिनीहरूको सपना चैं सपना हामीले छोरा छोरीका लागि देखेको सपना चैं केही होइन ? सानो हुँदा लड्छ कि भनेर, बिमार हुन्छ कि भनेर… पछि पछि कुद्नु, ठुलो भएपछि बिग्रिन्छ कि भनेर पछि पछि लाग्नु.. । केही खाइदिन्छ कि, केही गरिदिन्छ कि..भनेर सुर्ताउनु.. । दुख पाउँछ कि भनेर दुख गरेर सम्पत्ति जम्मा गरिदिनु.. । ऋण लिएर पढाउनु, भनेको, मागेको सबै पूरा गरिदिनु…अहिले आएर चैं हामीलाई नसोधी त्यस्तो गर्नु ? त्यसलाई हाम्रो माया लाग्दैन ?’
यति सुन्दा विनयको मन पनि अमिलो भइसकेको थियो… । घाँटीको भित्र कताकता दुखेको जस्तो भइरहेको थियो आँखा चिसो थियो तर आँसु निकाल्न सकिरहेको थिएन ।
सानामा फुटबल ल्याइदिनु भनेर जिद्दी गर्दा किसन भैयाको दोकानबाट प्लास्टिकको गोली ल्याएपछि उफ्रीउफ्री नाचेको सुरेश विनयको आँखामा आउन थाल्यो ।
कोठामा छक…छक…छक गरेर वालमा झुन्डिएको घडीको आवाज मात्रै आइरहेको थियो…
दिक्षाले ब्याग तानेर मोबाइल निकाली…फोनमा सुरेशको जन्म तारिक र सालको दुइटा नम्बर लेखी । सुरेश विनय र आफ्नो नक्सा भएको वाल पोस्टर देखियो उज्यालो भएर ।
थुप्रै एप्लिकेसनहरूको बिचबाट उसले वाट्सएपमा छोई । खोलिएर थुप्रै नामहरूका बिचमा ‘छोरा’ लेखिएकोमा हल्का छोई । थुप्रै मेसेजहरूको सबैभन्दा अन्तमा रहेको हिजो सुरेशले पठाएको मेसेज पढ्न थाली दिक्षाले –
“बाबा आमा ! मलाई बिहे गर्न कर नलगाउनु होला । म र अनिता दत्त तीन वर्षदेखि साथमा छौं । हामी लिभिङमा छौं । धेरै खुसी पनि छौं । ऊ कोलकाताकै हो । उसको बाबा ठूलो बिजनेस म्यान हो । आमा छैनन्, हामी एउटै अफिसमा काम गर्छौं । उसले मलाई माया गर्छ र म पनि गर्छु । बङ्गाली नै भए पनि राम्री छे । बिहे गरिहाल्ने भन्ने कुरा होइन, हामी सिभिलाइज्ड सोसाइटीका हौं त्यसैले बिहेमा हाम्रो विश्वास छैन । जीवन खुशी बनाउनु बिहे नै गर्नु पर्दैन नि…. । हामी आफ्नै तरिकाले बाँच्न चाहन्छौं ।……. ”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।