मोबाइलमा नाम नभएको नम्बरबाट फोन आयो । सुशान्तले एकछिन हेरिराखेर उठायो ।
‘दाइ नमस्ते । चिन्नुभो मलाई ?’
‘खै, स्वर त चिनेचिनेजस्तै लाग्यो । तर नाम सेभ गरेको रहेनछु ।’ सुशान्तले मुस्कुराउँदै भन्यो ।
‘ए, दाइ म उही, प्रमोद हितैषी क्या त । लास्ट टाइम हामीले हाम्रो चिमाल टेभिभिजनका लागि संवाद गरेका थियौं ।’
‘ए, अँ भाइ चिने । भाइको नाम प्रमोद हो । लौ भन्नोस् के छ ?’ सुशान्तले पाइला अलि सुस्त बनाउँदै भन्यो ।
‘दाइको टाइम कस्तो छ ? हाम्रो टेलिभिजनको लागि छोटो कुराकानी राखौं भनेको । दाइको टाइम कसो होला ?’
‘म आजै चाहिँ फुर्सद छु । यसपछि लगातार मेरो स्पीचको कार्यक्रम छ ।’
‘उसो भए आजै दाइलाई दुःख दिनुपर्ला ?’
‘हुन्छ यतै आऔं । म त्यता आउन भ्याउन्न ।’ सुशान्तले भन्यो, ‘खाना बनाइ राखौं ?’
‘होइन, पर्दैन दाइ । कहाँ दाइलाई दुःख ।’

प्रगति राइ

घरमा मान्छे आउने भएपछि सुशान्तले चियापसलबाट फड्को लामो बनायो । सरासर छतमा गयो । कुखुराहरूलाई चारो हाल्यो । पूmलहरूमा पानी लगायो । उसले पानी हाल्दै छतबाट तल बारीमा हेर्यो । छिमेकीका खसीबोका ओहोरदोर गरेर सिमानाको पर्खाल निक्कै नै भत्किसकेको थियो । झिक्राको बार भुइँमा लिपिएको थियो । उसले श्रीमतिको गाली सम्झियोे, ‘लोग्नेमान्छे भएर घरबारीको ख्यालै नराख्ने । लोभ भन्ने एकैरत्ति नभको मान्छे ।’

‘लोग्नेमान्छे पनि उही त हो । मर्छ नै स्वास्नी मान्छेजस्तै । मर्दा नाङ्गै नै पुरिन्छ । अनि के बढ्ता लोभ गर्नु लोग्ने मान्छे हुँदैमा ।’ सुशान्त गनगन गर्दै आँगनतिर झर्यो ।

‘दाइ नमस्ते । मै हो प्रमोद ।’
सधैँलाई चिनिरहनको लागि सुशान्तले शिरदेखि पाउसम्म हेर्यो एकचोटि । झ्याप्प दाह्री पालेको । पेट लागिहालेको होइन । तर शरिरभरि मासु टम्म लागेको । कपाल भेडाको ऊनजस्तो निक्कै बाक्लो रहेछ । गहुँगोरो अनुहारमा पावरवाला गोलो चश्माले शान दिएकै थियो ।

प्रमोदले बारीमा खसीबोकाहरू खेलिरहेको देखेर भन्यो, ‘अहो दाइ, दशैं हो ? गज्जप बनाउनु भएको रहेछ त । दशैमा यतै पो आउनुपर्ला है ।’

‘यस्तो खान पाए त ज्यान बन्थ्यो होला । खै, मोटाउने कहिले हो, बिहा कहिले हो ?’

 

सुशान्तले मुख बिगार्यो मात्रै । केही बोलेन ।

प्रमोदले गेटदेखि ढोकासम्मको पन्ध्र फड्को जति खसी बोकाकै रमित र बखान गर्दै मुख मिठ्याएर कटायो । पछिपछि आएका क्यामरामेनले पनि उसको पातलो शरिर छामेर एकचोटि भन्यो, ‘यस्तो खान पाए त ज्यान बन्थ्यो होला । खै, मोटाउने कहिले हो, बिहा कहिले हो ?’

