राप्ती किनारको ससानो बस्ती भालुवाङ पुग्दा बेलुकाको चार बजेको हुँदो हो । यहाँनेर राप्तीले अर्घाखाँची र दाङ, जिल्लालाई वारि र पारि पारिदिएको छ । बस्ती सानो, महत्व ठूलो । देउखुरी उपत्यकाको यही राप्ती गाउँपालिकामा लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको छ । धमाधम नयाँनयाँ संरचना तयार भइरहेका छन् । खहरे खोला हाम फाले झैं मानिसहरू ओइरिंदै छन् । लसुन नफल्ने घरघडेरी सुन भएका छन् ।
बुटवल बसपार्कमा स्याङ्जाबाट देवीप्रसाद वनबासी, डा.अच्युतशरण अर्याल र गङ्गादेवी अर्याल तथा भैरहवाबाट म कपिल लामिछाने नियोजित रूपमा भेट भएर बस चढेपछि हामी भालुवाङमा आइपुगेका हौँ । हामीलाई भालुवाङमा झरालेर बस अझ पश्चिम हानियो । २०८० मङ्सिरको कुरा ।
बुटवल–भैरहवाबाट प्युठानको खलङ्गासम्म जाने सार्वजनिक गाडी नपाएर हामी भालुवाङ ओर्लेका हौं । भालुवाङ बजारबाट खलङ्गा जाने साधन पाइएन । त्यहाँबाट अटो लिएर अलिक पर रहेको बसपार्कसम्म पुग्यौँ । खलङ्गा जाने साधन फेरि पनि पाइएन । सबै छुटिसकेछन् । बाटो काट्नै पर्ने थियो । खलङ्गा आज पुग्नै पथ्र्यो । बाग्दुलासम्म जाने हाइसको टिकट काटेर सिटमा बस्यौँ । गङ्गा मेडमले झोलाबाट सुन्तला निकाल्नुभयो । हामीले सुन्तला छोडाउन थाल्यौँ ।
स्याङ्जाका सुन्तला मिठा हुन्छन् । म पोखराका सुन्तला सम्झँदै स्याङ्जाका सुन्तला खान थाल्छु । बाटो काट्ने चटारोले हामीले जलपान गर्न पाएका थिएनौं । तोलाका तोला सुन्तला पाएपछि अरू के चाहियो ? सुन्तला खाँदै बाटो काट्न थाल्यौं । वनवासीले बालबालिकाका लागि उहिल्यैदेखि धेरै लेख्नुभएको छ । पोखरामा भएको बालसाहित्य सम्मेलनमा होस् कि गाउँखाने कथा बटुल्दै उहाँकै घर शंखरेडाँडा जाँदा होस् उहाँको स्नेह र सहयोगले म द्रवीभूत भएको छु । अहिले पुनः सहयात्री भएको छु । कम बोल्नुहुन्छ, तर सूक्तिवत् बोल्नुहुन्छ । बालकथा, बालजीवनी र बालकविता गरी उहाँका दर्जनभन्दा बढी बालसाहित्यिक कृति छापिएका छन् ।
प्युठानमा मङ्सिर ९ गतेदेखि ११ गतेसम्म अठ्ठाइसौं बालसाहित्य सम्मेलन हुँदैछ । त्यही सम्मेलनमा भाग लिन हामी साठीदेखि माथि र त्रियासी वर्षसम्मका वृद्ध बालसाहित्य स्रष्टा जाँदै थियौं । पहिले पहिलेका सम्मेलनमा सुनेको थिएँ, बालसाहित्य सम्मेलन भन्छन्, सबै बुढा बुढा हुन्छन् । बुझाइको फरक यहींनेर छ । बालसाहित्यका लेखक बालक हुनुपर्छ भन्ने छैन । खासमा बालबालिकाका लागि उपयोगी हुनेगरी सोची, बिचारी, अनुभवी, पाका स्रष्टाबाट सिर्जना गरिएको साहित्य नै बालसाहित्य हो र यस्तो साहित्यको सिर्जना गर्ने बालसाहित्यकार हुन् ।
