यति भनेपछि जराथुस्त्रले फेरि मानिसहरूलाई हेरे । उनीहरू मौन थिए । “उनीहरू यहाँ जम्मा भएका छन् । उनीहरू हाँसिरहेका छन् । उनीहरूले मेरो कुरा बुझ्दैनन् । मेरो ओठले उनीहरूको कान कुत्कुत्याउन सकेन ।” यसरी आफैंसँग गफिए,

के पहिला उनीहरूको कान तान्नु आवश्यक छ ? ताकि आफ्नो आँखाको मद्दतले सुन्ने कला सिक्न सकून् । कि पश्चात्ताप गर्ने प्रचारकले झैं गडबड गर्नुपर्छ ? कि तिनीहरूले नचाहिँदो अफावाह फैलाउनेलाई मात्र विश्वास गर्नुपर्छ ?

उनीहरूसँग केही छ जससँग उनीहरू गर्व गर्छन् । तिनीहरू के हुन् ? जससँग उनीहरू गर्व गर्न सकेका छन् ? उनीहरू यसलाई संस्कृति भन्छन् । यसैले उनीहरूलाई गोठालोबाट अलग गर्छ ।

यसै कारण उनीहरू आफ्नो अपमान भएको हेर्न र सुन्न मन पराउँछन् । जसकारण उनीहरूको गर्वलाई शान्त तुल्याउन अपील गर्छु ।

उनीहरूसामु सबैभन्दा घृणित विषयमा बहस गर्नेछु । तथापि यो नै धरतीको अन्तिम मानिस हो !”

यसरी त्यहाँका मानिससँग जराथुस्त्र बोले: मानिसले आफ्नो लक्ष्य पक्रने बेला आएको छ । यो नै आफ्नो महान आशाको बीऊ रोप्ने समय हो ।

अझै पनि उसको माटो यस कामको लागि पूरै तयार छ । तैपनि एकदिन यो माटो दुःखी र थकित हुनेछ, त्यसपछि यहाँ कुनै पनि अग्लो रूखबिरुवा हुर्काउन सकिँदैन ।

हाय ईश्वर ! अब यस्तो पनि समय आउँछ । मानिसले आफ्नो चाहनाको तीर आफूभन्दा टाढा प्रहार गर्न सक्दैन । उसको तीरले फोहोर मैलो पन्छाउन अझै सिकेको छैन !

म तिमीहरूलाई भन्छु: नाच्ने तारालाई जन्म दिनको लागि कुनै एउटामा भने अझै पनि केही न केही अराजकता हुनुपर्छ । म तिमीहरूलाई भन्छु, तिमीहरूमा अझै अराजकता छ ।

हरे ! कुनै दिन यस्तो समय पनि आउनेछ, त्यसबेला मानिसले कुनै नौलो तारा जन्माउन सक्दैन । कठै ! कुनैदिन सबैभन्दा घृणित मानिसले यहाँ शासन गर्ने समय आउँछ । जसले आफूलाई कुनै हालतमा घृणा गर्न सक्दैन ।

ओ महान् तारा ! म तिमीलाई अन्तिम मानिस देखाउने छु ।

“प्रेम के हो ? सृष्टि के हो ? लालसा के हो ? तारा के हो ?” यसरी त्यो अन्तिम मानिसलाई सोध्न सकिन्छ । जसले यो कुरा बुझ्छ र आँखा झिम्काउँछ ।

त्यसपछि नै पृथ्वी सानो भयो, यहाँको सबै चीजलाई सानो बनाउने त्यो अन्तिम मानिसको चाहना छ । उसको प्रजाति भुसुनाझैँ अपरिहार्य छ । अन्तिम मानिस सबैभन्दा लामो आयु बाँच्नेछ ।

“हामीले खुशी फेला पारेका छौँ,” ओ अन्तिम मानिसहरू हो ! यसमा आनन्दित होऊ । अनि आँखा झिम्काऊ ।

बस्न गाह्रो भएको सबै ठाउँ उनीहरूले छाडेका छन् । किनकि, उनीहरूको चाहना न्यानोपन र सजिलोमा छ ।

बिरामी वा अविश्वासी भएकाले तिनीहरू आफूलाई पापी ठान्छन् । होसियार भएर हिँड्छन् । त्यो यस्तो मुर्ख हो, जसले कैयौंपटक ढुङ्गा वा आफैसँग ठेस खान्छ !

