विषयप्रसङ्ग

‘भावनाको तस्वीर’ (२०८०) गजलकार युवराज भण्डारीको पहिलो गजलसंग्रह हो । यस संग्रहमा उनका १०१ गजल संकलित छन् । उनको गद्य कविताहरूको संग्रह ‘अर्को कर्नाली’ (२०८०) को प्रकाशन भइसकेको छ । भण्डारी गीत, गजल, मुक्तक वा हाइकुजस्ता कविताका विविध रूपमा भावनाका तरङ्गहरूलाई ललित शिल्पका माध्यमले कुँद्न सिपालु छन् ।

यस लेखमा गजलकार भण्डारीका गजलभित्रका विविध भावहरूको सङ्गममाथि समीक्षा गरिएको छ ।

शिक्षाले मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका युवराज भण्डारी साहित्यको लेखनमा भावनाका कुशल मेकानिक्स बन्न पुगेका छन् । समकालीन नेपाली गजलमा उनको उपस्थिति निकै उज्ज्वल रहेको पाइन्छ ।

युवराज भण्डारीका गजलहरू बहरबद्ध होइनन् । स्वतन्त्र संरचना भएका गजलहरू उनका सीमा हुन् । नेपाली गजल निकै विवादास्पद मोडबाट अगि बढिरहेको वर्तमानमा उनका गजलहरूलाई बूँद राना र गोवर्धन पूजाजस्ता गजलकारहरूबाट यस संग्रहमा गतिलो आशीर्वाद प्राप्‍त भएको छ ।

गजलका संरचना तथा गजलमा व्याप्‍त भाव

युवराज भण्डारीको ‘भावनाको तस्बिर’ संग्रहका गजलहरूमा विविध भावहरू पाइन्छन् । हाल प्रचलित नेपाली गजल लेखनमा प्रेमप्रीतिका शृङ्गारमूलक गजलहरू मात्रै पाइँदैनन् । यसको क्षेत्र दिनप्रतिदिन विस्तारित भएर अनेकौं भावहरू वा विषयहरूमा विकेन्द्रित देखिन्छ । समयको परिवर्तनसँगै भावाभिव्यक्तिमा पनि व्यापकता आएको छ । नेपाली गजलकारहरू आफ्ना गजलमा राजनीति, धर्मसंस्कृति, प्रेमप्रीति, सामाजिक विसङ्गति, परिवर्तनकारी विचारधारा, नारीवाद आदिलाई समावेश गर्न कस्सिएका छन् । यिनै विषयगत सेरोफेरोमा गजलकार भण्डारीका गजलीय भावहरू छचल्किएका छन् ।

विषय वा भावको प्रस्तुतिको ढाँचा

गजलको संरचना सेरमा तयार हुन्छ । सेरभित्र काफिया, रदीफ विशेष रूपले लयको सिर्जनामा विन्यास भएका हुन्छन् । यिनको प्रयोग सटीक ढङ्गले गर्दै तीव्र गीति प्रभाव सिर्जना गरेर हृदय छोइने गरी प्रकाशित भएका भावहरूको अपेक्षा गजलमा गरिन्छ । गजलभित्रका सेरहरूमा समावेश वा आबद्ध हुने विषयका दृष्टिले गजलका सेरहरू दुई प्रकारका हुन्छन् – मुसलसल र गैरमुसलसल । मुसलसलमा एउटै विषयको वर्णन शुरूदेखि अन्तिमसम्मका सेरहरूमा गरिएको हुन्छ । गैरमुसलसलमा एउटै गजलभित्रका सेरहरूमा धेरै विषयहरू समावेश गरिएको हुन्छ (बराल, २०६४, पृ. २०) । यसरी गजलका सेरहरूको विषयगत आबद्धताका आधारमा भण्डारीका गजलहरूलाई केलाउन सकिन्छ । भण्डारीका गजलहरू उक्त दुवै प्रकारका विषयका आबद्धता हुने मुसलसल र गैरमुसलसलमा रचिएका छन् (राना, २०८०, पृ. ८) । भण्डारीका गजलहरूलाई यस आधारमा निम्नानुसार देखाउन सकिन्छ –

मुसलसल गजलहरू

गजलका सबै सेरहरू एउटै विषयमा केन्द्रित भएर प्रस्तुत भएका गजलहरू मुसलसल हुन् । यस प्रकारका गजलहरू गजलकार भण्डारीले रचेका छन् । उनका यस्ता गजलहरू संख्यात्मक रूपमा गैरमुसलसलभन्दा थोरै छन् । गजल १३, १४, १७, २०, २६, ३०, ३३, ४२, ४३, ४६, ५१, ५३, ५९, ६२, ६३, ६४, ६९, ७३, ७४, ७५, ७६, ७७, ७९, ८०, ८१, ८४, ८५, ९७, ९८ मुसलसल प्रस्तुतिमा रहेका छन् । पश्‍चाताप वा निराशा, प्रेम, सरस्वतीवन्दना, नारीमहिमा, बेरोजगारी, राजनीति, फूलमहिमा, युद्ध, नारीवाद, नेताचरित्र, देशभक्ति, आमाको माया, सामाजिक विसङ्गति, व्यंग्य, जिन्दगी, स्वपरिचय आदि विषय वा भावमा यी मुसलसल गजलहरू आबद्ध छन् । यिनीहरूमध्ये सबैभन्दा बढी संख्यामा प्रेमका गजलहरू रहेका छन् । उनका २९ वटा मुसलसल गजलहरूमा गजलकार भण्डारीले आफूलाई यस प्रकारका गजलहरू रचना गर्नसक्‍ने प्रतिभाका रूपमा उभ्याएका छन् ।

गैरमुसलसल गजलहरू  

गजलका सबै सेरहरू भिन्‍नभिन्‍न विषयमा आबद्ध भएका गजलहरू गैरमुसलसल हुन् । यस प्रकारका गजलहरू गजलकार भण्डारीले अत्यधिक संख्यामा रचेका छन् । उनका यस्ता गजलहरूमा मुसलसल गजलभित्र परेका २९ वटा गजलहरूबाहेक बाँकी सबै ७२ वटा गजलहरू गैरमुसलसल प्रस्तुतिका गजलहरू हुन् । वस्तुतः गजलरचनामा गैरमुसलसल गजलहरू बढी महत्त्वपूर्ण मानिन्छन् । यस्ता गजलमा हरेक सेरहरू भाव तथा अर्थका दृष्टिले स्वतन्त्र हुन्छन् (गैरे, २०७३, पृ. १२) । यसैले गैरमुसलसल गजलहरूमा विषयको व्यापकता हुन्छ । यिनै गजलहरूमा गजलकार भण्डारीले अनेकानेक विषय वा भावहरूलाई अभिव्यक्त गरेका छन् ।

