यसको अन्त्य पहिले नै तय छ अर्थात् कथाको अन्त्य । तर आरम्भभन्दा पहिले अन्त्य आउन सक्दैन, न मध्यमा नै । तय भएको अन्त्य छ भनेपछि यो जासुसी कथा लाग्न सक्छ, तर त्यस्तो पनि होइन । रोचकता कायम राख्न यसको अन्त्य तय छ भनिराख्दा मिल्छ होला, त्यत्ति सीमित आश मात्र हो । कथा यो त्यस्तो पनि हैन कि जसले दुख र करुणापूर्ण स्थितिको विवरण दिएर पाठकलाई पगालोस्, पात्रप्रति ‘च्चच्च’ गरेर सहानुभूति व्यक्त गर्न लगाओस् । कथा यो माइन्ड ब्लोइङ छ ।
स्वयम् कथा लेख्नेले यो दाबी गरेपछि त्यो दाबी पत्यारिलो हुने, हास्यास्पद वा फितलो नहुने मात्र हो, थप केही होइन । तैपनि यस्तो दाबीमा कथा नपढी पाठक यो पनि भन्नसक्छ, कथाकार खुस्केट रहेछ । याद राखौं, पागलपनबिना लेखन पनि सम्भव छैन । कथाकारले आफ्नो कथालाई ओपनिङमै माइन्ड ब्लोइङ मात्र भन्यो, कतै क्लासिक भनेन । विश्वप्रसिद्ध (तर उपेक्षित) एउटा नेपाली कथा । जरूरी सूचनाको रूपमा लिन सकिन्छ र कथाकारलाई पनि थाहा छ, ऊ आफू खुस्केट होइन, तर पाठकसित लड्न नसक्ने विवशता छ। आखिर लेखक पाठकको हातको खेलौना न हो ! कस्टमर इज अलवेज राइट । पाठक साहित्यको कस्टमर नै त हो !
अर्को पक्ष समालोचकहरूको छ । उनीहरूले जस्तोसुकै पाङ्दुरे कथालाई पनि श्रेष्ठ र आधुनिक, अत्याधुनिक वा उत्तरआधुनिक भनेर नभनिदिएसम्म पाठकले जतिसुकै राम्रो कथालाई पनि गन्दैन । यसरी त पाठक पनि समालोचकको हातको कठपुतली भयो, जसलाई जसरी चाह्यो नचाउने डोरी उनीहरूकै हातमा छ । तसर्थ कथाकारले समालोचकलाई मनाउन कि त उसको घर धाउनुपर्यो कि उसलाई अलि महँगो रेस्टुराँमा लगेर फापरको ढिँडो र जनीवाकर खुवाउन सक्नुपर्यो। (फापर किनभने, समालोचक हाई ब्लड प्रेसरको रोगी हुनसक्छ । समालोचकहरू हाई ब्लडका बिरामी हुनु आवश्यक पनि छ । चाहेजस्तो रचना पढ्न नपाएर समालोचक उच्चरक्तचाप पीडित हुने पनि गर्छन् । साहित्यमा समालोचकको माफियागिरी चलेकै छ।) होइन भने पाँचतारेमा भव्य पार्टी दिएर पुस्तक विमोचन गराउन सक्नुपर्यो । यस कथनमा पनि खतरा छ । पाठक भन्नसक्छ, यस्तो भन्नु असफलताले कुण्ठित कथाकारको मानसिकता हो । तर जेसुकै भने पनि सारांशमा यो कथाले एक अदद वास्तविक कथापाठक पनि खोज्न निस्केको छ । साहित्यमा अरू चीजको अभाव छैन, लेखक, प्रेस, कागत आदि तर अभाव छ भने पाठकको । (अर्को अभाव प्रकाशकको पनि छ ।) पाठक कहाँ छौ तिमी ! तर यो मूल विषय होइन, पाठकको खोजी । विषय हो, जस्तै अगि भनिसकिएको छ यसको अलरेडी तय भएको अन्त्य ।