अहिलेको दुःखद् विष: जसले सुखद् सपनाहरू जन्माउँछ । पछिको सुखद् विष: जसले सुखद मृत्युको लागि धेरै नै सुखद् विष जन्माउँछ ।

एउटाले पहिलादेखि अहिलेसम्म कर्म गर्दैछ, कर्म एउटा मनोरञ्जन हो । यही मनोरञ्जनले कसैलाई हानि नगरोस् । यसबाट होसियार हुनुपर्छ ।

अब कोही पनि गरीब वा धनी बन्दैन । दुवै चीज हाम्रो लागि ठूलो बोझ हो । के उनीहरू अझै यसको राज्य चलाउन चाहन्छन् ? अझै यसको आज्ञा पालन गर्न चाहन्छन् ? दुवै चीज सबैको लागि बोझ मात्र हुन् ।

अहिले कुनै बथानमा गोठालो छैन । सबैले यही चाहेका छन्, सबै सामान हुन चाहान्छन् । जोसँग विविध भावनाहरू छन्, उनीहरू स्वेच्छाले पागलखाना जान सक्छन् ।

“पहिले सारा संसार पागल थियो,” तिनीहरूमध्ये सबैभन्दा सूक्ष्म चीजले नै अहिले यसो भन्छ । यसरी आँखा झिम्क्याउँदै पन्छिन खोज्छ ।

उनीहरू चलाख छन् । यो के भएको भन्नेमा पूर्ण जानकार छन् । तसर्थ उनीहरूको यात्राको कुनै अन्त छैन । प्रायः मानिसहरू अझै पनि बाहिर निस्कने प्रयास गर्दैछन्, तैपनि चाँडै नै आफैँमा मिलन हुन पुग्छन् । अन्यथा यो मूर्खताले उनीहरूको पेट बिग्रन सक्छ ।

दिनको लागि उनीहरूसँग आफ्नै थोरै खुशी छ, र रातको लागि पनि त्यही नै खुशी छ । त्यसैमा उनीहरूको स्वास्थ्य र पेटको सुरक्षा हुन्छ ।

ओ अन्तिम मानिसहरू हो, हामीले खुशी फेला पारेका छौं भन । यसरी नै आनन्दित होऊ ।

यसरी जराथुस्त्रको पहिलो प्रवचन समाप्त भयो । जसलाई “भूमिका” पनि भन्न सकिन्छ ।

यही यात्रामा भीडको कोलाहल र खुशीले उनलाई निकै बाधा पुर्‍यायो ।

“हे जराथुस्त्र ! हामीलाई यो अन्तिम मानिससँग भेट गराऊ । हामीलाई पनि अन्तिम मानिस बनाऊ । त्यसपछि तिमीलाई महामानवको पद दिलाउँछौं !”

यसरी त्यहाँ उपस्थित सबैजना खुशीले चिच्याए । र आ-आफ्ना ओठ मिठ्याए । जराथुस्त्र भने उदास भए । आफ्नै मनलाई भनें, “यिनीहरूले मलाई बुझ्दैनन् । म यिनको कान भर्न जन्मिएको ओठ होइन ।

म निकै वर्ष पहाडमा बसेको छु । खोलानाला तथा रूखहरूका गफ कैयौंपटक सुनेको छु ।

अहिले मेरो आत्मा शान्त र सफा छ, बिहानको शित्तल पहाडहरूझैँ । तैपनि उनीहरू मेरो गिल्ला गर्छन् । यो त चिसो र डरलाग्दो छ भन्दै हाँसो उडाउँछन् ।

बेला बेला उनीहरू मलाई हेर्दै हाँस्छन् । साथै घृणा पनि गर्छन् । उनीहरूको हाँसोमा बरफ जमेको छ ।”

त्यसपछि भने केही अचम्म भयो । जसले सबैको ओठ मौन र आँखा स्थिर बनायो । यस बीचमा नर्तकले आफ्नो प्रदर्शन सुरु गरिसकेको थियो । ऊ सानो ढोकाबाट बाहिर निस्केको थियो । वारिपारि तानिएको डोरीको बीचमा हिँड्दै थियो । मेला मनोरञ्जन चाहनेहरूका लागि भरिएको थियो ।

जब ऊ बीचमा पुग्यो, सानो ढोका फेरि खुल्यो । जहाँबाट भैंसीको छालाझैं लुगा लगाएको उसको साथी निस्कियो । ऊ पनि पहिलोको पाइला पछ्याउँदै पछि लाग्यो र भन्यो, “एकछिन पख !” उसको स्वर निकै तिखो थियो ।

