वास्तवमा प्रकृतिको सुन्दरताको प्रत्यक्ष बयान कलाले नै गर्नसक्छ । आधुनिक कला जीवनको शुरूवातको विन्दु प्राकृतिक सौन्दर्यताको धरातलीय पृष्ठभूमि हो । त्यसैले प्राकृत रूपमै कलाको नाता प्रकृतिसँग जोडिएर आएकोले प्रकृति र कला अभिन्न छैनन । नङ्सँग मासुको सम्बन्ध जस्तै छन् ।
माछापुच्छ्रे लगायत विभिन्न हिमश्रृंखलाहरू नजिकैबाट हेर्ने रहर कसैलाई हुँदैन ? जो कोहीलाई पनि हुन्छ । साच्चै कसैलाई अहिले नै हेरिहाल्ने हुटहुटी छ भने पोखरा वा त्यसको छेउछाउका गाउँघरहरू गइहाल्नु, धाइहाल्नु पर्दैन, उनको सजीव चित्र हेरे पुग्छ । किनकि उनको यथार्थपनमा प्रस्तुत भएका हिमश्रृंखलाको मनोरम दृश्यसंरचनाले कुनैपनि दर्शकलाई त्यहीँ पु-याएको अनुभूत बाँड्छ । यति मात्र होइन, उनका चित्रमा नेपाली गाउँघर, गोठ, बस्ती, धार्मिक तथा सांस्कृतिक जनजीवन र रहनसहनका विषय सजीव ढंगले प्रस्तुत भइरहेका हुन्छन् ।
प्रकृति र यसका अन्तर्निहित सुन्दरतालाई यसरी सर्लक्क क्यानभासमा उतार्न खप्पिस उनै कृष्णगोपाल रञ्जितको पछिल्लो समयको एकल कला प्रदर्शनी ‘रसियन कल्चर हल’मा केही वर्षअघि सम्पन्न भएको थियो । प्रदर्शनीमा राखिएका चित्रहरूले यही कुराको संकेत दिन्थ्यो । ‘कलाभित्र एकताको तार उनिएको हुन्छ’ भनेर बोदलेयरले भने जस्तै रञ्जितका अधिकांश वस्तुवादी चित्रहरूले प्राकृतिक सुन्दरताको बखान गाउँदै एकताको तार उनेका हुन्छन् भने कतिपय चित्रले समसामयिक कलाधारलाई छुएका हुन्छन् ।
कृष्णगोपाल रञ्जित नेपाली वस्तुवादी कलाका अग्रिमपंक्तिका वरिष्ठ सिद्धहस्त कलाकार हुन् । उनका कलामा प्रायोगिक हुँदै आएका वस्तुविन्यास, रङचयन, प्रकाश र छायाँको प्रस्तुति, वातावरणीय समयको धडीले ल्याएको प्रभाव ज्यादै उच्चकोटीमा खारिएका पाइन्छन् । सम्भवतः यसलाई उनको कलाशिल्पको यो पराकाष्ठै हो भन्दा न्यायोचित हुन्छ । सन् १९३२ मा पोखरामा जन्मिएका रञ्जितको कला जीवन पोखराबाटै शुरू भएको हो । यद्यपि कला जीवनको सशक्त र गहन मोड भने वि.स. २००४ सालमा काठमाडौं भित्रिएपछि नै भयो । र उनको स्वअध्ययन कला जीवनले जीवन्त रूप लियो । कलासिर्जना सँगसँगै नेपाल वायुसेवा निगम (आर. एन. ए. सी.)मा २८ वर्षसम्म सेवा पु-याएर पदीय दायित्व पूरा गरेका र जीवनको मध्यकालमा केही वर्ष बिरामीका कारण थलिएर स्वस्थ्य भएका रञ्जित नेपाली कलाभूगोलका आदरणीय मार्गनिर्देशक हुन् । कलागुरू हुन् । उनको जीवन्त वस्तुवादी कलाको अगाडि अन्य नेपाली कलाकारका वस्तुवादी कला अधुराझैँ लाग्छन् । आजको यस समयकालसम्म आइपुग्दा रञ्जितले हजारौं चित्र तथा केही मूर्तिहरू कुदेर नेपाली कलाभण्डारलाई सम्वृद्ध बनाएका छन् । र नेपाली कलाक्षेत्रमाथि बिर्सनै नसकिने ठूलो गुन लगाएका छन् ।
केही वर्षअधि दिवंगत भएका भारतका चर्चित तथा महङ्गा चित्रकार एम.एफ. हुसैनको कलाजीवनसँग उनको कलाजीवन दाँजेर हेर्ने हो भने तादात्म्य भेटिन्छ । किनकि जसरी हुसैनले रोडमा बसेर साइनबोर्ड र फिल्मी पोष्टरको सिर्जनाबाट आफ्नो कलाजीवनलाई अगाडि बढाएका थिए, त्यसैगरी रञ्जितको कला जीवनको शुरूवातीकाल बितेको थियो । रञ्जितले पोखरामा साइनबोर्ड तथा विज्ञापनको धरातलबाट आफ्नो कलाजीवनलाई अगाडि बढाएका थिए । उनी भन्छन्– ‘काठमाडौंमा ‘कमर्सियल’ अर्थात् व्यावसायिक कलाको पहिलो पसल मेरै हो ।’ अचेल उनका चित्रहरू हजारौं मूल्यमा बिक्री हुने गर्दछन् । तुलिकाको प्रयोग सँगसँगै क्यानभासमा प्रायः ‘नाइफ’को अधिक प्रयोग गर्ने उनको चित्रको बजारमूल्य धेरै राम्रै छ । केही समय अघिको उनको एक कला प्रदर्शनीमा एक जापानीज संग्रहकर्ताले लाखौँ मूल्य तिरेर अधिकांश चित्रहरू खरीद गरेर लगेको घट्ना मेरो मानसपटलमा ताजै छ ।
