एप्रेल ५, २०२३ मा एउटा इमेल आयो ‘एउटा मुक्तकसंग्रह एट्याच गरेको छु, प्रतिक्रिया दिनसक्नु हुनेछ ।”

यो इमेल मलाई ऋषि बस्ताकोटीले पठाउनु भएको थियो । मेरो उहाँसँग प्रत्यक्ष चिनजान छैन । हामी फेसबुकमा भने जोडिएका  छौं  । उहाँले मलाई त्यसरी अप्रत्याशित रूपमा सम्झिंदा म छक्क परें । किनकि स्थापित साहित्यकारले त्यसरी मलाई सम्झनु भएको कुराले मलाई खुशी मात्र बनाएन मलाई उहाँको  साहित्यिक व्यावसायिकताले  प्रभावित बनायो ।

मैले उहाँले पठाउनु भएको यो इमेललाई जतन गरेर राखें र प्रण गरें म यो किताब पक्कै पढ्नेछु, यसको बारेमा मलाई लागेका कुरा लेख्नेछु । तर मलाई यो किताब पढेर यसको बारेमा मनमा लागेका कुरा लेख्न यत्रो धेरै समय किन लाग्यो त्यो चाहिं मलाई नै थाहा छैन  ।

कुनै पुस्तक पढेर पाठकले पुस्तकको बारेमा प्रतिक्रिया दिंदा वा विश्लेषण गर्दा किताबलाई उसले न्याय गर्‍यो-गरेन भन्दा पनि किताबले उसलाई कसरी प्रभावित पार्‍यो  भन्ने कुराले किताबको वास्तविक सफलता निर्धारित गर्दछ भन्ने लाग्दछ । कुनै पनि विधाका सैद्धान्तिक पक्ष त हुन्छन् नै तर केवल सैद्धान्तिक पक्ष बलियो भएकै कारणले मात्र संसारमा कालजयी कहलिएका कृति कालजयी भएका भने पक्कै होइनन् । यो मुक्तक संग्रहको कुरा गर्दैगर्दा मैले यसका सैद्धान्तिक पक्ष कमजोर छन् भन्न खोजेको होइन ।  स्वतन्त्र पाठकलाई  रूप र बनावट भन्दा सारले बढी छुने गर्छ ।  म स्वतन्त्र पाठक, त्यसैले उहाँको मुक्तक संग्रहले मलाई प्रभाव पारेका कुरा स्वतन्त्र तरीकाले लेख्दै छु ।

म साहित्यको विद्यार्थी भएको कारण यदाकदा लेख रचनाहरू पढ्ने गर्दछु । मलाई बढी प्रभावित पार्ने रचनाहरू त्यस्ता हुने गर्छन् जसले पढिसकेपछि दिमागमा एक प्रकारको विद्युतीय करेन्टको अनुभूति गराउँछन् । दिमागलाई तरङ्गित बनाइदिन्छन् । नयाँ तरिकाले सोच्न बाध्य गराउँछन् । “यस्तो पो !”, “यस्तो पनि हुन्छ र !” वा “यस्तो पो हुनुपर्ने हो त !” जस्ता भावहरू जागृत हुन्छन् । मैले ऋषि बस्ताकोटीका मुक्तक पढ्दा कैयौं पटक त्यस्तो अनुभव गरें ।

शुरूमा त शीर्षकले नै छोएको कुरा खुलाउनु पर्ने हुन्छ । “विसङ्गत बस्तीहरू” शीर्षकले मलाई सरु भक्तको “पागल बस्ती” को सम्झना दिलायो । संयोग कस्तो भने यस किताबको भूमिका नै सरुभक्तले लेख्नुभएको रहेछ । सरुभक्तको भूमिका आफैंमा अर्को सशक्त साहित्यिक लेख हो किनकि त्यो पढेपछि सरुभक्तको गहिराइको अनुभूति गर्न पाइन्छ ।

त्यसमा सरुभक्त लेख्छन्, “मुक्तक छोटो हुन्छ तर भाव सघनता‚ कलात्मक सौष्ठव र घनिभूत हृदयस्पर्शी क्षमताका दृष्टिले कुनै लामो कविता वा काव्यभन्दा कम महत्त्वपूर्ण हुँदैन । अहिले भौतिक विज्ञानमा न्युट्रोनको संघनन क्षमता र ब्रह्माण्डकै सानो आयतनमा संघनित अवस्थाको बारेमा चर्चा हुन्छ । मलाई मुक्तक त्यस्तै संघनित कविताको रूप जस्तो लाग्छ । जसरी सम्पूर्ण सृष्टि ब्रह्माण्ड सानो बिन्दुमा अटाउन सक्छ‚ त्यस्तै यावत् भाव ब्रह्माण्ड पनि मुक्तकीय विन्दुमा  समाहित हुन सक्छ ।”

