२०६६ सालको भदौ महिनामा नेपालका विभूति अरनिको (पहिलो नाम पालुपु) को सम्झनामा नेपाल कला परिषद्, पर्यटनबोर्ड र नेपाल भाषा ‘एकेडेमी’मा विभिन्न कार्यक्रमको आयोजना गरिएर मनाइएको थियो । ती कार्यक्रममा नेपालका र चीनबाट आएका प्रतिनिधि मण्डलहरूले भाग लिएका थिए । कार्यक्रम चिनियाँ दूतावास, श्वेतचैत्य प्रशासन बेइजिङ, नेपाल चीन कार्यकारी परिषद् र श्वेतचैत्य ग्यालरी कीर्तिपुरको आयोजनामा सम्पन्न भएको थियो ।

अरनिकोको जीवनीमा आधारित रही चिनियाँ चित्रकार याङ्ग चिङ्ग थाईले बनाएका श्रृङ्खलाबद्ध चित्रहरूको प्रदर्शनी नेपाल कला परिषद्को ग्यालरी हलमा उद्घाटन गरिएको थियो । साथै पर्यटन बोर्डको सभाकक्षमा अरनिकोको कला योगदानको विषयमा चर्चा चलेको थियो ।

अरनिको

श्वेत चैत्य

कुब्लाई खान र उनकी रानी

सोही अवसरमा संस्कृतिविद् एवं नेपाल भाषा प्रतिष्ठानका चान्सलर सत्यमोहन जोशीले आजसम्म प्रकाशमा नआएको तर अरनिकोले नै बनाएको दुई थान चित्रकला प्राप्त भएको सूचना दिएर आमन्त्रित सबैलाई चकित पारेका थिए । उनले ती चित्रहरू नेपाल भाषा एकेडेमीस्थित श्वेतचैत्य ग्यालरी कीर्तिपुरमा राखिएको कुराको पनि जानकारी दिएका थिए ।

यस्तो खबर सुनेपछि भोलिपल्ट बिहानै हामी (म, निबन्धकार ज्ञानेन्द्र विवश, कलाकार एवं लेखक रमेश खनालसहित) कीर्तिपुरमा अवस्थित नेपाल भाषा प्रतिष्ठानमा गयौँ र त्यहाँ पुगेर चित्र हे-यौँ । त्यहाँ अन्य क्षेत्रका व्यक्तित्व लगायत दर्शकहरूको पनि राम्रै उपस्थिति देखिन्यो । अरनिकोले बनाएको चित्र देख्दा हामी तीनै जना अपलक भयौँ । त्यहाँ अरनिकोले बनाएको युआन वंशका सम्राट् कुबलाई खाँ र उनकी रानीको मुहारचित्र (चित्रको फोटो प्रतिलिपि) राखिएको थियो । चित्र सम्राटको मृत्युपश्चात् उनको सम्झनामा बनाइएको रहेछ । चित्रलाई बौद्ध अनुसन्धानकर्ता मीनबहादुर शाक्यले ताइपेको राष्ट्रिय प्रासाद सङ्ग्रहालयबाट फेला पारेका रहेछन् भन्ने बुझियो । कुनै पनि किसिमको सङ्केत वा नाम नभएको उक्त चित्र कसरी अरनिकोले नै बनाएको भनेर किटान गर्न सकिन्छ भन्ने प्रश्न गर्दा शाक्यले भनेका थिए — ‘त्यहाँ (ताइपेको राष्ट्रिय प्रासाद सङ्ग्रहालयमा) मैले पनि यस्तै प्रश्न सोद्धा त्यहाँका अधिकारीहरूले चित्र अरनिकोले नै बनाएको हो भने पछि मैले चित्रको प्रतिलिपि यहाँ ल्याएको हुँ ।’

त्यतिबेला सत्यमोहन जोशीले पनि मीनबहादुर शाक्यको अनुमान र खोजीलाई सही ठह-याएका थिए ।