गजलको संरचना

गजलको संरचनामा कति वटा सेरहरू हुनुपर्छ भन्नेमा मतैक्य छैन तापनि तीनभन्दा माथिका संख्यामा गजलका सेरहरू हुनुपर्ने धारणा गजलका समीक्षकले राखेको र प्रयोक्ताहरूले त्यसको पालन गरेको पाइन्छ (बराल, २०६४; गैरे, २०७३) । सेरहरूको संख्याका आधारमा पनि गजलकार भण्डारीका गजलहरूका विशेषता केलाउन सकिन्छ ।

उनले ४ देखि ७ सेरसम्मका गजलहरू रचेका छन् । उनका अत्यधिक गजलहरू ५ सेरमा रचिएका छन् भने सबैभन्दा कम सेरको एक मात्र गजल ७ सेरको छ । ४ सेरका १५ वटा गजल, ६ सेरका ७ वटा गजल छन् । उनका गजलहरूलाई हेर्दा उनी समसंख्याका गजलहरूभन्दा विषमसंख्याका गजलहरूको रचनामा बढी रुचि लिने गजलकार देखिन्छन् । विषमसंख्याका गजलहरू बढी लेख्‍नु उनको विशेषता रहेको छ । गजलहरूका सेरहरूको स्थिति निम्नानुसार रहेको छ ।

भण्डारीका चार सेरमा संरचित गजलहरूमा १५ वटा रहेका छन् । समसंख्याका यी गजलहरूलाई हेर्दा भण्डारी समसंख्याका गजलहरू थोरै लेख्छन् । उनका पाँच सेरका गजलहरू अत्यधिक छन् । यो संख्या गजल रचनाका लागि आदर्श बनोट मानिएको छ । उनका पाँच सेरका संरचनामा पूर्ण भएका ७८ वटा गजल पर्छन् । यस आधारमा उनलाई औसत ५ सेरमा गजल रच्ने गजलकार पनि भन्न सकिन्छ । उनको सात सेरको संरचनामा रचिएको गजल १ वटा मात्रै छ(९४) । यसबाट उनी धेरै संख्यामा रहेका सेरहरूमा गजल रच्ने  गजलकार होइनन् भन्ने पुष्टि गरेको छ । छोटामीठा गजलहरूमा अभिव्यक्त हुनु उनको गजलकारिताको एउटा महत्त्वपूर्ण संरचनागत वैशिष्ट्य हो ।

काफिया, रदीफ र तखल्लुस

गजलकार युवराज भण्डारीले बहर वा शास्त्रीय छन्दको प्रयोग गरेर गजल लेखेका होइनन् । उनले मुक्त छन्दको प्रयोग गरी आजभोलि भन्ने गरिएको ‘स्वतन्त्र’ गजल लेखेका हुन् । स्वतन्त्र होस् वा बहरबद्ध होस् गजलका लागि आवश्यक साङ्गीतिक संरचक तत्त्वका रूपमा काफिया, रदीफ र तखल्लुस प्रयोग गरेकै पाइन्छ । यिनको यथोचित प्रयोगबिना गजल रचना हुँदैन । गजलकार भण्‍डारीले पनि यी तत्त्वहरूको प्रयोग गरेरै गजल रचेका छन् । गजल लेख्नलाई यी तत्त्वहरूको प्रयोगबारे हेक्‍का राख्नुपर्छ । यसमा भण्डारी प्रायः सचेत देखिएका छन् । हेरौं, उनका गजलहरूमा काफिया, रदीफ र तखल्लुसको प्रयोग के कसरी भएको छ  ।

काफियाको प्रयोग

काफिया भनेको सेरहरूमा बारम्बार आउने भाषिक तत्त्व हो । बारम्बार सेरहरूमा आएर सेरहरूलाई गजलका सूत्रमा बाँध्ने अक्षर वा अक्षरसमूहलाई काफिया भनिन्छ (गैरे, २०७३, पृ. १४ को उद्धृतांश) । यो गजलका सेरहरूमा रदीफभन्दा अगि आउँछ । यो शब्द वा शब्दावलीका स्वरूपमा आउँछ । यसका शब्द वा शब्दावलीका अन्तिम एक वा एकभन्दा बढी अक्षर स्थायी हुन्छन् अनि तीभन्दा पूर्व (पहिले) का अक्षर चपल हुन्छन् वा फेरिइरहन्छन् ।

त्यसैले काफियामा दुई थरी अक्षर हुन्छन् – स्थायी र चपल । स्थायी शुरूको सेरदेखि नै उही रहिरहन्छ भने चपल हरेक सेरको दोस्रो हरफ वा मिसरामा फेरिँदै अन्तिम सेर वा मकताको दोस्रो हरफसम्मै फेरिइरहन्छ । स्थायी अपरिवर्तित वर्ण वा अक्षर हो र चपल परिवर्तित भइरहने वर्ण वा अक्षर हो । साहित्यमा काफियालाई अनुप्रास, अन्त्यानुप्रास वा तुक भन्ने चलन छ । काफियाको प्रयोग गजलमा लय वा सङ्गीत सिर्जना गरी स्तरीय गीति वा पाठ्‍य संरचना तयार गर्नलाई गरिन्छ ।

गजलकार भण्डारीले संग्रहका ९९ गजलमा काफियाको प्रयोग गरेका छन् तर दुई ओटा गजलमा काफिया दोष देखाएका छन् । उनले प्रयोग गरेका काफियाका स्तरीय रूपलाई तलका गजलहरूमा देख्‍न सकिन्छ –

फुल्नु एक दिन झर्नु छ एक दिन

नबिर्स जिन्दगी मर्नु छ एक दिन ।

अलमलमा परी नभुल्नू मूल बाटो

नगर ढिला शुरू गर्नु छ  एक दिन ।

बाढीमा हेलिनेहरूको पछि नलाग्‍नू

सागर तिमीले तर्नु छ  एक  दिन ।

भरिएकालाई पोखिन बेर लाग्दैन

रित्ता गिलासहरू भर्नु छ एक दिन ।

निराशाका बोट नरोपे हे जिन्दगी

आशाका बिउ छर्नु छ  एक  दिन । (गजल २८)

 

एक निर्दोष वर्षौंदेखि कारागारमा

हत्यारा छ्‍यापछ्‍यापी समाचारमा छ ।

छन त युवा मन्त्रालय पनि छ देशमा

युवा शक्ति जति दुबई  कतारमा छ ।

मेरो मृत्युपछि तिमी मलाम आयौ

बल्ल थाहा भो मिलन संहारमा छ ।

जसले उसको दुई वटै आँखा फुटायो

उसकी जहान त्यसैको प्यारमा  छ । (गजल ४५)

