लेखनमा दर्शन, बिम्ब, प्रतीक, बौद्धिकता अनि प्रस्तुतीकरणको सुन्दर ढाँचा पाइन्छ । अझ म भन्छु – उडानले छुनसकेको छ मुटुभित्रको स्पन्दन अनि सम्पूर्ण लेखनवादका सम्मिश्रण अभिव्यक्तिहरू ।

 

लेखेर मानिसको मनमा राज गर्नु ! अहिलेको समयमा कठिन विषय हो । हेर्ने–सुन्ने अनि इन्टरनेटको कृत्रिम दुनियाँको बढ्दो प्रयोगको यो समयलाई मध्यनजर राखेर एक कलाकारले कुनै रचना सृजना गर्नु सकारात्मक ठूलो जाँगर मान्दछु म । त्यही माथि आफ्ना रचनाहरूलाई एक रूप अथवा सिङ्गो पुस्तकको आकार दिनु भनेको गतिलो आँट मान्नुपर्दछ ।

उडान

‘उडान’ त्यो आँट हो ।

‘गरेरै छाड्छु,’ यो ‘उडान’को अडान हो ।

‘गरिछाडें !’ यो कवि ‘विमल खतिवडा माइला’को उठान हो ।

मान्छेले चाहे संघर्ष लाए कहिल्यै चुक्दैन

फेदमा बसी कल्पना गर्दा शिखर पुग्दैन ।

‘विमल खतिवडा माइला’ सफल शिक्षक । स्पष्टवादी उद्घोषक । अंग्रेजी साहित्यका अध्येता । साहित्यिक नाम ‘माइला’ जोड्छन् । तर काव्यिय छन्द लेखनमा उहाँलाई म हाम्रो तिरका ‘जेठो’ मान्दछु ।

सम्मानले म गुरु सम्बोधन गर्छु उहाँलाई ।

हाम्रोतिर अहिले खट्किएको साहित्य विधामा काव्यिक अभावलाई यसरी भरपूर गर्नुहुने आदरणीय कविप्रति ढोग गर्दै हार्दिक धन्यवाद साथै कृतज्ञता प्रकट गर्दछु ।

खण्डकाव्यमा समाहित १ सय २० वटा पद (श्लोक) सबैले आफैमा जिउँदा अर्थ बोध गराउँछन् ।

अपितु कति पदले बोकेका छन् लेखनमा दर्शन, बिम्ब, प्रतीक, बौद्धिकता अनि प्रस्तुतीकरणको सुन्दर ढाँचा पाइन्छ । अझ म भन्छु – उडानले छुनसकेको छ मुटुभित्रको स्पन्दन अनि सम्पूर्ण लेखनवादका सम्मिश्रण अभिव्यक्तिहरू ।

लगभग दुईतीन वर्ष अघि एक सज्जनले फोन कलमा एउटा प्रसङ्गमा छोरा नभएको उसको पीडा मलाई पोखेका थिए । पछि छोरा जन्मिएपछि खुशी भएर पुनः मलाई कल गरेर ‘अब शान्ति भयो भाइ !’ भनेका थिए ।

उडान पढेपछि ती सज्जनलाई सम्झें मैले । किनकि ती सज्जन सामान्यतः स्तरका होइनन् । उच्च शिक्षा प्राप्त विद्वान सँगै राष्ट्रकै केन्द्रीय ओहोदामा कार्यरत छन् उनी ।

उडान प्रसङ्गलाई विमुख बनाउने आशय मेरो पटक्कै हैन ।

सोझै बुझें यसो – हाम्रो समाज अझै पनि ती पुरानो कुरीति रिवाज अनि अन्धविश्वासको हैकमवादी समयबाट निस्किएको छैन । यसमा गाउँका निम्नस्तर र अनपढ मात्र शिकार भएका छैनन् विषयलाई प्रष्ट्याउने प्रयास हो ।

आहाल हुन्छ रगत बग्दा पेट है दुखेर

कपडा छैन के गरी राख्नु भित्र नै छोपेर ?

शिथिल हुन्छ शरीर पनि रगत बगेर 

अति नै गाह्रो हुँदो छ बस्न यो पनि सहेर ।

अहिले पनि बुझ्दैन हाम्रो समाज । नारीको महिनावारी समय । ‘छि: छि: र दूर दूर !’ चलन अझै पनि स्थापित छ । किशोरावस्थामा शुरूको समय अहिले पनि घर बाहिर पठाउने र अलग्गै प..र राख्ने कुरीति छँदैछ । शुभ कार्यमा सामेल हुन मनाही छ । अझ धर्मको बेकामे निर्देशनले हाम्रो समाजका शिक्षित/अनपढ सबै स्तरका नारीहरू सुनको सुगा सरह बाँच्न अहिले पनि बाध्य छन् ।

छोरा नजन्मिए एउटी नारीले भोग्नुपरेको घरेलु उत्पाद, हिंसा, सौतावादको पीडा त सम्पूर्ण पूर्वेली देशको संस्कार भएको विभिन्न शोधले प्रमाणित गरिसकेको छ । जसमा भारत पहिलो पंक्तिमा रहेको प्रमाण छ । यस्तो वातावरण व्युत्पत्ति त सनातन हो । नारी-पुरुष बराबरको नारा आएको त बेसी भएको छैन । तर नारी दलित अभागी हुनु स्वयम् नारीको पनि उत्तिकै उपस्थिति रहेको देखिन्छ जति पुरुषको सहभागिता छ ।

नारी नै आदि नारी नै शक्ति नारीले पुज्दैनन्

नारीको कथा नारीको व्यथा नारीले बुझ्दैनन् ।

उडानले गरेको उठान सोझै हाम्रो समाज हो । हाम्रो समाजको प्रतिनिधि हो । जसलाई सहजताका साथ दुनियाँले बुझ्दछ । जान्दछ ।

अहिले के शहर के गाउँ सबै समाजमा मासु लुछ्ने ब्वाँसोहरू लुछुप्पै रहेको त दैनिक समाचार र सोशल मिडियाले बताइरहेको छ । देशकै ठूल्ठूला शहरहरू ग्रसित छ । यसको रोकथाम र निकास प्रयोगमा ल्याउन नसकेर कति सत्ताको सरकार ढलेको छ । प्रशासन पनि हैरान छ !

