बेलायत र अमेरिकामा जासूसी उपन्यासहरू निकै रूचाइन्छ । माइक हेरोनको स्लो हर्सेस शृंखला उपन्यास निकै बिक्री हुने उपन्यास शृंखलामध्येमा गनिन्छ । बेलायती उपन्यासकार माइकले बेलायती गुप्तचर संस्था एमआई फाइभका असफल एजेन्टहरूको समूहला स्लग हाउस नामक ठाउँमा राखिएको र तिनको काम फितलो मानिने भएकाले उनीहरूलाई कसैले पनि नगन्ने हुन्छ ।

यो शृंखलाको मुख्य पात्र ज्याक्सन ल्याम्ब असभ्य, कुरूप, हास्यास्पद छ । सारा कमजोरीका बाबजुद उसको अन्तर्दृष्टि गहिरो हुन्छ र स्लग हाउसमा रहेका असफल एजेन्टहरूको नेतृत्व गर्ने गर्छ ।

यो उपन्यासको सफलताको कथा कम रोचक छैन । यसको सफलताकै कारण अहिले एप्पल टीभी प्लसले सन् २०२२ देखि शृंखला बनाएर प्रसारण गरिरहेको छ । चौथो सिजन गत वर्ष २०२३ मा रिलिज भएको थियो ।

यसको सफलतासँगै अमेरिकामा लेखक मिक हेरोनको खोजी र स्वागत रक स्टार बराबरको हुने गर्छ । बेलायतको अक्सफोर्डमा स्थायी बसोबास गरिरहेका उनलाई गत साता अमेरिकाको नासभिलस्थित बारमा छलफल कार्यक्रममा निमन्त्रणा गरिँदा उनको स्वागत एउटा रक स्टार बराबर गरिएको थियो । त्यहाँ उनी क्राइम मिस्ट्री थ्रिलर सम्मेलनमा मुख्य वक्ताका रूपमा निम्त्याइएको थियो ।

अचेल उनका साथीहरू निकै ठूलो ओहदामा हुनेहरू छन् । उनलाई अचेलका सबैभन्दा प्रिय जासूसी उपन्यासकार मानिन्छ । कतिसम्म भने उनलाई जोन ले कारपछिको उत्कृष्ट जासूसी उपन्यासकार मानिएको छ ।

माइक हेरोन

कुनै समय उनको उपन्यास कसैले पनि पढ्दैनथे । यो धेरै समय पनि भएको छैन । पहिले उनी पाठकका लागि होइन, आफ्ना लागि लेख्थे । उनले आफ्नो ब्लकबस्टर शृङ्खलाको पहिलो पुस्तकहरू प्रकाशित गर्दा उनी एउटा सामान्य अफिसका कामदार थिए । उनको उपन्यास कम बिक्री भयो भनेर प्रकाशकले पनि त्यागिदिएको अवस्था थियो । तर पछि समय यसरी पल्टा खायो कि उनका पुस्तकहरू ४० लाखभन्दा बढी बिक्री भइसकेका छन् ।

उनले सन् २०१० यता सफलता पाउन थालेका हुन् । त्यसयता उनले स्लो हर्सेस शृंखलाका आठ उपन्यास बजारमा ल्याइसकेका छन् । ती आठ उपन्यासमध्ये कुनै पनि एउटा पढ्नु भएको छ भने उनलाई किन यति धेरै रूचाइएको होला भनेर बुझ्न तपाईंलाई कठिन हुँदेन ।

वाल स्ट्रिट जर्नलले हालै उनका बारेमा एउटा फिचर लेखेको छ, जसमा भनिएको छः उनका उपन्यासका पात्रहरू शानदार, रमाइला र अन्य जासूसी कथाहरू जस्ता छैनन् । उनका उपन्यासहरू ले कारेको द अफिसजस्तै छ ।

हेरोनका पात्रहरू खराब जासूस छन् । एमआई ५ का असफल र कतै मेल नखानेहरूको यो समूह निर्वासित जीवनबाट वाक्कदिक्क भएर भाग्न चाहन्छन् । उनी असफल पात्रहरूको बारेमा लेखेर सफलता कमाउन चाहिरहेका थिएनन् । उनका पुस्तकले सफलता हासिल गर्न निकै लामो समय लाग्यो र यो सफलता वा त्यसअघिको असफलता पनि उनको नियन्त्रणबाहिरको अवस्थामा थियो ।