माथिका दुई गजलमध्ये २८ मा रहेका काफियाहरू हुन् – झर्नु, मर्नु, गर्नु, तर्नु, भर्नु, छर्नु । यिनीहरू ‘छ एक दिन’ भन्ने वाक्यात्मक रदीफभन्दा अगि वा पहिले आएका छन् । यिनमा स्थायी अक्षर ‘नु’ छ भने चपल अक्षरहरू ‘मर्, गर्, तर्, भर्, छर्’ छन् । स्थायी अक्षरहरू अर्थपूर्ण पनि छन् त्यसैले यी काफियाहरू स्तरीय बनेका छन् ।

यस्तै गजल ४५ मा रहेका काफियाहरू हुन् – कारागारमा, समाचारमा, कतारमा, संहारमा, प्यारमा । यिनीहरू ‘छ’ एकपदी रदीफभन्दा अगि आएका छन् । यिनमा स्थायी अक्षर ‘मा’ छ भने चपल अक्षरसमूहका रूपमा शब्दहरू ‘कारागार, समाचार, कतार, संहार, प्यार’ छन् । यसमा पनि प्रयुक्त स्थायीहरू अर्थपूर्ण शब्दमा रहेकाले यो स्तरीय काफिया प्रयोगको नमूना बनेको छ । यसबाट के स्पष्ट हुन्छ भने गजलकार भण्डारी स्तरीय काफिया प्रयोग गरी गजलीय सङ्गीत वा लय सिर्जना गर्न सक्षम रहेका छन् ।

गजलकार भण्डारी काफिया प्रयोगका दृष्टिले कतिपय गजलमा चिप्लिएका छन् । उनका केही गजलमा काफिया दोष रहेको भेटिन्छ । गजल २५, ५२ र ७४ मा काफिया दोष देखिन्छ । २५ मा ‘साँचो, बाटो, को, आगो, धारिलो, लाग्दो’ काफियाका रूपमा आएकाले दोषयुक्त बन्यो । ५२ मा ‘मा’ विभक्तिलाई रदीफका रूपमा प्रयोग गरी ‘लहर, शिखर, बगर, अधर, नजर, ईश्‍वर’ शब्दहरूलाई काफियाका रूपमा राखिएको पाइन्छ । ७४ मा पनि ‘देउतै, एउटै, छेउकै, आफ्नै, कर्ममै, अपारै’ काफिया प्रयोग गर्दा दोष देखिएको छ ।

गजलकार भण्डारीका काफिया प्रयोगका विशेष प्रवृत्तिहरू छन् । उनका काफियाहरूलाई विभिन्न आधारमा चिनाउन सकिन्छ ।

काफियाको संरचनाका आधारमा दुई थरी विभाजन पाइन्छ । एक- विभाजनअनुसार सजा मुतवाजी, सजा मुर्तरफ, सजा मुतवाजिज र हर्फे रवी गरी चार प्रकारका काफिया हुन्छन् । बराबर अक्षरसंख्या भएका काफियालाई सजा मुतवाजी, घटीबढी अक्षरसंख्या भएका काफियालाई सजा मुर्तरफ, बराबर अक्षरसंख्या भए पनि अनुप्रास नमिलेका काफियालाई सजा मुतवाजिज र शब्दको अन्तिम अक्षर हटाउँदा काफिया निरर्थक हुनेलाई हर्फे रवी भनिन्छ ।

अर्का- विभाजनअनुसार पाँच प्रकारका काफिया हुन्छन् : पूर्ण शब्द काफिया, शब्दांश काफिया, एकाक्षरी काफिया, मिलित काफिया र मिश्रित काफिया । सिङ्गो शब्दबाट बनेको पूर्ण शब्द काफिया, शब्दको अंशबाट बनेको शब्दांश काफिया, एउटा अक्षरबाट बनेको एकाक्षरी काफिया, दुई फरक शब्द वा तिनका अंशबाट बनेको मिलित काफिया र पूर्णशब्द र आंशिक शब्द दुवै मिलेर बनेको चाहिँ मिश्रित काफिया हो (गैरे, २०७३, पृ. १५ को उद्धृतांश) । यी सबै प्रकारका काफियाहरूको प्रयोग गजलकार भण्डारीले गरेका छन् । यिनका उदाहरण तल छन् ।

सजा मुतवाजी       सजा मुर्तरफ      सजा मुतवाजिज   हर्फे रवी

काट्‍ने                       तय                        देउतै                   छुट

चाट्ने                       लय                         एउटै                   लुट

साट्ने                       सूर्योदय                   छेउकै                मुकुट

बाट्ने                       समय                       आफ्नै               उपगुट

फाट्ने (ग.७१)           विजय (ग.६८)         कर्ममै                झुट

 

पूर्ण शब्द शब्दांश     एकाक्षरी      मिलित        मिश्रित

प्रहर        अनुसार       साँचो            अन्त           निर्भर

अवसर      बारम्बार     बाटो           वसन्त          सफर

रहर        लगातार         को            मन त          सागर

खबर       समाचार        आगो         ज्वलन्त       अवसर

डर         इमानदार      धारिलो        अनन्त        पतकर

यस्ता विविध प्रकारका काफिया प्रयोग गरेर गजलकार भण्डारीले लय वा सङ्गीतको सिर्जना गर्ने कलाको निर्वाह गरेका छन् । गजलको साङ्गीतिक प्रभाव सिर्जना गर्नमा उनी सचेत देखिन्छन् । गजल गेय उपविधा हो भन्ने जानेरै आफ्ना गजललाई गेय गुणयुक्त बनाउनमा सफल देखिन्छन् । उनका गजलहरूको यो ठुलो शक्ति हो ।

रदीफ प्रयोग

३६ मा स्पष्ट रदीफ छैन, संयुक्त क्रियाको ‘पर्छ’ नै रदीफसरह बनेको छ र गैरमुरद्दफ गजलको नमूना भएको छ । स्पष्ट रदीफविना लेखिएका गजलहरू गैरमुरद्दफ मानिन्छन् । रदीफ स्पष्ट रूपमा राखेर लेखिएका गजलहरू मुरद्दफ हुन्छन् (बराल, २०६४, पृ. ४०) ।

