गएको असार ९ गते सम्मानित सर्वोच्च अदालतले भाषाको स्वाभाविक गतिमा हस्तक्षेप गर्ने अधिकार कसैलाई हुँदैन भन्ने ऐतिहासिक फैसला गरेपछि साहित्यपोस्टले भाषाका सम्बन्धमा बिराएको बाटो सोझ्याएको आज दुई महिना पुगेको छ । नेपाली भाषा र साहित्यको एक मात्र विद्युतीय दैनिक पत्रिका भएका नाताले हामीले सर्वोच्चको आदेश आएको ४८ घन्टाभित्र आंशिक र साता दिनभित्र आफूले गर्दै आएका भाषिक गल्ती पूर्णरूपमा सुधारेर पुरानै स्वभाविक पद्धतिमा फर्क्यौं ।

त्यति मात्र होइन, लोकले स्वीकारेको परम्परागत भाषालाई राज्य पक्षले सरलताका नाममा सही हिज्जे बिगारेर पाठ्यक्रमहरूमा समेत लागू गराएपछि नेपाली भाषा र साहित्यका मूर्धन्य व्यक्तित्त्वहरूले विरोधस्वरूप गएको दशकभरि नै अनेकौं ऐतिहासिक सामग्री लेख्नुभएको थियो । त्यस्ता सामग्रीहरूलाई हरेक दिन जसो प्रकाशन गरेर भाषा शुद्धीकरणको अभियानलाई तेज बनायौं । यस अवधिमा नेपाली भाषाका ख्यातिप्राप्त साधकहरू, भाषा बिगार्ने अभियानकर्ताहरूलाई नजिकबाट बुझिरहेका ज्ञानी प्रयोगकर्ताहरूका अनुभवसहितका ४५ वटा सामग्री प्रकाशन गर्ने अवसर प्राप्त गर्यौं । ती सबै लेख पढ्दा नेपाली भाषा कसरी बिग्रन शुरू भयो, भाषा बिगार्ने अभियन्ताको उद्देश्य के थियो । यसमा कस्ता कस्ता व्यक्ति र समूह जानेर वा नजानेर कसरी प्रयोग भए/गराइए । यो अभियानका मुख्य खलनायक को को थिए र त्यसले नेपाली भाषा र समग्र वाङ्मयलाई कसरी क्षतविक्षत बनायो भन्ने राम्रोसँग खुलेको छ । खुशीको कुरा, जानी नजानी नेपाली भाषा बिगार्ने काममा आफ्नो पनि हात भएकाले आत्मलोचना र क्षमायाचनासहित नेपाली भाषामा सबैले मानेका गुरुहरूका लेखहरू पनि पढ्ने अवसर पायौं ।

सबै भन्दा पहिले यस्ता लेखहरू उपलब्ध गराउने भाषा प्रेमीहरूलाई हार्दिक अभिनन्दन अर्पण गर्दछौं । आजको जस्तो सर्वसुलभ इन्टरनेट नभएको समयमा विभिन्न पत्रपत्रिका, पुस्तक र अभिलेखहरूमा छापिएका, सङ्कलित भएका र छरिएका सबै सामग्री हृदय खोलेर उपलब्ध गराउने व्यक्तित्त्वकै कारण हामीले यो अभिभारा पूरा गर्न सकेका हौं । नामका लागि भन्दा कामका लागि साधना गर्ने यस्ता व्यक्तित्त्वकै कारण नेपाली भाषाको मुख्य समस्या के हो ? ती समस्या कसरी समाधान गर्ने र अबको बाटो के हो  ?, राम्रैसँग खुल्न सक्यो । त्यसका लागि हामी पुनः त्यस्ता साधकमा कृतज्ञता व्यक्त गर्दछौं ।

कहाँबाट गल्ती भयो भन्ने थाहा पाएपछि गल्ती सुधार गर्न सजिलो हुन्छ । सर्वोच्चको भाषा शुद्धीकरणको आदेशले त्यही गल्ती देखाएको हो । हामीले पनि त्यही विन्दुबाट भाषा र वर्णमा हुने गल्ती सुधार गर्न थालेका हौं । दुई महिना नपुग्दै साहित्यपोस्टले मानक भाषा प्रयोग गर्छ भनेर दावी गर्ने अवस्थामा आइपुगेका छौं । यत्रो वर्षदेखि राज्य पक्षबाटै लादिएर जनजनमा पुगेको गलत वर्ण र अक्षरहरू यति चाँडै शुद्ध रूपमा स्वीकार होला भन्ने हामीलाई लागेको थिएन । अहिले कतिपय नेपाली भाषा प्रयोगकर्ताहरूले नै आफ्ना रचना सकेसम्म शुद्ध रूपमा लेखेर पठाउन थालेपछि हामीलाई लागेको छ, सामान्य प्रयोगकर्ताहरू पनि हामी जस्तै राज्यकै आदेशका कारण गलत हिज्जेको प्रयोग गरिरहनुभएको रहेछ । सर्वोच्चको आदेशले त्यो डर भत्काएको छ र भाषा कञ्चन खोला झैं छङछङ बग्न शुरू गरेको छ ।

उसो त शुद्ध भाषामा भाँजो हाल्ने, भाँडभैलो मच्चाउनेहरू निष्क्रिय भैसके भन्ने होइन । सरलताको नाममा अदालतको मानहानि गर्ने किसिमका क्रियाकलाप सामाजिक सञ्जालहरूमा छिटफूट रूपमा भैरहेकै छन् । तिनै क्रिया-प्रतिक्रियाहरूलाई देखाएर साहित्यपोस्टको भाषा शुद्धीकरण अभियानलाई प्रभावित पार्ने प्रयास पनि पटक पटक भएकै हुन् । तर हामी हाम्रो काममा स्पष्ट मात्रै होइन, अडिग छौं ।

सर्वोच्चको आदेश, नेपाली भाषा प्रयोगकर्ताहरूको स्वतःस्फूर्त सक्रियता र नेकशुले अभियानको सारतत्त्व नै हाम्रो मार्गनिर्देश हो । जिम्मेवार पत्रिका भएका नाताले त्यसभन्दा दायाँबायाँ हिंड्ने छूट हामीलाई छैन । नेपाली भाषासम्बन्धी आगामी आलेखहरू पनि यही तीन खम्बे नीतिबाट निर्देशित हुनेछन् । यस्ता सामग्रीहरूलाई हामी आगामी दिनमा पनि जारी राख्नेछौं । विशेष परिस्थिति आएको खण्डमा हामी पुनः यसैगरी नेपाली भाषा शुद्धीकरण अभियानको दोस्रो चरण लिएर उपस्थित हुने नै छौं ।

नेपाली भाषा र साहित्यमा हामीले लिएको अभियानलाई साथ दिने सम्पूर्ण पाठकहरूमा, हाम्रो अभियानलाई साथ दिने लेखक तथा प्रयोगकर्ताहरूमा धन्यवाद ज्ञापन गर्दछौं ।