उनका चित्रहरू विदेशका विविध ग्यालरी, संग्रहालय, व्यक्तिगत संग्रहकर्ता लगायत नेपालका विविध स्थान– पाँचतारे होटल, मन्त्रालय, ठूल्ठूला महल र भवनहरूमा संग्रहीत भएका तथा सजिएका देख्न सकिन्छ । चित्रबाहेक पछिल्लो समयमा उनले ससाना तर विविध माध्यम र पदार्थहरू – चुन, ढुङ्गा, नून, ‘सुपरग्लु’ लगायतको सम्मिश्रणलाई आत्मसात तथा प्रयोग गरी विविध विषयका मूर्तिहरू पनि बनाएका छन् । ती मूर्तिकलाको दृश्यावलोकनबाट उनी चित्रमा मात्र होइन, मूर्तिमा पनि सिद्धहस्त र धैर्यवान कलाकार हुन भन्ने प्रमाणित हुन्छ । यति मात्र होइन, उनको हात म्युरलकला, आन्तरिक सजावटका कला लगायतका विविध क्षेत्रका कलाहरूमा पनि चल्ने गरेको पाइन्छ । यस्ता कला सिर्जना गर्न उनलाई स्वदेश तथा विदेशबाट उनलाई आजको लगभग ९० वर्षे जोवनमा पनि बारम्बार निमन्त्रणा आउने गर्छ । यस्तै काम, कला प्रदर्शनी तथा कलाभ्रमणका क्रममा उनी जर्मनी, हङकङ, भारत, जापान, सिङ्गापुर, श्रीलङ्का, कोरिया लगायतका थुप्रै देशहरू पुगेर आइसकेका छन् ।
प्रायः हुबहु अर्थात् जस्तो देखिन्छ त्यस्तै हुनुपर्दछ ‘कला’ भन्ने मान्यतामा रहेर आजसम्म चित्र कोर्दै आएका रञ्जित र उनका पछिल्ला चित्रहरूले भने परिवर्तन रूचाउँदै जडसूत्रीय परम्परावादी धारलाई तोड्ने इच्छा जाहेर गरेको आभास मिल्छ । किनकि पछिल्लो प्रदर्शनीमा राखिएका उनका केही नौला चित्रहरू प्रयोगवादी धारमा बनेका छन् । प्रदर्शनीमा राखिएको धुवाँको माध्यमले बनाइएको एकाध चित्र र अन्य केही क्यानभासहरू अमूर्तवादमा रङ्गीन खोजेको यसैको उदाहरण हो । शायद यसो हुनुमा उनलाई विश्व प्रशिद्ध कला र कलाकारका कलाजीवनीले अगाध छोएको हुनुपर्दछ । किनकि उनलाई थाहा छ कि वस्तुवादको धरातलमा नटेकी विश्वका कुनै पनि कलाकार प्रसिद्ध आधुनिक कलाकार बनेको इतिहास छैन । त्यसैले होला उनी र उनको कलाले प्रगतिवादी उडान भर्न खोजेको !
सन् १९३२ मा पोखरामा जन्मेका रञ्जितले सोह्रौं (१६, १७) पटक एकव्यक्ति कला प्रदर्शनी र दर्जनौं पटक सामूहिक कला प्रदर्शनीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिसकेका छन् । यस्तै राष्ट्रिय प्रतिभा पुरस्कार, जापानको फुजी टेलिभिजनद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार, नाफाले प्रायः विरलै दिने महत्त्वपूर्ण सम्मान तथा पुरस्कार, नेपाल वायुसेवा निगमबाट स्वर्णपदक लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट यस्ता अनगिन्ती साना ठूला पुरस्कार तथा सम्मानहरू उनले प्राप्त गरिसकेका छन् ।
यस्ता स्रस्टाको पछिल्लो कला प्रर्दशनीमा नेपाली कलाकारको उपस्थिति खासै नदेखिनुले र छापाले पनि महत्त्व नदिनुले उमेरले पाका भैसकेका हाम्रा कलाकारलाई आदर र हौसला दिने हाम्रो संस्कार हराउँदै गएको हो कि त भन्ने लाग्छ । वास्तवमा ‘प्रोपोगण्डा’ र प्रचारको दुनियाँबाट प्रायः टाढै बस्न रूचाउने तर आफ्नो काममा भने जीवन अर्पने यस्ता कलाकार नै वास्तवमा पक्का कलाकार हुन् र कालान्तरसम्म पक्का रहिरहन्छन् । यसको उदाहरणमा हामीसँग भेनगगको जीवनशैली पर्याप्त छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।