अर्को संसारको मानिस 

 

एक समय थियो । जराथुस्त्रले पनि अर्को संसारको मानिसलेझैं कल्पना गर्न थाले । दुःख र यातना ईश्वरको सृष्टि हो भन्ने उनलाई लाग्यो ।

सपना र शब्द ईश्वरको संसार हो । कुनै बेला मलाई लाग्थ्यो, असन्तुष्ट आँखाको अगाडि रंगीन बादलहरू छरिएका थिए ।

असल र खराब, आनन्द र पीडा, तिमी र म जस्ता रंगीन बादलहरू मेरा सृजनशील आँखासामु देखा पर्थे । सृष्टिकर्ता स्वयं निकै टाढाबाट यसको सुन्दरता हेर्न चाहन्थे । त्यसर्थ उनले संसारको सृष्टि गरे ।

पीडित स्वयंले आफ्नो पीडा हेर्न सक्नुपर्छ । आफ्नो पीडा हेरी आफूलाई बिर्सनु नै स्वर्गीय आनन्द हो । यो अनन्त आनन्द, जसले आफूलाई बिर्सन सकेको छ । के यो संसार आनन्द नै आनन्दको घर होइन भन्ने मलाई एक पटक लागेको थियो ।

यो संसार अनन्त र अपूर्ण छ । यो एउटा अनन्त विरोधाभासको किरण हो । यसको अपूर्णता सृष्टिकर्ताको निम्ति एउटा स्वर्गीय आनन्द हो ।  यसरी यो संसार आनन्दै आनन्दको स्रोत हो भन्ने पटक पटक लागेको थियो ।

यसरी एक समय, अर्को संसारको मानिसलेझैं मेरो कल्पनालाई केलाएर हेरेँ । के त्यो मान्छे साँच्चै निर्दोष थियो ?

ओ साथीभाइहरू ! मैले सृष्टि गरेको ईश्वर समस्त देवता र यी मानिसहरूझैं पागल थिए त ?

ऊ एउटा यस्तो मानिस थियो, जो एउटा अहंकार र दुःखको सानो अंश थियो । मेरो आफ्नै खरानी र ज्वालाबाट जन्मिएको थियो । त्यो प्रेत, त्यसपछि मलाई सताउन आएन ।

साथी हो, तिमीहरूलाई के भो ? मैले त आफैँमाथि विजयी हासिल गरेँ । आफूसँग भएको पीडा र खरानी बोकेर पहाडतिर उक्लिएँ । आफ्नो लागि एउटा उज्यालो राँको बनाएको छु । तिमीहरूलाई थाहा छ, त्यो देखेर भूतप्रेत मेरो सामु आउन डराए । आफ्नो बाटो लागे ।

अब म निको हुनुपर्छ । ती प्रेतात्माहरूमा विश्वास गर्नु भनेको निकै ठुलो पीडा सहनु हो । त्यो पीडाले मलाई ध्वस्त पार्नेछ । अपमानको आगोमा जलाउनेछ । यसरी मैले अर्को संसारको मान्छेसँग कुरा गरेँ ।

दु:ख र नपुंसकता,  जसले अर्को संसारको मानिस सृष्टि गर्यो । थोरै खुशी दिएर अनन्त पीडा अनि पागलपनको विल्ला भिरायाे । जसलाई  सबैभन्दा भयानक पीडा खेपेकाले मात्रै महसुस गर्न सक्छ ।

थकाइ एउटा यस्तो छलाङ हो, जो मृत्युसँग मिलेर आफ्नो गन्तव्यमा पुग्न खोज्छ । एउटा दुःखी र अज्ञानी थकान, जसको अब कुनै कामना छैन, उसैले समस्त देवता र अर्को संसार सृष्टि गर्यो ।

मेरा साथीभाइ हो ! मलाई विश्वास गर । यो त्यही शरीर थियो, जुन शरीरबाट तिमीहरू निराश भएका थियौ । जसलाई आकर्षक औंलाहरूले आत्माको पर्खालमा टाँसिदिएको थियो ।

मेरा साथीभाइ हो ! मलाई विश्वास गर । यो त्यही शरीर थियो, जो पृथ्वीसँग रहँदा निराश थियो ।  जसले आफ्नो अस्तित्वको ओठलाई ऊसँग बोलेको देखेको थियो ।

