“सर, पान खानुहुन्छ ?”

टेबलमा हल्का टाउको झुकाउँदै कृष्ण चन्दरको प्रसिद्ध कथासंग्रह “मेरा प्रिय कथाहरू” पढिरहेको थिएँ । कथा हिन्दीमा थियो तर स्थानीय भाषाको प्रयोग अलि बढी नै थियो । “झेहलम पे नाव पर” शीर्षक कथाको लगभग बीचतिर अलि रोमाञ्चक मोडमा थिएँ । पढैया शैलीमा मैले प्रश्नकर्तातिर हेर्दै नहेरी टाउको हल्लाएँ । अर्थात् खान्न भनें । हुन पनि कथा रोचक नै थियो ।

“खानुहोस् न सर । बनारसी पान । एकदम बनियाँ छ । बरु कुन पान बनाऊँ ? मिठा पान ? सादा पान ? कि जर्दा पान ?”

उसले बोकिरहेको पानको बाकस भुइँमा बिसायो र नजिकै रहेको स्टूलतिर औंल्याउँदै भन्यो– “के म यो मेचमा बस्न सक्छु ?”

मैले ऊतिर हेर्दै भनें, “बस्नोस् ।”

पहिलो भेटमा नै ऊ यसरी बोलिरहेको थियो मानौं हामी बीच वर्षौं देखिको चिनाजानी थियो ।

मैले खान्न भन्दाभन्दै पनि ऊ मेरा लागि पान बनाइरहेको थियो ।

“तपाईंले पान खाने गर्नुभएको छैन जस्तो लाग्छ । कोइ बात छैन, म मीठा पान बनाइहाल्छु । मैले बनाएको पान खाएर त हेर्नुहोस् हजुर, फेरि सधैं खाने इच्छा गरिहाल्नु हुन्छ ।” मैले उसले पान बनाइरहेको एकोहोरो हेरिरहें । पान बनाउँदा बनाउँदै ऊ मसँग कुरा पनि गरिरहेको थियो ।

“सर, एउटा कुरा सोधूँ ?”

मैले जवाफ दिन नपाउँदै उसले पुनः प्रश्न गर्‍यो– “हजुर के पढिरहनु भएको छ ?”

मैले उसलाई किताब देखाउँदै गर्वसाथ भनें, “कृष्ण चन्दरको कथासंग्रह । नाम सुनेका छौ ? भारतका चर्चित कथाकारहरू मध्ये मलाई कृष्ण चन्दर अलि बढी नै मन पर्छन् । राम्रा कथाकार हुन् । भीष्म साहनी भन्दा पनि राम्रा ।” उसको अगाडि म समिक्षक पनि भई टोपलें । ऊ फिस्स हाँस्यो । म पनि उसरी नै हासें । तर म आफैलाई थाहा भएन म किन हासें ? सोचें हुँला कि पानवाला भैयासँग साहित्यको समीक्षाको के अर्थ !

उसले पट्याइसकेको पानको खिल्लीमा बाहिरबाट केही कुरा हाल्यो । शायद कुनै सेन्ट थियो । र मेरो हातमा थमाइदियो । सिकारु ढंगले म पान चपाउन थालें ।

“क्या आप साहित्यकार हैं ? मेरे खयाल में आप कवि या कथाकार होंगे ।” उसले शालीनता र मिठासपूर्ण स्वरमा सोधेको अनपेक्षित प्रश्नले म झस्किएँ । तर आफूलाई सम्हाल्दै ओजपूर्ण स्वरलाई यथावत् राख्दै भनें – “हां ! मुझे साहित्य मे रुचि है । और कथा वगैरा लिखता भी हुँ ।”

मैले पाँच रुपियाँको नोट टेबुलमा राखिदिएँ ।

“हस्, साब मै चलता हुं ।” टाउकामा बाकस राख्दै उसले भन्यो । उसको  भनाइमा कुनै प्रतिक्रिया नजनाई म पुनः किताबमा केन्द्रित भएँ अर्थात् कथा पढ्न लागें ।

