प्रमोद प्रधान

आधुनिक नेपाली कविताका एक सिद्धहस्त कवि हुनुहुन्छ – प्रमोद प्रधान ।
हरेक क्षेत्रको गहिरो अध्ययन / गतिशीलता / दीर्घ-साधना र सबैसँग सौहार्द मिजास राख्नु नै प्रधानका ‘प्रधान’ चिनारी हुन् ।

मिष्टभाषी / शिष्ट / सरल र सादगी जीवन बाँचेका प्रमोद प्रधानलाई कविको उपमा मात्रैले पुग्दैन । उहाँ कथा / निबन्ध, समालोचना र बाल साहित्यका क्षेत्रमा पनि उत्तिकै सक्रियता राख्नुहुन्छ ।

हरेक विधामा प्रखर समालोचकीय दृष्टिकोण समेत राख्ने उहाँसँग सबैलाई आकर्षित गर्ने कला पनि छ । नेपाली साहित्यको बहुआयामिक व्यक्तित्व हुनुहुन्छ – प्रमोद प्रधान ।

उहाँका कविताको जग – हाम्रो असमान सामाजिक संरचना हो । हामीले बाँचेको विकराल युगको शालीन विद्रोह हो । मानवीय मूल्य मान्यता र दर्शनको लोकार्पण हो । लोकतान्त्रिक चरीत्र र चिन्तन हो । बौद्धिक अनि कलात्मक शिल्पको आलोक हो । भुइँ मानिसहरूका आँखामा प्रतिबिम्बित दु:ख / पीडा र अत्याँसको प्रस्तुति हो ।

उहाँका हरेक कविताहरू गीताका श्लोक जस्ता लाग्छन् ।
कविताहरू जति पटक पढ्यो, कविताले दिने मिठास् र अर्थहरू क्रमशः खुल्दै जान्छन् ।

कविता जीवनको प्रकाशन पनि हो । जो शब्द-कलाका माध्ययमबाट प्रस्तुत हुन्छन् । मानिस र मानिसइतरलाई नजीकबाट स्पर्श गर्ने उहाँका कविताहरूले बोकेको आयाम बृहत् छ । उहाँले भोगेका युगीन दृष्टान्तका दसी-प्रमाण हुन् प्रमोद प्रधानका कविताहरू ।

वि.सं. २०१५ साल असोज १५ गते विराटनगर, मोरङमा माता गङ्गादेवी प्रधान र पिता डिगमप्रसाद प्रधानको कोखमा जन्मनु भएको प्रमोदकुमार प्रधान नै नेपाली साहित्यमा प्रमोद प्रधानका नाउँमा सु-प्रसिद्ध हुनुभयो । बी.कम.सम्मको अध्ययन गर्नुभएको उहाँले लामोसमय राष्ट्रिय समाचार समितिमा सेवा गर्नु भयो ।

प्रस्तुत छ : गोरखापत्र संस्थानको सह-प्रकाशन मधुपर्ककाे वि.सं. २०४३ मङ्सिर अङ्कमा प्रकाशित ‘जाडाेकाे एक बिहान, सूर्य र म’ शीर्षकको शक्तिशाली कविता ।

जाडाेकाे एक बिहान, सूर्य र म

– प्रमोद प्रधान

कोठाको झ्यालहरू बन्द छन्
पलङका ढाडमा सिरानी हाली
अडेस लागेर
एकोहोरो पारदर्शी ग्लासबाट
हेरिरहेछु – जाडाेकाे बिहान
आफैंमा काँपिरहेछ, काँपिरहेछ ।

सेता कुहिरोको बाक्लो नदी
छेउकै पारिजातको बोट नदेखिने गरि बगिरहेछ
छेस्किनी खोलेर झ्याल उघार्दा
चिसो स्पर्श
हरिया पातला पर्दालाई जबर्जस्ती घचेट्दै
मनै छोएर कोठाभित्र पसिदिन्छ ।

जाडाेकाे एउटा बिहान
न्यानो खोज्दै सिरकभित्र गुटुमुटिन खोजिरहन्छ ।
सूर्य – तापको प्रतीक्षामा
ऊ अत्यन्त आतुर छ – आलिंगनका लागि
तर अझै छाँट छैन उसको आगमनको
पूर्व क्षितिज अझै निदाएकै छ
किन हो आज बिम्झेको छैन ।

सधैंको दिग्विजयी सूर्य
आजको बिहान
आकाश ओडेर निदाएको छ ।
यसबेला, यात्राको प्रारम्भ त गरिसक्नुपर्ने हो उसले-
यसबेला, सृष्टिको सौन्दर्यलाई
जीवन्तता प्रदान गरिसक्नुपर्ने हो उसले-
तर, कुहिरोको सिमले भुवाको नरम पर्खाल पनि
आज उसले भत्काउन सकेको छैन
कसरी च्यात्न सक्छ यो सृष्टिको अन्धकार ?
कसरी ढाल्न सक्छ यो संसारको कुसंस्कार ?

घरीघरी कुहिरोबाट च्याउन खोज्छ
घरीघरी अस्तित्व-बोध गराउन खोज्छ
युगौंदेखि अन्धकार विरुद्ध सङ्घर्षरत
सूर्यदेव !
आज किन परास्त भइरहेछ ?
आज किन निराश भइरहेछ ?

बाहिर स्वयं कापिरहेछ बिहान
अलपत्र छ
सधैंको दिग्विजयी सूर्य
आज युद्ध मैदानमा आउन हिचकिचाइरहेछ
म यो जाडाेविरुद्ध सङ्घर्ष गर्न
म यो असहयोगी घाम विरुद्ध युद्ध गर्न
एक्लै निस्किएको छु
म एक्लै युद्ध रच्दै छु ।

• मधुपर्क, २०४३ मङ्सिर

***