त्यसपछि उसले आफ्नो भारी टाउको उठायो । बिस्तारै अन्तिम पर्खाल पार गर्न खोज्यो । तर ऊसँग आफ्नो टाउको मात्र नभएर अर्को संसार पनि थियो ।

तसर्थ, चर्चा गरिएको अर्को संसार मानिसबाट गुपचुपसँग लुकाइएको छ । त्यो अमानवीय संसार, जो अनन्त शून्य हो । हो त ! अस्तित्वको ओठ मानिससँग बोल्दैन । जसले मानिसको रूप लिन बाहेक अर्थोक जान्दैन ।

साँच्चै नै, समस्त अस्तित्वलाई प्रमाणित गर्न निकै गाह्रो छ । त्यो भन्दा गाह्रो यसबारेमा बोल्न । मलाई बताओ न साथी हो ! यी समस्त  चीजहरूमध्येमा अर्को संसार सबैभन्दा अनौठो हुन पुगेको छैन र ?

अहंकार, जो यसको विरोधाभास र अन्योलतासँग निकै नै फतफताउँछ । यी समस्त सृष्टि, कामना र अहंकार लगायत अन्य चीजहरू नाप या मूल्य होइनन् ?

सबैभन्दा सीधा र सरल अस्तित्व नै अहंकार हो । जो शरीरको बारेमा बोल्छ, शरीर नै महान हो भन्ने संकेत देखाउँछ । जब उसको पखेटा टुट्छ, ऊ दुःखी हुन्छ, पीडाले खुम्चिन्छ र फत्फताउछ ।

ऊ प्रायजसो बढी नै इमानदार बन्न खोज्छ । यसको बदलामा उसले जति धेरै सिक्छ, शरीर र पृथ्वीको लागि उति नै उपाधि र सम्मान पाउँछ ।

एउटा नव घमण्ड, जसले मलाई अहंकारबारे सिकाएको छ । म त्यो अर्को मानिसलाई सिकाउँछु । आफ्नो शिर आकाशीय पिण्डले भरिएको बालुवामा खाँद्न नभएर, बरू त्यसलाई स्वतन्त्र छोड्न आवश्यक छ । जसको अर्थ पृथ्वी हो ।

नयाँ मानिसहरूलाई केही सिकाउनेछु । अरूले अन्धाधुन्ध पछ्याएको बाटो रोज्न भन्नेछु । त्यसलाई अनुमोदन गरेर आफ्नो रोगी बाटोबाट   अन्त नफर्कन भन्छु ।

रोगी र नाश हुनेहरू हो ! तिमीहरूले शरीर र पृथ्वीलाई तुच्छ ठान्यौ । स्वर्गीय संसारको आविष्कार गर्यौ । रगतका थोपाले भरिभराऊ भएकालाई माफ दियौ । पृथ्वीमै सुख दुःखका अनन्त विषहरू छन् । तैपनि तिमीहरूले एउटा ठूलो गल्ती गर्यौ, आफ्नो शरीरलाई पृथ्वीबाट उधारो लिएको भन्यौ ।

तिमीहरू आफ्नो दुःखबाट भाग्न खोज्यौ, त्यसपछि ताराहरू तिमीहरूबाट धेरै टाढा भागे । यो देखेर तिमीहरूले लामो सास फेर्यौ र भन्यौ, “अहो ! यहाँ त अनेकौं स्वर्गीय मार्गहरू रहेछन्, जसबाट अर्को अस्तित्व या खुशी लुट्न सकिन्छ ।” त्यसपछि नै त आफ्नो लागि अनेकौं मार्ग र रक्तपातपूर्ण नक्साहरू बनायौ ।

तिनीहरू, आफ्नो शरीरलाई पृथ्वीभन्दा बाहिरको संसारमा यात्रा गर्दै गरेको कल्पना गर्छन् । कस्तो कृतघ्न ! त्यो यात्रामा खुशीको कारण के थियो ? तिनीहरूको शरीर र पृथ्वीलाई त्यसबाट के सरोकार थियो हँ ?