उसको हातले बनाएको पान खान थालेको केही समयपछि नै म मीठा पानको पारखी भइसकेको थिएँ । प्रायः ऊ दिनहुँ आउँथ्यो । ऊ मसँग यति अन्तरंग भइसकेको थियो कि आएर पानको डिब्बा बिसाउँथ्यो र स्टूलमा बसेर पान बेर्न शुरू गरिहाल्थ्यो । अर्थात् उसले मलाई पान खानुहुन्छ कि खानुहुन्न भनेर सोध्न पनि छाडिसकेको थियो ।

ऊ आउँदा कहिले म अफिसको काममा व्यस्त हुन्थें, कहिले मेरो खाजा समय पर्थ्यो र कहिलेकाहीँ फुर्सदमा नै हुन्थें । तर मेरो खाजा खाने प्रस्ताव उसले कहिल्यै स्वीकार गरेन । खाजा त के मेरो अफिसमा आएर एक कप चिया पनि उसले कहिल्यै खाएन । भन्थ्यो – “बानी बिग्रिहाल्छ ।”

एकदिन ऊ साइकलमा आयो ।

साइकल रोकेर मतिर आउँदै भन्यो– “साब, मैले साइकल किनें नि । चार सय रुपियाँमा । सेकेन्ड ह्याण्ड हो तर राम्रो कन्डिसनमा छ ।”

आजकल ऊ सानातिना कुराहरू पनि मसँग शेयर गर्न थालेको थियो । जस्तो कि, घरबेटी साहूले पानको थोपा भुइँमा खस्न नपाई कसरी गाली गर्छ ! पान हातमा परेपछि आवारा केटो पैसा नतिरी कसरी बेपत्ता हुन्छ ! लेन मिच्ने मोटरसाइकल समाउन नपाउँदा ट्राफिकवाला कसरी ऊमाथि खनिन्छ ! दिउँसै मातेको जँड्याहाले सित्तैमा पान नपाउँदा लात्तीले कसरी बाकसमा हान्छ ! ऊ हाँसीहाँसी क्यारिकेचर सहित सबै कुरा सुनाउँथ्यो । कस्तो खाले हजमोला खाएको थियो कुन्नि उसले ! मान, अपमान, भुक्तमान… सजिलै सबै कुरा हजम गर्न सक्थ्यो ।

“दिलदार मान्छे थियो । ६ सयमा अडेर बसेको थियो, ४

सयमा दिइहाल्यो ।” टुटेफुटेको नेपाली भाषामा बच्चा जसरी रमाईरमाई सुनाइरहेको थियो । अर्थात् साइकलको मोल छिनेको प्रसङ्ग । सानासाना कुराले पनि मान्छे कसरी खुशी हुनसक्छ भन्ने कुराको सटिक उदाहरण थियो ऊ ।

“साब ! मेरो घर इन्डियाको बिहारमा पर्छ । उता मुजफ्फरपुर आउनुभयो भने सेवा गर्ने मौका दिनु होला नि ।” एकदिन अनायास उसले  आफ्नो थात–ठेगाना बतायो ।

ऊसँग भेट भएको महिनौं बितिसक्दा पनि मैले उसको घर कहाँ पर्छ भनेर कहिल्यै सोधिनँ । खासमा यस्तो सोध्नुपर्छ भन्ने सम्म मेरो दिमागमा कहिल्यै आएन । म शहरको बासिन्दा । विकासे अड्डाको कर्मचारी । मेरो लागि उसको समग्र परिचय केवल पानवाला भैया थियो । शायद त्योभन्दा बढ्ता जान्न जरूरी पनि ठानिन होला । जिन्दगी एउटा यात्रा हो जसमा अनगिन्ती बिसौनीहरू हुन्छन् । बिसौनीमा अनेकौं पात्रहरू भेट्टिन्छन्, छुट्टिन्छन् । सबैको लेखाजोखा राखेर के साध्य । त्यसमा पनि एउटा सामान्य पानवाला । अन्तस्करणले शायद यस्तै सोच्यो होला ।