नेपालमा पहिलोपटक बालसाहित्य सम्मेलन २०४४ सालमा काठमाडौंमा सम्पन्न भएको थियो । २०५९ सालमा भैरहवामा राष्ट्रिय सम्मेलनको संयोजन मैले गरेको थिएँ । संयोजनको दुखसुख सम्झना भइरहन्छ । अब यो अट्ठाइसौँ सम्मेलनमा पुगेको छ केन्द्रीय नेतृत्व प्रमोद प्रधान र संयोजन विजयराज आचार्यबाट भइरहेछ ।
बालवयमै डा. अच्युतशरण अर्यालसँग मेरो भेट बनारसमा भएको हो । बनारसबाट शास्त्री सकेर काठमाडौंमा एम्ए गर्न सँगै आइपुगेका थियौं । सँगै पढ्यौं । सँगै सिर्जनात्मक पत्र लियौं । मैले कथामा र उहाँले निबन्धमा सिर्जनात्मक लेखन गर्यौं । हामी त्रिविका त्यस्ता पहिला छात्र थियौं । मेरो सिर्जनात्मक लेखन पछि २०४४ मा छापियो, मरुभूमिका पोथ्राहरू (कथासङ्ग्रह) र उहाँको अझेटाका बान्कीहरू (निबन्धसंग्रह) । उहाँ नेपाली बालसाहित्यको इतिहासको पुस्तक लेख्ने पहिलो लेखक हो । २०४५ मा नेपाली बालसाहित्यको रूपरेखा छापिएको छ । बनवासी धेरै पुराना लेखक हुनुहुन्छ । दुबै प्युठानमा पुरस्कृत सम्मानित हुँदै हुनुहुन्छ । दुवैलाई प्युठान पुर्याउने जिम्मेवारी मैले पाएको छु, नेबासासबाट । मेरो आफ्नै जिम्मेवारी पनि हो यो । अब त पुगिने आशा पलायो ।
भालुबाङको बसपार्कबाट हाइस छुट्यो र राप्ती नदीको छेउछेउ कुद्न थाल्यो । भालुबाङ–रोल्पा मार्ग वनजङ्गल, ससाना सडक किनारका बस्ती छिचोल्दै बडडाँडा पुग्यौँ । बडडाँडा ससानो बजार । बिक्रीका लागि गाउँले उत्पादन सिमी, सिमीको दाल, गहत, मह, कोदो, फापर, तरुल, मस्यौरा आदि राखिएका । हामीले अवलोकन मात्र गर्यौं । किन्ने अवसर थिएन । फर्किँदा किनौँला किनेदेखि ।
प्युठानको चकचकेबाट मूल बाटो भिंग्रीतिर तानियो । हाम्रो हाइस कुइँक्क मोडियो र माडी (माण्डवी) खोला तरेर बाग्दुलातिर हानियो ।
हामीलाई प्युठानको खलङ्गा पुग्नु मात्र थिएन । बेलुका हुने स्वागत कार्यक्रममा सहभागी पो हुनु थियो । मन आत्तिएको थियो । हाइस हुइँक्किएकै थियौं । ठूलो साँझ पर्यो । गाउँबस्ती र बजारमा बिजुलीबत्ती टिमटिमाए । बत्तीको टिमटिम देखेर गाउँबस्तीको अनुमान गरियो । झिमरुक सुसाएको सुनियो । करिब साडे सात बज्दा हामी बाग्दुला पुग्यौँ । हाम्रो गन्तव्य थियो, खलङ्गा । करिब सात किमी पर खलङ्गा जाने कुनै साधन पाइएन । स्थानीय आयोजक सन्देश आचार्य आदिको नाम लिएर हामी बालसाहित्यका स्रष्टा प्युठानका पाहुना, उमेर खाएका आदि भनेपछि हाइस दुविधामा देखियो । आफ्नो काम छाडेर सोही हाइसले हामीलाई खलङ्गा बसपार्कस्थित हाम्रो होटलसम्मै पुर्याइदियो । थप रकम र धन्यवाद दिएर हाइसलाई बिदा दियौं । मनकारी चालकको मायाले हाम्रो मन जित्यो ।