गजलकार भण्डारीको रदीफ प्रयोगको यस प्रवृत्तिलाई हेर्दा उनी मूलतः मुरद्दफ गजलहरूकै स्रष्टा हुन् भने आंशिक रूपमा चाहिं गैरमुरद्दफ गजलका प्रयोक्ता पनि हुन् । यस्तै ७९ मा रदीफ छैनन् त्यसैले यो गैरमुरद्दफ गजलको उदाहरण बनेको छ । यो बनोट तलका सेरहरूलाई हेर्दा थाहा हुन्छ किनकि यिनमा अन्त्यानुप्रासका रूपमा काफिया रहेको छ र त्यसकै पछिल्ला पद्यांशमा रहेका ‘हरू’ ले रदीफसरहको काम गरेका छन् । यस्तो प्रयोग पनि गजलमा हुन सक्छ भनी गजलका पण्डितहरूले भनेका छन् (बराल, २०६४, पृ. ४१) । ३६ र ७९ का सेरहरूलाई हेर्दा यो थाहा हुन्छ ।

अफसोस ईर्ष्यामा जल्नेले जलेरै सकिनुपर्छ

आगोमा हालेपछि फलाम पनि पग्लिनुपर्छ

फुल्दैमा विकसित हुन्छ भनी कसरी भन्नु

बाँस फुल्यो भने त मर्दै छ भन्ने सम्झिनुपर्छ (गजल ३६)

रोएर कसै मेटिँदैनन् सम्झनाका पलहरू

भिजाएर परेलीहरू बग्दै छन् गजलहरू

यादमा बल्झिदिँदा साटिएको मुटु दुख्यो

पोखिरहेँ यही मनभित्रै आँसुका भलहरू (गजल ७९)

 

रदीफ प्रयोगमा गजलकार भण्डारीका केही आफ्नै प्रवृत्तिहरू छन् । मुरद्दफ गजलहरूमा भण्डारीले काफियाका पछि नै रदीफ प्रयोग गरेका छन् । रदीफ प्रयोग गर्दा प्रायः एकल रदीफ नै प्रयोग गर्छन्, बहुल रदीफको प्रयोग थोरै मात्रामा गर्छन् । उनका रदीफहरू शब्द प्रयोगका दृष्टिले एकल रदीफ र बहुल रदीफ दुवै प्रकारका छन् । जस्तै –

एकल रदीफ                 बहुल रदीफ

रहेछ (ग.३)                    देख्न सक्दैन (ग.१)

कसरी (ग.५)                  रहेन मेरो (ग.२)

हो (ग.९)                        गरेको छ (ग.६)

पछुताइरहेछ (ग.१३)      आफैँ बोल्छ (ग.११)

फेर्छ (ग.१०१)                हुनु आवश्यक छ (ग.१२)

ल्यायो (ग.९९)                हुँ म (ग.९८)

 

पद वा शब्दजस्ता वाक्यात्मक घटकको प्रयोगका दृष्टिले रदीफलाई अन्य तीन प्रकारमा बाँडेर देखाउने गरेको पनि पाइन्छ – पदमूलक रदीफ, पदावलीमूलक रदीफ र वाक्यात्मक रदीफ (गैरे, २०७३, पृ. १७ को उद्धृतांश) ।

उनी बढी मात्रामा पद, यसभन्दा कम मात्रामा पदावली र एकदमै थोरै मात्रामा मात्र वाक्यात्मक रदीफ प्रयोग गर्ने गजलकार साबित हुन्छन् । गजलकार भण्डारीले यी तीनै प्रकारका रदीफहरू आफ्ना मुरद्दफ गजलहरूमा घतलाग्दो गरी प्रयोग गरेका छन् भन्ने तथ्यलाई तलका उदाहरणबाट प्रस्ट पारिन्छ । जस्तै –

पदमूलक रदीफ      पदावलीमूलक रदीफ        वाक्यात्मक रदीफ

भनेको (ग.७)         पनि फुल्छ (ग.५९)              तिमी हौ (ग.८१)

सपना (ग.७२)       छाडेर गयो (ग.५१)              भएँ म (ग.४२)

आयो (ग.२७)        परेको छ (ग.४६)                हुँ म (ग.२०)

रहेछ (ग.२५)         के दोष (ग.२९)                   छ एक दिन (ग.२८)

हो (ग.८६)            प्यारो लाग्छ (ग.८७)             लाग्छ मलाई (ग.७४)

यस्ता प्रयोगहरूलाई हेर्दा भण्डारी एक सफल रदीफ प्रयोक्ता गजलकार हुन् भन्ने  प्रमाणित हुन्छ । उनका कतिपय रदीफहरूमा नामयोगी, विभक्ति, बहुवचनबोधक प्रत्यय, सहायक क्रिया पनि प्रयोग भएका छन्; जस्तै – खेरि (नामयोगी, गजल ३२), मा (विभक्ति, गजल ५२), हरू (बहुवचनबोधक प्रत्यय, गजल ७९), पर्छ (सहायक क्रिया, गजल ३६) ।

तखल्लुस प्रयोग

तखल्लुस भनेको गजलकारको उपनाम हो । तखल्लुसको प्रयोग गर्ने प्रवृत्ति गजलकार भण्डारीको ज्यादै कम रहेको पाइन्छ । उनका दुई ओटा गजलमा मात्र तखल्लुस प्रयुक्त भएको पाइन्छ । संग्रहभित्रका उनका गजलहरूलाई हेर्दा भण्डारी तखल्लुस प्रयोगलाई त्यति धेरै अँगाल्दैनन् तापनि स्वतः आएका तखल्लुस प्रयोगलाई यदाकदा अँगाल्ने प्रवृत्ति देखाउँछन् । गजल ३७ मा मकताको अन्तिम मिसरामा तखल्लुस शब्द ‘राज’ प्रयोग गरिएको छ । यसैगरी ७२ मा ‘राज’ तखल्लुसकै रूपमा मकताको पहिलो मिसरामा प्रयोग गरिएको देखिन्छ ।

घरमा डाकेर मित्रले विदेशी मदिरा झिक्यो

थाहा पाएछ सायद राजले मद्यपान गर्दैन । (गजल ३७)

जुनीभर मायाको चिनो हेर्दै रोयो राज

आँसु पुछ्ने पो थियो रुमालको सपना । (गजल ७२)

गजलका विषयवस्तु र भाव

गजलकार भण्डारी आफ्ना गजलहरूका माध्यमबाट विविध विषयवस्तु र भावको प्रकाशन गर्छन् । समाज, देश, विश्वका अनेक पक्षहरूमाथि उनका गजलहरू बोलेका छन् । उनका गजलले शृङ्गार वा प्रेम, वीरता, घृणा, शान्ति, क्रोध आदि भावहरूलाई विविध प्रसङ्गहरूमा व्यक्त गरेका छन् । उनका समग्र गजलहरूलाई गहन रूपले विश्लेषण गर्दा निम्नलिखित विषयवस्तु र भावहरू तिनमा पाइन्छन् ।