अर्को दिन ऊ अघिपछि भन्दा अलि छिट्टै आयो । अनुहार हेर्दा आज ऊ अलि हतारमा थियो जस्तो लाग्थ्यो । उसले हतार हतारमा नै पान बनायो । र मेरो हातमा थमाउँदै भन्यो, “साब म अबदेखि आउँदिन होला । काठमाडौंमा फेरि हाम्रो भेट नहुन पनि सक्छ । मुजफरपुरको एउटा स्कूलले मलाई बोलाएछ । घरबाट श्रीमतीले फोन गरेकी थिइन् । अंग्रेजी साहित्य पढाउनको लागि । म आजकै नाइटबसबाट वीरगन्ज हुँदै उतै लाग्दैछु । अलि हतारमा छु । तपाईंलाई म चाहेर पनि कहिल्यै बिर्सन सक्तिन होला । तपाईं मेरो जिन्दगीको रुचिकर र महत्त्वपूर्ण पात्र हुनुहुन्छ ।”

कक्षामा शिक्षकलाई पाठ बुझाए झैं फटाफट बोलेर उसले आफ्नो भनाइलाई बिट मार्‍यो । ऊ अलि बढी भावुक पनि भइरहेको थियो । मैले विस्फारित नजरले एकैछिन उसलाई हेरिरहें । शायद उसका कुरा पत्याउने कि नपत्याउने दोधारमा परेँ हुँला भन्ने ठानेर उसले आफ्नो काँधमा झुन्ड्याएको मैलो झोलाबाट एउटा बाक्लो कागज निकाल्यो र मेरो हातमा थमाइदियो । त्यो कागज सामान्य कागज मात्र नभएर लब्धाङ्कपत्र थियो एम.ए. को ।

“पहिले त्यही स्कूलमा पढाएको थिएँ । लगातार पन्ध्र वर्षसम्म स्थायी रूपमा ।” उसले थप्यो ।

“अनि किन छाडेको त ?”

मेरो प्रश्नले उसको अनुहारमा अनायासै एकटुक्रा उदासीको बादल फैलियो र पलभरमा हट्यो । अनुहारमा आएको परिवर्तन मैले थाहा पाएँ कि पाइन जान्न खोजे झैं एकपटक उसले मेरो अनुहारमा पुलुक्क हेर्‍यो र आश्वस्त हुँदै भन्यो, “एउटा लामो कथा छ साब यसको पछाडि ।”

जान भनेर उठिसकेको पानवाला फेरि स्टूलमा टुसुक्क बस्यो र कुशल कथावाचक झैं धाराप्रवाह बोल्नथाल्यो, “मेरो नाम अरविन्द । अरविन्द कुमार श्रीवास्तव । घर बिहारको पुरानो शहर मुजफ्फरपुर । खान लाउन राम्रैसँग पुग्ने मध्यम परिवार थियो हाम्रो । म हाई स्कूलमा स्थायी प्रधानाचार्य थिएँ । तलब राम्रै थियो । श्रीमतीको जिद्दीले छोरा पर्खंदा पर्खंदै ६ वटी छोरीहरू भए । छोरीहरू बिस्तारै हुर्कंदै गए । जिन्दगीको रथ राम्रैसँग चलिरहेको थियो । जेठी छोरी १४ बर्ष पुगिसकेकी थिई । अचानक उसलाई प्राण घातक रोग रक्त क्यान्सरको बिमारीले च्याप्यो ।

भएको पैसा, गरगहना र स्कूलको ऋण सुविधा समेत सबै सकिएपछि जग्गा बेचेर भए पनि उसको उपचार चलिरहेको थियो । बोनम्यारो दिइयो । अठार बीस साइकल केमोथेरापी चलाइयो । लामो समयसम्म उपचार गरियो । मुम्बईको टाटा मेमोरियल अस्पतालमा त कति बसियो कति । तर पनि उसलाई बचाउन सकिएन साब । साब हामीसँग त्यति सारो बचत पनि थिएन । पिताजी अंग्रेज विरोधी स्वतन्त्रता संग्राममा होमिनुभयो । एकदिन भारत त स्वतन्त्र भयो । तर पिताजी जस्ता इमान्दार क्रान्तिकारीहरूले सोचेजस्तो व्यवस्था देशमा कहिल्यै आएन । उहाँ विद्रोही स्वभावको हुनुहुन्थ्यो । कसैसँग कहिल्यै नझुक्ने स्वाभिमानी स्वभावको हुनुहुन्थ्यो । स्थानीय जमिनदारसँग उहाँको कुरा मिल्न सकेन ।

एक दिन दिल्ली जान्छु भनेर निस्कनु भएको थियो, तर फर्केर कहिल्यै आउन भएन । चार भाइमध्ये घरको जेठो छोरा भएकाले परिवारको सबै जिम्मेवारी मेरै काँधमा आइलाग्यो । ठूलो परिवार चलाउनु पर्ने । पर्याप्त बचत नभएकोले छोरीको उपचारको लागि हामीले बाजे बराजुले जोडेको जग्गा पनि बेच्नुपर्‍यो ।”

उसले एक पटक लामो सास फेर्‍यो र सोध्यो, “साब पानी  होला ?”

