झ्याल अघिल्तिर मैले झस्किएर हेरें । सामुन्ने घरको कोठाभित्रको एक पीडादायक दृश्यले मेरा आँखालाई स्पर्श गयो ।

मैले देखेको दृश्य यस प्रकारको थियो :

एक प्रौढ पुरुषले एक प्रौढा नारीलाई धमाधम मुक्का बर्साउँदै थियो । अर्थात् एउटा कपाल फुलिसकेकी प्रौढा एउटा पुरुषको घरेलु हिंसाको शिकार हुँदै थिई । सरसर्ती विचार गर्ने हो भने यो एउटा साधारण घटना नै हो । हाम्रो जस्तो अशिक्षित परम्परागत मान्यताले जरो गाडेको समाजमा लोग्नेको हातबाट स्वास्नी कुटिनु भनेको कुन ठूलो कुरा हो र ?

बेलाबेलामा स्वास्नी मान्छेको जातलाई कुटेर ठीक पार्नु पर्छ, नत्र टाउकामा टेक्छन् भन्ने मानसिकता बोकेका हाम्रा पुरुष बराबर स्वास्नीलाई कुटेर तह लगाउन यस्ता असामाजिक क्रियाकलाप गर्न कति पनि हिचकिचाउँदैनन् ।

तर मेरो संवेदनशील मनले यस घटनालाई सहज रूपमा स्वीकार्नै सकेन । मेरो सोचाइको विपरीत त्यस नारीले चुपचाप कुटाइ खानु र आफूलाई कुट्ने लोग्नेप्रति कुनै प्रतिकार नगर्नु ज्यादै चित्त नबुझ्दो लाग्यो । उसले कुनै प्रतिकार गरिन-मात्र दुई हातले छेकेर शारीरिक चोटबाट आफूलाई बचाउने प्रयत्न गरिरही । त्यस नारीको असहायपनले गर्दा म अवाक् भएँ । न ऊ चिच्याई, न कराई न विद्रोह स्वरूप कुनै क्रियाकलाप नै गरी ।

शायद त्यो कुटिने नारीलाई लोग्नेको हातबाट कुटाइ खाने बानी परिसकेको होला र त्यसले सहज रूपमा स्वीकारी । भर्खरै डेरा सरेका हुनाले त्यसको आनीबानी बारे मलाई केही थाहा छैन । तर त्यो एक शिक्षित, सचेत महिलाचाहिं अवश्य हो ।

एकछिनपछि त्यस घरमा गएको भुइँचालो साम्य भयो । छरछिमेकका घरका झ्यालबाट चिहाइरहेका आँखाहरूले विश्राम पाए ।

मेरो जानकारीमा आएअनुसार त्यो अध्यापिका हो । शहरकै कुनै क्याम्पसमा अध्यापन गर्छे । शहरी शिक्षित नारीको त यो हविगत छ भने ग्रामीण अशिक्षित नारीको दुर्दशाको कुरै नगरौं । अशिक्षित, असहाय र अबला नारीहरू त युगदेखि पुरुषको अत्याचार र शोषणको शिकार हुँदै आइरहेका छन् । हामीले नारी उत्पीडनका, हिंसाका अनेक समाचार पढ्दै आइरहेका छौं । साथै अन्य श्रव्य दृश्य सञ्चारहरूबाट बराबर सुनिने गरिन्छ । अझै कति महिला घरेलु हिंसाका शिकार भइरहेका छन् भने कति महिला यौनदुराचारका शिकार भइरहेका छन् । हुन त यस्ता घटनाहरूलाई हामीले सहजै स्वीकार्दै आइरहेका छौं । किनकि यस्ता घटनाहरू समाजमा अब दैनिक घट्न थालेका छन् र अखबार तथा समाचारमा दिनहुँ जस्तो प्रकाशन र प्रसारण हुन थालेका छन् ।