देशभक्ति

स्वदेशको आफ्नो माटोका लागि हरेकले केही गर्नुपर्छ भन्ने विचारलाई युवाको विदेशतिर पलायन हुनुपर्ने सन्दर्भबाट बताएका छन् । देशमा ब्रह्मलुट चलाउनेलाई रोकी इमानदारले राष्‍ट्रनिर्माणमा ध्यान दिनुपर्ने विचार पोखिएको छ । देशलाई सुनौलो बलिदान गर्ने उज्ज्वल चाहना राखिएको छ । गजल ७४ मा देशभक्तिका महान् आदर्श प्रकट गरिएको छ । राष्‍ट्रप्रेमलाई गलाको हार र राष्‍ट्रघातीलाई झार बनाउने भावना व्यक्त गरिएको छ । विदेशका पिज्‍जा, बर्गरभन्दा हाम्रै गुन्द्रुक, ढिँडो मिठो हुने भावनामा देशभक्ति उर्लेको छ । मेलमिलापको एकताले राष्‍ट्र सबल हुने चेतना भरिएको छ ।

माटोका लागि जे गर्न सक्छौ गर अहिले नै

जवान हुनासाथ इलमका लागि बिदेसिनुपर्छ (गजल ३६)

ब्रह्मलुट निरन्तर चलेकै छ देशमा

रोक्‍न कोही त इमानदार चाहिन्छ (गजल ४४)

देशलाई सुनौलो बलिदान दिन चाहन्छु

रगत कति बगाऊँ ? बगाइरहेकै कुरा हो (गजल ६६)

हाम्रो सर्वोच्च हिमाल देउतै लाग्छ मलाई

स्वर्गभन्दा सुन्दर भूमि एउटै लाग्छ मलाई (गजल ७४)

सिपाही हुँ, राष्‍ट्रप्रेमलाई गलाको हार बनाउँछु

म आफूलाई नै देशद्वारको गजबार बनाउँछु (गजल ८९)

व्यंग्यचेतना

नेतागिरी, नातावाद, कृपावाद, भ्रष्ट चरित्र आदिलाई तारो बनाएर व्यंग्य हानिएका गजलहरू प्रशस्त छन् जो हाम्रो समाजको ज्वलन्त र नितान्त यथार्थ हो । देश बेच्नेहरूलाई अनुदान मिल्छ तर मुगलान भासिनेलाई ऋणदाता कहाँ मिल्छ र ! यस भनाइले युवालाई विदेश पठाएर रेमिट्‍यान्सले मोजमस्ती गर्ने युवाबेचुवा वा देशबेचुवा नेताहरूलाई रगत छाद्ने गरी व्यंग्य कसिएको छ । आफूले दिनेमा बेवास्ता तर आफूले पाउनेमा हतार गर्ने मानवीय दुर्बलतालाई पनि गजलकारले झ्याँको झारेका छन् ।

शक्ति, सुरा र सुन्दरीको पछि दौडिने संसारप्रति देउताको समेत सन्दर्भ ल्याएर सशक्त व्यंग्य हानेका छन्, भोगविलासी दुनियाँको सत्तोसराप गरेका छन् । सम्पत्ति हेरेर मूल्य र योगदान नाप्ने पुँजीवादी समाज व्यवस्थाको कमजोरीमाथि कडा कटाक्ष गरेका छन् । मरेपछि मात्रै नाम र सम्मान दिने हाम्रो ढोंगी समाजको ढडनासो खुस्कुन्जेल घुएँत्रो हान्न पछि परेका छैनन् गजलकार । अन्धो कानूनप्रति तीक्ष्ण व्यंग्य प्रहार गरेका छन् ।

बेइमानले दुनियाँ चलाएकोमा आश्चर्य मान्दै कटाक्ष गर्छन् । झुटो आश्वासनले रोएको गाउँबस्तीको चित्रबाट राजनीतिक बेइमानीमाथि चाबुक हानेका छन् । राजनीतिक विकृतिको दुर्गन्धित स्वरूपमाथि गजल ७६ मा चर्को प्रहार गरेका छन् । नेपाली राजनीति र सरकारप्रतिको व्यंग्य गजल ८५ मा देखाएका छन् ।

उहाँलाई योग्यता किन चाहियो र हजुर

उहाँ त बहालवाला मन्त्रीज्यूको सालो हो (गजल ९)

देश बेच्नेहरूलाई हो अनुदान मिलेको

मुगलान भासिनेलाई ऋणदाता मिल्दैन (गजल १५)

भोलि भोलि भन्छ गर्दैन लिएको फिर्ता

पाउने देख्यो कि कुनै अलमल गर्दैन (गजल १६)

दुनियाँ शक्ति, सुरा र सुन्दरीको पछि

कमजोरी देउताको नि अप्सरामा हुन्छ (गजल १८)

निर्धो, योगदान किन नगरोस् जति

उचाइ नाप्‍नलाई दामको कुरा हुन्छ (गजल २२)

बाँचुन्जेल फर्केर पनि हेर्दैन कसैले

मरेपछि बल्ल नामको कुरा हुन्छ (गजल २२)

अपराधी घुमिरहेछ, निर्दोषी छ जेलमा

कानून अन्धो भयो त जन्जिरको के दोष ? (गजल २९)

जीवनआदर्श र जीवनचिन्तन

जीवनमा प्रगति गर्न नसक्‍नाको मुख्य कारण नै आफ्नै मनको डर वा भय हो । जीवनलाई सपार्ने मुख्य आधार नै समदृष्टिले सबैमाथि समान व्यवहार र सम्मान गर्नु हो । चेतनाको उच्च सोचले जीवनलाई आदर्शमा मार्गमा डोर्‍याइरहनुपर्छ । जीवनको सत्य के पनि हो भने बेकामे भए कुरा काट्छ समाज अनि काम गरेमा कमाइको डाह गर्छ बकम्फुस दुनियाँदारी ।

कर्मशील र जाँगरी, गतिशील र निडर बन्नुपर्ने जीवन चिन्तन गजलकारको छ । आफूमा जस्तै हरेकमा दबेकालाई माथि उचाल्ने सपना र भावना होस् भन्ने कामना छ गजलकारको । जगत् हाँसेको हेर्ने सुन्दर मानवतावादी जीवनचेतना उनले प्रकट गरेका छन् । गजलकार सादा जीवन र उच्च विचारमा अडिग देखिएका छन् । जीवनमा हारेर भाग्‍ने होइन सङ्घर्ष गरेर यसलाई पार लगाउनुपर्छ है  भन्ने जीवनचेतना पनि गजलकार भरिदिन्छन् ।