साहित्य र विज्ञान दुई फरक ध्रुवको वकालत गर्ने विषय हुन् । साहित्यले सत्यमा पुग्न भावनाको साथ लिएको हुन्छ भने  विज्ञानले सत्यमा पुग्न तथ्यको साथ लिएको हुन्छ तर सरुभक्त भने त्यसको अपवाद हुनुहुन्छ । उहाँ मुक्तकको बारेमा बुझाउन विज्ञानको साथ लिनुहुन्छ । तर त्यो परस्पर विरोधी विषयलाई एकै ठाउँमा ल्याएपछि त्यसले पाठकमा पार्ने प्रभाव भने चमत्कारिक हुँदोरैछ । यी हरफहरू पढेपछि मलाई थाहा भयो साहित्यको आफ्नै विज्ञान हुँदो रहेछ । प

पुस्तक मन पराउने दुई कारण छन् । एक हो, संग्रहका मुक्तकहरू मेरा लागि प्रेरणाका स्रोत हुन् । किनकि म विसङ्गति विरुद्ध व्यंग्य लेख्न रुचि राख्छु । मान्छेमा देखिने द्वेष चरित्रले छिट्टो छुन्छ र त्यसो भण्डाफोर गर्न मन लाग्छ, जसमा म आफैं पनि पर्न सक्छु । दुई, हामीले भोग्दै आएको आधुनिकताको एउटा मुख्य विशेषता भनेकै विरोधाभास हो । दुनियाँ देखिए जस्तो छैन अनि जस्तो छ त्यस्तो देखाइँदैन । विरोधाभासले विसङ्गतिलाई जन्म दिन्छ । त्यही हो विसङ्गतिको बीउ । यस संग्रहका १ सय २५ वटा मुक्तकमा अधिकांश मुक्तकले त्यही हाम्रो समकालीन जीवनको विरोधाभासलाई उदाङ्गो परेका छन् ।

यस संग्रहको “विसङ्गति – ४” शीर्षक मुक्तकमा हाम्रो लोकतन्त्रको विसङ्गतिलाई यसरी उजागर गरिएको छ  ।

तपाईं को हो र महाशय‚ तपाईंलाई कतै छुनै नहुने

जे गर्नुस्, आफूखुसी मनपरी‚ शंका भन्ने हुनै नहुने

नबिराउनु, नडराउनु‚ किन कुर्लनुहुन्छ आफैं नाङ्गिएर

कस्तो लोकतन्त्र हो यो महाशय‚ प्रशंसाबाहेक सुन्नै नहुने

हाम्रो देश र समाजमा व्याप्त विसङ्गतिका अनेक पक्ष छन् त्यसमध्ये सबै भन्दा ठूलो र उदेकलाग्दो विसङ्गति राजनीतिमा छ । प्रजातन्त्रमा त सहअस्तित्वको कुरा हुनुपर्ने, खुल्ला बहस र आलोचनाको माहौल हुनुपर्ने । र अझ राजनीति गर्ने मान्छे त ती कुराहरूमा झन् खुल्ला र उदार हुनुपर्ने हो । तर हाम्रोमा त ‘प्रशंसा’ बाहेक केही पनि पच्दैन । विरोध गर्नेहरू पाखा लगाइछन् । राजनीतिमा कपाल फुलेका पार्टी मात्र होइन भर्खर जुँगाको रेखी बस्दै गरेका पार्टी पनि  प्रशंसाको भोकको रोगबाट उन्मुक्त हुन नसक्नु हाम्रो  विडम्बना हो ।

यस संग्रहमा मलाई मन परेको अर्को मुक्तक चाहिं ‘देश’ शीर्षकको हो । यसमा मुक्तककारले स्टन्टबाजी र बजारे हल्लाको पछि दौडन हाम्रो सामाजिक चरित्रलाई प्रहार गरेका छन् ।