आरम्भमा कथा यस्तो छ : जाडो छ, दिन छोटा छन् र लोडसेडिङ छ । यी अमिल्दा कुराहरूले पनि एउटा ध्वनि निकालिरहेका छन् । त्यो हो, यो कथा जसको हो ऊ बूढो छ र बुढेसकालदेखि निराश छ, घडीको सुई उल्टो घुमाएर जवानीतिर फर्कन सकिंदैन, मरेपछि फेरि जन्मन सकिने हो वा होइन त्यसको पनि ठेगान छैन, तैपनि कथाकार बूढाको त्यो निराशालाई एउटा रमाइलोपनमा अनुवाद गरिरहेछ। पात्र बूढो छ, उसको घर छैन । घर नभए पनि थोरै बैङ्क ब्यालेन्स छ । राजधानी काठमाडौंमा घर नहुनुको अर्थ विपन्नता नै हो । घर नहुनुलाई बैङ्क ब्यालेन्सले धान्छ । घर भएकाहरू सम्पन्न हुन्छन्, केही नभए घरभित्र स्वतन्त्रतापूर्वक (खोले खाएर वा भोकै भए पनि) बस्न त सक्छन् । घरबेटीले कहिले बत्ती काट्ने त कहिले पानी नदिने समस्या र अन्त्यमा कोठा खाली गर्नू भन्ने डरले थरीकम्प त हुनुपर्दैन ।
मतलब, घर भएकाहरू कतै नगएर घरमै थन्केर बस्न पनि सक्छन्, मसान्तपछि भाडा तिर्नुपर्ने भय रहँदैन । डेरावालहरूमा सदासर्वदा भाडाको भय रहिरहन्छ । महिना मर्न लाग्यो कि उनीहरूभित्र भय विचरण गर्न थाल्छ । भयको पनि मान्छेको आलो रगतको जस्तो एउटा स्वाद हुन्छ जुन स्वाद आफ्नो औंलो काटिंदा चुसेकाहरूलाई थाहा हुन्छ भने त्यस्तो स्वाद भाडामा बस्नेहरूले मात्र चाखेका हुन्छन् तर घर भएकाहरू यो स्वाद अनुभव गर्न पाउँदैनन् । घर भएकाहरूको जीवन जमेको पानीजस्तो डल हुन्छ । भाडावालहरू महिनैभरि भाडा तिर्ने दिनको गन्ती गर्नुको त्रास आफूमा निहित गरेर हिंडेका हुन्छन्, जासुसी उपन्यासको सशङ्कित मुख्य पात्रझैं, जो सधैं कतैबाट पनि अट्याक हुन सक्छ भन्ने आशङ्काले सतर्क रहने गर्छ, बगिरहेको पानीजस्तो डरको अविच्छिन्न नवीन मारक मादकता अनुभूति गर्दै ।
तर बूढो पात्र निराश पनि छ, मन यताउता उड्ने गरे पनि जीउले सक्तैन भन्ने अन्तर्बोध भएर । बूढो भित्तामा ठोकिएको कील हुन चाहँदैन । केही क्रियाशीलता चाहन्छ ।
यी कुरा एउटा यस्तो आख्यानको तयारीका लागि गरिएको हो जसको अन्त्य तय छ । हुन त जीवनको पनि अन्त्य तय नै छ । जीवनको अन्त्य तय छ भनेर हामी जीवनबाट भाग्दैनौं । जीवन भोग्छौं । त्यस्तै यो कथाको अन्त्य तय छ भनेर नपढ्नु छैन । पढ्नुस्, इन्ज्वाय गर्नुस् ।
त, जीवनको अन्त्य के हो ? त्यो भनिराख्नु नपर्ला । कथाको अन्त्य पहिले नै भन्न मिल्दैन, खल्लो हुने डर छ । यहाँ कथा वा आख्यानलाई लम्ब्याउन यस्तायस्ता फाल्टु कुरा बीचमा राखिएको छ, कलिउडेबलिउडे फिल्ममा बलजफती गीतको सिक्वेन्स कोचिएजस्तो । त्यो किनभने कथाको स्वाद अलि बढी तीक्ष्ण होस् र कथा पढ्नेले कथाको अन्त्यपछि यस्तो नभनोस्- ‘केके न छ भनेको, कथा त यस्तो झुर पो रहेछ (वास्तवमा कथा झुर नै छ)। झकास कथा चाहिन्छ अचेल ।’
झकास भन्नाले कथा त्यस्तो हुनुपर्यो, टाइट जिन्समा आफ्ना मादक अङ्गहरू कोचेर हिंडेकी ठिटीजस्तो । अब त्यो सम्भव छै न। किनभने यो कथाको पात्र बूढो छ । तर पात्रबाट टाइटफिट जिन्समा मादकता छचल्काएर देखाउने प्रयास जारी रहने छ । कथाकारको पनि, बूढाको पनि ।