एक ग्लास पानी पिइसकेपछि उसले आफ्नो भनाइलाई पुनः अगाडि बढायो ।

“त्यसपछि त झनै हाम्रा दुर्दिनहरू शुरू भए । पाँच–पाँच वटी छोरीहरू हुर्काउनु पर्ने, पढाउनु पर्ने । जेठी छोरीको आकस्मिक मृत्युपछि श्रीमती लामो समयसम्म बिरामी परिन् । सायद चिन्ता पर्‍यो होला । छोरीहरू क्रमशः हुर्किंदै गए, बढ्दै गए । उनीहरूको बिहेबारी गर्नु परिहाल्यो । साब, बिहारमा छोरीको बिहे गर्नु जति गाह्रो कुरा केही छैन । हाम्रो उता दाइजोको समस्या असाध्यै जटिल छ । जति गाह्रो भए पनि बाबुको कर्तव्य पूरा गर्नु परिहाल्यो । सस्तो मूल्यमा भएको जग्गा बेच्दै छोरीहरूको बिहादान गर्दै गएँ ।

चार वटी छोरीहरूको बिहादान त जेनतेन सम्पन्न गरें । तर कान्छी छोरीको बिहेमा दाइजोको माग अपेक्षा गरेभन्दा बढी नै भयो । जग्गा लगभग सक्किसकेको थियो । मैले १५ वर्ष अध्यापन गरिसकेको स्कूलको प्रधानाचार्यबाट राजीनामा दिनु नै उचित विकल्प ठानें । मसँग अरू विकल्प पनि थिएन । स्कूलबाट अनुदान राम्रै आयो । त्यही अनुदान बापत प्राप्त पैसाबाट दाइजोको जोहो गरें । अलिअलि जग्गा बाँकी त थियो तर जीवन धान्न खेती गर्नु परिहाल्यो । अरू खर्च चलाउन कठिन परेपछि मैले घुम्ती पानको नयाँ पेशा शुरू गरें । समयले लतार्दै लतार्दै अन्ततः यहाँसम्म ल्यायो ।

तर थाहा छ साब, जुन छोरीको लागि दाइजोमा बढी खर्च भयो त्यही छोरीको घरजम टिक्न सकेन । अहिले मलाई माइली छोरीको पनि चिन्ता थपिएको छ । तर  केही छैन साब । मेरो जिन्दगीको कथाले नयाँ मोड नलिएको भए सायद हाम्रो भेट पनि हुँदैनथ्यो होला नि !”

उसले आफूलाई अलि दार्शनिक भावमा प्रस्तुत गर्दै एकपटक फिस्स हाँस्यो र हतारहतार आफ्नो कुरा टुंग्यायो । त्यो दिन मैले कत्ति जोड गर्दा पनि उसले पानको पैसा लिन मानेन । मैले धैर्यतापूर्वक उसको कुरा सुनिदिएँ । शायद त्यसमा नै ऊ खुशी थियो ।

उसले पानको बाकस साइकलमाथि राखेर त्यसरी नै बाँध्यो जसरी पहिले पहिले पनि बाँध्ने गर्थ्यो । उसको विगतको कथाले म पनि गम्भीर भएको थिएँ र केही भन्न मनमनै भूमिका बाँध्दै थिएँ । तर मेरो चाहना अधुरै रह्यो । ऊ ‘नमस्कार साब’ भन्दै अड्याइराखेको साइकलको सीटमा बस्यो र थोत्रो चप्पल पहिरेको खुट्टाले साइकलको पाइडल घुमाउँदै मबाट ओझेल भयो । तर उसले सुनाएको संघर्षको कथा साइकलको पाइडल झैं कैयौं दिनसम्म मेरो मस्तिष्कमा घुमिरह्यो ।