त्यसैले यस्ता सामाजिक विकृतिलाई सहज रूपमा स्विकार्ने बानी हामीलाई परिसकेको छ ।

तर मलाई यो घटना अत्यन्त असाधारण लागिरहेको छ । करुणा (त्यस कुटिने आइमाईको नाम) एक सचेत शिक्षित शहरी नारी हुँदाहुँदै लोग्नेबाट यसरी कुटिनु कुनै पनि दृष्टिले साधारण होइन ।

उमेरकै दृष्टिले हेरूँ भने पनि छोराछोरीहरू बिहे गर्ने उमेर भइसकेका छन् । त्यसले यसरी निर्ममतापूर्वक कुटाइ खानु कहाँसम्म उचित हो तपाईंहरू आफैं विचार गर्नुहोस् । यस घटनाले मेरो मनलाई उत्तेजित पार्नुको कारण बस यही हो । हुनसक्छ म जे लेख्दै छु-तपाईंहरूलाई विश्वास गर्न गाहो परेको होला ।

तर म जे लेख्दैछु सत्य कुरा लेख्दै छु । त्यस आइमाई अर्थात् मेरी छिमेकी कुटिनुको कुनै खास । कारण त अवश्य होला । बिनासित्ति त्यसै त्यो किन कुटिइन्थी र ? शायद तपाईं यही सोच्दै हुनुहोला होइन ? हो, यतिखेर म पनि यही सोच्दै छु । किन कुटिई त्यसको भेद पाउन त गाहो छ । कारण पतिपत्नीको मामिला…। उनीहरूसित गएर सोध्ने कुरा आएन ।

ऊ कुटिनु अघिको विवरण यस प्रकार छ :

ठीक नौ बजे ऊ चढेको गाडी उसको ढोका अगाडि रोकियो । गाडी रोकिएको आवाजले मेरो दृष्टि उतैतिर पुग्यो । मैले देखें- गाडीबाट ओर्लेर उसले आफ्नो घरको डोरबेल थिची । केही क्षणपश्चात् उसको श्रीमान्ले आएर ढोका खोलिदियो । त्यसपछि दुवै ठीक मेरो कोठा अगाडिको ढोका शायद ती दुईको शयनकक्ष हो कि ? त्यसमा प्रवेश गरे । दुवैका बीचमा केहीबेर संवाद चल्यो । त्यस कोठामा ठूलो स्वरले सङ्गीत बजिरहेको हुनाले ती दुईबीचको संवाद सुन्न सकिएन । कुटिनुभन्दा पहिले त्यो नारीले हातको इसाराले आफूतिर औंल्याई केही भनेकी थिई । त्यसको लगत्तैपछि उसमाथि मुक्काको वर्षा भयो । आखिर उसले आफूतिर औंल्याएर त्यस्तो के कुरा भनी, जसले उसको श्रीमान्‌को पुरुषत्वलाई उत्तेजित पार्यो र उसलाई कुट्न तम्सायो ।

म धेरैबेर सोचाइमा मग्न भइरहें । वरिपरिका घरका झ्यालहरूबाट आ-आफ्ना कोठाका बत्ती निभाई त्यस जीवन्त दृश्यलाई सबले अघाउन्जेल हेरे । थुप्रै आँखाहरूले कुटाइको त्यस दृश्यलाई आ-आफ्ना पाराले मूल्याङ्कन गरे होलान्, तर मेरो मूल्याङ्कनमा यदि त्यो आइमाई अबेर आएकै कारणले श्रीमान्ले कुटेको हो भने सरासर अन्याय ठर्हछ । पुरुषहरू आधा रातमा घर फर्कंदा केही नहुने केही गरी कुनै दिन कुनै कामविशेषले कुनै आइमाई राति अबेर घर फर्कदैमा त्यसले कुटाइ खानुपर्ने…! आखिर त्यो पनि त एक कामकाजी आइमाई हो, केही काम विशेषले रातिसम्म बाहिर बस्नुपर्यो होला…।

कस्तो लिङ्गीय विभेद छ हाम्रो समाजमा । कहीं नभएको जात्रा हाँडी गाउँमा भनेझैं….। यदि चरित्रमाथि शङ्का गरेर कुटेको हो भने छोराछोरीको बिहे गर्ने उमेरकी, अघिल्तिर सिउँदोको कपाल फुलिसकेकी आइमाईमाथि त्यस्तो शङ्का गर्नु र दोष थोपार्नु उसको चरित्र हत्या गर्नु हो हरेक दृष्टिले । यस्तो गर्नु अशोभनीय ठहर्छ ।

आखिर त्यस्तो के कुरा गरी त्यसले, जसले गर्दा उसले कुटाइ खानु पर्यो ???

