सञ्चालित सञ्जालमा सञ्चालित भाषा विवादको रोइला कुनै पहिलो होइन । घरी नेपालमा त घरी भारत(दार्जिलिङ) मा । नेपाली भाषा विषयमा विवाद अचाक्ली बाझिएको छ ।
अहिले भारतीय नेपाली भाषा विवादीहरू संध्वनिलाई लिएर फेसबूकमै भए पनि एक अर्कालाई ट्वाक्सिङ चड्काउने तथा तथानाम गाली बर्साउने स्तरमा पुगिसकेका छन् । निहुँको बीउ हो – ‘ड र ढ’ । कोही ड़ र ढ़ मा थोप्ला लाउने ता कोही ड र ढ मा थोप्ला नलगाउने ।
इन्द्रबहादुर राईको एउटा कथामा भनिएको छ, ‘सानो कामकुरालाई दशतिर बाट हेरेर-सोचेर समस्या तुल्याउनुहुन्छ । त्यसरी कसरी बाँच्नु जुनीभरि ? कमिज फेर्नु पनि- फेर्नु कि नफेर्नु, आज किन फेर्नु, कैले फेर्नु, फेरेर कुन लाउनु, किन लाउनु ?- पहाड समस्या बनाउनुहुन्छ ।’
यतिबेला ठ्याक्कै ‘ड र ढ’ को तलथोप्लीलाई लिएर बहसको होइन बाझोको बोझिलो पहाड चुल्याउने काम भइरहेको छ ।
‘ड र ढ’ मा न ता संस्कृत व्याकरणमा न ता महेश्वर सूत्रमा कतै पनि थोप्ला लगाइएको छैन । तलथोप्ली लागेका ड़ र ढ़ चाहिं हिन्दीबाट प्रभावित हो भन्ने पक्ष छ । अर्को पक्ष छ- लगाउँदै आएको कुरा, चलाउँदै ल्याएको कुरा किन नलगाउने भन्ने छ । यी दुवै पक्षमा आ-आफ्नो स्तर र सामर्थ्यमा विभिन्न पद, पहुँच, कलाकार सर्जक, शिक्षक, अन्वेषक, विद्यार्थी, मानार्थीहरू छन् । दुई पक्ष बाहेक अर्को ठूलो पक्ष चूपचाप, मौन छ ।
फेसबूकबाट उद्गमित र फेसबूकमै उद्वेलित यी तीनै पक्ष फेसबुके फोर्स मात्र हो । किनकि यो समाजमा गरिएको चर्चा होइन । कुनै भाषिक शैक्षिक संस्थानमा गरिएको बहस पनि होइन । यो सञ्जालको च्याउँच्याउँ हो । सञ्चालिका बाँझो हो । यो फेसबूकमा भइरहेको फाँक्क र फुँक्क हो । केही दिनपछि निष्कर्षविहीन हुने फास्सफुस्स मात्र हो ।
फेसबूकमा कसै एक जनाले लेखेको पढ्दै थिएँ – ”संध्वनि होस् कि मंध्वनि, म त ड़ र ढ़ नै लेख्छु, भन्नेहरूले शोकसँग लेख्दा भइहाल्छ तर घरिघरि बौद्धिक र सौद्धिक, विद्वान् र सिद्वान् भन्दै केको रीस फेरेका हुन् ?”
उहाँको कुरा पढिसकेपछि यसो सोच्छु रीस फेर्ने र रिस लगाउने पनि नेपाली भाषी नै हुन् । बीचमा परेको ता भाषा नै हो । यो रीसारीसबीच बसेर-पसेर कसले मध्यस्थता गर्ने हुन् ? अत्तोपत्तो छैन ।
केवल फेसबूकभरि झर्कोफर्को छ । आफू यसो लेखिटोपल्ने भएकाले र भाषा साहित्यकै विद्यार्थी भएकाले मेरो फेसबूक फ्रेन्डमा साहित्यकारहरू र भाषा विषयका शिक्षक-शिक्षिका, प्राध्यापक, प्राध्यापिकाहरू छन् । त्यसैले होला यसो स्क्रोल डाउन गर्यो एकपछि अर्को थोप्लाथोप्ली कै विवाद गर्नेहरूको लर्को छ ।
यस विषयलाई लिएर सम्बन्धित भाषिक शैक्षिक संस्थानमा एउटा विचार विमर्श गरेर सम्यक् परीक्षणबाट एउटा निचोड निकाल्ने जमर्को भने भइरहेका छैन । केवल एक अर्कालाई थर्काउने र भड्काउने काम मात्र छ । थोप्लाधारी कि बिना थोल्लावादी कता पट्टिको हो खोजीनिती पो छ । पार्टीबाजी गर्ने जस्तो भएका छन् भाषावादीहरू पनि । विचार गोष्ठी होइन ओष्ठ्य विवाद बाहेक केही गर्नेतिर विचारको विस्तार भइरहेको छैन । बस् यतिमै रहिरहेको छ ।
गीताको ‘यथाच्छसि तथा कुरु’ जस्तो लाग्छ । त्यस्तै ‘गर मन्त्र’लाई मानेर मौनम् शरणम पक्षको परम भएर बसेको म, बस्न दिए त के । चूपचाप बस्न पनि नपाइने रहेछ यो समाजमा ।
कुनै थोप्लाधारी कल गरेर ‘लाइक गरिएन त ?’ भनेर थोप्ला नलगाउने पट्टिको हो भनेर भनिजान्छन् । कोही थोप्लाको विरुद्धमा फेसबूकमा लेख्छन् र टेक्स्ट गरेर सोध्छन्, ‘कमेन्टस् गरिएन नि ?’
यसो हो कि भनेर बताऊँ भन्यो थोप्लाधारी हो भनिठान्छन् । यी दुवै नै मेरा फेसबूक फ्रेन्ड हुन् । कोसित मिल्ने कोसित नमिल्ने ? साथी भनेका त सराबरी हो । उफ् कस्तो फसादमा फसिएछ बा ! कुन दिनमा यो फेसबूकमा पसिएछ बा !
थोप्लालाई लिएर कलहको लिगलिगे फेसबूकभरि चलिरहेको बेला लुगलुग हुँदै अनलाइन आउनुपर्ने स्थिति छ । थोप्ला लाउने र थोप्ला नलाउने दुवै वादीहरू बीचको पोस्टमा यो थम्पले थिचिई पो हाल्छ कि ! भनेर त्राहिमाम् हुनुपरेको छ । आखिर फेसबूकमा भएका सबै मेरा फेसबूक फ्रेन्ड नै हुन् ।
उफ् ..यो थोप्लाथोप्ली आतङ्कको कहिले अन्त होला ? छिटै अन्त होस् भन्ने चाहन्छ र चाहन्छु फेसबूका फ्रेन्डहरू सबै फ्रेन्ड्ली भएको ।
मिरिक, दार्जीलिङ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।