आध्यात्मिक गुरू ओशोको जन्म भारतको मध्यप्रदेशस्थित कचवाडामा ११ डिसेम्बर सन् १९३१ मा भएको थियो । बाल्यकाल देखिनै शान्त र गम्भीर स्वभावका ओशो दर्शनशास्त्रमा रुचि राख्दथे । केही समय जबलपुर विश्वविद्यालयमा प्राध्यापन गरे । बिस्तारै अध्यात्म र दर्शनमा उनको ज्ञान बढ्दै गयो । त्यसपश्चात अलग-अलग धर्म र विचारधाराका बारेमा प्रवचन दिन थाले । सन् १९८१ देखि १९८५ सम्म अमेरिकामा बसे । त्यहाँ रहँदा उनले `रजनीशल्याण्ड´ अलग्गै एउटा शहर बनाउने प्रयास गरे र बनाए पनि तर विविध विवादपछि फर्केर भारत आए । उनी नेपालमा बस्न चाहन्थे तर तत्कालीन श्री ५ को सरकारले अनुमति दिएन । उनले दिएका हजारौँ मिनेटको अडियो प्रवचनलाई लगभग सात सयवटा किताबाकारको रुप दिइएको छ। अर्को रोचक कुरा, उनले आफ्नो जीवनकालमा एक लाख पचास हजार किताब पढेको कुरा गरिन्छ। उनको मृत्यु १९ जनवरी सन् १९९० मा भएको थियो । उनको मृत्युलाई रहस्यमय मानिन्छ । उनकी आमाले ओशोको मृत्यु स्वभाविक नभै हत्या भएको बताउने गर्थिन् ।

विश्वको मथिङल हल्लाउने एक दार्शनिक, विचारक र आध्यात्मिक गुरूको पुस्तक प्रेमका किस्सा प्रस्तुत छ :

मेरा पिता वर्षमा तीनचार पटक बम्बै आवतजावत गर्नुहुन्थो ; हरेकपटक जाँदा सबै बच्चाबच्चीलाई सोध्नुहुन्थ्यो `तिमीहरूलाई के ल्याइदिऊँ ।´ मलाई पनि सोध्ने गर्नुहुन्थ्यो, `यदि तिमीलाई कुनै कुराको आवश्यकता छ भने लेख्न सक्छौ, म बम्बैबाट ल्याइदिन सक्छु ।´O

मैले कहिल्यै केही ल्याउन आग्रह गरिनँ । एकपटक मैले भनेँ, `म मात्र यो चाहन्छु कि तपाईं अधिक मानवीय, कम पितापनले भरिएको,अधिक मैत्रीपूर्ण, कम अधिनायकवादी र अधिक लोकतान्त्रिक भएर फर्कनोस् । फर्केर आउँदा मेरा लागि अधिक स्वतन्त्रता लिएर फर्कनुहोला ।´

उहाँले भन्नुभयो, `तर बजारमा यस्ता कुरा उपलब्ध हुन्नन् ।´

मैले भनेँ, `मलाई थाहा छ । यी कुरा बजारमा उपलब्ध छैनन् । तर यहि कुरा मलाई मनपर्छ । थोरै अझै अधिक स्वतन्त्रता, केही कम आदेश, केही कम आज्ञा र थोरै सम्मान ।´

उहाँ भन्नुहुन्थ्यो, ` कहिले कुनै बच्चाले सम्मान मागेको देखेको थिएन । तिमी खेलौना, मिठाई, कपडा, साइकल जस्ता वस्तु किन माग्दैनौ ? त्यो तिमीले पाउने पनि थियौ तर यो सब कुरा त वास्तविक कुरा होइनन् । जसले तिम्रो जीवनलाई आनन्दित बनाउने छ ।´

मैले उहाँसँग पैसा तबमात्र मागेँ जब मलाई किताब खरिद गर्न आवश्यक हुन्थ्यो । मैले कहिल्यै पनि अन्य वस्तुका लागि पैसा मागिनँ ।

मैले भन्थेँ, `जब मलाई पुस्तक किन्न आवश्यक हुन्छ; त्यतिबेला पैसा दिनु उत्तम हुनेछ ।´