“तिमी जाऊ, ओ अल्छे साथी ! नत्र भने तिमीलाई लात्ताले हानी कच्याक कुचुक पार्छु । तिमी यहाँ के गर्दै छौ ? तिम्रो लागि ठाउँ खुल्ला छ त ! आफूभन्दा ठूलालाई बाटो दिनुपर्छ भन्ने थाहा छैन ? तथापि ऊ एक कदम मात्र पछाडि थियो ।

केहीबेरपछि त्यहाँ डरलाग्दो घटना भयो । जसले त्यहाँ उपस्थित सबैलाई मौन बनायो । हरेकको आँखा स्थिर बनायो । ऊ शैतानझैँ चिच्यारहेको थियो । आफ्नै बाटोमा हिँडेको साथीलाई तल जमीनमा खसालिदियो । कारण यो कि उसले आफ्नो प्रतिद्वन्द्वीको विजय देखेको थियो ।

त्यत्तिकैमा आँधी आयो । उसको खुट्टा डोरीमा अल्झियो । टाउको तल झुण्डियो । आँधीको कारण मानिसहरू निकै डराएका थिए । समुद्र झैं जमीनमा सुतेका थिए । अन्ततः नर्तक जमीनमा बजारिन पुग्यो ।

जराथुस्त्र छेउमै उभिएका थिए । नर्तक उनकै छेउमा लडेको थियो । नराम्ररी घाइते भएपनि मरेको चाहिँ थिएन ।

केही समयपछि उसको होस खुल्यो । जराथुस्त्रलाई आफू नजिक उभिएको देख्यो । “तिमी यहाँ के गर्दै छौ ?” उसले बिस्तारै भन्यो । “पहिलादेखि नै थाहा थियो कि मलाई शैतानले फसाउनेछ । अहिले नरकतिर तानिरहेको छ । के तिमी उसलाई रोक्न सक्छौ ?”

“प्रिय साथी, तिमीले बोलेका कुरामा कुनै सत्यता छैन । यहाँ कुनै शैतान र नरक छैन । बरू तिम्रो आत्माचाहिँ तिम्रो शरीरभन्दा चाँडै मर्नेछ । त्यसको कारण हो डर ! तैपनि अब भने डराउनु पर्दैन ।”

उसले अविश्वासका साथ माथितिर हेर्यो अनि भन्यो, “के यो तिमीले साँचो बोलेका हौ ? मैले आफ्नो ज्यान गुमाउँदा अरू केही गुमाउनु पर्दैन ? म एउटा जनावर भन्दा अरू केही होइन । जसलाई ज्यादा श्रम गराएर भाडामा नाच्न सिकाइएको छ । कठपुतली बनाइएको छ ।”

जराथुस्त्रले भने, “तिमीले आफ्नो योजनालाई बर्बाद पारेका छौ, यसमा घृणा गर्नुपर्ने त्यस्तो केही छैन । अहिले आफ्नै योजनाबाट तिमी नाश हुँदैछौ । त्यसर्थ तिमीलाई मेरै हातले गाड्नेछु ।”

जराथुस्त्रले यसो भनेपछि उसले थप जवाफ दिएन । तैपनि आफ्नो हातलाई जराथुस्त्रले सम्मानपूर्वक समातेको महसुस भने गर्यो ।

साँझ पर्यो । बजारलाई अँध्यारोले ढाक्यो । मानिसहरू तितरबितर भए । जिज्ञासा र आतंक पनि अन्ततः थाक्यो । जराथुस्त्र भने अझै पनि मृत मानिसको छेउमा बसिरहेका थिए । विचारमा लीन हुनाले समय बिर्सन पुगे । अन्तत: रात छिप्पिएपछि चिसो हावा चल्यो । त्यसपछि उनी उठे । आफ्नो मनलाई भने,

साँच्चै नै, जराथुस्त्रले आज असल माछा समातेको छ । तर यो मान्छे भने होइन, बरू लाश चाहिँ हो ।

उदासीपन पनि त मानव जीवन हो । तर अर्थविहीन जीवन । जो लाश हुनको लागि योग्य छ ।

मानिसहरूलाई उनीहरूकै अस्तित्वको अनुभूति गराउन चाहन्छु । जो महामानव हो । अँध्यारो बादलबाट निस्कने बिजुली हो । जसलाई मानिस भनिन्छ ।

