टाँगिएका छन् सम्झनाको तोरणमा

मेरा बाका अनेकौं रूपहरू

फर्फराइ रहन्छन् मस्तिष्कको लुङ्दरमा

उनका मायालु भावहरू ।

 

हिँड्दा त्यही बाटो हिजोआज

सम्झन्छु घरीघरी,

बार्दलीमा बसेर अपलक मेरै बाटो कुरी बस्ने बाका आँखा

आँखामा तैरिंदै गरेका स्नेहका शीत,

मनभरी फैलिएको वात्सल्यको बिस्कुन,

अधरमा टल्किरहेको शुभाषिश ।

 

चियाएर हेर्दा स्मृतिको दूरबिनबाट

देख्छु, अँगेना छेउ बसेर

चिन्तामा मेरै डुबिरहेको बाको मुहार,

चलिरहेका यन्त्रवत् उनका हातहरू

जो बुनिरहन्थे मेरो निम्ति खुशीको पछ्यौरी,

ठोकिरहन्थे फुत्किंदै गरेको मेरो भाग्यमा बलियो पगाहा ।

 

बालाई बुझ्ने रहरमा

नियाली हेर्दा सम्झनाको कुवा

देख्छु, दर्पणमा कुवाको उनकै मायालु छवि,

छविमा त्यही छचल्किएको दुलार

दुलारको त्यही वर्षातमा बौरिरहन्छन् आजभोलि

बाको अभावमा ओइलाउँदै गएका मेरा रहरहरु

सिनित्त पखालिन्छन् उत्साहमा टाँसिएका धुलोमैलो ।

 

खस्नै लाग्दा कुनै क्षण विस्मृतिको गर्तमा बाको विम्ब

झुल्किन्छ अनायासै, हृदयको गुफामा

बाको न्यानोपन, बाका बलिष्ठ हातहरू

गरिदिन्छन् जसले हारले गलेका मेरा पाउमा भरोसाको मालिस,

पोतिदिन्छन् असफलताले आक्रान्त

सफेद मेरो मुहारमा आत्मविश्वासको लाली,

लगाइदिन्छन् निराशामा हराएका मेरा नयनमा आशाको गाजल ।

 

हिजोआज चिहाउँछु, जब

विपनाको आँखीझ्यालबाट

देख्छु करुणाले प्रज्वलित बाकै मुहार,

खोलिहेर्छु जब सम्झनाको पर्दा

देख्छु गरिरहेको ओहोर–दोहोर बाकै छायाँ ।

राखेकी हुँ त्यसैले त खुल्ला उनका लागि नयनको दैलो

छोडेकी हुँ उघारै मनको घर,

बोकेर हृदयभरी नरित्तिने उनको माया ,

नटुङ्गिने जीवनभरी उनको प्रतीक्षा ।