ललितपुरमा जन्मिएका कवि आर्यश विशेषतः कविता विधामा सिर्जना गर्न मन पराउँछन् । यसअघि ई बुक `अशान्त महासागर´ प्रकाशनमा ल्याएका उनले हालसालै नयाँ कवितासंग्रह सहित नेपाली साहित्यमा उदाएका छन् ।
उनको नवीनतम कवितासंग्रह `म तिमी आउनुअघि गइसकेको थिएँ´ सँग सम्बन्धित रहेर कविताका विविध विषयमा जनक कार्कीले गरेको वार्तालापको सम्पादित अंश, प्रस्तुत छ :
एमटिएजिट (म तिमी आउनुअघि गइसकेको थिएँ) यो संग्रहमा तपाईंले समावेश गरेका कविताका केस्राहरूमा कस्ता स्वाद बसेका छन् ? रंगमा कस्ता रंग छन् ? परिकार/आकार/विकार/विचार आदिमा के-के छन् ?
– यस संग्रहमा संग्रहित कविताहरूमा विविधता छ । कुनै पनि वाद या सिद्धान्तलाई बोकेर म कविता लेख्दिन । त्यसो भन्दै गर्दा कुनै पनि लेखकको एउटा वैचारिक स्पष्टता त भैहाल्छ नै, कविता पढ्दै गर्दा मेरो पनि भेटिन्छ । प्रेम, विद्रोह चेत, बाँच्ने क्रममा भोगेका अनुभूतिहरू सूक्ष्मदेखि लामो सबै आयामका कविताहरू छन् । किताबको शीर्षकअनुसार नै मूल लिपि चाहिं उदासी लिपि हो ।
यस कवितासंग्रहमा कहिलेदेखि कहिलेसम्म लेखिएका कविता अटाएका छन् ?
– एकाध रूपमा ७१-७५ का कविता भए पनि मुख्यतः पछिल्लो समय लेखिएका कविता नै अटाएका छन् ।
अशान्त महासागर अघिल्लो वर्ष डिजिटल रिलिज भइसकेको हुनाले नि यसमा सक्दो नयाँ राख्नुपर्ने नै अवस्था थियो । पहिले लेखेका धेरै कविता त्यसमै गइसकेका थिए । पाठकलाई सधैं एउटै पढाइरहने कुरा पनि भएन, त्यसकारण उक्त डिजिटल संग्रहबाट राख्न मन लागेका सोह्र कविता मात्रै राखेको छु ! अधिकतम कविता पछिल्लो एक वर्षमा लेखिएका कविताहरू नै हुन् ।
भनिन्छ, पुस्तक लेख्नभन्दा प्रकाशन गर्न गाह्रो र प्रकाशन गर्नभन्दा पाठकसम्म पुर्याउन गाह्रो छ रे ! यहाँको अनुभव के कस्तो रह्यो ?
– यो कुरा सबै कवि / लेखकलाई थाहा भएकै कुरा हो । धेरै भनेँ भने उही कुरा कति पटक गर्नु जस्तो हुन जान्छ ।
लेख्न गाह्रो काम केही पनि होइन, लेख्ने मानिस आममानिस भन्दा विशिष्ट पनि मलाई कहिल्यै लाग्दैन । राम्रो लेख्न चाहिं धेरै गाह्रो काम हो । वास्तवमै राम्रो लेखियो भने प्रकाशन पनि धेरै गाह्रो काम होइन । सोचेकै समयमा नमिल्ला, तर ढीलोचाँडो राम्रो कुराको खोजी चाहिं हुन्छ, हुन्छ । मेरो व्यक्तिगत अनुभवमा भने लेख्न र प्रकाशन गर्न सम्मको यात्रा भने सहज नै रह्यो । लामो समयदेखि नै सक्दो तयारी गरेर योजनाबद्ध काम गरेको हुनाले सहज परिस्थिति रह्यो ।
पाठकसामु पुर्याउन चाहिं कठिन काम पक्कै हो । मुख्य शहरका पुस्तक पसल बाहेकमा दुर्गम भूगोलमा पुर्याउन झनै कठिन ! उसो त पुस्तक पसल नै पनि पर्याप्त कहाँ हुन्छ र मुख्य शहर बाहेक । एउटा आफूलाई चाहिएको किताब किन्न पूरै शहर घुम्नुपर्ने हुन्छ, यहाँ भट्टी भने एउटै गल्लीमा दशौं हुन्छन् । विदेशतिरका पाठककहाँ पुर्याउन झनै कठिन । विदेशतिर नेपाली भाषाको किताब उहीं आफ्नो मान्छे नेपालबाट जाँदा मात्र मगाउन मिल्छ, कि त सामूहिक रूपमा अलि धेरै प्रति महँगो कुरियर चार्ज तिरेर मगाउनुपर्ने हुन्छ । जुन सहज र व्यक्तिगत एक एक प्रति लिनेलाई व्यावहारिक छैन । नेपाली पुस्तक अन्तर्राष्ट्रिय बजारमा नपुगे पनि विश्वभरी छरिएर रहेका नेपाली भाषीहरूकहाँ चाहिं पुग्नुपर्छ जस्तो मलाई लाग्छ । यसमा चाहिं प्रकाशन गृह, वितरकहरूले के कसरी काम गर्न सकिन्छ सोच्नैपर्ने समय भइसकेकोको छ ।