मेरा मनमा आँधीबेहरी चलिरह्यो । मेरो मुटु चहराइरहेको थियो भने मेरा आँखाहरू बलिरहेका थिए । त्यस घटनाले मलाई यति साह उत्तेजित र आन्दोलित पारेकोमा पाठकवृन्द, तपाईंहरूलाई आश्चर्य लागेको होला हगि ?

एक नारी हुनाले अर्को नशीमाथि भएको दुर्व्यवहारलाई मैले चुपचाप पचाउन के सुहाउँछ र ..? तपाईं नै भन्नुहोस् आखिर म परेँ एक चेतनशील तथा संवेदनशील नारी..! कुटाइ खाने नारीले चूपचाप सही शायद लोकलाजको कारणले होला… अथवा आफ्नो व्यक्तित्व र इज्जतमा धब्बा लाग्छ भनेर होला ।

हुनसक्छ, “गुहुलाई चलाएर गन्ध” भनेर वरिपरिको वातावरणलाई गन्हाउनबाट रोक्नलाई होला… आखिर ऊ शिक्षित महिला नै ठहरिई । उसले अशिक्षित महिला झैँ डाको छोडेर अपशब्द बोलेर वरिपरिको वातावरणलाई खलबलाउन चाहिन होली ।

जे सुकै कारणले होस्, आफूमाथि भएको उत्पीडन यसरी चुपचाप सहिदिनाले त नारीहरूको अवस्था कारूणिक, सङ्कटपूर्ण र त्रासद बन्न पुगेको हो मैले मनमनै निक्यौल गरेँ। भान्छाबाट आमाले खान बोलाउनु भएपछि म झस्किएँ । म खान भान्छाभित्र पसें । भान्छामा आमा र भाउजूबीच त्यही छिमेकको घटनालाई लिएर कुराकानी चलिरहेको थियो ।

“आइमाई भएर राति नौ-नौ बनेसम्म रुमल्लिरहने हो त ? आइमाईले मान्यताको पर्खाल नाघेपछि कुटाइ खानैपर्छ ।” आमा परम्परागत सोचाइ ओकल्दै हुनुहुन्थ्यो ।

“कस्तो मान्यताको पर्खाल ?” म मनमनै सोच्दै थिएँ ।

“बडो जान्नेसुन्ने भए जस्ती गरेर म जस्ती बुद्धिमान् पढेलेखेकी कोही छैन भनेझैं गरी छाती फुलाएर हिँड्थी, स्वाद पाई ।” भाउजूले आफूभित्रको ईर्ष्यालाई पस्किन् ।

“नारीको शत्रु नारी भनेको साँच्चै रहेछ ।” मलाई झनक्क रिस उठ्‌यो ।

“यत्रो नारी समानताको चर्को आवाज उठिरहेको बेलामा तपाईंहरू जस्ता नारीहरू नै नारी समानता र स्वतन्त्रताको बाटाका अवरोध हुन् । बुझ्नु भो ?” खाना खान मन नलागेर म भान्छाबाट फरक्क फर्के ।

“नारी पुरुष कहिल्यै बराबरी हुँदैनन् बाबै… । कहाँ नारी कहाँ पुरुष… । जन्मँदै जितेर आएको जात… । देखिनौ पुरुषसरह स्वतन्त्रता खोज्दा कुटाइ खानु परेको । आखिर बल्छीमा पारेको माछा न हो  के गरोस्… कता जाओस्…।”

आमाले यति के भन्नु थियो नारी समानताको पक्षधर हुनाले यस कटु यथार्थले मेरो मन सयौं टुक्रामा विभाजित भयो । जत्तिकै सचेत, शिक्षित तथा स्वाभिमानी भए तापनि अझै नारीले आफूप्रति हुने शोषण त्यो चाहे आर्थिक, मानसिक र शारीरिक किन नहोस् त्यसको विरुद्ध कुनै प्रतिकार गर्न सक्दैनन् ? आखिर किन ? आजको एक्काइसौं शताब्दीमा पनि नारीले पुरुषको अधीनमा बाँच्नु पर्ने यो कस्तो बाध्यता ?