काठमाडौंको टोली अझै पुगिसकेको थिएन । बसपार्कनेर अच्युत र गङ्गा मेडमका लागि निर्धारित होटेल एभरेस्ट रहेछ भने वनबासी र मेरा लागि साइनो रहेछ । होटेलमा झिटीगुन्टा थन्क्याएर अच्युत, गङ्गा मेडम र म बाहिर निक्ल्यौँ । वनबासी दाजु थकाइले गर्दा कोठामै आराम गरेर बस्नुभयो । त्यहाँबट बाग्दुला बजार आकाशमा तारा चम्के झैं देखियो । केही रात्रिकालीन तस्बिर लियौं । त्यसपछि कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको हलतिर लाग्यौँ । रातको बेला खलङ्गा कस्तो छ थाहै भएन । बिहान हेरौंला भन्ने भो ।
रातको ९ बजेतिर बल्ल काठमाडौंको टोली आइपुग्यो र लगत्तै करिब ९:२० बजे कर्यक्रम सुरु भयो । हतारो थियो सबैलाई । स्थानीय आयोजकले लाऽमो प्रतीक्षा गर्नुपर्यो । कार्यक्रम धेरै रहेछन् । सङ्घीय सांसद् सूर्य थापाको प्रमुख आतिथ्य, सन्देश आचार्यको सञ्चालन, वसन्तलाल शाक्यको अध्यक्षतामा कार्यक्रम भयो । काठमाडौं र देशका अन्य विभिन्न स्थान र भारतको उडिसाबाट आएका अजित पात्राको स्वागत गरियो । नेवा खलः, खलङ्गाका अध्यक्ष वसन्तलाल शाक्यले हामी सबैलाई अल्लाको प्युठानी टोपी लगाइदिएर सुशोभित गरिदिनुभयो । फूल, माला, खादा, टिका र शिरमा टोपी लगाएपछि त हामी जन्ती जस्ता पो देखिएछौँ । कस्तो माया ? यस्तो पो माया !
“पानीभन्दा सङ्गलो छ । सागरभन्दा गहिरो छ । प्रेम हाम्रो । स्वागत छ सबैलाई । गौमुखी, ऐरावती, स्वर्गद्वारी पावन भूमिमा हाम्रो स्वागतम् ।” वसन्तलाल शाक्यको रचना तथा सङ्गीत संयोजनको स्वागत गीतले हाम्रो मनै रसायो । भावुक बनायो । धन्य वसन्त ! धन्य हो प्युठान ! त्यतिले पुगेन रे सृष्टि श्रेष्ठले नाचगान गरेर स्वागत गर्नुभयो । नेवा खलः खलङ्गाले लाखे नृत्य प्रदर्शन गरेर स्वागत गर्यो । केही ढिलो पुगेका भए धेरै छुट्दो रहेछ । तसर्थ हतार हतार गरेर भए पनि कार्यक्रममा सहभागी हुन पाएकोमा सुखद अनुभूति भइरह्यो ।
कार्यक्रममा ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, नेवा खलःका अध्यक्ष वसन्तलाल शाक्य, अजित पात्रा (उडिसा), कुमार श्रेष्ठ (वडा अध्यक्ष), डा. पुष्करराज भट्ट, डा. कौशिला रिसाल, हंसावती कुर्मी, सिर्जना शर्मा, राधेश्याम लेकाली, शैलेन्दुप्रकाश नेपालका लहरमा मेरो बसाइ परेको थियो । पछि प्रमोद प्रधान, के.के. कर्माचार्य र डा. पुष्करराज भट्ट मञ्चमा तानिनुभयो । सुशीला प्रधानाङ्ग, आलोक चालिसे, ललिता दोषी, नवराज रिजाल, तेजप्रकाश श्रेष्ठ, प्रा.डा. ध्रुव घिमिरे, डा. अच्युत अर्याल, शारदा लामिछाने, सरला पराजुली, डा. यादेवी ढकाल आदि त्यहीँ हुनुहुन्थ्यो ।