बाँकी त मेरो पनि यो पहिलो अनुभव हो । अनुभव लिंदैछु, सिक्दैछु ।
यो भागदौड, खोसाखोस, उथलपुथल, प्रतिस्पर्धा, कच्याककुचुक जिन्दगीमा कविताको आवश्यकतालाई कसरी हेर्नुभएको छ ?
– साहित्य र लेखन भनेको मानिसको अतिरिक्त रुचि हो । यो दुनियाँबारे पूर्ण बेखबर आममानिस नै बहुसंख्यक हुन्छन् । कसैलाई पनि कविता पढ्नैपर्छ, लेख्नैपर्छ भनेर भन्न मिल्दैन । तर पढ्नु राम्रो हो, जीवनलाई/संसारलाई अझ नजीकबाट चिहाउनु हो । मेरो हकमा भने म यसको अम्मली भएको छु । मेरो जीवनमा चाहिं कविता ‘बाँच्नु’ जतिकै आवश्यक छ । बाँच्नलाई पनि आवश्यक छ । बाँचिरहेको छु भन्न पनि आवश्यक छ ।
उमेरको कुन आयुमा यहाँले कवितालाई भेट्नुभयो ? कविता यहाँभित्र पसेर कहिले तरंगित भयो ? र कविता पसेर यहाँको हृदयबाट शब्दमा कसरी उत्रन थाल्नुभयो ?
– स्कुले जीवनमा म अलि पढन्ते र ट्यालेन्ट छात्र नै थिएँ । सधैं विशिष्ट श्रेणीमै पास हुनुपर्ने यदि परीक्षा बिग्रेमा; नतिजा तलमाथि भयो भने रुनेसम्मको फस्ट ब्वाइ टाइप भनौं न । शायद पाँच कक्षादेखि (उमेरमा त्यस्तै १०-११ हुँदो हुँ) फाटफुट त्यही अनुप्रास मिलाएर लेख्ने कविता लेख्न थालेको हुँ । त्यसरी नै विद्यालयका प्रतियोगितामा भाग लिन, बाल क्लबका कार्यक्रमहरूमा सुनाउन भनेरै कविता लेखिन्थ्यो त्यो बेला ।
म आठ पढ्दा दिदी कलेज पढ्ने हुनुहुन्थ्यो उहाँले नलेखे पनि साहित्य अध्ययन गर्न रुचाउनु हुन्थ्यो । मेरो भाइ पनि पढाइमा निकै अब्बल थियो । उसले पनि कविता लेख्थ्यो, राम्रै लेख्थ्यो (अहिले लेख्दैन, इन्जिनियरिङ गर्यो)। घरमा सबैले किताबहरू थुपार्ने र पढ्ने चलन विकसित हुँदै गयो । स्कूलका प्रतियोगिताहरू, अन्तर स्कूल प्रतिस्पर्धाहरूमा विजयी हुँदै गर्दा झन् प्रोत्साहन मिल्थ्यो र लेख्दै गएँ ।
केटाकेटी समयमा झन् पढाइमा पनि राम्रो राष्ट्रव्यापी कविता प्रतियोगिताहरूमा नि प्रथम हुँदा स्कूलमा, घरमा र टोलछिमेक समाजमा नि माया र हौसला मात्रै पाइन्थ्यो । जुन त्यतिबेला मलाई असाध्यै मन पर्थ्यो । स्कूलको पढाइ धेरै पढ्न पर्दैनथ्यो जसकारण म साहित्यका अतिरिक्त किताब धेरै पढ्थें, घरमा सबैले थुपार्दाथुपार्दा एउटा मिनी लाइब्रेरी जस्तै नै बनेको थियो । त्यही नोस्टाल्जिया भएर होला हिजोआज पनि म कुनै एउटासम्म किताब नभएको बंगला या साथीभाइको कोठा पुग्दा मलाई घरजस्तै/कोठाजस्तै लाग्दैन ।
देवकोटाका, भूपीका, रिमालका कविताहरू अधिक मन पर्ने त्यो बेला । जीवन बाँच्ने क्रममा कहिले निष्क्रिय कहिले सक्रिय समय चाहिं चलिरह्यो । तर म यसबाट पूर्ण रूपमा भने कहिल्यै भाग्न सकिनँ ।
यहाँको काव्यिक हृदयले कस्ता विषयवस्तुलाई अत्यधिक समेट्न खोजिरहेका हुन्छन् ?
