आफूभन्दा आधाले कम उमेरकी युवतीसँगको रोमान्स र श्रीमतीका पारपाचुकेको काण्डका बीच ‘दा भिन्सी कोड’का ५६ वर्षे लेखक डन ब्राउनले हालै बालबालिका केन्द्रित सिर्जना बजारमा ल्याएका छन् । ‘वाइल्ड सिम्फोनी’ शीर्षकमा उनले आफ्नो पुरानो सिर्जनालाई नयाँ शैलीमा बजारमा ल्याएका हुन् । उनले ३० वर्षअघि सिर्जना गरेका मात्र थिएनन्, यसलाई बजारीकरण गर्ने असफल प्रयाससमेत गरेका थिए । यतिबेला उनलाई आफ्नो पहिलो प्रयासलाई व्यापक रूपमा बजारीकरण गर्न जुरेको छ ।

तपाईंलाई लाग्ला, कहाँको ‘दा भिन्सी कोड’ र त्यसपछिका जबरजस्त थ्रिलरहरूको पुस्तक अनि कहाँ यो बाल संगीतको अडियोसहितको बाल पुस्तक ! तर जीवनकै पहिलो लेखकीय प्रयासलाई मानिसले कहाँ बिर्सन सक्छ र ?

३ देखि ७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ‘वाइल्ड सिम्फोनी’ बजारमा ल्याइएको हो ।

डन ब्राउनले त्यो बेला आफ्नै घरेलु स्टुडियोमा ‘वाइल्ड सिम्फोनी’को नाममा बालबालिकाका गीतहरूलाई रेकर्ड गरेका थिए । तिनलाई उनले त्यो बेला क्यासेट चक्कामा डब गरी विभिन्न पुस्तक पसलमा पुर्याएका थिए । यतिबेला तिनै गीतलाई थोरै अपडेट गरी व्यवसायिक तरिकाले रेकर्ड गरिएको हो । यसलाई नयाँ शैली र शिल्प मात्र होइन, अर्केस्ट्राको भव्यतासमेत दिइएको छ ।

अहिलेसम्म सात वटा थ्रिलर उपन्यास लेखेका उनका ती पुस्तक २ करोड ३४ लाख प्रति प्रिन्ट गरिएको मात्र होइन, तिनले उनलाई करोडपतिसमेत बनाएको थियो ।

उनको यो सिर्जना उनकी पूर्व पत्नी ब्लिथ ब्राउनसँगको तिक्ततापूर्ण सम्बन्ध र कानुनी झमेलाका बीचमा रिलिज भइरहेको छ । उनीहरूबीच गएको वर्ष मात्र पारपाचुके भएको थियो ।

तर गएको जुलाई ३० मा ब्लिथले पारपाचुकेका बेलामा पूर्व पति डनले आफ्नो सम्पत्तिको कम मूल्याङ्कन गर्दै आफूलाई कम सम्पत्ति दिइएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनीहरू छुट्टिने क्रममा ‘वाइल्ड सिम्फोनी’जस्ता महत्त्वपूर्ण सिर्जनाका बारेमा पूर्वपतिले झूट बोली त्यसमा आफूलाई अंशियार नबनाएको तितो पोखेकी छन् ।

उनले वर्षौं आफूलाई चाल नदिई नेदरल्यान्डकी एक घोडसवारी प्रशिक्षिकासँग गोप्य सम्बन्ध अघि बढाएको र उनलाई ३ लाख ४५ हजार डलर बराबरको सम्पत्ति गोप्य रूपमा दिइएकोमा समेत आपत्ति प्रकट गरेकी छन् ।

२५ वर्षीया ती युवतीसँगको लामो रोमान्स पत्ता लगाएपछि ब्लिथले पारपाचुकेको बाटो रोजेकी थिइन् । यी दुईबीच पैसा आदानप्रदानमा समझदारी कायम भएपछि ब्राउनका गोप्य कुरा बजारमा छताछुल्ल नबनाउने आपसी सहमति भए पनि ब्लिथले बजारमा ल्याएकामा डनले असन्तुष्टि प्रकट गरेका छन् ।