उहाँले भन्नुभयो, ` तिम्रो अभिप्राय बुझिनँ।´

मैले भनेँ, ` मेरो अभिप्राय बस् यहि हो कि मलाई पुस्तक किन्नेबेला पैसा दिनुभएन भने मैले चोर्न पनि सक्छु । म चोरी गर्न त चाहन्न तर यहाँले बाध्य बनाउनु भयो भने अर्को उपाय रहने छैन । तपाईंलाई थाहा छ मसँग पैसा छैन ।मलाई किताबको आवश्यकता एकदम पर्छ । कुनै पनि हालतमा ती किताब मैले किन्नेछु । मनमा यो कुरा सधैं राख्नुहोला कि मलाई चोरी गर्न तपाईंले नै बाध्य बनाएको हो ।´

उहाँले भन्नुभयो, ` चोरी गर्नु पर्दैन । तिमीलाई जब आवश्यक पर्छ आएर पैसा लिएर जानू ।´

मैले भनेँ, ` तपाईं निश्चिन्त रहनुहोला । मेरो माग मात्र पुस्तकको लागि हो । तर आश्वस्त हुनुको जरूरी थिएन किन कि उहाँले घरमा थपिदै गइरहेका मेरा किताबबाट अनुमान लगाउन सक्नुहुन्थ्यो ।´

बिस्तारै घरमा मेरो पुस्तक बाहेक अन्य कुराको लागि ठाउँ नै साँगुरो हुँदै गयो ।

मेरा पिताले भन्नुभयो, `पहिला हाम्रो घरमा पुस्तकालय थियो; अहिले पुस्तकालयमा घर छ । हामी सबैले पुस्तकको ख्याल राख्दिन पर्छ । तिम्रा किताबसँग अलिकति तलमाथि भयो भने यति धेरै उपद्रो गर्छौ, हल्लाखोर गर्छौ कि सबैजना ती किताबसँग भयभित भएका छन् । जताततै किताबैकिताब छन् । किताबसँग ठोकिनबाट बँच्न पनि सकिन्न । त्यसमाथि यहाँ ससाना बच्चा छन् ।´

मैले भने, ` साना बच्चाहरू मेरा समस्या होइनन् । समस्या त ठूला बच्चा हुन् । साना बच्चाले मेरा किताबको सुरक्षा गर्दिन्छ्न् । म त उनीहरूको सम्मान गर्छु ।´

मेरो घरमा देखिने यो विचित्रको दृश्य थियो । म घरमा उपस्थित नहुँदा मेरा भाइबहिनीले किताबको हेरचाह गर्दिन्थे । कसैले मेरा किताब छुन पनि सक्थेनन् । उनीहरू किताबको सरसफाइ गर्दिन्थे । आआफ्नो स्थानमा मिलाएर राख्दिन्थे । भलै मैले ती किताब अस्तव्यस्त नै किन नछोडू ।
त्यसैले मलाई आवश्यक परेको पुस्तक तुरुन्तै भेटिन्थ्यो ।

मैले उनीहरूसँग सम्मानपूर्ण व्यवहार गर्थेँ । त्यसको बदलामा उनीहरूबाट मेरा किताबसँग सम्मानजनक व्यवहार गरून् भन्ने चाहन्थेँ । यो भन्दा बढी मलाई केही चाहिएको थिएन ।

मैले भन्थेँ- `वास्तविक समस्या ठूला बच्चा हुन् । काकाकाकी र फफुफुपाजू समस्या थिए । कसैले मेरा पुस्तकमा चिन्ह लगाएको मलाई मन पर्दैनथ्यो । रेखांकन गरेको झनै पन पर्थेन । उहाँहरूले यस्तै गर्दिन्थे । मेरा किताबमा कसैले रेखांकन गरेको कल्पना गर्दा मात्र पनि मलाई घृणा जाग्थ्यो ।

मेरा एकजना फुपाजु प्रोफेसर थिए । त्यसैले उनमा रेखांकन गर्ने बानी हुने नै भयो । उनले सुन्दर किताबहरू भेटेका थिए त्यसैले जब उनी आउथे किताबमा आफ्ना टिप्पणी लेखेर जान्थे । मैले उनलाई बाध्य भएर भन्नुपर्ने हुन्थ्यो कि यो एउटा असभ्यतापूर्ण व्यवहार, गलत आचरण र क्रुर मन भएको व्यक्तिले गर्ने काम हो भनेर ।

म पुस्तकालयबाट किताब ल्याएर पढ्न रुचाउँदिन थिएँ । यसको एउटै कारण यो हो कि त्यहाँ रेखांकन भेटिन्थ्यो । रेखांकन कुनै अर्को व्यक्तिले कुनै वाक्यलाई बल दिनु हो ।अरूले बल दिएको कुरामा आफ्नो अनुभव बिना म केन्द्रित हुन चाहन्न ।