सुशान्त भित्र पसिसकेको थियो । उनीहरू मात्र आँगनको धारामा गोडा पखालेर बात मार्दै बाहिरै पर्खापर्खी गरिरहेका थिए । त्यहाँ चप्पल एकजोर मात्र भएकाले पातलोले डोर कार्पेटमा उभिएर प्रमोदलाई चप्पल दियो । प्रमोद जुत्ता खोलिवरी चप्पल लगाएर धारातिर जाँदै बोल्यो, ‘आफ्नो त बिहा पनि भयो । स्वास्नी प्रेगनेन्ट छे, गाँठे ! छोरी पाइदिई भने खत्तम । जन्मायो हुर्कायो, बढायो, पढायोे अनि अर्कालाई पोसायो । दान अरे, कही नभको । छोरीका बाआमा त उही धर्म कमायो, स्वर्गको कल्पना गर्यो, रित्तै जिन्दगी कटायो । होइट ! कहिलेकाहीँ त रातभर निद्रा लाग्दैन यार !’

‘डाक्टरलाई सोध्नु नी । छोरी भए फाल्दिनू ।’ क्यामेरा अर्को हातमा सार्दै भन्यो पातलो चाहिँले ।

प्रमोद अनुहार पखाल्न तयार पारेको पानी अँजुलीमै थामेर टाङ् मुनिबाट आँखा फुकालेर बोल्यो, ‘होइट ! आफ्नो बच्चा हो यार, मुटुको टुक्रा । फाल्नु भन्दा त बरु केही वर्ष पालेर दान गर्नै ठीक ।’

‘ओ सरहरू !’ अगाडि एकजना मात्र थियो पछि अर्कोजना पनि थपिएछ । सुशान्तले आफ्नो लागि बनाएको चिया उनैलाई टेबलमा राखिदिँदै भन्यो, ‘के भौ गाँठे । भित्रै आउँ न । ई : मैले चिया नै तयार गरिसकेँ ।’

पातले क्यामरामेन सुशान्तको बैठककोठा देखेर छक्कै पर्यो । ढोकाको दायाँतिर पुस्तकै पुस्तक, बायाँतिर रक्सी नै रक्सी । माथिल्लो तला जाने भित्तासम्म खाली छैन, सम्मान–पत्रहरूले ढाकेर ।

‘वाह, दाइ ! जीन्दगीमा अझै पनि अपुग केही छ भन्ने लाग्छ ?’ पातले बोल्यो
‘जे पुग्नुपर्ने हो, त्यो त कहिल्यै पुगेन भाइ । एक छेऊ पनि भएन । ’ सुशान्तले चिया हात हातमा दिदै भन्यो, ‘लिऊँ न । सेलाइ पो सक्यो त । जाडो मनग्यै छ ।’

‘के हो दाइ, त्यो अपुग चाहिँ ?’ पातलोले चिया ओंठसम्म पुर्याएर पनि नपिई फर्काएर सोध्यो ।
प्रमोदले हाँस्दै भन्यो, ‘लाखे न त सुन्दर जी । इन्टरभ्यू त लिनै बाँकी छ ।’
‘यार ! दाइको लाइफ स्टाइल देखेर लाष्टै लोभ लाग्यो ।’ उसले कौतुहल छल्काउँदै नै चिया पनि पियो ।

‘तपाईँ पनि मेरो उमेरको हुँदा केही भइसक्नु हुन्छ । उमेरको पनि हिसाब गर्नु न, सुन्दर भाइ ।’ सुशान्तले भन्यो, ‘नाम त राम्रो रहेछ सुन्दर ।’

‘हजुरको उमेर कति हो दाइ ?’ सुन्दरले बडो उत्सुक भएर सोध्यो ।

‘छपन्न ।’

 

दाइ, हजुरको जातीय आन्दोलन कहाँ पुग्यो ?