सचेतता चेतको विस्तारमा निर्भर रहेछ

यो जीवन सोचले डोर्‍याउने सफर रहेछ (गजल ३)

बेकामे भए कुरा काट्दै हिँड्छ दुनियाँदारी

काम गरौँ भने ऊ मेरो कमाइ देख्न सक्दैन (गजल १)

नबुझी हल्लाको पछि लाग्नेहरूको जत्था

फगत आँधीले थुपारेको पतकर रहेछ (गजल ३)

बेचिन्छ पैसाको लागि गिर्छ आफ्नै आँखाबाट

यति असीम लालच मानिसले बटुल्छ कसरी ? (गजल ५)

अरूको जितलाई आफ्नै सम्झनू

बाँचुन्जेल फेरि हारिरहनु पर्दैन (गजल ८)

कर्ममा भरोसा र आदर हुनु आवश्यक छ

सबैभन्दा धेरै त जाँगर हुनु आवश्यक छ (गजल १२)

मेरा अनमोल सपना अधुरै रहून् बरु

जगत् हाँसेको हेर्ने एउटै रहर बाँकी छ (गजल २१)

सादा जीवन उच्च विचारको समीकरण हुनुपर्छ

असल मानिस बन्नलाई राम्रो आचरण हुनुपर्छ (गजल २३)

बाढीमा हेलिनेहरूको पछि नलाग्नू

सागर तिमीले तर्नु छ एक दिन (गजल २८)

युद्धको विरोध तथा शान्तिको कामना

अस्त्रका व्यापारी मानिने शक्तिराष्‍ट्रहरू साना र मझौला राष्‍ट्रहरूबीच भिडन्त गराएर आफ्ना अस्त्रको व्यापार फैलाउँदै मानवताहीन जघन्य अपराध गरिरहेका छन् र गजलकार यस्तो मानवता विरोधी हिंसात्मक प्रवृत्तिको तीव्र विरोध गर्छन् । देशभित्र बारम्बार भइरहने व्यर्थको युद्धको विरोध गर्छन् । गजल ६२ मा पूरै युद्धले गरेको विनाश, मानवताह्रास आदिको विरोध छ ।

बाजले उचाइबाट सिकार खोजेझैँ गरी

अस्त्र व्यापारी खोज्छन् भिडन्त कहाँ छ ? (गजल ४)

पढेको थिएँ युद्ध भर्खरै जितेको हो

सुन्दै छु देश फेरि लड्न तयार छ (गजल ५८)

शक्ति प्रदर्शनको यो काँतर खेलमा

जीवन हैन, मानवताकै मारण भयो (गजल ६२)

प्रेमका विविध पक्ष

प्रेमबिनाको संसार हुँदैन । प्रेम आकर्षण र विकर्षण दुवै हो । प्रेम सुन्दर र सुखद पनि हो, कुरूप र दुःखद पनि हो । मिलन र बिछोडका प्रेमका स्वरूपहरूलाई गजलकार व्यक्त गर्छन् । उनका गजलहरूमा प्रेममा हुने धोकाका अमिला मनस्थितिहरूलाई व्यक्त गरिएको हुन्छ । कतै प्रेमको अमरताको गान गर्छन् गजलकार । प्रेममा मिलन र प्राप्तिको आतुरता मात्र होइन धैर्य र आशा पनि जीवन्त हुनुपर्छ भन्छन् गजलकार । उनी शृङ्गारको वियोग वा विप्रलम्भ स्थितिको चित्रण मात्रै गर्दैनन् संयोग वा सम्भोग शृङ्गारको अवस्थालाई पनि मिठोसँग प्रस्तुत गर्छन् । यसै गरी वियोगको धोकापूर्ण अवस्थाको चित्रण पनि उनले गरेका छन् । प्रेमले मुटुमा राख्दा छातीमा बम खसाएर लडाइँ गर्ने र बेघर बनाउने बैगुनी मायाको गुनासो व्यक्त गरेका पनि छन् । पिरतीको यथार्थ देखाई प्रेमपीडालाई गजल ७३ र वियोग र धोकालाई ८१ द्वारा मार्मिक स्वरमा प्रस्तुत गर्छन् । प्रेमको सुन्दर निवेदनलाई गजल ८४ मा व्यक्त गरेका छन् ।

हाम्रो फूलबारी उजाड उराठ पारेर

गरिछौ अन्तै पो गोडमेल किन हो ? (गजल २६)

त्यति प्रेमले मुटुमा राखेँ तिमीलाई

खसायौ बम यो छातीमा समर बनेर (गजल ४१)

लुटेर गयौ बेघर बनायौ ठिकै छ प्रियसी

सडक मेरो घर भयो गगन छानो भयो (गजल ४३)

कहिले रुवाउँछ कहिले हँसाउँछ पिरतीले

कहीँ फूल कहीँ काँडामा नचाउँछ पिरतीले (गजल ७३)

सामाजिक विसङ्गतिको प्रस्तुति

गजलकार भण्डारी सामाजिक क्षेत्रमा व्याप्‍त शोषण, अन्याय, अत्याचार, बेथितिलाई पटक्कै रुचाउँदैनन् । त्यस्ता सामाजिक विकृति र विसङ्गतिलाई आत्मव्यंग्यका पारामा आलोचना गर्छन् । समाजमा असमानता र अनैतिकता रहेकामा तीव्र असन्तुष्टि प्रकट गर्छन् ।

यहाँ गरिबको कुनै मूल्य छैन, उसको इमानको कुनै सम्मान छैन किनकि बेइमानीले दुनियाँलाई किनिसकेको छ । वृद्धवृद्धाको दुर्दशापूर्ण जीवन र तिनीहरूप्रति सन्तानले गर्ने दुर्व्यवहारको मर्मान्त चित्र खिच्न गजलकार अग्रसर देखिन्छन् । सामाजिक असमानताले देशलाई ढाकेको विसङ्गत परिस्थितिलाई उनी देखाउँछन् । युवाहरू बेरोजगारीले पिरोलिएर विदेश हानिएको चर्को पीडा पोख्छन् । प्रेममा होस् वा अन्य क्षेत्रमा जातिपातिको र अरू खालका विभेदले समाजलाई नराम्ररी जकडेको छ र त्यो साङ्लो चुँडाउन कठिन रहेको कुरा राख्छन् । गजल ६४ मा षड्यन्त्रकारी, महास्वार्थी, दुष्ट र भ्रष्ट नेताहरूका घिनलाग्दा र लाजमर्दा चरित्रहरूलाई चिरफार गरेका छन् । सामाजिक शोषणको दग्ध रूपलाई देखाएर धिक्कार्छन् । भोकानाङ्गा र गरिबहरूको तीव्र व्यथाकथालाई गजल ७८ मा घनीभूत रूपमा प्रकट गरेका छन् । मानव तस्करीको विरोध गजल ८३ मा गरेका छन् । महँगीले अत्यासमा पारेको दुनियाँको चित्र खिचेका छन् ।