उनको स्पष्ट प्रतिभाको बावजुद, ६१ वर्षीय हेरोनले आफ्नो करियरका महत्वपूर्ण क्षणहरूमा उनलाई विश्वास गर्ने सही मानिसहरू, भाग्य र संयोगहरूको कारण साहित्यिक सनसनी बन्न पुगे । यो सफलता उनले निकै ढिला गरी प्राप्त गरे । यो यति सुस्त गतिमा भयो कि उनलाई यसमा कुनै आश्चर्य भने लागेन ।

उनले वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा भनेका छन्, ‘यो उपन्यासहरू चर्चित नभएको भए शायद म त्यही अफिसमा बसिरहेको हुन्थेँ, त्यहीँ काम गरिरहेको हुन्थेँ । तर कुनै न कुनै बेला यी कामका बारेमा खोजी हुन्छ भन्ने विश्वासमा चाहिँ थिएँ किनभने मजस्ता पाठकहरू कहीँ त होलान् भन्ने मलाई विश्वास थियो ।’

तर जीवनमा कहिल्यै सफलता पनि पाउन नसकूँला भनेर उनी आफूलाई तयारी अवस्थामा पनि राखेका थिए । उनी कहिलेकाहीँ सोच्छन्, ‘मेरो जीवनको अन्त्यकालतिर थुप्रिएका पाण्डुलिपिहरू कुनै चटपटे बेच्नेले बेरबार पारेको अवस्थामा फेला पर्न पनि सक्थ्यो ।’

उनी जागिर खान अक्सफोर्डबाट लन्डन आवतजावत गरिरहन्थे । उनी चाँडै अफिस आउँथे ताकि चाँडै फर्कन सकून् । जब उनी साँझ ६ बजेतिर घर फर्कन्थे, एक घण्टा लेख्ने ऊर्जा हुन्थ्यो । यसै अवधिमा उनले पाँचवटा डिटेक्टिभ उपन्यासहरू लेखे तर तिनीहरूले “संसारलाई उज्यालो पारेनन् ।” तिनको असफलताका कारण पूर्णकालीन लेखक हुने उनको सपना अधूरै रह्यो ।

सन् २००५ को जुलाई ७ मा लन्डनमा आत्मघाती बम विष्फोट भएपछि भने उनले लेख्ने प्राथमिकता परिवर्तन भयो । उनलाई जासूसी उपन्यास लेख्नुपर्छ भन्ने लाग्न थाल्यो तर त्यसका लागि उनलाई पर्याप्त जानकारी थाहा थिएन । उनी काम गर्ने गरेको एउटा सानो अफिस पहिले आकारमा सानो थियो तर समयक्रममा त्यो यति ठूलो भयो कि साह्रै अव्यवस्थित हुन थाल्यो । उनले आफ्नो त्यही अनुभवलाई उपन्यासमा उकेरे ।

“जुन कुरा ठूला अफिसमा हुन्छ, त्यही कुरा कुनै जासूसी सेवामा पनि हुन्छ” भन्ने हेरोनले बुझे । हरेक संगठनमा यसका असफलताहरूको दोष तल्ला कर्मचारीहरूमाथि थोपर्ने गरिन्छ । उनले तल्ला क्रमका अल्छ्याहा मानिएका जासूसहरू कस्ता हुन्छन्, उनीहरू कसरी काममा असफल बन्न पुग्छन् भन्ने कल्पना गर्दै गर्दा एउटा गज्जबको उपन्यास तयार हुने बुझे । यो लेख्दै गर्दा बल्ल उनले आफ्नो कलमले निकास पाएको महसुस गरे । यही उपन्यास स्लो हर्सेस हो । २०१० मा प्रकाशित भएपछि यो उपन्यास सुपर फ्लप भयो किनभने कसैले पनि यसप्रति चासो देखाएनन् ।

उनको यो उपन्यास पछि डेड लायन्स लेखेर ठिक्क पारेका थिए तर कोही पनि स्लो हर्सेसको अर्को भाग प्रकाशन गर्न तयार थिएनन् । त्यसै पनि प्रायः बेलायतमा सिक्वल उपन्यासको उति धेरै माग हुँदैन । तर उनका एजेन्टलाई भने उनका उपन्यासमाथि विश्वास थियो । उनले कयौँ प्रकाशकको ढोका ढक्ढक्याइरहे ।