बिरामीका लागि भने जराथुस्त्र नम्र हुन्छन् । तिनीहरूको सान्त्वना र कृतज्ञताको बाटोमा  क्रोध उत्पन्न गर्दैनन् । तिनीहरू निरोगी र विजयी बन्न सक्छन् । आफ्नो लागि आवश्यकता अनुसारको शरीर निर्माण गर्न सक्छन् ।

जराथुस्त्र, न आफ्नो भ्रमलाई कोमल नजरले हेर्नेसँग रिसाएका छन्, न त मध्यरातमा आफ्नो ईश्वरको चिहान वरिपरि केही छ कि भनी चोर्नेसँग नै हिँड्छन् । तैपनि उनको आँसुमा रोगी र सशक्तको तस्बिर तैरिरहन्छ ।

अधिकांश रोगीहरू केही न केही मनन गरिरहन्छन्, त्यस्तै समूह निर्माण गर्छन् ।  ईश्वरको लागि भने अति नै सुस्त छन् । उनीहरू यस्तो छन् कि, विवेकले भरिएकोलाई  घृणा गर्छन् । सबैभन्दा महान् र नयाँ सद्गुण, जो इमान्दारी हो ।

तिनीहरू सधैं पछाडि फर्ककन्छन् र कहालीलाग्दो युगलाई हेर्छन् । भ्रम र विश्वास वास्तवमै फरक चीज थिए । केही कारणले पीडित हुनु ईश्वरको प्रतिरूप हो भने, शङ्का गर्नु पाप ।

ती ईश्वरीय व्यक्तिहरूलाई मज्जाले चिन्छु । तिनीहरू विश्वास गर्नमा खुब जिद्दी गर्छन् । शङ्का पाप हो, चाहे त्यो असल नै किन नहोस् । मलाई यो कुरा थाहा छ कि तिनीहरू आफूलाई धेरैभन्दा धेरै विश्वास गर्छन् ।

साँच्चै नै, तिनीहरू अर्को संसारमा जन्मेका हुन् । तिनका रगतका थोपाहरू स्वतन्त्र हुँदैनन् । तैपनि आफ्नो शरीरमा भने निकै विश्वास गर्छन् । आफ्नै शरीर नै तिनीहरूको लागि अनौठो चीज हो ।

तर यो तिनीहरूको लागि दुःखको कुरा हो, त्यही भएर आफ्नो छालाबाट ढुक्क हुँदै बाहिर निस्कन्छन् । यसकारण तिनीहरू मृत्युबारे प्रवचन दिनेको कुरा सुन्‍छन्, सुनेको त्यो कुरा आफ्ना साथीहरूलाई सुनाउँछन् ।

मेरा प्यारा साथीभाइहरू, बरू स्वस्थ शरीरको कुरा सुन । यो नै असल र शुद्ध आवाज हो ।

स्वस्थ शरीर शुद्ध अनि विनम्र हुँदै बोल्छ । स्वच्छताले निर्माण गरेको शब्द बोल्छ । यसले धरतीको अर्थ खुलाउँछ ।

यसरी जराथुस्त्र बोले ।

 

 ४

शरीरलाई अपमान गर्नेहरू

 

शरीरको अपमान गर्नेहरूलाई भन्छु, म चाहान्छु कि उनीहरूले न नयाँ कुरा सिकून्, न त सिकाउन् नै । बरू आफ्नै शरीरलाई विदाई गरून् र मौन भई बसुन् ।

“म शरीर र आत्मा दुवै हुँ,” बालक यसो भन्छ । के उनीहरूले बालकको भाषा बोल्नुहुँदैन ?

तर जागा जो छ, उसले भन्छ, “म नै शरीर हुँ, शरीर बाहेक अरू केही होइन । आत्मा त शरीरमा भएको कुनै चिजको नाम मात्र हो ।”

शरीर विशाल मन हो । एउटै ज्ञानको बाहुल्यता हो ।  युद्ध र शान्ति हो । भेडा अनि गोठालो हो ।

तिम्रो शरीरको एउटा अंग समेत तिम्रो सानो विवेक हो । मेरो साथी, जसलाई तिमीले ‘आत्मा’ भन्छौ, जो तिम्रो विशाल मनको सानो अंग या खेलौना हो ।

जसलाई तिमी ‘अहंकार,’ भन्छौ, त्यो शब्दमा जोश छ । तर मुख्य कुरा, जसलाई तिमी विश्वास गर्न चाहँदैनौ, यसमा तिम्रो शरीर बुद्धिमान कहलिन्छ । यसले ‘अहंकार’ भन्दैन, तर अहंकारको गर्व गर्छ ।

भावनाले के महसुस गर्छ, आत्माले के बुझ्छ, यसको अन्त्य आफैँमा हुँदैन । तर भावना र आत्माले तिमीलाई बताउँछ कि सबै चीजको अन्त्य हुन्छ । तिनीहरू व्यर्थ छन् ।