‘मैले उनलाई पैसाका बारेमा कुनै कुरा लुकाएको छैन, उनले ममाथि लगाएको आरोप झूटो हो,’ लेखक डन ब्राउनले हालै विज्ञप्ति जारी गरी बताएका छन् ।

बिर्सिइएको प्रोजेक्ट
सन् २०१७ ताका उनी ओरिजिन उपन्यास रिलिज कार्यक्रमका बेला चीनको राजधानी बेइजिङमा थिए । टेलिभिजन अन्तरवार्ताका क्रममा सोधिएको थियो, ‘तपाईंलाई काम गर्न मन लागेको तर बिर्सिइएको वा उपेक्षित कुनै प्रोजेक्ट छ कि ?’

त्यो बेला झट्ट उनलाई यही बालबालिकाको गीति प्रोजेक्ट याद आएको थियो । ती संघर्षका दिन थिए तर मन लगाएर गरिएको काम थियो । टेलिभिजनमा यो प्रोजेक्टको सम्झना गर्नेबित्तिकै चिनिया प्रकाशक यसलाई बजारमा ल्याउन तयार भइहाले । यही कुरा बेलायती प्रकाशकसँग कुरा गर्दा उनीहरू पनि तयार देखिए । त्यसपछि यसलाई भव्य बनाउन प्रकाशकहरूले कुनै कसर छाडेनन् । सामान्य बाल गीतलाई गतिलो प्रकाशकको साथ भएपछि गज्जबको अर्केस्ट्रासमेत प्रयोग भयो ।

यससँगै ब्राउनको संगीतको ज्ञानसमेत प्रस्ट हुन पुग्यो । उनी भन्छन्, ‘गीत लेख्नु वा शास्त्रीय संगीत सिर्जना गर्नका लागि तपाईंले यसको संरचना बुझ्न जरूरी छ ।’

डन ब्राउनकी आमा संगीतको शिक्षक थिइन् । त्यसैले उनले बालापनबाटै संगीत बजाउन थालिसकेका थिए । बालापनमा नै उनले बाक, चेकोस्वस्की र बेला बार्टकजस्ता सर्जकहरूको सिर्जना रूचाउन थालिसकेका थिए । उनी पाँच वर्षकै छँदा आफैँ संगीत गर्न थालिसकेका थिए । स्कुलमा वक्तृत्वकला प्रतियोगिता हुँदा उनले उपन्यासकार हुने कि संगीतकार भन्ने दुई वटै छनोट सँगै बोकेर तर्क गरेका थिए । ‘संगीत गर्नु चैँ अझ रमाइलो होलाजस्तो लाग्यो मलाई त,’ त्यो बेला उनको निष्कर्ष थियो ।

लस एञ्जल्स छिर्नुमा उनको पहिलो उद्देश्य संगीतकारका रूपमा ख्याति कमाउन नै थियो । यसका लागि उनले हलिउडमा रहेको नेसनल एकेडेमी अफ सङराइटर्सको सदस्यतासमेत लिएका थिए । १९९० को दशकमा उनले केही पियानो संगीतको काम पनि पाएका थिए ।

यही बेला उनको भेट भविष्यकी पत्नी ब्लिथसँग भएको थियो । उनी त्यो बेला निकै पहुँचवाली थिइन् र नेसनल एकेडेमी अफ सङराइटर्सकी निर्देशक पनि थिइन् । उनैको सिफारिसमा केही स्कुलमा संगीत सिकाउने काम पनि पाएका थिए ।