ह्यारी आए उताबाट‚ ह्यारीमय हुन्छ देश

‘चरी’ भेटिए यतैतिर‚ चरीमय हुन्छ देश

अलिकति वस्त्र खोलिन् भने कुनै षोडशीले

सबै कुरा बिर्सेर फेरि परीमय हुन्छ देश  ।

 एक षोडशीले ‘अलिकति वस्त्र’ खोल्दा देशै परीमय हुनुपर्ने अवस्था कति हास्यास्पद छ । यो हाम्रो कट्टु सत्य हो । देशको प्रधानमन्त्री देश विकासको रूपरेखा बनाउन विज्ञहरूसँग सघन परामर्शमा हुनुपर्ने हो । तर हाम्रा प्रधानमन्त्री भने एउटा गीतकारले लेखेको गीतका पछि लागेका हुन्छन्, एउटा गायकका पछि लागेका हुन्छन् वा बालुवाटारमा बाँसुरी बजाएर नाचेका हुन्छन् । ‘ह्यारी र चरी’ले देश चलाएपछि विसङ्गति नमौलाएर के मौलाउने अपेक्षा गर्ने र !

यी तल उल्लिखित मुक्तकहरूले भने मेरो मनमा एक प्रकारको तरङ्ग पैदा गरे । सबैभन्दा बढी प्रेमको छटपटीले जसभित्र रमाइलो अनुभूति लुकेको छ अनि गहिराइमा प्रेमको सर्व स्वीकृत आदर्श ।

१३. छटपटी

तिमीलाई देख्दा पनि छटपटी हुन्छ‚ नदेख्दा झन् छटपटी हुन्छ

सत्य भनूँ, लेख्दा पनि छटपटी हुन्छ‚ नलेख्दा झन् छटपटी हुन्छ

औषधीविहीन मनोरोग नै रहेछ ‘अनामिका’‚ यो याद भन्ने कुरा पनि

लाग्छ, तिम्रो बाटो छेक्दा पनि छटपटी हुन्छ‚ नछेक्दा झन् छटपटी हुन्छ ।

“छटपटी” शीर्षक मुक्तकले मलाई रोबर्ट बर्न्सको ‘माइ लाभ इस लाइक द रेड रेड रोज’ भन्ने विश्वप्रसिद्ध अंग्रेजी कविताको सम्झना दिलायो । प्रेममा परेको मान्छेको लागि प्रेमी साथमा हुनु र नहुनुले केही फरक पार्दैन । यादहरूले नै प्रेमलाई जीवन्त बनाउन सक्छन् । बाटो छेक्दा छटपटी हुन्छ तर नछेक्दा झन् छटपटी हुन्छ । देख्दा छटपटी हुन्छ नदेख्दा झन् छटपटी हुन्छ । प्रेम एउटा रमाइलो विरोधाभास हो ।

तल प्रस्तुत ‘समयको खोलामा’ शीर्षक मुक्तकमा गरिएको समयसँग खोलाको तुलना उत्कृष्ट र गम्भीर छ । खोला जस्तै समय फर्कंदैन । तर हाम्रो देशको दुर्भाग्य  नै भन्नुपर्छ जति नै परिवर्तन भने पनि ‘फाटेका जामाहरू’ नै  अघि लागेका छन् । बगिसकेको फोहर खोलो दोहोरिएर फर्किने र त्यसैको पानी खानु पर्ने बाध्यताले हामी नेपाली प्रताडित भएका छौं ।

११९. समयको खोलामा

परिवर्तनको साक्षी ती सत्र हजार आमाहरू छन्

जेलको छिंडीबाट चिहाउँदै माइला लामाहरू छन्

पानी त निकै बग्यो समयको खोलामा वर्षौंदेखि

के गर्नु खै अघि तिनै फाटेका जामाहरू छन्  ।

यहाँ त उल्टै  ‘नाङ्गाहरू देखेपछि लाज…’ डराउने अवस्था आएको छ । यो भन्दा ठूलो विसङ्गति के नै हुन सक्छ र ?

११५. लाज डराएछ

हिजो सिंह ठान्थ्यो‚ किन आज डराएछ

झम्टा हानिसकेपछि बाज डराएछ

स्याल पनि सिंह बन्ने बस्तीभित्र हाम्रो

नाङ्गाहरू देखेपछि लाज डराएछ 

सामान्यतया अरू साहित्यिक कृतिहरू जस्तै यस मुक्तक संग्रहले पनि हामी बाँचेको समाजको चित्र कोरेको छ । तर फरक अवश्य छ – चित्र कोर्न प्रयुक्त चमत्कारिक अनुभूति दिलाउने बिम्ब र प्रतीकहरूको प्रयोग । हो, जसले यस कृतिलाई उत्कृष्ट मानक बनाएका छन् ।