– यो चाहिं उमेर, अनुभव, परिवेश, परिस्थिति, वैचारिक परिपक्वताको समय क्रमले फरक पार्दै लैजाँदो रहेछ । लेखनको शुरूवाती दिनमा म समाज, देश, समेटेर अलि विद्रोही अलि क्रान्तिकारी कविता लेख्थें ! त्यो बेला मलाई लाग्थ्यो कविताले चेतना निर्माण गर्न, परिवर्तनको सन्देश दिन सकोस् न ! त्यस्तो प्रेमकविता किन लेख्ने ? त्यसले के हुन्छ ?
समय क्रममा म आफैले धेरै प्रेमकविता लेखें । त्यसपछि अलि फरक र प्रयोग कविता लेख्न मन पर्थ्यो । गरें पनि, तर सोचे जति आनन्द आएन । सिक्दैजाँदा बुझ्दैजाँदा अध्ययन फराकिलो हुँदैजाँदा दृष्टिकोण र विचार बदलिंदै जान्छन् । एउटा पूर्ण परिपक्व स्पष्टता हुने समय पनि आउँछ । शायद मलाई हिजोआज अलि सेल्फ पोट्रेट कविता नै मन पर्न थालेको हो कि ? लेखनको हकमा । पठन भने मैले जहिल्यै विविधता बोकिरहें ।
यहाँले आफ्नो परिचय अराजक बनाउन खोज्नुभएको हो ?
– उकुसमुकुसहरू, भडाँसहरू उतार्दा लेखन शैलीमा त्यस्तो देखिएको हुनसक्छ यथार्थमा, व्यवहारिक भने म कोमल-भावुक-संवेदनशील नै छु जस्तो लाग्छ । कसैले दिने परिचय र सम्बोधनले मलाई धेरै अर्थ लाग्दैन । लेखन बाहिरको दुनियाँमा म एउटा सामान्य मजदुर हुँ ।
तपाईंलाई मन पर्ने पाँच जना जति मन पर्ने कविको सूचिमा को को अटाउँछन् ?
– लक्ष्मीप्रसाद देवकोटा, बासु शशी, हरिभक्त कटुवाल, ईश्वरबल्लभ, भूपी शेरचन , मोहन कोइराला ।
तपाईंलाई मन परेको पाँच वटा कवितासंग्रहको नाम लिनुपर्दा ?
– आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् , मोहन कोइरालाका कविताहरू, पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ, यो जिन्दगी खै के जिन्दगी, विजय मल्लका कविता ।
मन परेको पाँचवटा कविताहरू ?
– पागल, मेरी आमाले आत्महत्या गरेको देश, मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित, (हरिभक्तको रहर, यो जिन्दगी खै के जिन्दगी, मन त फलामकै भए असल हुन्छ), जिन्दगी कुहेको फूलजस्तो गह्नाउँछ, लाश नउठेको परम्परा, ब्युँतिनसकेको युग : पिँढी, फर्सीको जरा, आमाको सपना, एउटा यस्तो फूल चाहिन्छ, हामी, अस्तित्व सोच आदि ।
कविहरूलाई आरोप छ कि उसले आफ्ना समकालीन कविका कवितालाई भाउ दिन्न भनेर । तपाईंमा कत्तिको लागू हुन्छ यो कुरा ?