दर्जनौं स्रष्टाहरूका बिचमा आफूलाई पाउँदा खुसी लाग्यो । खलङ्गाले हाम्रो संस्कृति थामेको रहेछ । हामी त घरका सदस्य जस्ता भयौं । मिठो खाना खायौं । चिया नास्ता खायौं । थपी थपी खायौं । भोलिपल्ट व्युझिँदा हामीलाई आफ्नै घरमा भए जस्तो लाग्यो ।
बिहान ७ बजे नै होटलबाट निक्ल्यौँ । हामी सहपाठी (अच्युत, ध्रुव र म) को संयुक्त तस्बिर खिचायौं । अर्को तस्बिर आलोक चालिसे थपेर अनि अर्को तस्बिर तेजप्रकाश श्रेष्ठ, प्रमोद प्रधान र शैलेन्दुप्रकाश नेपाल जोडिएर । पाहारिलो घामले माथि मल्लरानी र तल बाग्दुला टल्किसकेका थिए । अल्लि छिट्टै उठेर मल्लरानी पुगेर आउने सोच टरिसकेको थियो । बिहान ७ बजे नै पातीचोकदेखि रिडाथन (पढ्दै–हिंड्दै) कार्यक्रम हुने, महेन्द्र माविमा बालबालिका कार्यक्रम हुने, शिवालय मन्दिर दर्शन गर्ने कार्यक्रम रहेकाले यतै खुम्चिनुपर्ने भयो । मल्लरानीको कथा मात्र सुन्न पाइयो स्थानीयबाट । देवीप्रसाद वनबासी लेखापरीक्षण गर्न जमानामा हिंडेर आउनुभएको रहेछ यस ठाउँमा ।
पातीचोकमा माथि रङ्गिन सयौं छाता थिए । त्यसको माने बुझिएन । पातीचोक कृष्ण डिजिटल फोटो स्टुडियोलाई पछाडि पारेर स्थानीय आयोजक र बालसाहित्यका स्रष्टाहरूको जमघट सुरु भयो । हेर्दाहेर्दै चोक भरिभराउ भयो । यशु श्रेष्ठले रिडाथनको परिचय र महत्व तथा पद्धति बारे प्रकाश पारेपछि रिडाथन सुरु भइहाल्यो ।
हरियो चिटिक्कको ड्रेसमा सजिएका नेपाल स्काउटका भाइबहिनीहरू, शिक्षक, विद्यार्थी, व्यापारी, कलाकार, आयोजक, प्रायोजकले हात हातमा प्लेकार्ड बोकेर बालगीत र बालकविता भट्याउँदै हिँडे । कसैले कसैलाई बालकथा सुनाउँदै हिँडे । कसैले पढ्दै गरौँ हिँड्दै गरौँ अघि बढ्दै गरौँका नारा घन्काए । मैले सँगै हिँडेका बालबालिकालाई ‘काग र भ्यागुता’ शीर्षकको बालकथा सुनाएँ । बन्द र राजनीतिका नारामात्र सुनेका खलङ्गाबासीका मनमा सुख र शान्तिको शीतलो हावा पस्यो । ज्ञान र गुनका कुरा पनि त सडकमा आइपुग्दा रहेछन् । एक बृद्ध आमाले भन्नुभयो ।
यो एकप्रकारको प्रभातफेरी कार्यक्रम थियो । नौलो प्रकारको यहाँका स्थानीयका लागि, खलङ्गाबासीको लागि ।