अमेरिकाको सोहो प्रेसले प्रायः क्राइम थ्रिलर छाप्ने गर्थ्यो । यो स्वतन्त्र प्रकाशन गृह हो र न्युयोर्कमा यसको कार्यालय छ । उनका एजेन्टले त्यही सोहो प्रेसलाई सम्पर्क गरे । सोहोले केही समयअघि मात्र बेलायती उपन्यासलाई अमेरिकामा वितरण गर्ने सम्झौता रद्द गरिसकेको अवस्था थियो । प्रकाशक जुलियट ग्राम्सले स्लो हर्सेस पढेकी थिइनन् तर उनका एजेन्टले जुलियटलाई प्रभावित पार्न दोस्रो भाग डेड लायन्समाथि निकै मिहिनेत गरे र जुलियटलाई पठाए ।

जब जुलियटले यो उपन्यास पढिन्, उनलाई बडो स्वाद आयो । त्यसपछि तत्कालै डेड लायन्स प्रकाशन गरिने भयो । यो खबरले भने उपन्यासकार मिक हेरोनलाई खासै उत्साहित तुल्याएन । बेस्टसेलर नभए पनि किताब छापिने कुराले उनलाई उत्साहित बनाएको थियो ।

पाण्डुलिपिमै उपन्यास अड्किनुभन्दा कम्तीमा आफ्नो घरमा प्रकाशित असफल उपन्यासको प्रति राख्नु पनि उनका लागि कम्ता मज्जा आउने कुरा थिएन ।

उनको उपन्यास डेड लायन्स सन् २०१२ मा प्रकाशित भएलगत्तै उनको सो पुस्तक क्राइम राइटर्स एसोसिएशनले उत्कृष्ट उपन्यासका लागि मनोनित गर्यो । उनी सो मनोनयनको फाइनलिस्टसमेत भए । धेरैले उनलाई अब यो पुरस्कार हात पार्ने भइस् भनेर हौस्याउँदा उनले भन्थे, ‘बरू मैले ओलम्पिकमा स्वर्ण जितूँला, यो पुरसकार जित्ने सम्भावना छैन ।’

तर २०१३ मा उनको डेड लायन्स उपन्यासले सर्वोत्कृष्ट उपन्यासको पुरस्कार जित्यो । पुरस्कार जितेसँगै किताबको बिक्री बढ्न थाल्यो । यही बेला बेलायती फिल्म कम्पनीले उनका पुस्तकहरूको टीभी अधिकारका लागि प्रस्ताव राख्यो । यति हुँदाहुँदै पनि उनले सन् २०१७ को जनवरीसम्म पुरानो जागिर छाडेनन् ।

आफ्नो लेखनप्रति मोह तर जीविकाप्रति उति विश्वास नभएर नै उनले जागिर छाडेका थिएनन् । यसैबीच अमेरिकाको सियाटलमा रहेको एउटा पुस्तकालयकी सञ्चालिका न्यान्सी पर्लले नेशनल पब्लिक रेडियोमा स्लो हर्सेसको प्रशंसा गरिन् । सात वर्ष पुरानो सो पुस्तकका बारेमा त्यतिञ्जेल अमेरिकामा कसैले खोजेको थिएन । रेडियो चर्चालगत्तै प्रकाशक सोहोले २ हजार प्रति छाप्यो । एकै दिनमा त्यो बिक्री भएपछि अर्को २० हजार छाप्यो । त्यो पनि एक महिनामै बिक्री भयो ।

यसपछि भने स्लो हर्सेस अमेरिकामा मात्र १० लाखभन्दा बढी बिक्री भइसकेको छ । सोहो कम्पनीका लागि स्लो हर्सेस र लेखक दुवै सबैभन्दा बढी बिक्री हुनेहरूमा पर्छन् । यो सबै यति असम्भव र अनपेक्षित थियो कि जब कसैले उनलाई तपाईंको सफलताको रहस्य के हो भनी सोध्छन्, उनी भन्ने गर्छन्, ‘भाग्यमानी हुनू । तपाईंसँग प्रतिभा हुनसक्छ, तपाईंको लेखन राम्रो हुनसक्छ तर अभागी हुनुभयो भने तपाईंका सारा प्रतिभा खेर जान्छन् ।’