पात्र बूढो नहुने हो भने कथाको अन्त्यले जुन नाटकीयता देखाउन चाहेको हो त्यो सफलतासाथ देखाउन सक्नेछैन। फेरि एउटा बूढो पात्रलाई झकासको खोजीमा कथाभरि जिन्समा कोचिएकी मादक ठिटीको पछाडि कुदाउनु असामाजिक र असांस्कृतिक भइदिन सक्छ । स्वास्थ्यका दृष्टिले हानिकारक पनि ।
तर बूढो होस् वा तन्नेरी, तरुनीहरूको हिंडाइको लयात्मकतामा नलोभिने त कोही होवैन, तैपनि कथाको जुन बूढो मुख्य पात्र हो ऊ नै मात्र ठिटीको पछिपछि हिंडेको वर्णन गरिदिने हो भने कथाको अन्त्य कहिल्यै आउन सक्दैन, यसो भन्न सकिन्छ । अन्त्य त आउँछआउँछ । त्यो कसरी आउँछ त्यही देखाउनु छ । किनभने तय अन्त्य छ ।
कथाको शीर्षक पनि राखिएकै छ- अन्त्य तय भएको कथा । मुख्यतः यस कथामा यसको अन्त्य नै महत्त्वको छ । बूढो तरुनीको पछिपछि हिंडेको छ र पनि कथा धेरै लम्ब्याइएको छैन ।
काठमाडौंमा मात्र होइन, अचेल मोफसलमा पनि जिन्समा कोचिएका फेसनवाल ठिटी प्रशस्त छन् । यस्तोमा कथा लम्बिने डर त छ-छ, बूढो कति जना ठिटीको पछि ऱ्याल चुहाएर हिंडिरहने ? तर अन्त्य तय छ, पात्र बूढो छ र मुलुकमा आधा आकाश भनिने महिलापक्ष अचेल आधाभन्दा अलि बढी नै छ । तिनमा तरुनी उमेरका ठिटी बढी छन् । तथ्याङ्क सङ्कलन संयोजन गर्नेले यो उल्लेख गर्न बिर्सेको हुन्छ । यसरी मोफसल पनि युवतीहरूले नढाकिने कुरै भएन त बूढोलाई उसको स्टेमिना हेरेर मोफसलतिर नपठाएर यतै सीमित घेरामा मात्र कुदाउनु श्रेयस्कर हुनेछ । बूढोलाई मोफसलतिर पठाइदिने हो भने कथाको सञ्जाल समेट्न नसकिने हुने डर छ ।
त, बूढो पात्र जसलाई नाम दिइराख्नुपर्दैन, बूढो मात्र भने हुन्छ, किनभने यो अन्त्य कुनै पनि क वा ख वा क्षत्रज्ञ भन्न मिल्ने बूढो पात्रसित घटित हुनसक्छ । मुलुकमा बूढाहरूको सङ्ख्या पनि प्रशस्तै छ । मुलुकमा तन्नेरी कम छन् । तन्नेरीहरू कि गल्फ कन्ट्रीतिर छिरेका छन् कि कतै म्यान पावरको ठगीमा परेर विदेशका सडकपेटी वा सस्तो होटेलका कोठामा खाँदिएर बस्न बाध्य छन् । इराक वा अफगानिस्तानमा मारिएका युवाहरू बेग्लै । रहे तरुनी र बूढाहरू, ती मात्र कथाको पात्रताका लागि उपयुक्त छन् ।
हाम्रो (हाम्रो भनेपछि पाठक बूढोलाई आफ्नो महसूस गर्न पाउँछ) बूढो पात्र खाना खाइवरी एक निद्रा सुतेर डुल्न निस्केको छ । सुगरवालहरू खानेबित्तिकै सुत्न हुन्न भनेर उसलाई थाहा छ तर अन्त्यमा अनन्त निद्रामा गएर जीवन नैया पार लाग्नु नै छ भने थोरै बेर सुत्नमा के दोष ? यस्तो दर्शन बूढो पात्रले विकसित गरेको छ । बूढो पात्र सेतै फुले पनि रङाएर केश कालो पारेको छ । यसरी उसले बितेको बैंसलाई बूढो भालेले कोरली पोथी अँठ्याउन चाहेजस्तो प्रयास गरेको छ तर बूढो भाले झैं उत्ताउलो नदेखिएर गम्भीर देखिने प्रयासमा रहन्छ ।