कुनै पुस्तक पढ्दै गर्दा । रातो रंगको रेखांकन भेटिएमा त्यसले अलग्गै किसिमको प्रभाव पार्छ । सम्पूर्ण पृष्ठ पढेर सक्याउँदा पनि त्यो रेखांकनले बेग्लै असर गरिरहन्छ । यसले मनमा भिन्न किसिमको छाप छोड्न सक्छ ।

मलाई कुनै दोस्रो व्यक्तिले रेखांकनन गरेको पुस्तक पढ्ने रुचि हुँदैन । मेरो लागि पुस्तक मात्रै पुस्तक होइन, प्रेम सम्बन्ध हो । यदि कसैले मेरा पुस्तकमा रेखांकन वा चिन्ह लगायो भने त्यो पुस्तकको तपाईंले मूल्य चुकाउन पर्ने छ । सँगै लिएर जान पर्ने छ । त्यो पुस्तकका लागि मेरो घरमा कुनै स्थान हुनेछैन । किनभने एउटा खराब माछाले सारा पोखरी फोहोर बनाउँछ ।

उनी क्रोधित भए । स्वभाविक हो उनी मेरा बानीव्यवहाराबाट परिचित थिएनन् ।

मैले भनेँ, `तपाईं मेरा पितासँग कुरा गर्नोस् । तपाईंले मेरा आदतबारे थाहा पाउनुभएको छैन ।´

मेरा पिताले उनलाई भन्नुभयो, `यो तपाईंको दोष हो । तपाईंले उसका किताबमा रेखांकन किन गर्नुभयो ? उसका किताबमा टिप्पणी किन लेख्नुभयो ? फेरि यी किताब त उसकै पुस्तकालयमा रहने हो, तपाईंका रेखांकन र टिप्पणीको उद्धेश्य के हो ? अनि अर्को गल्ती भनेको तपाईले उसका किताबमा बिना अनुमति सो कार्य गर्नुभएको छ ।´

मेरा पिताले थप्दै भन्नुभयो, `कुनैपनि व्यक्तिको सामान प्रयोग गर्दा, सम्बन्धित व्यक्तिसँग अनुमति लिनै पर्ने हुन्छ ।नत्रभने एउटा अराजक स्थिति सिर्जना हुनसक्छ । उसले पनि तपाईंका सामान बिना अनुमति प्रयोग गर्न थाल्नेछ । समाजमा यस किसिमको चलनचल्ती सुरू हुनसक्ला ।´मेरा पिताले किताबमा टिप्पणी र रेखांकन गर्ने प्रोफेसरलाई भन्नुभयो, `य किताब तपाईं लानोस् र उसलाई नयाँ किताब ल्याएर दिनुहोला ।´एकदिनको घटना सुनाउँछु । मेरा पिताका साथी आत्तिदै सोधे, ` कहाँ गायब भयो मेरो सुटकेस ।´

मैले जवाफ फर्काएँ, `मलाई थाहा छ सुटकेस कहाँ छ । तपाईंको सुटकेस भित्र मेरो एउटा किताब छ । मलाई तपाईंको सुटकेससँग कुनै मतलब छैन । म त खाली एउटा किताब बचाउन चाहन्छु ।

मैले सुटकेस खोल्न लगाए । पिताजीको साथी डराए जस्तो हुनुभयो । सुटकेसमा किताब फेला पर्‍यो ।

मैले भने, `अब तपाईं अर्थदण्ड उपलब्ध गराउनोस् । यो असभ्यपूर्ण व्यवहार हो ।तपाईं यहाँ अतिथि हुनुहुन्थ्यो । हामीले तपाईंको सम्मान सत्कार गर्‍यौ । तपाईंले एउटा गरिब केटोको पुस्तक चोर्नुभयो । जो कुनै पैसा कमाउने सामर्थ्य राख्दैन । आफ्ना पितालाई किताब किन्ने पैसा नपाए चोरीसम्म गर्न सक्छु भनेर धम्काउनु पर्‍यो । मेरा पुस्तका यति सस्ता छैनन् । तपाईंले सजिलै सुटकेसमा लुकाउन सक्नुहुन्न । तपाईं मसँग छलकपट गर्न सक्नुहुन्न । मलाई मेरा एकएक किताब कहाँकहाँ हुन्छन् सबै थाहा हुन्छ । म कोठामा छिर्ने बित्तिकै थाहा पाउँछु, कुन किताब गायब छ भनेर ।´