सन् २०१४ मा मार्क रिचर्ड्स नामक एक पुस्तक सम्पादक लिभरपूल स्ट्रिट स्टेसनमा हिँड्दै गर्दा उनको पुस्तक देखे । मार्कले त्यही उपन्यास किन उठाए, उनलाई नै थाहा छैन तर उठाए । उनलाई उत्सुकताले उठाउन बाध्य पार्यो । लेखक हुन्, बेलायती तर त्यहाँ स्लो हर्सेसको अमेरिकी संस्करण थियो । उपन्यासको शुरूवातमा जोन बेरीमनको कविताको एक पंक्ति लेखिएको छः इपिग्राफका रूपमा । पहिलो वाक्यले नै उनलाई आकर्षित गर्यो । उनले पुस्तक किने, पढे, मन पराए र सोचे: सायद अरू मानिसहरूलाई पनि यो मनपर्नेछ। उनले लेखकलाई सम्पर्क गरे, उनलाई लन्चको लागि भेट्ने प्रस्ताव राखे र प्रकाशक हाचेट यूकेको एउटा इम्प्रिन्टका लागि स्लो हाउस उपन्यासहरूको अधिकार लिए ।

यसरी माइक हेरोन बेलायती प्रकाशन गृहमा पुनः सामेल भए। त्यसले पहिला दुई पुस्तकहरू पुन: प्रकाशित गर्‍यो र केही नयाँ कभरहरू प्रयोग गर्यो । अन्ततः जासूस क्लासिकहरूको ओमिनस, कालो-सेतो लुकलाई कभर बनाउने निर्णय भयत्र । अर्को पुस्तकको बजारमा ल्याउन इम्प्रिन्टले लेखकका बारेमा होहल्ला शुरू गरियो । साहित्यका प्रभावशाली व्यक्तिहरूलाई उनका उपन्यासमाथि टिप्पणी गर्न, उनलाई समर्थन गर्न उत्प्रेरित गरियो । माइकका सबैभन्दा ठूला प्रशंसकहरू मध्ये एक वाटरस्टोनका प्रमुख कार्यकारी जेम्स डन्ट पनि थिए । उनी बेलायतको सबैभन्दा ठूलो पुस्तक पसल चेन चलाउँथे । माइक र जेम्सबीच एउटा रेस्टुराँमा भेट हुने तय भयो ।

यो भेटपछि वाटरस्टोनले २०१७ को अगस्टमा आफ्नो थ्रिलर अफ द मन्थको रूपमा स्लो हर्सेसलाई चयन गर्यो । यो उपन्यास फ्लप भएको पुरै सात वर्ष भइसकेको थियो तर त्यसपछि उपन्यासको सफलता दौड शुरू भयो। माइक हेरोनका स्लो हर्सेस उपन्यास र त्यसपछिका अन्य शृंखलाहरू बेलायतमा ३० लाख बिक्री भइसकेका छन् ।

जसले उनको पहिलो उपन्यास पढ्छन्, त्यसपछि उनका अन्य शृंखलाहरू खोजीखोजी पढ्छन् । यसको कारण चाहिँ एप्पल प्लस टेलिभिजनले बनाएको शृंखला नै हो, जसमा गेरी ओल्डम्यानजस्ता प्रख्यात अभिनेताले अभिनय गरेका छन् । उनका उपन्यास टेलिभिजनमा देखिएलान् भन्ने कहिल्यै कल्पना थिएन । माइक जगरजस्ता प्रख्यात रक स्टारले उनको पुस्तकका लागि गीत गाउलान् भन्ने त झन् सोचमै थिएन । अहिले पनि उनलाई लाग्छ, यी सबै सफलता उनको निजी होइन, यो त अर्कै व्यक्तिले सफलता हासिल गरिरहेको छ ।

उनी भन्छन्, “मैले यी सबैबाट लिएको मुख्य पाठ के हो भने तपाईं आफ्नो करियरको आधा मात्र सफल हुनुभयो भने, त्यसलाई दोस्रो आधामा बनाउनूहोस् । पहिलो आधामा नै तपाईं सफल हुनुहुन्छ भने त्यो दुःखान्त हुनसक्छ । तर जो दोस्रो आधामा सफल हुन्छन्, उनीहरू सुखान्तका पर्याय हुन्छन् ।”