गम्भीर कस्तो भने, बिहान उठेर सेभ गरेका चिल्ला गाला, स्याम्पुले नुहाएको फरफराउँदो कपाल, क्रिम लगाएको अनुहार (कुखुरे बैंस फर्केजस्तो), राम्रो पेन्ट, कमिज र माथि एउटा स्वेटर र त्यसमाथि एउटा जकेट लगाएको हुन्छ । खुट्टामा छालाका जुत्ता, हातमा औंठी, तर घडी छैन उसको। समयसँग उसलाई रिस उठ्छ । समयले नै त उसलाई यसरी असमयमै बूढो बनाएको त हो । असमय किनभने, अहिलेजस्तो ठिटीहरू अङ्ग प्रदर्शन गर्दै फ्रीमा डुल्न निस्कने त्यो जमाना थिएन ।
फेरि यस्तो छ, उसलाई समयको पाबन्दी पनि त छैन । दिन उसको खाली नै बित्छ । रिटायर्ड भएपछि कतै काम पाइन्छ कि भनेर खोजिहेरेको हो । त्यो सम्भव भएन । मोटरसाइकल म्याकेनिक हुने प्रयास पनि गरिहेर्यो । नटबोल्टु कस्ने रहर सानैदेखिको हो । बाल्यावस्थामा ल्याइदिएको खेलौना खोलखाल गरेर फेरि फिट गर्न सक्तैनथ्यो भन्ने स्वर्गीय आमाको भनाइ ऊ आफैं स्वर्गीय हुने छेउछाउको अवस्थामा पनि सम्झिरहन्छ र घत मानेर खिसिक्क हाँस्छ ।
हो, उसको खिसिक्क हाँस्नुले एउटा कुरा सम्झाइदिएको छ, जुन विस्मृतिमा लोप हुने भइरहेको थियो । त्यो हो, मिमिकरी ऊ गर्छ, आमाको मात्र होइन अरूको पनि । यसबारे धेरैलाई भनेको पनि छैन र त्यो खुबी बताएको पनि छैन । कुनै कुरामा वा कसैको हाउभाउमा, बोलाइमा बाहिरबाहिर ऊ गम्भीर देखिएको छ तर भित्रभित्रै गिल्ला गरेर हाँसिरेहको हुन्छ । सेठहरू, उद्योगपतिहरू, नेताहरू, धर्मपतिहरू, महन्तहरू जजसले नैतिकताको उपदेश दिन्छन्, देशभक्तिको आग्रह गर्छन्, आर्थिक उन्नतिको दाबी गर्छन् तिनको भित्री विकृत वीभत्स रूप ऊ कल्पना गर्छ। क्रान्तिकारीहरू जसले बन्दुक देखाएर कुर्सी कब्जा गरे र कमाउन लागे तिनका बारेमा पनि सब थाहा छ भने भित्रभित्रै रमाइरहेको हुन्छ बूढो पात्र ।
मिमिकरी गर्दै भन्छ, ‘हामीलाई जेल हाल्ने भए, हाम्रो हत्या हुने भयो ।’ तर बूढो पात्र बाहिरबाहिर बडो गम्भीर देखिन्छ । अगाडिबाट कोही हान्निएर आएको छ भने शिष्टतापूर्वक बाटो छोडिदिन्छ, महिलाहरूतिर आँखा उठाएर हेर्दैन तर पछाडिबाट हेरेर उनीहरूको नितम्ब, कम्मर र तिघ्राको नाप, मांसलता आदि मस्तिष्कमा फिट गरेको क्यालकुलेटरमा क्यालकुलेट गरिरहेको हुन्छ र आँखाको डिजिटल कलर क्यामेरामा कैद गरिरहेको हुन्छ। अनि चोरी समातियो कि भनेझैँ वरिपरि पर्ल्याकपुर्लक हेरेर फेरि गम्भीर हुन्छ, सज्जन देखिने मखुन्डो भिर्छ ।
बूढो पात्र मानिसहरूलाई गम्भीर भएर हेर्छ । कोही सडक आफ्नै बाउको जमिन्दारी हो भनेझैं गरेर, कोही साँघुरो बाटोमा निकै सकस परेझैं हिंडिरहेका हुन्छन्, कोही ठोक्किनै आउँछन्, साटो फेर्न वा बाउबाजेको पालाको प्रतिशोध लिनझैं । हो, क्रसिङहरूमा भिन्न पोसाकमा उभिएका ट्रफिक प्रहरी हेर्न ऊ एकछिन उभिन्छ र हेर्छ पनि। त्यो एक जनाले त्यत्रो ट्रफिक समालिरहेछ । हात एउटा यता, हात एउटा उता । उसलाई हाँसो उठ्छ । सबैलाई सबैतिर जान दिए त भइहाल्यो नि । आआफ्नो बाटो छुट्ट्याउन नसक्नेहरूलाई के भन्ने ?