मैले गहिरिएर सोचें । झट्ट मलाई मेरी मितिनी दिदीले भन्नुभएको कुरा याद आयो । उनी पनि पतिबाट हरतरहले वाक्क वाक्क भइसकेकी छिन् ।

उनले भनेकी थिइन्, “हेर सरु, म तिम्रो भिनाज्यूबिना, उनको छत्रछायाबिना बाँच्न नसक्ने होइन । केवल लोकलाज र आफ्ना सन्तानका भविष्यका लागि हामी आइमाईले सम्झौता गरी बाँच्नुपर्ने हुँदोरहेछ…।”

कहीं आफ्ना गलत कदमको प्रतिफल आफ्ना सन्तानले भोग्न त पर्दैन भनेर उनीहरू भित्रभित्रै त्रसित हुँदा रहेछन्…। मान्यताको पर्खालभित्र अझै नारीहरू विवशताको ओढ्ने ओढेर सहनशीलताको प्रतिमूर्ति बनी बाँच्न विवश छन् । आइमाई भएकै कारण उनीहरूले भोग्नुपर्ने यो कस्तो कहालीलाग्दो स्थिति ? सोच्दासोच्दै मेरो मस्तिष्कको एउटा पाटो शून्य भएर आयो । केही सोच्न नसकी बत्ती निभाई म बिछ्यौनामा लम्पसार परें ।

आखिर यति साह्रो यस घटनाले मेरो मनलाई किन आन्दोलित पारेको होला ? म निदाउन सकिनँ । म आफैं आश्चर्यचकित छु । स्वास्नी कुटेका कुराहरू धेरै सुनेकी थिएँ, तर प्रत्यक्षदर्शी हुनाले मैले यसलाई पचाउन सकिरहेकी छैन ।

एउटी नारीको पीडा र उत्पीडन आम नारीको सरोकारको कुरा होइन र ? बिहान अनिदो आँखाले उठें । बाहिर आकाशमा सूर्य उदाए पनि मेरो मनमा त्यही कुरा अझै घुमिरहेको थियो ।

चिया पिउँदै आजका अखबारहरूमा आँखा दौडाएँ । एउटा अखबारको पहिलो पृष्ठमा मेरो दृष्टि टक्क अडियो ।

हिजो कुटिने त्यही प्रौढा नारीको छापिएको रहेछ । म हतप्रभ भएँ । तस्वीर आफैं बोल्यो ।

तस्वीरमा मैले नियालेर हेरें । हो- तस्वीरमा बोलिरहने आइमाई त्यही नै थिई । एकै सासमा मैले समाचार पढिसिध्याएँ । भेद खुल्यो । त्यो एक महिला संस्थासित आबद्ध रहिछे । एक गोष्ठीमा त्यसले “लैंगिक समानता आजको आवश्यकता” विषयमा कार्यपत्र प्रस्तुत गरेकी रहिछे । मेरो मनमा फेरि हिजोको घटना “रिले” भयो । हिजोको घटनालाई लिएर फेरि म सोचमग्न भएँ । ऊ रात्रिभोजमा सहभागी हुनुपरेकोले अबेर भई होली ।

तर ऊ किन कुटिई भन्ने प्रश्नको जवाफ चाहिं अझै अनुत्तरित नै छ ।

पाठकवृन्द, सोच्दासोच्दै मेरो मस्तिष्क थाकेर सोच्नै नसक्ने भइसक्यो । कृपया तपाईं नै मेरा लागि एकछिन सोचिदिनोस् “ऊ किन कुटिई ?”

(संग्रह ‘नेपालका नारी कथाकार : प्रवृत्ति र प्रतिनिधी कथा’ बाट)