तैपनि उनीहरूबाट निकै टाढा छु । मेरो बुद्धि उनीहरूको भावनासँग बोल्दैन । उनीहरूका लागि मुर्ख म मूर्ख हुँ । लाश हुँ ।

रात उदास थियो । जराथुस्त्र बिस्तारै उठे र भने, आऊ साथी, तिमीलाई आफ्नै हातले गाड्न सक्ने ठाउँमा लैजान्छु ।

यति भनेपछि लाशलाई काँधमा राखे र आफ्नो बाटो लागे । केही पाइला अघि बढेपछि एउटा जोकरले उनको कानमा सुस्तरी भन्यो, जो त्यही लाशको साथी थियो ।

“हे जराथुस्त्र ! यो शहर छोडिदेऊ, तिमीलाई घृणा गर्नेहरू यहाँ प्रशस्तै छन् । असल र न्यायीहरूले नै तिमीलाई घृणा गर्छन् । आफ्नो शत्रु मान्छन् । नीतिमा बाँधिएकाहरू तिमीलाई घृणा गर्छन् । आफू नजिक बोलाउँछन् । तिमी त्यो भीडको लागि खतरा हौ । मरेको कुकुरको लाशसँग कुरा गरेर तिमीले आफ्नो ज्यान जोगायौ । यो शहरबाट अन्तै जाऊ । नत्र तिम्रो हत्या गर्नेछु ।” यति भन्दै त्यो जोकर गायब भयो । जराथुस्त्र भने अँध्यारो गल्ली हुँदै अघि बढे ।

शहरको मूल गेटमा चिहान खन्नेहरूले उनलाई भेटे । उनको अनुहारतिर टर्च लाइट सोझ्याए । अन्ततः जराथुस्त्रलाई चिने, अनि व्यङ्ग्य गर्दै भने, “जराथुस्त्रले मरेको कुकुर बोकेको छ । उसले चिहान खन्ने काम राम्रो हो र ! बरू हाम्रो हात त्यो कामको लागि बडो योग्य छ । के जराथुस्त्रले शैतानले झैं खराब कर्म गर्न सक्छ ? त्यसो हो त पुनर्जीवनलाई भव्य शुभकामना ! जराथुस्त्रको छेउमा शैतान खासै योग्य चोर होइन । बरू दुबैले चोर्छन् । दुबैले खान्छन् ! होइन र ?” यति भन्दै उनीहरू आपसमा हाँसे । आफ्नो टाउको एकैठाउँ जोडे ।

जराथुस्त्रले कुनै जवाफ दिएनन्, बरू आफ्नो बाटो लागे ।

दुई घण्टा हिँडेर जङ्गल पुगेका मात्रै के थिए, तुरुन्तै भोका ब्वाँसाहरूको चिच्याहट सुने । तसर्थ उनी त्यहाँ देखिएको एकान्त घरमा रोकिए । जहाँ बत्ती बलिरहेको थियो ।

एक्छिन रोकिएर जराथुस्त्रले भने, “लुटेराले झैं भोकले पनि मलाई आक्रमण गर्दैछ । यो भयानक जंगलको बीचमा आफ्नै भोकले राति अबेरसम्म मलाई आक्रमण गरिरहन्छ ।”

मेरो भोक अनौठो व्यंग्यले भरिएको छ । प्राय: नुहाइधुवाइपछि यो आउने गर्थ्यो । तर आज भने एकपटक पनि आएन । यो कहाँ गयो होला ?”

अन्ततः जराथुस्त्रले घरको ढोका ढकढक्याए । जहाँ एउटा बूढो मानिस देखापर्यो । जसले हातमा बत्ती बोकेको थियो । सोध्यो, “मेरो निद्रा बिगार्ने यो को हो ?”

“एउटा जीवित मानिस र अर्को मृत, मलाई केही खानपिन गराऊ । दिउँसो यो कुरा भुलेको थिएँ । जसले भोकोलाई खुवाउँछ, उसले आफ्नै आत्मालाई ऊर्जा दिन्छ ।”

बुढो मानिस अलि पर सर्यो, तैपनि तुरुन्तै फर्केर आयो । जराथुस्त्रसँग रोटी र रक्सीको प्रस्ताव राख्यो । अनि भन्यो, “भोकाहरूको लागि यो शहर खराब छ । त्यसैले म यहाँ बस्छु । पशुपंछी र मानिसहरू मैसँग जोडिन आउँछन् । तिम्रो साथीलाई खानपिन गर्न बोलाऊ । ऊ तिमी भन्दा निकै थकित छ ।”

जराथुस्त्रले जवाफ दिए, “मेरो साथी मरिसक्यो । उसलाई खान मनाउन निकै गाह्रो छ । यसले मेरो चिन्ता गर्दैन ।”

बूढोले उदास भई भन्यो, “जसले मेरो ढोका ढकढकाउँछ, उसले मैले दिएको कुरा लिनुपर्छ । मिलेर खाओ । राम्रोसँग बिदा हओ !”