भगवान् ! यो गरिबको डर भगाइदिनुस्

भोकालाई भोकले अघाउने बनाइदिनुस् ! (गजल ७८)

महँगीको थुप्रोले थिचेको छ दुनियाँलाई

दुनियाँको अत्यासले बजार बिरामी भयो (गजल ९३)

सामाजिक परिवर्तनप्रति आस्था

जनताको परिवर्तनको आँधीबेहरीले निरङ्कुशताका बर्बर कानूनहरूलाई ध्वस्त पार्नेछन् । सत्यले जित्छ नै भन्ने विश्वासमा अडिग छन् गजलकार । यही सन्दर्भमा उनी विभेद र विकृतिविरुद्ध लेख्ने स्रष्टाहरू युगलाई नेतृत्व गर्न सक्ने हुन्छन् भनेर सामाजिक परिवर्तनमा स्रष्टाको भूमिका उच्च रहने विचार राख्छन् । समाजमा परिवर्तन स्थापित गर्न सदैव सचेतता र जागरण अँगाल्नुपर्छ भन्नेमा गजलकार दृढ देखिन्छन् । दमनको प्रतिकार गरेर जाने साहसपूर्ण भावना प्रकट गर्छन् ।

कानून पनि हल्लिएछ आँधीबेहरीमा ?

कुनै दिन त वास्तविकता आफैँ बोल्छ (गजल ११)

विभेद र विकृतिहरू विरुद्ध लेख्ने स्रष्टा

अन्ततोगत्वा युगको चेतनावाहक हुन्छ (गजल १९)

सचेत भएर जिउनुपर्छ कदम कदममा हामी

समाधिको मूलमन्त्र भनेकै जागरण हुनुपर्छ (गजल २३)

लडेको हुँ अझै आँट छ दौडेर जाने

तिमी सोच्छौ मलाई कुल्चेर जाने ? (गजल ६१)

मनको दशा र निराशा

मानिसको मन नै यस्तो कुरा हो जो कहिल्यै वशमा पर्न चाहँदैन, स्वतन्त्रताको अधिकारी हुन्छ मन । कविको मनको दशा पनि त्यस्तै हुन्छ । कहिल्यै अधीनमा रहँदैन र अनेक कल्पनाका दरबार तयार गर्नमा व्यस्त हुन्छ । बाहिरी आँखाले मनलाई देख्दैन, मनको गहिराइ देख्न सक्दैन, जीवनको सच्चाइदेख्‍न सक्तैन । गजलकारले यस्तै मनका रूपहरूलाई देखाएका छन् । जीवनलाई झरिसकेको फूल सम्झँदै निराश भएको अवस्था पनि अभिव्यक्त छ ।

रात छैन मसँग दिन रहेन मेरो

मेरै मनमाथि अधीन रहेन मेरो (गजल २)

बाहिरी आँखाले जीवनको सच्चाइ देख्न सक्दैन

आफ्नै नयनले मभित्रको मलाई देख्न सक्दैन (गजल १)

ए दुनियाँ ! म झरिसकेको फूल हुँ

मलाई फेरि झारिरहनु पर्दैन (गजल ८)

बुद्धत्व

बुद्धका महान् सन्देश हाम्रा लागि विशिष्ट छन् । बुद्धका देशका गजलकारमा बुद्धत्वबारे चेतना हुनु गौरव हो । उनले बुद्धलाई आफ्नै आँखाले हेरेका छन् । बुद्धले झैँ समाधि साधनाले मात्रै ज्ञान प्राप्त हुन्छ, सतही हेराइ वा बुझाइले बुद्धको गहन ज्ञान पाइँदैन भन्छन् ।

बुद्धत्व ठान्छन् मानिस सतही कुरालाई

समाधि साधना पो ज्ञानको सागर रहेछ (गजल ३)

 मृत्युचिन्तन

पूर्वजन्म र पुनर्जन्म तथा नास्तिकताबारे आफ्ना धारणा राख्दै कतिपय गजलमा मृत्युचिन्तनलाई प्रस्तुत गरेका छन् । जे फुल्छ त्यही झर्छ त्यसैले जन्म लिएपछि एक दिन मर्नुपर्छ भन्ने मनन गरेर जीवन सञ्चालन गर्नु उचित हुन्छ ।

धर्म र विज्ञानअनुसार अजर हुन्छ शक्ति

मृत्युपछि के ? कहाँ निवारण गरेको छ ? (गजल ६)

फुल्नु एक दिन झर्नु छ एक दिन

नबिर्स जिन्दगी मर्नु छ एक दिन (गजल २८)

नारीवाद

नारीलाई सामाजिक रूपमा पूर्ण सम्मान र पुरुषसमान स्थान हुनुपर्ने विचार गजलकारको छ । नारीलाई फूलको उपमा दिँदै आँधीहुरीसँग सङ्घर्ष गरेर जिउने महान् शक्तिका रूपमा चित्रण गरिएको छ । गजल ६३ मा पूरै नारीवादी विचार व्यक्त भएको छ । नारी कमजोरी होइन बहादुरी हो भन्ने प्रखर भाव अभिव्यक्त गरिएको छ । नारीलाई सचेत पार्ने विचार प्रकट भएको छ ।

प्रेमको नाटक धेरै भो नगर तिमी

गर्न सिक अब नारीको आदर पनि (गजल ३३)

हुँदैन हतोत्साहित आँधीहुरी आए पनि

सङ्घर्ष गर्दै फूल तुफानमा पनि फुल्छ (गजल ५९)

पर्यावरणीय चेत

हाम्रो बाँच्ने सम्पूर्ण आधार पृथ्वी हो । माटो, जल, वायुले हामीलाई बँचाएको मात्र होइन हाम्रो आवाज वा विचार र भावलाई सबैका सामु फिँजाउने महान् कार्य पनि गरेको छ । वास्तवमा पृथ्वी नै हाम्रा हरेक समस्याको समाधान गर्ने स्रोत हो । प्रकृति पर्यावरणको मूलाधार भएकाले यसको महत्त्व हाम्रो जीवनमा मूल्यवान् छ । युद्धले ध्वस्त पारेको पृथ्वीप्रतिको चिन्ता व्यक्त भएको छ । यसप्रति सचेत रहन गजलकार आग्रह गर्छन् । फोहोर होइन धरतीलाई बचाउन सफा राखौँ भन्ने भावना पोख्छन् ।