‘छपन्नको आधा अट्ठाइस् । आशिष लागोस् दाइ । अबको मेरो अट्ठाइस वर्ष महत्वपूर्ण बितोस् । दाइजस्तै हुन सकूँ ।’ सुन्दरले सुशान्तको गोडै ढोगौंला झैँ गर्यो ।

अन्तरवार्तामा सधैैँ किताबहरूलाई पछाडिको दृश्य बनाउने गरेकाले सुशान्त आफैँ अन्तरवार्ताको लागि तयार परेर बस्यो ।
प्रमादले प्रश्न सुरु गर्यो ।

‘दाइ, हजुरको जातीय आन्दोलन कहाँ पुग्यो ?
सुशान्तले एकछिन् गमेर भन्यो, ‘आन्दोलन कहीँ पुग्ने होइन । हाम्रा आवाजहरूले मानिसमा भइरहेको जान अञ्जान विभेदलाई, अज्ञानतालाई पहिचान गरिदिने हो । यसलाई कानुनले निर्मूल पार्नुपर्छ । यो काम आफ्नै गतिमा भइरहेकै छ ।
‘सरकारले त भरमग्दुर प्रयास गरेकै छ । छुवाछुतमा कानुन लगाएको छ । दलित जातिलाई आरक्षण दिएको छ । तै पनि समस्या ज्यूँका त्यूँ छ त ?’

सुशान्तले आँखा चिम्म गरेर भन्यो, ‘यो हजारौं वर्षदेखि मानिसको दिमागमा राज गरेर बसेको सँस्कृति हो । यी मानिसहरू जन्मजात त्यस्तै संस्कारमा हुर्किएकाले चुड्कीको भरमा फेरिनेवाला छैनन् । हामी यति गर्न सक्छौं कि, हिजो दलित भनेर तीनहात पर भाग्ने मानिसका सन्तानहरूलाई आज दलितका नजिक बस्न सक्ने बनाउन सकिन्छ । फेरि ती नजिकसम्म आएर बस्न सक्ने भएका पुस्तालाई दलितसँगै बस्ने बानी बनाउनुपर्छ । यसरी चेतना विकास हुनलाई पुस्ता गुज्रन जरुरी छ । हिजो गरिबलाई मारेर तुलादान गर्ने ढोंगीका सन्तानलाई आज मन्दिरै नहेर, भनेर एकैचोटि उसको आश्था मार्न सकिन्न । त्यो तुलादान गर्नेको सन्तानले आज नारायणको व्रतसम्म चाहिँ लगाउँन पाउनुपर्छ । नत्र बहुलाउँछ । किन कि ऊसम्म आइपुग्दा पैसाले भगवाग् खुसी हुँदैन भन्ने चेतना पलाइसकेको छ । यो दलित आन्दोलनको सुत्र पनि त्यही नै हो ।

यस्तो कुटिल विचारको बिरुवालाई अशिक्षाले मलजल गरी कानुनले छेकाबार लगाएर विशाल वृक्ष बनाइयो ।

 

समाज विकासको बाटोतिर लम्कदै गर्दा सामाजिक कानुन ऋगवेद र यजुर्वेदका ऋचामा वर्ण व्यवस्थाबारे लेखियो । यस्तो वर्णव्यवस्था अन्य देश युरोप जापानतिर पनि भएको थियो । तर त्यो सिर्पm कार्य विभाजनका लागि थियो । कही अछुत भन्ने थिएन । कालान्तरमा यस वर्ण व्यवस्थालाई गलत प्रयोग गरियो । सिमित समूहको व्यक्तिगत स्वार्थका लागि ब्राह्मण ब्रह्माको मुखबाट, क्षेत्री पाखुराबाट, वैश्य जाँघबाट र शुद्र पाउबाट उत्पन्न भए भनि लेखियो । यस्तो कुटिल विचारको बिरुवालाई अशिक्षाले मलजल गरी कानुनले छेकाबार लगाएर विशाल वृक्ष बनाइयो ।

