‘कवितालाई त माया मार्नु भएछ नि ?’ उनको कुरा सुन्दै जाँदा मलाई अचानक सोध्न मन लाग्यो । ‘गीत संगीतको बाटोमा हिंड्न थालेपछि कविताको यात्रा पातलिएकै हो’ उनले स्वीकार गरे । अहिले उनी पुराना प्रमाण पत्र हेर्दै, सुमसुम्याउँदै रमाउने गर्छन् । कवितालाई धेरै समय दिन नसके तापनि लेख्न भने छोडेका छैनन् । कवितासंग्रह प्रकाशन गर्ने योजना समेत उनले बुनेका छन् । ए ! म कवि/गजलकार/गीतकार विपिन किरणको कुरा गरिरहेको छु ।

विपिन किरणसँग भएको यो भेटलाई योजनाबद्ध भनौं अकस्मात् अथवा जुर्न पुगेको के भनौं थाह छैन । जे होस् भेट भयो । त्यही भेटले थाह दिएको उनको जीवनका केही रमाइला नरमाइला घटनाहरूसँग भेटाउँछु है ?

कविताको हुटहुटीले २ दिने पैदल यात्रा

यो प्रसङ्ग उठाउनु भन्दा अघि विपिनको बारेमा थोरै कुरा गर्छु । खोटाङ बाघशिला जन्मघर भएका विपिनको पुर्ख्यौली थलो भने सावा कटहरे हो । बुवाको जागिरको सिलसिलामा किरणको परिवार बाघशिला पुग्दा उनको जन्म भएको थियो । यद्यपि उनले आफ्नो अधिकांश बाल्यकाल आफ्नो मावली भोजपुर (भुल्के) बिताए । जुन उनको लागि फलदायी पनि रह्यो । साहित्यिक वातावरण रहेको मावली घरले उनलाई त्यसतर्फ रुचि बढाउन सहयोग गर्‍यो ।

यसरी साहित्यिक माहोलमा हुर्किएका विपिनले कविताबाट आफ्नो साहित्यिक यात्रा शुरू गरेका हुन् । स्कूल तथा जिल्लामा भएका साहित्यिक कार्यक्रमहरू उनी हरसम्भव पुग्ने प्रयास गर्थे । यसैबीच कक्षा १० मा पढ्ने क्रममा उनले एक प्रतियोगितामा भाग लिए । भोजपुर जिल्लाकै शारदा मा.वि झ्याउँ पोखरीमा आयोजना भएको उक्त प्रतियोगितामा उनी छानिए ।

प्रतियोगितामा भाग लिन करिब २ दिनको पैदल यात्रा तय गर्नुपर्ने थियो । त्यतिवेला यातायातको उचित व्यवस्था नभएका कारण मान्छेहरू हिंडेर जान बाध्यता थिए । ‘साढे दुई घण्टा हिंडेपछि सदरमुकाम पुगिन्थ्यो,’ उनले भने, ‘त्यहाँबाट उत्तरतर्फ लाग्नुपर्थ्यो । लामो समय जङ्गलको कष्टकर यात्रा गर्नुपर्थ्यो ।’

उक्त जङ्गलमा जङ्गली जनवारहरूको पनि उत्तिकै त्रास रहने गर्थ्यो । परिवार निकै बेर असमञ्जसमा परेपछि उनलाई जाने अनुमति दिइएको थियो । यस जिल्ला स्तरीय प्रतियोगितामा उनी द्वितीय भएर फर्किएका थिए । स्कुले जीवनको यो घटना उनी सम्झिरहन्छन् ।

पहिलो गजल / पहिलो रेकर्ड

स्कूले जीवन सकेर उनी काठमाडौं आए । कक्षा १२ उत्तीर्ण गरेर नेपाल कमर्स क्याम्पसमा भर्ना नहुँदासम्म उनी साहित्यिक गतिविधिमा संलग्न भएनन् । नेपाल कमर्स क्याम्पसमा उनको रुचिले ऊर्जा प्राप्त गर्‍यो । गति पायो । कलेजमा साहित्यिक गतिविधि निकै हुने गर्थ्यो । गजलको पनि राम्रो माहोल बनिरहेको थियो । माहोल र रुचि मिलेपछि उनले विभिन्न तालिमहरू लिए । कार्यक्रमहरूमा सहभागी पनि हुन थाले । त्यतिबेलाको समय स्मरण गर्दै उनी भन्छन्, ‘शनिवार त हामीलाई फुर्सद नै हुँदैन थियो ।’

उनले लेखेको पहिलो गजल मिनभवन क्याम्पसको स्वागत कार्यक्रममा गाइएको थियो । मदन गोपाल नाम गरेका उनका साथीले संगीतबद्ध गरेर उक्त गजल गाएका थिए ।