ब्लिथसँग विवाह भएपछि उनीहरू जन्मगाउँ न्यु ह्याम्पसायरतिर गए । त्यहीँ उनले जीवनकै पहिलो उपन्यास ‘डिजिटल फोट्रेस’ लेखे । त्यसपछि ‘एन्जल एन्ड डेमोन्स’ र ‘डिसप्सन पोइन्ट’ पनि सिध्याए । यी तीन वटै उपन्यासले कुनै चमत्कार गर्न सकेनन् । तर उनले घर छेउकै स्कुलमा अंग्रेजी भाषा शिक्षण भने गरिरहे । उनकी पत्नी ब्लिथले पनि उनलाई जीवन अघि बढाउन सघाइरहिन् ।

सन् २००३ मा द दा भिन्सी कोडले भने प्रकाशन जगतमा तहल्का नै मच्चायो । यसको विवादास्पद विषय जिसस क्राइस्ट र मेरी मेग्डलिनको विवाह भएको थियो र ती दुवैबाट एक छोरी जन्मिएकी थिइन् भन्ने रहस्योद्घाटन गरिएको यो उपन्यासले विवादसँगै सफलतासमेत हात पार्यो । पछि त यसमा फिल्म नै बन्यो र टम ह्याङ्क्सजस्ता सिद्धहस्त कलाकार मुख्य भूमिकामा देखिए । ७६० मिलियन डलर व्यापार गरेको यो फिल्मपछि उपन्यासको बिक्री झनै बढ्यो ।

द दा भिन्सी कोड मात्र अहिलेसम्म साढे आठ करोडप्रति बिक्री भइसकेको छ । यस विषयमाथि उपन्यास लेख्न उनकी पूर्वपत्नीले जोड गरेको स्वयं ब्राउनले बताउने गरेका थिए । उनले आफ्नो साहित्य कर्ममा र पुस्तकको विषयवस्तुमा पत्नीले खेलेको भूमिकाप्रति सधैँ कृतज्ञता व्यक्त गर्ने गरेका थए । सन् २०१९ को डिसेम्बरमा पारपाचुके हुँदा ब्राउनको आधा सम्पत्ति बिना कुनै छलकपट दिएको समेत उनले बताउने गरेका छन् ।

लेखक ब्राउनको प्रेमप्रसंग सतहमा भने यही जुलाई महिनामा बाहिर आएको हो । ब्राउनले भने पूर्वपत्नीले पछिल्लो समय आफ्नो प्रेमप्रसंग बाहिर ल्याउनुमा बदलाको भावना बढी देखेको बताएका छन् । ‘यो मेरो बदला होइन, न त मलाई उसको थप पैसा मलाई चाहिएको छ,’ पूर्वपत्नीले भनेकी छन्, ‘उसले मलाई यत्ति लामो समय प्रेमसम्बन्धको कुरा लुकाएकामा दुःख लागेको मात्र हो ।’

यता ब्राउनले भने आफूले उनलाई पैसामा कुनै ठगी नगरेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘मलाई ब्लिथमाथि सधैँ उच्च सम्मान छ । एकताका उनलाई मैले गहिरो प्रेम गरेको थिएँ । उनीप्रति म खराब कहिल्यै चिताउँदिन र चिताउन सक्दिनँ पनि ।’

पछिल्लो कृति वाइल्ड सिम्फोनीबाट आएको सम्पूर्ण रकम बालबालिकाको शिक्षाका लागि प्रदान गर्ने घोषणासमेत उनले गरेका छन् ।

पछिल्लो समय पूर्वपत्नीसँग राम्रैसँग छुट्टिएको भए पनि यसरी सार्वजनिक रूपमा बेइज्जती गर्नु आफ्नालागि पूर्ण रूपमा छक्क पार्ने रहेको प्रतिक्रिया दिएका छन् ।

कोरोनाभाइरसबाट संक्रमण भएर निको समेत भइसकेका ब्राउन यतिबेला भने नयाँ थ्रिलर उपन्यास लेखनमा व्यस्त छन् ।