उडानमा उल्लेखित मध्य डुबर्सको चाल्सा जस्तो स्यानो बजारमा पनि उसवेला नारीहरूलाई त्राही/त्राही हुनुपर्ने प्रसङ्गले स्पष्टताका साथ दर्शाउँछ हाम्रो भूतकालका समय ।

नशाले ग्रस्त सहरी युवा कानुन अन्धो छ

भविष्य हेर देशको आज चिन्तित बन्दो छ ।

सुरक्षा छैन नारीको ऐले हरेक कुनामा 

पर्दैन किन कहिले पनि प्रहरी थुनामा ?

लेखनमा कतै न कतै दर्शन हुनै पर्दछ । नत्र खल्लो हुन्छ । थिम र मिथकीय अवधारणाको मिलनले सिङ्गो पुस्तकको ओज बढाउँदछ । यो मेरो मान्यता हो !

उडानले अन्याय कतै र कसैलाई पनि नगरेको म ठान्छु:

घमण्ड गर्नु बेकार लाग्यो रूप र रङ्गको 

हुँदैन मोल दरिद्र हुँदा सुन्दर अङ्गको ।

ईश्वर पनि दिंदो छ साथ हुने र खानेको 

सुन्दैन किन चीत्कार ठूलो हुँदा त खानेक ?

मन्दिर बन्यो मस्जिद बन्यो संसारै ढाकेर

आएन तर ईश्वर भने मनले डाकेर ।

‘उडान’ कसैलाई एकतर्फी रूपमा नलिएको म मान्दछु । नारी हिजो पनि पूज्य जननी छिन् आज पनि सम्माननीय छन् र आउँदो युगौं युगसम्म आस्था र ममताको खानी रहनेछ ।

त्यसैले भन्छु हरेक नारी आमा हुन् कसैको 

जसले गर्छ उनको हेला नोक्शान उसैको ।

नारी नै आदि नारी नै अन्त्य नारी छन् महान् 

सबैले मिली गर्नु है सधैं नारीको सम्मान ।

उडानका ४ खण्ड छन् ।

श्रीगणेश, उत्पीडन, उन्मोचन र उडान ।

बीचको दुइटै खण्डले रुवाउने छ । प्रपीडन, आत्मापीडा, संवेदनाको प्रचुर स्वैरकल्पनाले कुनै दह्रो मनको ढिस्काना पनि भत्किनेछ । अन्त्यको खण्डले मज्जा र आनन्द दिनेछ । मान्नुहोस् कुनै फिल्म हेर्दा हेप्पि इन्डिङ भए जस्तै..!

सांगोपांगो यति बुझें मैले उडानको अध्ययन गरेबापत । पुस्तकको आकार सानो र पात्लो छ तर यस किताबले समग्रताको साथ हाम्रो समाजको एउटा वास्तविक दुःखद पाटोलाई डल्लै बोकेको छ । देवकोटाकृत ‘मुनामदन’ पछि मलाई मन परेकोले खण्डकाव्य ‘उडान’ भयो ।

काव्यका अथाह नियमभित्र एउटा निश्चित धारा समेटेर साथमा आफ्नो भावोउक्तिलाई कुनै अन्याय नगरी सृजना गर्नु कुनै लरतरोको लेखन-कर्म अवश्यै होइन । श्लोकका प्रत्येक संरचनालाई नियमबद्ध सजाउन कवि कति घोत्लिए होला ? मेरो त दिमागले थाम्न सक्दैन । फेसबुकमा निक्कै एक्टिभ रहनु हुने कवि माइला अहिले घरी वरिपरि आयोजना गरिएको साहित्यिक कार्यक्रममा प्रायः उपस्थित देखिन्छ । कविता, गजल, छन्द कवितामा उहाँको पकड स्थापित रहिसकेको छ ।

अचेल प्रकाशित सबै प्रकारका संग्रहको बनावटमा केही नयाँ ढाँचा र अवधारणालाई प्रमुखता दिने गर्दछन् । उडानले त्यो नयाँपनलाई ख्याल गरेन । उही पुरानै ढाँचाको सजावट देखियो ।

संग्रहमा प्रकाशक कलम देखिएन ! बरु यो युनिक (Unique) देखियो । आफ्नो कुरा राख्नुपर्ने कलममा कविको छरितो मिठो कृतज्ञता कलम पछिल्लो पन्नामा राख्नाले राम्रो लाग्यो । आवरण सुन्दर रहेको छ । पुस्तकको पछिल्लो पाटोमा कविको तस्वीर सँगै कविकै केही साहित्यिक गुँड शब्द समावेश भएको भए मज्जा आउने थियो !

वर्तमान नेपाली जगतका वरिष्ठ, आदरणीय प्रा डा. देवी नेपाल ज्यूको भूमिकाले उडानको स्तर आकाशको छेउसम्म पुग्न सफल रहेको म ठान्दछु !

अन्त्यमा अनलाइन मार्फत पुस्तक उपलब्ध गराइदिने प्रिय भाइ छेवाङ योञ्जनप्रति आभारी छु ।

समाप्त ।

दार्जीलिङ, भारत