तर अहिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक विकासको चेतना भएका थोरै संख्याले यो कुरा प्रमाणित गर्न खोजिरहेका छन् कि, हामी फजुल विषयमा झगडा गरिरहेका रहेछौं । यसलाई अन्त्य गर्नुपर्छ । हिजोका ती कुटिल विचारको संरक्षण गर्ने कानुनलाई सुल्टाएर आम भलाइको लागि प्रयोग हुन थालेको छ । फलस्वरुप अहिले छुवाछुत गर्नेलाई कडा दण्डको व्यवस्था छ । अब, हामीले त्यस्ता समूहको प्रोत्साहन गर्नु पर्छ कि, जो सामाजिक दरारलाई पुर्न खोजिरहेका छन् ।

तर, अधिकांश मानिसहरूको दिमाग यही कुटिल विचारले बाँधिएको छ । फलस्वरुप, कतिपय अवस्थामा पीडितले पनि कसुर र वेकसुर खुट्याउन नसकेर बिना गल्ती आपूmलाई दोषी स्वीकार्न पुग्दछन् । जस्तो कि, जतिसुकै भोकप्यासमा पनि जात शंका गरेर दिएको खाना नखाइ बस्ने, स्वअधिकारको कुरा उठाउने बेलामा महिलाहरू साजनका घर जाना है भन्दै रमाउने, अर्को जुनिमा ठूला जात हुन पाऊँ भनि, तिनै विभेदीको पूजा गर्ने कतिपय चलन छ । किनकि त्यस्ता मानिसको दिमाग पनि त्यही कुटिल जराले बाँधिएको छ ।

भारतीय उपमहाद्धिपका रैथानेलाई आर्यले युद्धमा हराएपछि दास बनाए । तीनै दासहरूलाई अछुतसम्म बनाएको इतिहास छ । नेपालमा भने भारतबाटै प्रशिक्षित भएर, उक्साहटमा लागेर आफ्ना सहोदर वंशलाई अछुत बनाएको अनुमान छ । अर्को कुरा, जातिले नश्ल जोगाउन जातीय नियम अति कडा बनाउँदा र त्यो नियमको घेराभित्र बस्न नसक्नेलाई सर्वस्व हरण गरी अछुतसम्म बनाउने नियम बनाए । मेरो पूर्खा अछुत हुनुको पनि त्यही कथा छ । कुनैबेला सति जान नमानेर भागेकी एक बालिकालाई मेरो जिजुले बिहा गरी जीवनदान दिएथे रे । जसको फलस्वरुप उहाँलाई सर्वश्व हरण गरी अछुत बनाइए रे । यसरी जबरजस्ती ज्यानमार्नेहरू हिरो भएका बेला ज्यान जोगाउने मेरा जिजु भिलेन मानिए । यस्तो सामाजिक नियमको साँगुरो घेराभित्र अट्न नसक्ने मेरा जिजुजस्तै स्वतन्त्रताको पक्षधरहरूले सत्य सावित गर्न वर्षौंदेखि खुन सुकाउन परिरहेको छ ।