रिडाथन महेन्द्र माविमा पुगेर समापन भयो भने लगत्तै बालकार्यक्रम शुरू भयो । बालबालिकाले कथा सुनाए । त्यहीँ छेउमा रहेको रामेश्वर मन्दिरमा पुग्यौँ । रामकृष्ण कुँवरले बनाउन लगाएकाले रामेश्वर महादेव भनिंदो रहेछ । मन्दिरका पुजारीसमेत रहेका स्थानीय तुलसीराम रिजालले अग्लोमा उभिएर हामीलाई बताउनुभयो । मन्दिर आकर्षक छ, अहिले पनि । हेर्न लायकको छ । विमला निरौलाले त्यहीँ उभिएर कविता वाचन गर्नुभयो । भिडियो बनायौं । सहभागीले तालीले स्वागत गर्यौं ।
मल्लरानी जान नभ्याएकोमा थैथै भइरह्यो, हामीलाई ।
मल्लरानी गाउँपालिका हो र खलङ्गा प्युठान जिल्लाको सदरमुकाम । जिल्ला सदरमुकाम गाउँपालिकामा भएको यही मात्रै पो हो कि ! हामी फेरि बसपार्क पुग्यौं । बसमा चढेर बाग्दुलातिर लाग्यौं । खलङ्गा अलिक उच्च स्थानमा अवस्थित रहेछ भने बाग्दुला तल झिमरुक खोलाका छेउमा सम्म ठाउँमा । झन्डै गामबेसी जस्तो । मुख्य कार्यक्रम बाग्दुलामा हुनु थियो । झिमरुक फाँट पाकेको धानले पहेँलपुरे देखियो । यो यस क्षेत्रको अन्नभण्डार रहेछ ।
प्युठान नगरपालिका, बाग्दुला बजारमा अवस्थित जनता माविको प्राङ्गणमा पुग्यौँ । यहीँ कार्यक्रम हुनु भयो । २०१४ सालमा स्थापित यस विद्यालयले गौरवशाली इतिहास बनाएको पायौं । यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा स्थापना गरिएको छ, जसको अनावरण २०१६ साल पुस १ गते गरिएको रहेछ, राजा महेन्द्र र प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाबाट । देवकोटाको निधन भएको ९० दिनभित्रै प्रतिमा तयार भई अनावरण गरिएको यो पहिलो अवसर होला । देवकोटाप्रति त्यति बेलादेखि नै कत्रो माया प्युठानीको ।
ऐतिहासिक विद्यालयको आँगनी लेखक, कलाकार, शिक्षक, विद्यार्थी, उद्योगी, व्यवसायीले भरिभराउ भयो । मञ्च साँघुरो भयो । फटाफट थप भुइँ मञ्च खडा गरियो । प्राङ्गण सानो भयो । पुस्तक, हातबुना घरेलु कपडा, आस्कोट, टोपी, गुन्द्रुक, सिन्कीले पनि छेउछाउमा स्थान पाएका थिए । नौबहिनी गाउँपालिकामा रहेको कोठी हिमाल अल्लो कपडा उद्योगका उत्पादन विक्री तथा प्रदर्शनीमा थिए । धागो त्यही पनि कातिँदै थियो । पशुपतिको जात्रा सिद्राको व्यापार त भइहाल्छ । त्यहीँ बालसाहित्य स्रष्टा सूर्य बीसी पुस्तकको स्टल राखेर बसेको पायौं । चाहिने पुस्तक लियौं ।
कार्यक्रम भव्य थियो, सांसद्, प्रदेश सांसद्, नगरप्रमुख, गाउँपालिका अध्यक्ष, साहित्यिक र सामाजिक सङ्घसंस्थाका पदाधिकारी, विद्यालयका प्रधान अध्यापक, क्याम्पस प्रमुख, नगरबासी, विद्यार्थी, शिक्षक, लेखक, कलाकार, व्यापारी, पत्रकार सबै एउटै प्राङ्गणमा अटाएका थिए । के यस्तो यसअधि भएको थियो, प्युठानमा ?