जराथुस्त्र फेरि दुई घण्टाको लागि जूनको उज्यालोमा हिँडे । उनी अनुभवी रात्रि पैदल यात्री थिए । राति सारा संसार मस्त सुतेको हुन्थ्यो । त्यही मौकामा सबैको अनुहार हेर्न मन पराउँथे । जब उज्यालो भयो, जराथुस्त्रले आफूलाई घनघोर जंगलमा भेट्टाए । जहाँ कुनै बाटो थिएन ।

अन्ततः मरेको मानिसलाई खोक्रो रुखको भ्वाङमा राखे । जसलाई उनी ब्वाँसाहरूबाट जोगाउन चाहन्थे । आफू भने भुइँमा सुते । तुरुन्तै निदाए । शरीर थाके पनि आत्मा भने शान्त थियो ।

लामो निद्रापछि जथुस्त्र व्युँझे । उनको आँखामा गुलाबी बिहान नाचिरहेको थियो । तसर्थ निकै अचम्म मान्दै शान्त जंगल हेर्न थाले । तुरुन्तै उठे । अन्ततः खुशीले यसरी चिच्याए कि, उनले एउटा नयाँ सत्य देखे । अनि यसो भने,

ममा अनन्त ज्योति उदाएको छ । अब मलाई साथीहरू चाहिन्छ । जीवित साथीहरू ! मरेका लाशहरू होइनन् । जसलाई जहाँ चाहन्छु, त्यहाँ लैजान सक्छु ।

मलाई जीवित साथीहरू चाहिन्छ, जो मेरो पिछा गर्छन् । तिनीहरू त्यहाँसम्म आफूलाई पछ्याउन चाहन्छन्, जहाँसम्म म चाहन्छु । ममा ज्योति उदाएको छ । मानिससँग बोल्ने जराथुस्त्र होइन, साथीसँग बोल्ने जराथुस्त्र चाहिएको छ ! जो जराथुस्त्र बथानको गोठालो या शिकारी नहोस् !

जसलाई जो कोहीलाई लोभ्याउन सक्ने गोठालाहरू भन्छु, उनीहरू नै आफूलाई असल र न्यायी गोठाला भएको दावी गर्छन् । जसलाई तिमीहरू आफ्नै शिकारी हौ भन्छु, उनीहरू आफूलाई नैतिकवान र विश्वासी हौँ भन्छन् ।

असल र न्यायका दास हौँ भन्नेहरू हो ! तिमीहरू कसलाई धेरै घृणा गर्छौ ? आफ्नो मूल्यमान्यताको नियम कानून तोड्ने जो छ, ऊ नै सृष्टिकर्ता हो ।

समस्त विश्वासीहरूलाई हेर ! उनीहरू कसलाई धेरै घृणा गर्छन् ? उनीहरूको मूल्यमान्यताको नियम कानून तोड्ने जो छन्, तिनीहरू नै सृष्टिकर्ता हुन् ।

सृष्टिकर्ता साथी खोज्छन्, लाश होइन । भीड वा विश्वासी पनि होइन । सृष्टिकर्ताले खोज्ने साथीहरू ती हुन्, जो नयाँ संसारमा नयाँ मूल्यमान्यताको झण्डा गाड्छन् ।

सृष्टिकर्ता त्यस्ता साथी खोज्छन्, जो छरिन या उम्रनको लागि पूर्ण रूपले पाकेका छन् । तर उसलाई सयौँ हँसियाको खाँचो छ । तसर्थ ऊ मकैको कान च्यात्दै हिँड्छ । जे देखिन्छ, त्यसप्रति उसलाई रिस उठ्छ ।