बुद्धलाई पनि छिमेकी कोलियको राज्यसँग युद्ध गर्न नमान्दा नै शाक्य संघले सर्वश्व हरण गरी पदच्यूत गरेका थिए । यो पनि एउटा जाति वा समाजिक क्रुरताको उदाहरण हो । भलै उनले सन्यासी जीवनको भरपूर सदुपयोग गरे । ज्ञान बाँडे । एकचोटि उनले समानताको कुरा गरिरहँदा ठूलो झुण्ड ब्राह्मणहरूद्धारा घेरिएका थिए रे । ब्राह्मणहरूका तर्क यो थियो रे कि, वेद अनुसार ब्रह्माको मुखबाट ब्राह्मणको जन्म भएकाले हामी सबै भन्दा श्रेष्ठ हौं, यसैले सबै वर्णमा ब्राह्मण पुज्य हुनुपर्छ । बुद्धको प्रतितर्क यस्तो आयो रे, ंवेदले ब्राह्मण बनाएको होइन; ब्राह्मणले वेद बनाएको हो । ब्राह्मणीहरू दोजिया हुन्छन्, ब्राह्मण बालक जन्माउँछन् । यसरी अरु जातिजस्तै स्त्रीको योनीबाट जन्मिएका ब्राह्मणहरूले कसरी अरु वर्ण भन्दा आफूलाई श्रेष्ठ हुँ भन्नुहुन्छ ? यसरी, क्षेत्रिय, वैंश्य, शुद्रमाथि शोषण दमन गरिरहँदा अझ शुद्रहरू ब्रह्माका पाउबाट जन्म भएकाले ब्राह्मणले दास तथा अछुत बनाउन पाउनुपर्छ भनिरहँदा यदि शुद्रले हामी पो ब्रह्माका शिरबाट जन्मिएका हौं, ब्राह्मण भन्दा हामी श्रेष्ठ हौं भनि वेद पुनर्लेखन गरे भने ब्राह्मणहरू मान्न तयार हुनुहुन्छ ? भनि उल्टै जिल्ल्याएका थिए रे ।

सुन्दर बोल्यो, ‘वैंश्य÷जनजातिहरूलाई चाहिँ किन जाँघबाटै जन्मिएका भन्ने बनाएछन् नि दाइ ?’
‘उनीहरू रिस थाम्न सक्दैनन् । जन्मबारे गलत व्याख्या गर्दा सिधै गोदाइ खाइन्छ भनेर होला नि ।’
घरभरि हाँसो फैलियो ।

‘आफूलाई किन दलित भनि राख्ने त ?’ प्रश्न सुन्दरले नै गर्याे, ‘जुन पहिचानले हिंसामा पार्छ भने त्यही पहिचान किन अँगाल्ने ? पहिचान बदले हुन्न ?’

सुशान्तले प्रमोदलाई हेर्यो । प्रमोदले सुन्दरको पनि जिज्ञासा मेटाइदिन अनुरोध गरेपछि सुशान्त बोल्यो, ‘सुन्दर भाइ, तपाईँ एकछिनलाई मान्नोस् कि, कुनै ठाउँमा स्त्रीलाई मात्र प्रवेश दिइन्छ, तर तपाईँ पुरुष हुनुहुन्छ, तपाईँलाई त्यहाँ प्रवेश नगरी पनि भा’छैन । अनि तपाईँ आपूmलाई सधैं स्त्री बनाइरहनुमा उद्दत् रहनुहुन्छ कि, त्यो ठाउँमा पुरुष प्रवेशको लागि लड्नु हुन्छ ?’
सुन्दर उल्टै प्रश्नले हानिए पछि हाँस्दै बोल्यो, ‘हे हे दाइ, जातै फेर्न त कसरी सकिन्छ र ?’

‘हो, यसरी बुझ्नोस् ।’ सुशान्त पनि हाँस्यो र धर्म परिवर्तनको कथा निकाल्यो, ‘भारतीय दलित समुदायको नेता बीआर अम्बेडकरले पनि आफ्नो जीवनको अन्तिम समयमा आफ्ना दसौंलाख समर्थकलाई लिएर बौद्ध धर्म ग्रहण गरेका थिए । उनले कृष्टियन नभइ बौद्ध धर्म अवलम्बन गर्नुको एउटै कारण हो, बुद्धले ब्राह्मणवादको तथ्य खोलिदिएका थिए । तर सबै मानिसलाई आपूm जन्मे हुर्केको संस्कार संस्कृति प्यारो लाग्छ, यसैले त्यही संकृतिमा उसलाई स–सम्मान बाँच्न पाउने अधिकार प्रत्याभूत हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’
प्रमोदको पालो प्रश्न तेस्र्यायो, ‘दाइ, हजुर त राजनीतिमा पनि अगाडि हुनुहुन्छ । तर हजुरजस्तै अरु सुनामहरूलाई राजनीतिमा आउन केले रोकेको छ ?’