‘बिर्सिदिन्छु अब सबै मायालुका हातहरू

सँगै बाँच्ने, सँगै मर्ने प्रियसीका बातहरू’

बोलको उक्त गजल कार्यक्रममा गाइएको थियो । बिस्तारै मदनसँग उनको घनिष्ठता बढ्दै गयो । मदनले उनका धेरै गीत/गजल संगीतबद्ध गरे । किरणको पहिलो रेकर्डेड गीत समेत ०६० सालमा मदनको अलमस्ट भन्ने एल्बममा समावेश गरिएको थियो ।

‘मेरो मनको फूलबारीमा बहार लिई आयौ,
यस्तो लाग्छ तिमीले मेरो जीवन जगमगायौ’

बोलको उक्त गीत नै किरणको पहिलो रेकर्डेड गीत हो । यसरी साहित्यिक गतिविधिमा उनी बिस्तारै भिज्दै जानथाले ।

पहिलो एल्बम

उनका गजलहरूमा संगीत भर्ने, रेकर्ड गर्ने कामहरू भइरहेका थिए । केही गजल विकास चौधरी, राज सागरले पनि संगीतबद्ध गरे । विद्यार्थी जीवनको सङ्घर्ष चलिरहेकै थियो । यसैबिच उनको भेट महेश खड्कासँग भयो । उनका भाइ सोही क्याम्पसमा पढ्ने रहेछन् । विभिन्न साहित्यिक कार्यक्रममा उनले विपिनको रचना सुनिरहेका थिए । उनैले विपिनलाई आफ्ना दाजु महेश खड्कासँग भेट्ने चाँजोपाँजो मिलाए ।

खड्कासँग भेट्दाका शुरूआत दिनहरू किरणको पक्षमा रहेनन् । उनले जुन गीत लगेर देखाए पनि ‘अर्को लेख’ भन्दै खड्का किरणलाई फर्काउने गर्थे । यो सिलसिला लामो समयसम्म चल्यो । कुनै समय किरणलाई चित्त पनि दुख्यो । ‘जति लेखे पनि अस्वीकार मात्र हुन्छ’ भन्ने लाग्यो ।

किरणको १८/२० वटा गीत अस्वीकार भएपछि अन्ततः दुइटा गीत महेश खड्काले संगीतबद्ध गरे । जुन महेश खड्काकै एकल संगीत रहेको एल्बम ‘पछ्यौरी’मा समावेश समेत भयो । उदित नारायणको स्वर रहेको ‘तिम्रो पछ्यौरी उडायो हावाले मैले छुन सकिन’ बोलको गीत तत्कालीन समयमा निकै चर्चित भयो । यो पछ्यौरी एल्बमको शीर्ष गीत रहेको थियो । त्यसैगरी ‘तिम्रो नजर भुलाउन’ बोलको गीतमा साधना सरगमको स्वर रहेको थियो ।

त्यसपछि दिनमा उनी एक विद्यालयमा पढाउन थाले । कीर्तिपुर बस्ने विपिन कलेजको लागि हरेक दिन मीन भवन आउँथे र पढाउन कालीमाटी जान्थे । साथै गीत संगीतको माहौल पछ्याउँदै पुतलीसडक पुग्थे । यो दौडादौडका बीच एक दिन उनले संगीतकार महेश खड्कासँग आफ्नो एल्बम निकाल्ने प्रस्ताव राखे । एल्बमका लागि २ गजलमा विकास चौधरीले संगीत भरिरहेका थिए । एउटा गजल राज सागरले संगीत गरेका थिए । त्यसबेला ८ वटा गीत राखेर एउटा एल्बम निकाल्ने चलन रहेको थियो । थप पाँच वटा रचना चाहियो । लेखिसकेपछि केही गीत महेश खड्कासँग र केही सुरेश अधिकारीसँग गर्ने सल्लाह भयो ।

महेश खड्कासँग ‘ए जून’ भने गीत दीपक लिम्बुले गाए । ‘टुट्यो तारा आकाशमा’ इन्दिरा जोशीले गाइन् । सुरेश अधिकारीसँग रूपक डोटेलीले र पुष्पा पौडेलले गाए ।

एल्बम तयार भए पनि बजारमा आउन लामो समय लाग्यो । उनी लगभग नेपालमा भएका सबै म्युजिक कम्पनीमा धाए । अस्वीकारको लामो अवधि चल्यो । उनी यस क्षेत्रमा नयाँ भएकाले अन्यौलता थियो ।