पाठक, यी बीचका कुरा किनभने यिनले कथालाई एउटा भिन्न आस्वाद दिन्छन् र कथा पठनीय हुनसक्छ । पढ्नै नसकिने बेस्वादको अपठनीय कथा किन लेख्ने ? कथाको रूप यस्ता सहायक गफले अलिकति विस्तृत पनि पारिदिन्छ । यी कुरामा अर्कै हजमोलाको चट्कारे स्वाद पनि त छ । तरकारीमा नून-पीरो-मसला किन हालिराख्नुपर्यो ? स्वादको लागि न हो ।
फेरि हेर्नुस्, यो माइन्ड ब्लोइङ कथा पनि हो । कुनै विवरणको विस्तार गरेर त्यसको खल्लो अन्त्य गर्ने खालको पनि होइन यो । विदेशी पृष्ठभूमिमा लेखिएको कथा पनि होइन, जसमा पाठकले थाहा नपाएका तथ्य समावेश गरेर चमत्कृत पारिन्छ । कुरो यो पनि छ, बूढो जिन्दगीमा एक पटक पनि विदेश जान पाएको होइन, पाए पनि कथाकार सँगै जान सक्दैनथ्यो, त अनि ? विदेशको बयान कसरी ? हाम्रैबीच घटित भइरहेका घटनातन्तुलाई जोरजाम गरेर लेखिएको छ यो कथा । कथाकारको कुनै साइनो पर्ने मनोविज्ञ समालोचक भए यसलाई बूढो पात्रको मनोविज्ञानबारे लेखिएको सफल कथा भनिदिने थियो ।
त, हामी कहाँ थियौं ? हो, बूढो पात्र त्यस दिन पनि निस्क्यो डुल्न । यस्तो कथाको उत्तरार्धमा भइरहेछ । पहिलेजस्तो कथा बीस वा तीस मिनेटमा पढेर भ्याइनुपर्ने हुनुपर्छ भन्ने अब छैन ।
पहिले के थियो भने, सरकारी कर्मचारी कथाकार हुन्थे- टेन टु फाइभमा सीमित जिन्दगी बाँच्ने । बीचको फुर्सतमा कथा लेख्थे हतारमा । बिहान भात खानुअघि र अफिसबाट फर्केपछि राति सुत्नुअघि । त्यस्ता कथा बीसपच्चीस मिनेटमा पढ्न नभ्याइने भएर के हुने ? अब त्यस्ता कथा मात्र कथा हुन सक्तैनन्। तपाईं सय पेजको कथालाई मजाले कथाकै रूपमा पढ्न सक्नुहुन्छ, फुर्सतका पाठक पनि छन् र कथाकार पनि । कथाको भित्री तत्त्व पहिल्याउन नसक्ने र त्यो नजान्ने समालोचक लामो कथालाई लघुउपन्यास भनिदिन्छन् । बेकुफी हो ।
त, बूढो पात्र बाहिर छ, कथाबाहिर होइन, सडकमा अर्थात् सडकको पेटीमा । सभ्य पाराले हिंडिरहेछ । कसैले कुम ताछेर नजाओस् भनेर बडो भलादमी तालले जोगिईजोगिई कदम सारिरहेछ। घुइँचो छ। काठमाडौँमा सदाबहार घुइँचो नै हुन्छ। राजनीतिको घुइँचो, विद्यार्थीको घुइँचो, नेताहरूको घुइँचो, दलहरूको घुइँचो, बिरामीहरूको घुइँचो, तरुनीहरूको बेरोजगारहरूको घुइँचो, जुलुसको घुइँचो, नाराहरूको घुइँचो…!