सुशान्त हाँस्दै बोल्यो, ‘म त अपवादमा परेको भाइ । खडेरीमा छरेको मकै हलीले पिसाब फेरेको चिसो भेटेर छिटो उम्रिएजस्तो म अरु भन्दा केही फरक भएँ हुँला । हुन त मेहनत पनि गरेँ । कहिलेकाही लाग्छ, म दलितको अधिकार वकालत गर्न कै लागि जन्मिएको हुँ । तर यो एक्लो हुनु भनेको ज्यादै अप्ठेरो ठाउँमा उभिनु रहेछ । न आपूm भन्दा पछाडिकालाई तान्न सकिन्छ; न अगाडिकालाई समात्न भेटिन्छ । पछाडिकाले छोडेर हिँडिस् भन्छन्, अगाडिकाले ढिला हिँडिस् भन्छन् । दुवै तिरका गाली खाने वस्तु मात्र भइँदोरहेछ । जहिल्यै जोसँग पनि झगडा मात्र परिरहन्छ । कहिलेकाही त ज्यादै थकाई पनि लाग्छ । थाकेका बेला अरुका कुरा यतिकै हो हो भन्दिऊँ कि भैmँ पनि लाग्छ, तर म एकजना छु होइन भन्ने । आफ्नो सजिलोका लागि गलत कुरालाई स्वीकारेँ भने त अस्वीकार गर्ने कोही छैनन् । यसैले राज्यसत्ताप्रति, सामाजिक व्यवस्थाप्रति विद्रोह गर्नकै लागि मेरो जन्म भएकोजस्तो भा’छ । हाँस्दै हिँड्न, गाउँदै रमाउँदै हिँड्न सबैसँग प्रेमको अँगालो मार्दै हिँड्न मेरो लागि निषेध गरिएजस्तै भा’छ । मेरो अगाडि छ त सिर्पm दुष्मनी, तर्क र प्रतिवाद ।’

‘हजुरलाई नेपाली अम्बेडकर भन्दा कसो होला ?’ प्रमोद पनि हाँस्दै बोल्यो, ‘मिल्ला कि नमिल्ला ?’
सुशान्तले जुँगा मुसार्यो एकचोटि । अनि भन्यो, ‘अलिक मिल्दैन । उनीसँग कामको प्रकृति केही हिस्सा मिले तापनि म केही फरक छु । उनले दलित बाहेक कसैलाई पिडित देखेनन् तर म त्यस्तो छैन । यहाँ हरेक जाति वर्गका हिसाबले दलित भएका छन् र उनीहरूको पक्षमा बोल्नुपर्छ भन्ने मान्यता राख्दछु ।’

 

रक्सी खाइरहेकाहरूले रक्सी छाड्नेतिर लाग्नुको सट्टा नखानेहरू खानेतिर गइरहेका छन् । यो चिन्ताको विषय छ ।

 

‘केही दिन अघि केही दलित युवाहरूले मनुस्मृति जलाए । यसको बारेमा के भन्नुहुन्छ दाइ ?’
‘चुरोट खान मिल्ला ?’ सुशान्तले गोजी छाम्दै भन्यो, ‘कुराकानी लामो भो के ।’
प्रमोद मज्जाले हाँस्यो । कालो फुस्रो ओठको बीचमा सेतो मिलेको दाँत पल्लै कुनासम्म देखियो ।