संगीतहरू भावना र आत्मा हुन् । तिनीहरूसँग आत्मा सधैँ रहिरहन्छ । इन्द्रियको आँखाले आत्मालाई खोज्छ, आत्माको कानले इन्द्रियको आवाज सुन्छ ।

जो आफूलाई सुन्ने र खोज्ने गर्छ, उसले तुलना गर्छ । गुणगान गाउँछ । विजयी हुन्छ र हार्छ । शासन पनि गर्छ । ऊ अहंकारको शासक पनि हो ।

मेरो साथी, तिम्रो विचार र भावनाको पछाडी एउटा पराक्रमी ईश्वर छ । एउटा अज्ञात महापुरुष, जसलाई आत्मा भनिन्छ । ऊ तिम्रो शरीरमा बस्छ । ऊ तिम्रो शरीर हो ।

तिम्रो उत्कृष्ट चेतनामा भन्दा शरीरमा धेरै चेतना छ । आखिर कसलाई थाहा छ र, तिम्रो शरीरलाई किन उत्कृष्ट चेतना चाहिन्छ ?

तिम्रो स्वार्थ अहंकार र घमण्डको साथमा हाँसेको छ । “मेरा लागि यी कल्पनाका उडानहरू के हुन् ?” यसरी ऊ आफैँसँग बोल्छ । “मेरो उद्देश्यको लागि एउटा मार्ग चाहिएको छ । म अहंकारको मुख्य स्टेरिङ हुँ, विचार तथा योजनाको मुखिया हुँ ।”

आत्माले अहंकारलाई भन्छ, “पीडा महसुस गर !” त्यसपछि उसले पीडा भोग्छ । भोग्दा भोग्दै अति भएपछि सोच्दछ कि यसको अन्त्य कसरी गर्ने ? त्यही सोच उसको उद्देश्य हो ।

आत्माले अहंकारलाई भन्छ, “आनन्द महसुस गर !” त्यसपछि ऊ आनन्दित हुन्छ । त्यसपछि सोच्दछ, कहिलेकाहीँ चाहिँ आनन्द कसरी आउँछ ? त्यही सोच उसको उद्देश्य हो ।

शरीरको अपमान गर्नेहरूलाई एउटा शब्द भन्छु । तिनीहरू आफूलाई अरू सम्मानित भएको देखेर घृणा गर्छन् । यो के हो ? जसले सम्मान र घृणाको मूल्य सिर्जना गर्यो ?

सृष्टिकर्ता स्वयंले आफूलाई सम्मानित र घृणित बनाए । आफ्नै लागि आनन्द र शोकको सृष्टि गरे । सृष्टि गर्ने शरीरले आत्मालाई आफ्नो इच्छाको हात बनायो ।

आफ्नो मूर्खता र घृणामा समेत तिमीहरू प्रत्येकले आ-आफ्नो सेवा गर्छौ, शरीरलाई अपमान गर्नेहरू हो, म तिमीहरूलाई भन्दछु, तिम्रो स्वयं मर्न चाहन्छ । जीवनबाट टाढिन चाहन्छ ।

तिम्रो आत्माले अब त्यो गर्न सक्दैन, जुन उसले अति नै चाहेको छ । इच्छाभन्दा बाहिरको चीज सृष्टि गर, जुन सबैलाई चाहिएको छ । त्यो तिम्रो आफ्नै होस हो ।

तिम्रो मनोकामना पूरा गर्न अब निकै ढिलो भइसकेको छ । शरीरलाई अपमान  गर्नेहरू हो ! अब तिम्रो आत्मा आत्मसमर्पण गर्न चाहन्छ ।

ऊ आत्मसमर्पण गर्न चाहन्छ । तिमीहरूले शरीरलाई निकै तुच्छ ठान्यौ । अब तिमीहरू आफूभन्दा बाहिरको चीज सृष्टि गर्न सक्दैनौ ।

यही कारण तिमीहरू जीवन र जगतसँग रिसाएका छौ । त्यही बेहोसी ईर्ष्या, जुन तिमीहरूको अनुहारमा देखिन्छ ।

शरीरलाई अपमान गर्नेहरू हो ! म तिमीहरूको बाटो हिँड्न सक्दिनँ । मेरो लागि तिमीहरू महामानवसम्म पुग्ने मार्ग होइनौ ।

जराथुस्त्र यसरी बोले ।