विमला खनाल, राजकुमारी कुँवर, सन्देश आचार्य, वसन्तलाल शाक्यलाई मैले यहीँ चिनेँ, राम्रोसँग । विमला खनाल त सम्मेलनको स्थानीय संयोजक । उहाँको फेक माया, मेरो मन्त्रीको मुस्कान समेत दर्जन जति पुस्तक त्यहीँबाट लोकलाई अर्पण गरियो । मैले “पठन संस्कृति, पाठ्यपुस्तक र बालसाहित्य” शीर्षकको कार्यपत्र प्रस्तुत गरें । कति बोधगम्य र ग्राह्य भयो वा भएन । पछि लेखाजोखा हुने नै छ ।
आठदस कक्षाका बालबालिका केन्द्रित प्रशिक्षण भए । कथालेखन प्रतियोगिता भयो । म यहीँ प्रतियोगिता गराउँदै थिएँ । लेखन समाप्त भएपछि म, सिर्जना शर्मा र प्रा.डा. ध्रुव घिमिरे भएर मूल्याङ्कन गर्यौं । कति कठिन हगि मूल्याङ्कन गर्न ?
अग्रज देवीप्रसाद वनवासी र सहपाठी–सहकर्मी साथी डा. अच्युत अर्याल अलग अलग पुरस्कार र सम्मानबाट सम्मानित र पुरस्कृत हुनुभयो । मेरा लागि यो सुखद विषय हो । प्रसिद्ध कलाकार कृष्णभक्त महर्जनले जोसजाँगरले भरिएको फुर्तिलो नृत्य देखाउनुभयो । पूरा आँगन जुरुक्क उठ्यो ।
कथा, चित्रकला, कविता, निबन्ध, अभिनय, बालसमीक्षा, कथावाचन र नृत्यसम्बन्धी प्रशिक्षण दिइयो । कथालेखन र हस्तलेखन प्रतियोगिता भयो । पुस्तक विमोचन विचारविमर्श, कार्यपत्र प्रस्तुति, रचना वाचन, नृत्य र कला प्रस्तुति भए । कार्यक्रमको चाप र चहलपहलले बाग्दुला फुरुक्क परेको पायौं । बजारको अनुहार हँसिलो थियो ।
रात पर्दा पनि कार्यक्रम सकिएन । टक प्रोग्राम अझै बाँकी थियो । त्यो पनि उपलब्धिपूर्ण भयो । बालसाहित्य, पठन संस्कृति आदि बारे धेरै सुन्दर र अनुकरणीय विचार प्रस्तुत भए । कोठामा पुग्दा नौदस बजेको हुँदो हो । कुप्लुक्क खाएर घुप्लुक्क सुत्यो, हाम्रो टोली ।
अब भित्रीकोटको पालो । १० गते बिहानै जलपान गरेर हामी भित्रीकोटका लागि प्रस्थान गर्यौं । प्युठान नगरपालिका वडा नं. ६ मा पर्छ, भित्रीकोट । दुईतीन बसहरू र अरू साना गाडीहरू पनि उकालो लागे । कोट, गढी भनेको सामान्यतया अग्लो ठाउँमै हुन्छन् । बाइसी चौबिसी राज्यकालमा प्युठानी राजाको दरबार भित्रीकोट नै रहेछ । गाडी गुडिरहँदा पनि नाच्ने गाउनेलाई गुडी मैदान खाली थियो । यशु श्रेष्ठ, विमला खनाल आदिले नाचेर यात्रा रमाइलो बनाउनुभयो ।