सुशान्त धुवाँसँगै बोल्यो ‘अँ, यो मनुस्मृति, गौतमधर्मसुत्रमा लेखेको कुरा पढ्दा मलाई पनि हाँस उठ्छ । ईश्वरले ब्राह्मणको दास बन्नका निम्ति शुद्रलाई उत्पन्न गरेका हुन्, भनि लेखेछन् । कति हाँस्नु ? तिनले यो सोचेनन् कि, शुद्र पनि एकदिन पढालेखा हुनेछन् र ईश्वर बिटुलाएको कुरा पर्दाफास हुनेछ । भयो त पर्दाफास । कसले मान्छ त्यो कुरा ? आज आएर शुद्र त के स्वयं ब्राह्मणले यसको खण्डन गर्दछन् । ईश्वर भनेकै सत्य हो, न्याय हो । त्यहाँ छलकपट छ भने त्यो ईश्वर हुँदैन । हुँदैहुँदैन ईश्वर । छलकपट, अन्याय अत्याचारलाई राक्षस भनिन्छ । यी हरफहरूले ईश्वरलाई बिटुलाउने काम भएको छ । सच्याइनुपर्छ ।’
‘युवाहरूले जलाइसके । सर भन्नुहुन्छ मात्र सच्याइनुपर्छ ।’

सुशान्तले सोफामा अडेसिएर बोल्यो, ‘यो मनुस्मृति जलाउनु र नजलाउनुमा केही फरक छैन । किन कि यसको उपादेयता नै मक्किसक्यो । धमिरा लागेको घर भत्काइरहनु पर्दैन । आजका ब्राह्मणहरूमा त्यो नकारात्मक सोच हट्दै गएको छ । पुरानो समय र चेतनाले लेखेको कुरालाई आजको पुस्तामाथि दोष थोपर्नु मूर्खता हुनेछ । यदि आज पनि कसैले त्यही कुरा सत्य मान्छन् भने कानुनी सजायको भागिदार हुने नै छन् ।

बरु, मनुस्मृतिको सानो फाइदाबारे म कुरा गर्छु । ब्राह्मणहरूले हामी अरुभन्दा श्रेष्ठ भनी सोच्नाले नै अरु भन्दा फरक स्वाभाव बनाए, सन्तानलाई शिक्षामा दपेटे, कुलतबाट टाढा राखे । यसो गर्नाले एउटा जातिको राम्रो विकास भयो । अब, वर्तमान स्थितिमा अरुलाई थिचोमिचो गर्ने षडयन्त्र बाहेक बाँकी ब्राह्मण चरित्रलाई सबै जातिले अवलम्बन गरे सबै उस्तै सवल हुने थियौँ । वर्णले होइन कामले श्रेष्ठ हुनुपर्ने जमानामा आइपुगेका छौँ । असल कामलाई सबैले पुजिहाल्छन् । धुम्रपान मध्यपान नगरौं, काटमार नगरौं, शिक्षामा लगाव बढाऔं, सन्तुलित भोजनमा ध्यान दिऔं । शारिरीक व्यायाम गरौं । राम्रा कुरा सबैले अवलम्बन गर्दा फाइदै फाइदा छ । शुद्र पहिचान दिइ हिजोको दिनमा जुन अन्याय गर्न सुरु भएको थियो, त्यो न्युनिकरण हुँदै जाँदैछ । आत्तिनु हुँदैन । किन कि उत्पिडनमा परेका मान्छेले नै कालान्तरमा अरुले भन्दा उत्कृष्ट जीवन बनाएको ज्वलन्त उदाहरणहरू छन् ।’

सुशान्तले सबै समस्याको समाधन धेर्यता मात्र भनेपछि प्रमोद अलिक रिसाएर अर्को प्रश्न थप्यो, ‘दाइ, जेमा पनि पर्खनुपर्छ मात्र भन्नुहुन्छ । आखिर पर्खेरै न्याय मिल्ने हो भने हजुरको काम के हो त । कार्यक्रममा बोल्ने, सम्मान थाप्ने, पत्रिकामा दलितका रोनाधोना लेखेर पैसा कमाउने मात्रै हो ?’