अरनिकोको भनिएको ती चित्रहरु ज्यादै उच्चकोटीका अलौकिक देखिन्थे । चित्रमा रङ, छाया र प्रकाशको राम्रो प्रयोग भएको भेटियो । पूर्ण ‘डाइमेन्सन’ र स्तरीय ‘कलरटोन’ मा बनेको थियो । चिनियाँ कलाशैली झल्कने ती चित्र परम्परागत कालमा भन्दा पनि पूर्ण विकसित आधुनिककालमा बनाइएको जस्तो देखिन्थ्यो । यसो भन्दा चित्र अरनिकोले बनाएको होइन भन्ने भावार्थ चाहिँ होइन । चित्र अरनिकोले नै बनाएको पनि हुनसक्छ । किनकि चीनमा नै ४५ वर्षसम्म गाँस र बास जमाएर बसेका उनलाई चिनियाँ कलाको शैली र मोहले छुन नसक्ने कुरै भएन । तथापि फेला परेका ती चित्रमा अझै पनि अनुसन्धान गरिनु आवश्यक छ । यसमा दुई देशका सरकार र यस क्षेत्रका अनुसन्धानकर्मीहरूको ध्यान केन्द्रित हुन जरुरी छ । तार्किक अन्वेषण वा विश्लेषणले अरनिकोलाई नै पक्कापक्की कलाकार ठह-यायो भने नेपाली चित्रकलाको आधुनिक इतिहास लम्बिन्छ । अर्थात् राजमान र भाजुमानसम्म पुगेर अडेको हाम्रो चित्रकलाको इतिहास, १२औँ शताब्दीका अरनिकोसम्म पुग्ने छ । हाम्रो कला गौरव झनै बढ्ने निश्चित छ ।

चीन र नेपालमा अरनिकोको नाम चित्रकारका रूपमा भन्दा पनि विशेष वास्तुकार र मूर्तिकारका रूपमा तथा सांस्कृतिक संवाहकका रूपमा प्रख्यात छ । उनले सात सय वर्षअघि नेपाली परम्परागत वास्तु र शिल्पकला शैलीलाई सिर्जनाका माध्यमबाट चीनमा स्थापित गरेका थिए । उनको कलाले मञ्जुदेवाचार्य, बुद्धभद्र, हुयाङ साङ र भृकुटीद्वारा महत्त्वपूर्ण ऐतिहासिक भूमिका निर्वाह गरिएको दुई देशको धार्मिक, सांस्कृतिक र मैत्री सम्बन्धलाई निरन्तरता दिँदै झनै मजबुत बनाएको थियो । चीनमा उनले आठ वर्ष (१२७१—१२७९) लगाएर प्रसिद्ध श्वेत चैत्य बनाएका छन् । उनले थुप्रै विहार, मूर्ति र मठमन्दिर बनाएका छन् । जुन आज पनि सुरक्षित छन् । १२४४ मा ललितपुरमा जन्मेका अरनिको १२६० मा तिब्बतको शाक्या गुम्बा धार्मिक परियोजनाका निम्ति नेपालबाट खटाइएका ८० जना कलाकार टोलीका नायक थिए । तिब्बती कलाकारसमेत रहेको सय जना कलाकारले त्यहाँ सुवर्ण चैत्य र बौद्धमूर्तिहरू बनाएपछि उनीहरूलाई शाक्या गुम्बाका सङ्घनायक पहासापाद्वारा राजासमक्ष भेट गर्न ‘तातु’ (वर्तमान पेकिङ) लगिएको थियो । चीनमा उनले प्रतिभाशाली कर्म गरेर त्यहाँका राजा कुबलाई खाँलाई रिझाएका थिए । त्यसबापत उनलाई चीनमा ऐश, ऐश्वर्य, जागिर र मन्त्रीसरहको पारितोषिक मिलेको थियो । अन्ततः यस्ता महान् प्रतिभाको चीनमा नै १३०६ को मार्चमा निधन भएको थियो । उनको सम्पूर्ण वृत्तान्त उसको समाधिस्थलमा उल्लेख गरिएको देख्न सकिन्छ ।

अरनिको पारिवारिक जीवनलाई हेर्दा, उनको नेपाल मूलकी चैत्यलक्ष्मीबाहेक ११ जना श्रीमती रहेको देखिन्छ । र थाहा भएका २ छोराका बाबु भएको पाइन्छ । अरनिकोलाई चीनले मात्र होइन कि नेपालले पनि विभिन्न किसिमले सम्मान दिंदै आएको छ । विभूति नाम जोडेर विभिन्न समयमा उनी र उनका कृति अङ्कित हुलाक टिकट प्रकाशमा ल्याएको छ । नेपालमा अरनिकोको नाममा राजमार्ग बनेको छ । र उनकै नाममा विभिन्न सङ्घसंस्थाहरूले थुप्रै पुरस्कारहरूको पनि स्थापना र वितरण गर्ने गरेका देखिन्छन् ।