घुइँचो गन्दै जाने हो भने कथा गायब हुने डर छ, त्यति धेरै घुइँचाहरू- त्यसबीचबाट बूढो हिंडिरहेछ, कथाको अन्त्यतिर । पाठक, अहिले, यस क्षण, यो बूढो पात्रको कथालाई लघुकथामा पनि अटाउन सकिन्थ्यो– ‘भीडमा हराएको एउटा बूढो’ भनेर । तर त्यसो गरिएन । यो छापिने पत्रिका वा संग्रहमा स्थानाभाव छैन । लेख्न सक्नुपर्यो स्थान प्रशस्त छ । झन्डा गाडेर कब्जा गरिरहनु पर्दैन । लघुकथाको अर्कै कुरो छ, त्यो अहिले चुट्किलाको स्तरमा ओर्लिएको छ ।
बूढो पात्र कहिलेकाहीं डिप्रेस्ड पनि हुन्छ, भीड देखेर । भीड सरिरहेछ, गहिरो नदीको पानी सरेजस्तो गरी । कतै न कतै पुग्नलाई । भीड कतै पुग्नुपर्ने नभए पनि कतै न कतै जरुरीसाथ पुग्नु छ भनेझैँ हतारिएर घच्च्याउँदै हिंडिरहेको हुन्छ । त्यो देखेर बूढो पात्र खिन्न हुन्छ, ऊसित कतै पुगिहाल्नुपर्ने हतार छैन । जहाँ पुग्नुपर्ने हो पुगिंदै छ । प्रत्येक कदम चितातिर…!
हिन्दू हो र त चिताको कल्पना गर्छ । माटोमुनि दफनाइने भए कब्र (चिहान) सोच्दो हो । उसले त्यस्तो विचारमा झ्याप्पै ब्रेक लगाउँछ । डिप्रेसनले आत्महनन गर्छ । डन्ट वरी, बी ह्याप्पी- यस्तो दम भर्छ, आफूभित्र अदृश्य पम्फुले । अनि अगाडि हिंडिरहेकी जिन्समा कसिएकी ठिटीको पृष्ठभाग हेरेर रमाउँछ, ह्याप्पी हुन्छ ।
तर त्यस्तोमा पनि अनुहारले अत्यन्त गम्भीर देखिन्छ, देशको वर्तमान जटिल र विकट अवस्थाप्रति अत्यन्त गम्भीरताका साथ चिन्तित भएको मुद्रामा । नेताले देशको चिन्ता गरेको भाषण गरे पनि मनमा घूस खाने तरकिब अविच्छिन्न सोचेजस्तो । भनियो, यो बूढो पात्रको मखुन्डो हो । मखुन्डा थरीथरीका छन् उसका तर सदाबहार मखुन्डो भनेको वृद्ध मानिसको चिन्तन र चिन्ताको नै हो ।
अनि बूढो पात्र आफूलाई ह्याप्पी पार्न रौसिएर अलि अझ गम्भीर भइदिन्छ- संसार प्रलयले विनष्ट हुने छेउछाउ पुगिसक्यो भन्ने अन्तर्ज्ञान भएको महात्माझैं । यो उसको भ्रमात्मक मुद्रा हो । बाह्य जगत्लाई देखाउने र आफैंलाई पनि भुलाउने । वास्तवमा ऊ अगाडिकी ठिटीलाई नाङ्गै पारेर हेर्न थालेको हुन्छ । ऊसित नग्नताको एउटा परिकल्पना छ, तन्नेरीमा हेरेको पोर्नोका केटीहरूको । स्त्रीको नग्नताले उसलाई अत्यन्तअत्यन्त उत्तेजित पार्छ । ऊ निकै परसम्म त्यस्तो मादक पृष्ठभाग र केटीका सघन केसको छचल्काइलाई चोरआँखाले हेर्दै, कसैले उसको यो अतृप्त वासनाको चियो त गरिरहेको छैन भन्ने आत्मसजगता साथ पछिपछि लागेर हिंडिरहन्छ ।