गाडी गुडिरह्यो, उकालो उकालो अनि फेरि उकालो । धेरै वन, जङ्गल र कताकति बस्ती । धेरै बाटो गुडेपछि बल्ल गाउँको अनुहार देख्न पाइयो । एउटा गुरुङ गाउँ गाडीबाट देखियो । टाढा टाढाका गाउँ, बस्ती र बजार देखिए । खेतका फाँट र झिमरुक नदी देखियो । झिमरुकको अर्को नाम धर्मावती रहेछ । झिमरुकका बारेमा विभिन्न कथा र कवितामा पढेको थिएँ । आज प्रत्यक्ष देखिरहेछु । यी माथिका गाउँबस्तीका हरेक घरबाट बिहान उठ्ने बित्तिकै हिमाल देखिंंदो रहेछ । म मेरो पोखराको घर सम्झन्छु, जहाँ माछापुच्छ्रे मलाई म्वाइँ खान झुक्थ्यो, बेगनासताल छाल उरालेर मेरो मुख धुन्थ्यो ।
स्थानीय गुडीयानले पनि बाटोे बिराएछ, हामी अलिक परै पुगेछौँ । सोध्दै थोरै पछि हटेर सही बाटो पक्रेर हामी भित्रीकोट पुग्यौँ ।
प्युठानका कोटमध्ये भित्रीकोटको विशेष महत्व रहेछ । भित्रीकोट यस जिल्लाको एक ऐतिहासिक र पुरातात्विक महत्वको पर्यटकीय क्षेत्र रहेछ । बाग्दुलादेखि यहाँसम्म आउन रिजर्भ वा निजी गुडीयानकै भर पर्नुपर्ने रहेछ । भित्रीकोट दरबारबाट झिमरुकसम्म जाने–आउने प्रयोजनका लागि उति बेला भित्री सुरुङ बनाइएको रहेछ । अहिले भने पुरिएको छ । अवशेष मात्र देख्न सकिन्छ । भित्रीकोटमा दरबारको भग्नावशेष छ । यहाँ प्राचीन हातहतियारको सङ्ग्रहालय रहेछ । सङ्ग्रहालयमा केही हातहतियार अद्यापि छन् । स्थानीयका अनुसार माओवादी युद्धकालमा यहाँबाट धेरै हातहतियार हराए । खोजी गर्ने कोही भएन । यहाँबाट हिमाल पहाड, जङ्गल, फाँट आदि धेरै स्थानको दृश्यावलोकन गर्न सकिँदो रहेछ ।
भित्रीकोट दरबार क्षेत्रमा क्षेत्रपाल मन्दिर छ । गुठीयार तथा यसको व्यस्थापन समितिका अध्यक्ष सुशील पोखरेलका अनुसार प्युठानमा ३८ कोट छन् । ओखरकोट, नारीकोट, उदयपुरकोट, खैलाकोट आदि मुख्य छन् । भित्रपट्टि परेको हुनाले यसलाई भित्रीकोट भनिएको हो । यी कोट सैन्यशक्ति परिचालनका दृष्टिले महत्वपूर्ण रहेका छन् । क्षेत्रपाल मन्दिरको संरक्षण र पूजाआजा चलाउनका लागि यहाँ र नौबहिनीमा प्रशस्त गुठीको व्यवस्था रहेको छ भन्ने भनाइ सुशीलजीको छ ।
सुशील पोखरेलका अनुसार पहिले यहाँ जाँट राजाले राज्य गर्थ्यो रे, जसले दिनमा एकजना मान्छे खान्थ्यो रे । पछि चनवंशका राजा हाहाचनले त्यसलाई खेदेर मारेछन् र तल पोखरीमा लगेर फालेछन् । पोखरीको पानी अहिले पनि रातो छ भन्ने भनाइ रहेछ । हाहाचनपछि हुहुचन, ताराचन आदिले यहाँ शासन गरेछन् । खै काँ छ त्यो ? भन्दै ऊ खै ? भन्दा भन्दै वाख्खै भन्दै सराएँ गाउने खेल्ने प्रचलन रहेको पनि सुशीलजीले प्रस्ट पार्नुभयो ।