साथीहरू हो ! सृष्टिकर्ताले त्यस्ता मानिस खोज्छन्, जसलाई आफ्नो हँसिया कसरी चलाउने ? त्यसबारे राम्रोसँग जानकारी छ । भक्षक तिनीहरूलाई भनिन्छ, जो असल र खराबको पर्खाल ठड्याएर एक अर्कालाई घृणा गर्छन् । सृष्टिकर्ता त्यस्तो साथी चाहन्छन्, जो रोपाइँ र कटनिको आनन्द लिन सक्छ ।

साथीहरू हो ! जराथुस्त्र रचनाकारहरू खोज्छन् । खेती किसानमा रमाउनेहरू खोज्छन् । उनलाई बस्तुभाउ, गोठाला र लाशहरूसँग कुनै सरोकार छैन ।

तिमी मेरो पहिलो साथी हौ । शान्तसँग आराम गर ! तिमीलाई तिम्रै खोक्रो रूखमा गाडिदिएको छु । तिमीलाई ब्वाँसाहरूबाट जोगाएको छु ।

तैपनि तिमीबाट अलग छु । अहिले यस्तो समय आएको छ, दोस्रो दिनको गुलाबी बिहानले म सामु नयाँ र अनन्त सत्य ल्याएको छ ।

म गोठालो होइन । चिहान खन्ने मान्छे पनि होइन । मानिसहरूसामु अब कुनै कुरा बहस गर्दिनँ । किनकि, अन्तिम पटक मृतकहरूसँग बोलेको छु ।

ती सृष्टिकर्ता, जो बालीनाली लगाउन र भित्राउन पाउँदा रमाउँछन्, उनीहरूसँग आनन्दले संगत गर्नेछु ।

एक्लै बस्नेहरूका लागि मेरो अन्तरमनको गीत गाउनेछु । केही मानिस, जसको कान अझै खुलेको छैन, उसलाई पनि मेरै खुशीले मन भरिदिन्छु ।

लक्ष्यको लागि योजना बनाउँछु । आफ्नो स्वअध्ययनको बाटो पछ्याउँछु । बिस्तार बिस्तारै आकाश छुन उफ्रनेछु । यसरी नै मलाई अन्तरयात्रा र उनीहरूलाई गहिराइमा झर्न देऊ ।

१०

मध्य दिनको सूर्यको गीतसँगै यो कुरा जराथुस्त्रले आफैंसँग भनेका थिए । उनले आफूमाथि उड्दै गरेको चराको तेज पुकार सुनेका थिए ।

ऊ हेर ! एउटा चील विशाल पखेटा फैलाएर उड्यो । उसले एउटा सर्प बोकेको छ । जसलाई शिकारको रूपमा नभै साथीको रूपमा बोकेको छ । किनकि, ऊ आफैं चीलको घाँटीमा बेरिएको छ ।

“तिनीहरू मेरा साथी हुन्,” खुशी हुँदै जराथुस्त्रले भने ।

“धरती माथि र धरती मुनिको सबैभन्दा घमण्डी अनि बुद्धिमानी जीव ! जो आफ्नो अस्तित्व पत्ता लगाउन खुल्ला संसारमा आएका छन् ।

तिनीहरू जान्न चाहन्छन् कि, जराथुस्त्र अहिले जीवित छ या छैन ? साँच्चै ! के म अझै बाँचिरहेको छु ?

पशुपक्षीका बीचमा भन्दा मानिसहरूका बीचमा रहँदा धेरै खतरा हुने महसुस गरेको छु । खतरानक बाटोमै त जराथुस्त्र हिँड्छ । मेरा पशुपंछी मलाई डोर्याउन चाहन्छन् । उनीहरूलाई डोर्‍याउन देऊ !

यति भनेपछि उनलाई वनमा बसेका साधुको वचन याद आयो । त्यसपछि लामो सास फेरे । आफैंसँग यसरी गफिए,

“यदि म साँच्चैको बुद्धिमानी थिएँ भनेँ, आफ्नै हृदयको सर्पझैं बुद्धिमान हुन किन सकिनँ ।

तैपनि म असम्भव बारे प्रश्न गर्दैछु । तसर्थ मेरो घमण्डलाई मेरै मनको साथ लागेर जाओस् भन्ने चाहन्छु ।

हाय ईश्वर ! यदि कुनै दिन मेरो मनलाई उड्न मन लाग्यो भने, के यो मन अनन्त आकाशमा उड्न मन पराउँछ ? त्यसबेलाको चाहना यो छ कि, मसँग भएको घमण्ड मेरो मूर्खतासँगै उडेर जाओस् !”

यसरी जराथुस्त्रको गहन यात्रा सुरु भयो ।