उसलाई त्यस्तो बेलामा एकाएक पिसाबले च्याप्छ । ऊ शीघ्रपतनले पीडित पनि छ । बहुमूत्रको रोगी पनि छ । घरबाट निस्कने बेलामा ऊ मूत्रथैली रित्त्याएर निस्केको हुन्छ तैपनि पिसाबले उत्थित अवस्थामा अत्यधिक मूत्रचापले ऊ छटपटिएको हुन्छ । मधुमेहको रोगी पनि छ । पिसाबले धेरै च्याप्दैच्याप्दै ल्यायो भने तिरिक्क अन्डरवियरमा चुहिन्छ पनि । उसले थाम्नै सक्तैन । परेसान छ । ऊ त्यस्तो बेला दिक्क पर्छ । अहिले त्यस्तो भएको छैन । जँचाउँदा डाक्टरले भनेको पनि हो, कुन्नि कुन ग्ल्यान्डको अप्रेसन गर्नुपर्छ, पिसाब चुहिनुबाट उन्मुक्ति पाउन ।
ऊ भीडमा छ र अगाडिअगाडि अनपेक्षित रूपमै केटीहरू हिँडेको संजोग परेको छ ।
‘वाह ! क्या छ !…’ बूढो कहिलेकाहीं आत्मसजगताले अत्तालिएर छेवैबाट ठिटीलाई क्रस गर्दै अगाडि जाँदा टिप्पणी गर्छ, गम्भीर मुखमुद्रामा, मानौं उसले ठिटीको उछिट्टिएको पृष्ठभागको उत्तेजनामा लट्ठ परेर त्यो टिप्पणी गरेको होइन, देशको कुनै हास्यास्पद अवस्थाप्रति व्यंग्यात्मक टिप्पणी गरेको छ । त्यस्तोमा हिंड्दा आफैं बोलिरहने मनोवादमा चुर्लुम्म भएको मानिस जस्तो ऊ भइदिन्छ । उसका ओठ मनोवादमा चलिरहन्छन् र त्यसलाई लुकाउन ऊ कुनै लोकप्रिय गीत सुसेलेजस्तो गर्छ । गीत उसलाई हिन्दी मन पर्छ- सनम तेरी कसम… ।
ठिटीहरूले नसुन्ने होइनन्, उनीहरूलाई यस्ता टिप्पणीको अभ्यास छ र त्यस्ता मत्ताउने टिप्पणी सुन्न नपाए नून नभएको जस्तो खल्लो लाग्न थाल्छ आफ्नो बैंस ।
‘कस्ती राम्री, पछाडिबाट…’ पछाडिबाट के ? समलैंगिकता पनि छ कल्पनामा । ऊ आफैंसित प्रश्न गर्छ र लज्जित भएझैं हिंहिं गरेर हाँस्छ, सस्वर । बूढो पात्रले गर्ने अर्को टिप्पणी हो त्यो। अगाडिबाट आइरहेकी ठिटी छेउबाट जाँदा बूढो पात्रले यस्तैयस्तै छड्के हान्छ । अधिकांश बेला ऊ गम्भीर हुन्छ । एक सेन्टिमिटर चौडो मुस्कान पनि उसको मुखमा देखा पर्दैन ।
‘कसलाई पर्खिरहेकी कुन्नि ?’ उसको यो अर्को टिप्पणी, केटीले सुनोस् नसुनोस्, गम्भीर अनुहार लगाएर सोझै हेर्दै भन्छ । पेटीको रेलिङमा वा जेब्रा क्रसिङमा सडक तर्न उभिइरहेकी माइक्रो मिनी स्कर्टकी केटीलाई ऊ ‘क्या छ यार जमाना !’ भन्छ तर नसुनिने गरी, मनमनै । गम्भीरतासाथ ठिटीको छेउमा भीडको धक्कामुक्कीबाट उसको सुरक्षा गर्दै पारि जान सहयोग गर्ने तत्पर मुद्रामा उभिन्छ, उसका सुडौल र कसिएका तिघ्राहरूलाई चोरेर हेर्दै । आफूभित्र ज्वालामुखी र त्यसको लावा फत्केको अनुभव गर्दै ।
अहिले बूढो पात्र हिँडिरहेछ । भीड छ र अगाडि मोड छ । ऊ मोडमा पुगेको छ । एकछिन भीड पातलिन्छ तर बूढो पात्र मोडमा घुम्दा ठ्याक्कै अगाडिबाट आइरहेका दुई ठिटीहरूसित जुध्न पुग्छ । पाठक, कथाको तय अन्त्य यही हो । आखिर अन्त्य आयो । अन्त्य भनेर यहीं कथा समाप्त हुँदैन । क्लाइमेक्स छ, नाटकीय । अहिलेसम्म कथामा संवाद कम छ वा छँदै छैन भने पनि हुन्छ । संवाद यहाँपछि छ । क्लाइमेक्सलाई अत्यन्त सार्थक तीव्रता दिने संवाद !