थरी थरी छन्, लोकविश्वासहरू । किंवदन्तीहरू । लोकवार्ताविद् तेजप्रकाश श्रेष्ठले मेरो मुखमा हेर्नुभयो । हामी मुस्कायौं ।
चनवंशी राजाहरूले यस राज्यको स्थापना गरेको भनाइ रहेछ । प्युठानको राजधानी यही भित्रीकोट रहेछ । यो ठाउँ प्राकृतिक र सामरिक दृष्टिले महत्वपूर्ण देखिन्छ । चनवंशी राजाले ३५० वर्ष शासन गरेपछि १८४३ मा नेपालमा गाभिएको वा एकीकृत भएको रहेछ ।
प्युठान आएर प्युठान भनेको के हो जान्नै पर्ने भयो । सिपाही भन्दा माथिल्लो एक जङ्गी दर्जालाई पिउठ भनिन्छ । कुनै बखत यहाँ पिउठको स्थान वा बसाइ रहेकाले पिउठ स्थान भन्दाभन्दै जनबोलीमा प्युठान हुन गएको धेरैको मान्यता रहेछ । हो झैं लाग्यो । सुशील पोखरेलले थप्नुभयो, विदेशी विद्वान् कर्कप्याट्रिकले प्रार्थना (पुराथाना) बाट र ह्यामिल्टनले प्राथनाबाट प्युठान शब्द बनेको तथा योगी नरहरिनाथले प्लुथानबाट प्युठान भएको बताएका छन् । जेसुकै ठान, यो हो प्युठान ।
प्युठानमा अझै पनि मगर बास्ना आउँदो रहेछ । भिङ्ग्री, कोचिवाङ, मर्कावाङ, तोरबाइ, खबाङ, स्याउलिबाङ, सारी, लिबाङ, रम्दी, लुङ, धुबाङ, दाङबाङ आदि स्थाननाम धेरै छन्, मगर भाषाका । अहिले यसको पूर्वमा गुल्मी र अर्घाखाँची, पश्चिममा रोल्पा र दाङ, उत्तरमा रोल्पा र बागलुङ अनि दक्षिणमा दाङ र अर्घाखाँची जिल्ला रहेका छन् ।
बालसाहित्य सम्मेलन धेरै पटक भयो । तर यति धेरै जनसहभागिता र चासो पहिलो पटक अनुभव गरेँ मैले । के जादु चल्यो यहाँ ? थाहा छैन ।
अहिले पो प्युठान जिल्ला भो । उहिल्यै राज्यै थियो । एउटा राज्यको धङधङी र आफ्नो राज्यप्रति प्युठानी चासो र माया देखें मैले । लामो गौरवशाली इतिहास बोकेको प्युठानलाई दुईतीन दिनमा दुईचार ठाउँ टेक्दैमा के बुझियोस् ! न्यायशास्त्रमा स्थाली पुलक न्याय भनिन्छ । कसौँडीको माथिका सिता छामेर भात पाके नपाकेको मापन गरिन्छ । जुँगा चल्यो, कुरा बुझ्यो । यत्ति समयमा प्युठानका पत्रकार, शिक्षक, विद्यार्थी, साहित्यकार, जनप्रतिनिधि र स्थानीयबाट भाषा, संस्कृति, साहित्य, बालसाहित्यप्रति देखाएको लगाव प्रशंसनीय ठानेको छु । बालसाहित्य सम्मेलनले धेरैलाई जुटाएको र जगाएको छ ।
फेक मायाले होइन, म प्युठानी सच्चा मायाले भुतुक्क भएको छु । सूर्य, वसन्त, विमला, राजकुमारी, सन्देश आचार्य, कृष्णबहादुर खड्का, जनता माविका प्रअ इन्द्रमणि पोखरेल, सुशील पोखरेल आदिको जय होस् । प्युठानी माया अमर रहोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।