पृथ्वी र जललाई वायुले धारण गरेको छ

हावाले हाम्रो आवाज प्रसारण गरेको छ (गजल ६)

पृथ्वीले धेरै दृष्टान्त पस्केको छ बन्धु

हरेक समस्या यसैले पारण गरेको छ (गजल ६)

अर्थहीन अहङ्कारको यस लडाइँमा

पृथ्वी तिम्रो वक्ष पुनः दारण भयो (गजल ६२)

फोहोर थुपार्न छाडेर सफा गर्न थालौँ

नदीनाला जम्‍न नपरोस् नाली बनेर (गजल ९४)

अध्यात्मचेत

ईश्वरप्रति आस्था, विश्वास र श्रद्धाका भावहरू प्रकट गरेर गजलकार अध्यात्मचेतलाई प्रकट गरिरहन्छन् । सरस्वतीप्रतिको वन्दना यस्तै भाव हो । गुरुले शास्त्रले अपव्याख्या गरेपछि धर्मको मूल भावना वा मर्म नै स्वाहा हुन्छ भनी चिन्ता प्रकट गर्छन् । हातपाउहरूले देवदेवीहरूसामु मानवहित र प्राणीसेवा गर्ने बिन्ती गरेर अध्यात्मभाव व्यक्त गर्छन् । ईश्वरमा ब्रह्मसत्य हुने विश्वास पोख्छन् । आमामा भगवान्‌को रूप देखेर श्रद्धानत हुन्छन् ।

देव, यी हातपाउहरूले घात नगरून् कुनै

बिन्ती मलाई कोमल कपास बनाइदिनुस् (गजल ३०)

कोही गर्छन् खोजी आफैँभित्र सत्यको

कोही भने ब्रह्‍मसत्य देख्छन् ईश्वरमा (गजल ५२)

पिँढीमा बसेको देख्छु अनि भान्सामा देख्छु

भगवान् सम्झ्यो कि झलझली आमा देख्छु (गजल ७५)

सूक्तिमय उक्ति

मनलाई उदात्त बनाउने खालका प्रिय उक्तिलाई सूक्तिमय बनाएर प्रस्तुत गर्ने कला पनि गजलकारमा पाइन्छ । सचाइ बुझ्न भित्री आँखा चाहिन्छ । सौन्दर्य र फूललाई सिंगार्नुपर्दैन । मन र विचार सबैभन्दा छिटो दौडिन्छ । सरस्वतीको वन्दना हुने निर्मल सिर्जना होस् । देखासिकीमा माटोको सुगन्ध हुँदैन, आफ्नै जीवन्त परम्परामा हुन्छ । निराशाका बोट रोप्ने होइन सधैँ आशाका बिउ छर्नु जीवनलक्ष्य हुनुपर्छ । अँध्यारा दिनमा मनको दीप बाल्नुपर्छ । यिनीहरू सूक्तिमय उक्तिका नमूना बनेका छन् । यस्ता गजलहरू संग्रहभित्र निकै छन् ।

बाहिरी आँखाले जीवनको सच्चाइ देख्न सक्दैन

आफ्नै नयनले मभित्रको मलाई देख्न सक्दैन (गजल १)

निराशाका बोट नरोपे हे जिन्दगी

आशाका बिउ छर्नु छ एक दिन (गजल २८)

अँध्यारा दिनमा मनको दीप बाल्नू

मनोबल जति उज्यालो चिराग हुँदैन (गजल ९१)

बिम्ब, प्रतीक र अलङ्कार

सरल बिम्ब र अलङ्कार प्रयोगमा गजलकार भण्डारी सिपालु छन् । उनी प्रतीकका माध्यमबाट दुनियाँलाई चिनाउने खुबी पनि राख्छन् ।

गजल ४ को ‘बाज’ ले विश्वभर आतङ्क मच्चाउने शक्तिराष्‍ट्रको खुँखार प्रतीकको कार्य गरेको छ । गजल ११ को ‘आँधीबेहरी’ क्रान्ति र परिवर्तनको बिम्ब र प्रतीक दुवै हो । गजल १६ का ‘जून’ मा प्रेमिकाको बिम्ब र ‘तारा’ मा प्रेमीको बिम्ब उपस्थित गर्ने गजलकारको कला सुन्दर छ । गजल १८ का ‘फूल’ लाई नारीको बिम्ब र ‘भमरा’ लाई पुरुषको बिम्ब बनाइएको छ । गजल २० मा तिमीलाई ‘कलम’ मा र मलाई ‘मसी’ मा आरोपित गरेर रूपक अलङ्कारको सिर्जना गरिएको छ ।

यस्ता उपमा, रूपक आदि अर्थालङ्कार मात्रै होइन गजलकारले आफ्नो सिङ्गो कृतिभरि नै शब्दालङ्कारका रूपमा अनुप्रास वा काफियाको प्रयोग भलिभाँती गरेकै छन् ।

बाजले उचाइबाट सिकार खोजेझैँ गरी

अस्त्र बेपारी खोज्छन् भिडन्त कहाँ छ ? (गजल ४)

कानून पनि हल्लिएछ आँधीबेहरीमा ?

कुनै दिन त वास्तविकता आफैँ बोल्छ (गजल ११)

जून पर्खेर जीवन बिताउने त्यो तारा हुँ

घुँडा टेक्‍ने काम कसम यो घायल गर्दैन (गजल १६)

बाँचुन्जेल सधैँ सुवास छर्छन् फूलहरू

फूल चहार्दै उड्ने बानी भमरामा हुन्छ (गजल १८)

अनुरागमा लीन तपसी हुँ म

तिमी कलम रातो मसी हुँ म (गजल २०)

रिसको झोँकमा पत्थर नभन मलाई

हरचिजको शुद्धता जाँच्ने कसी हुँ म (गजल २०)

मलाई तिमीसँग, फगत तिमीसँग प्रेम छ

तिम्रा नयन हुँदाहुँदै किन जून सम्झनु (गजल ५३)

०००००००

सन्दर्भसूची

गैरे, नारायणप्रसाद शर्मा, २०७३, नेपाली गजलको परम्परा र प्रवृत्ति, काठमाडौँ : आशिष बुक

हाउस प्रा.लि. ।

भण्डारी, युवराज, २०८०, भावनाको तस्बिर, काठमाडौँ : भुँडीपुराण प्रकाशन ।

बराल, कृष्णहरि, २०६४, गजल : सिद्धान्त र परम्परा, ललितपुर : साझा प्रकाशन ।

राना, बूँद, २०८०, ‘अझै ओज आवस् !’ भावनाको तस्बिर, काठमाडौँ : भुँडीपुराण प्रकाशन ।