केटीहरूसित बूढो पात्र ठोकिएको छ । केटीहरू मध्ये एउटीको उठेका वक्ष बूढोको छातीमै ठोकिएका छन्, साहा रबराइज्ड कुसनजस्ता । बूढो पात्रमा आनन्द सञ्चरित हुन्छ । साला…! शहरको भीडभाडमा यही एउटा फाइदा छ । ठोकिएपछि बूढोले ‘सरी’ भन्नुको सट्टा प्वाक्क भनेको छ- ‘क्या यार, हेरेर पनि नहिंडेको, कस्तो ?’ मुखले प्वाक्क त्यस्तो भनिहाले पनि उसले मनमनै भनेको छ, ‘क्या बराँठ माल छ है, बूढा !’
ठिटी बराँठकी छ, मतमताउँदी ।
‘सरी अङ्कल,’ स्वर पनि हस्की र मीठो छ । कमर छिनेको, पृष्ठभाग फैलिएको र उचालिएको तर अङ्कल भनेकी छ । बूढो पात्रभित्र जुन आगो ह्वार्र सल्केको छ, त्यो तुरुन्तै निभेको हुँदैन, शक्तिशाली दमकलले छ्यापेजस्तो अङ्कल सम्बोधनले पनि ।
‘हेरेर हिंडौ न हो ‘ उसले ठिटीको मत्त बैंसलाई आफूभित्र खर्लप्प समाहित गर्दै एउटा यसरी नै बोल्ने समवयी साथीको शैली चोरेर भनेको छ ।
‘सरी, हजुरबा !’ साथकी अर्की मतमताउँदीले मस्किंदै भनेकी छ ।
दुवै खितित्त हाँसेका छन् ।
‘हजुरबा’ भन्ने सुनेपछि उसभित्रको मत्तको लौरो लुत्रुक्क पर्यो । दुई जङ्घाका स्नायु लल्याकलुलुक भए । ठिटीहरू अलि पर पुगिसकेका छन् । तीमध्ये अर्कोले भनेकी छ- ‘हेरेर हिंड्ने त बूढाहरूले पो हो ।’
‘कस्तो साखुल्ले भा’को मोरो । पाए त के पो…!’
उसले भन्ने शय्यादृश्य बयान गरेकी थिई, रोकिई ।
‘अझ कस्तो दुखेझैं पो गर्छ । कसो अँगालो मारेको थिएन ।’ अर्कोले वक्ष अझ उचाल्दै भनेकी छ ।
‘भित्रभित्रै अझै ठोकिन पाए हुँदो हो भनेको होला ! हुँ…’
केटीहरू बिन्दास छन् । मनमा लागेका कुरा टाठो स्वरमा भनिरहेछन् । केटीहरू पहिलेजस्ता रहेनन् । ‘म मात्र…’ बूढोले लखतरान पर्दै सोच्यो ।
त्यस्तै अरू संवाद उसले झलक्क सुनेजस्तो भयो । ऊ बहिरो बनिदियो । उसले तय गरेको कथाको अन्त्य पनि यही नै थियो कि ? के भन्न सकिन्छ र ? तर कथा माइन्ड ब्लोइङ छ । शैली फरक । यो फर्मेटमा अब अरू कसैले लेख्यो भने पनि कथा यस्तो मज्जाको हुन सक्दैन, इभन यही कथाकारले दोहोऱ्याएर लेख्यो भने पनि ।
(भाउपन्थीको कथासंग्रह ‘सनाखत र अरू कथाहरू’बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।