सुशान्त बडो शान्तिपूर्वक बोल्यो, ‘ए भाइ, पर्खनुको अर्थ, हात बाँधेर बस्नु भनेको हुँदै होइन । छ महिना औषधि खाएर निको हुने टि.बीलाई एकमाना औषधि खाएर एकै महिनामा निको पार्छु भनेर हुँदैन । यसले लिने समय लिन्छ नै । हाम्रो काम हो, त्यो रोगलाई परास्त पार्न चाहिने खानापानी, औषधि गर्ने । छ महिना पुगेपछि आपैm निको हुन्छ भनेर चुप बस्ने होइन । त्यसैगरी अन्यायमा परेकाले शिक्षामा विकास गर्नु पर्यो, सिपमा विकास गर्नु पर्यो । राजनीतिमा विकास गर्नुपर्यो । यति गरिरहँदा उता खराब दिमागीहरूलाई पनि जीवन धान्न गारो त परिरहेकै हुन्छ । उनीहरूलाई सहयोग गर्नु पर्यो । बुझाउँदै लानु पर्यो । बिस्तारै, बिस्तारै उनीहरूको जीवन परिवर्तनसँग मगज पनि सङ्लिदै जानेछ । पर्खनुको अर्थ त्यो हो कि, जो आडम्बरको भरमा बाँचेको छ, उसलाई एकातिर कानुनको ह्याम्मरले हान्नुपर्छ, अर्कोतिर सहयोगको भावनाले तताउनुपर्छ । यसरी तताउँदै हान्दै गर्दा बल्ल सही आकारमा समाजलाई ढाल्न सकिन्छ । एकोहोरो कानुनले हान्ने मात्र गरियो भने समाज कवाडिमा परिणत हुन्छ । मनुस्मृति च्यात्ने भाइहरूलाई के भन्न चाहान्छु भने’, सुशान्तले बस्ने तरिका फेरेर भन्यो, ‘हो युवा आक्रोश छ, पोखिनुपर्छ । च्यात भेटेजति । तर त्यो समस्याको समाधान भने होइन । बरु पानी नभएको ठाउँमा कुलो पुर्याऊ । तरकारी नभएको ठाउँमा तरकारी खेती गर । औषधि नभएको ठाउँमा फार्मेसी खोल । जहाँको मानिसलाई जे आवश्यक छ, त्यही कुरा बेचेर, सहयोग गरेर आफन्त बनाऊ । मलाई नछो, तैंले छोएको खान्न भन्न सबैलाई व्यक्तिगत अधिकार छ । यदि त्यसै गर्न मन छ भने, जसले आपूmलाई अछुत भन्छ, उसलाई तिम्ले पनि अछुतै भन । उसको घरमा पस्न दिदैन भने उसलाई पनि तिम्रो घर पस्न नदेऊ । भइगो त । अछुत अछुत हिसाब बराबर । तर यसो गर्नु शिक्षाको दुरुपयोग गर्नु हो ।

हिजो छोरीले एउटा हँस्यौली भिडियो देखाइ । सो भिडियोमा पिताले छोरोलाई सम्झाउँदै भन्छन्– बाहुनका घराँ जन्म लिया छ, बिहानभरि सुत्या छ, श्लोक बिस्र्या छ । रामायण पढ । एकदिन नारद सत्यालोक पुगिगया । छोरोले उछिनेर भन्छ– एकदिन बाहुनपुत्र पट्टितक पुगिगया रक्सी म पिउँछु भनि, बाबु तही थिया बोत्तल खोसिलिया पहिले म पिउँछु भनि ।

यस्ता कुरा हसौंली मात्र नभएर यदाकदा यथार्थमा पनि सावित भएको छ । रक्सी खाइरहेकाहरूले रक्सी छाड्नेतिर लाग्नुको सट्टा नखानेहरू खानेतिर गइरहेका छन् । यो चिन्ताको विषय छ ।