एक दिन उनले आलोक नेम्बाङलाई फोन गरे । त्यति बेला भर्खर-भर्खर नोकिया मोबाइलमा गीत सुन्न/हेर्न मिल्ने वातावरण बन्दै थियो । आलोकले विपिनको चर्चित गीत ‘तिम्रो पछ्यौरी’को भिडियो बनाएका रहेछन् । उनले फोन गरेर ‘म विपिन किरण’ भन्नासाथ ‘ए तपाईं फलानो गीत लेख्ने मान्छे हो ?’ भन्ने जवाफ आयो । उनी फुरुङ्ग परे ।

आफ्नो एल्बम कतै ननिकाली दिएर बिजोग भएको बेलामा त्यस्तो सुन्दा उनलाई निकै आनन्द आयो । आशाको एउटा दियो बल्यो । आलोकले विपिनलाई भेट्न बोलाए । उनले आलोकलाई गीत जिम्मा लगाए । आलोकले एउटा कम्पनीलाई अनुरोध समेत गरिदिए ।

अन्ततः रञ्जनाबाट उनको यो एल्बम बजारमा आयो । त्यति बेलासम्म ‘न बिर्सें तिमीलाई’ बोलको उनको गीत निकै लोकप्रिय भइसकेको थियो । ४५/५० हजार सीआरबिटि डाउनलोड भएको थियो । उक्त एल्बम निकै लोकप्रिय भयो । त्यसपछि उनी साहित्यिक संसारभन्दा सांगीतिक दुनियाँतर्फ अलिक बढी रमाउन थाले ।

बिर्सें तिमीलाई…

विभिन्न किसिमका साहित्यिक गतिविधिमा सक्रिय भएर लागेका विपिन र उनका साथीहरूले ‘अनाम मण्डली’ भन्ने संस्था बनाएका थिए । सोही अनाम मण्डलीबाट मोती जयन्ती मनाउने कुरा उठ्यो । जसमा उनको पनि गजल गायनको सूचीमा पर्‍यो । ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ बोलको गजल राष्ट्रसभा गृहमा प्रस्तुत भयो । गीत धेरैले रुचाए । फलतः एल्बममा यो गजलले पनि स्थान पाउने नै भयो । यसमा महेश खड्काको संगीत र अन्जु पन्तको आवाज रहेको छ । यसको पुरुष भर्सन चाहिं जगदीश हमालले गाएका छन् ।

शुरूवातमा लेखेका उनका गजलहरूमै ‘न बिर्सें तिमीलाई’ पनि रहेको उनी बताउँछन् । ०६०/६१ सालतिर जुन बेला उनी गजल लेख्न सिक्दै थिए । त्यही क्रममा उनले यो गजल लेखेका थिए । यद्यपि यो गजललाई पुरा गर्न भने निकै सकस भएको थियो । करिब ६ महिना लगाएर तयार भएको गजल ०६२ सालको अन्तर्बोध भन्ने पत्रिकामा पहिलो पटक छापिएको थियो ।

गजलको रेकर्ड हुने अवस्थामा पुग्दासम्म उनी यसको बारेमा सोचिरहेका थिए । अन्तिमको शेर ‘अनायासै मेरो दुख्यौ जिन्दगीमा, परेली भिजाई बगाएँ तिमीलाई’ रेकर्ड हुँदा हुँदै थपिएको शेर हो ।‘ उनी भन्छन्, ‘अन्तर्बोधमा छापिएको गजलमा यो शेर छैन ।‘

अहिले उनी दुइटा कृति प्रकाशन गर्ने तयारीमा रहेका छन् । जसमध्ये एक गीतसंग्रह रहेको छ भने अर्को गजलको कृति निकाल्ने उनको तयारी रहेको छ । गीतको कृति भने ०८१ सालभित्रै आउने उनी बताउँछन् । हालसम्म उनले ‘किरण १ देखि ५’, सुरभि १/२, रूपम, प्रत्युस, हाम्रो मुस्ताङ, करेसाबारी गरी ११ एल्बम बजारमा ल्याइसकेका छन् । ।

व्यापारिक कामहरू गरिरहँदा कहिलेकाहीं अलिकति पर गएर काम गर्दा छुट्टै आनन्द आउने उनी बताउँछन् । पूर्व मेचीदेखि कालीसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने संस्था ‘जनचेतना नेपाल’सँग सहकार्य गरी त्यसको शीर्ष गीत ‘जन जनमा जनचेतना’ उनले पछिल्लो समय लेखेको गीत हो । यसैगरी मुस्ताङको वर्णन गरिएको, करेसाबारीको महत्त्व झल्किने लगायतका गीतहरू पनि उनले लेखेका छन् । कहिलेकाहीँ यसरी फरक किसिमका गीतहरू रचना गर्न पाउँदा छुट्टै आनन्द आउने उनी बताउँछन् ।