– हुँदैन । म त मेरा समकालीन कविहरू / कविताहरूलाई निकै पढिरहेको हुन्छ । आवश्यक प्रतिक्रिया पनि दिइरहेको हुन्छु । मलाई राम्रा लागेका कविताहरूलाई मैले जहिल्यै सबैलाई पढाउँदै-सुनाउँदै आएको छु ।
एउटा अति क्लिसे लाग्ने प्रश्न गर्छु । यहाँको परिभाषामा कविता के हो ?
– आजसम्म यो प्रश्नको जो जसले जति पनि उत्तर दिए, ती सबै कवि-लेखकका आ-आफ्ना दृष्टिकोण मात्र हुन् । मलाई के लाग्छ भने कवितालाई परिभाषित गर्नु नै यसको विराट स्वरूपलाई खुम्च्याउनु हो । म कविताको विराट विविधतामा साह्रै विश्वास राख्दछु । यो प्रश्न सबैभन्दा खास सोधिनुपर्ने पाठकवर्गलाई हो – तपाईंको लागि कविता भनेको के हो भनेर ! वास्तविक अर्थ त्यसले राख्छ होला ।
कोही यस्तो कवि छ जसको कविता मात्र होइन व्यक्तित्वबाट पनि प्रभावित हुनुहुन्छ ?
– नदेखेको-नभेटेकोमा । ईश्वरबल्लभ र हरिभक्त कटुवाल ।
– देखेको-भेटेकोमा प्रचण्ड भाष्कर । कविता लेखेर कवि हुनु र छविले नै कवि हुनु धेरै फरक कुरा हो ।
तपाईंलाई मन नपर्ने कविता कस्ता हुन् ?
– मैले लेख्नेजस्ता । नलेख्न पनि अभिशप्त छु ।
एउटा कविले आफ्नो मगजमा आममान्छेले भन्दा के फरक कुरा बोकेर हिंडेको हुन्छ ?
– काव्यिक चेतना । वरिपरिका जे पनि वस्तु, पात्र र परिवेशलाई बिम्ब, विषय बनाउन खोज्ने सूक्ष्म दृष्टिकोण ।
कवितामा कला प्रयोगको महत्त्व र आवश्यकतालाई कसरी हेर्नुहुन्छ ?
– पछिल्लो समयमा प्रयोगवादी कविताहरू निकै राम्रो आइरहेको पाएको छु । कथ्यशैली पनि नूतन शैलीमा आइरहेका छन् । ती कलात्मक कविताहरू निकै मन परेको छ । जुन आजको नेपाली कविताको वास्तविक आवश्यकता पनि हो । उही पुरानै कविताको ऐतिहासिक शैली र संरचनाबाट बिस्तारै मुक्त हुँदैछ समकालीन कविता । पढ्दा खुशी लाग्छ, आफ्नो पनि प्रयास रहन्छ ।
एउटा रमाइलो प्रश्न गर्छु । तपाईं उनी आउनुअघि नै किन गइसकेको ? र यदि उनी आउँदा तपाईं नगइसकेको भए के हुन्थ्यो ?
– यो शीर्षक नै, सुनिंदा प्रेमको सम्बन्धमा सुनिंदो रहेछ । तर यो शीर्षक किताबमा प्रेमको रिफ्लेक्शनको रूपमा प्रयोग भएको होइन । शीर्षकको अर्थ र सान्दर्भिकता किताब पढ्दा खुल्छ नै । प्रश्न बरु तपाईंले यही शीर्षक नै किन राख्नुभयो ? त्यो नि यति लामो किन राख्नुभयो भनेर सोध्नुभएको भए मसँग राम्रो उत्तर थियो । हेहे…
सोधिहाल्छु नि त ! यति लामो किताबको नाम किन राख्नु भएको ?
– यो किताबको काम गर्ने क्रममा यसको ड्राफ्ट नै १३ वटा बन्यो । नाम पनि दश वटासम्म सोचेको हो । किताब भित्रको कविताहरूको सार्थकता, सान्दर्भिकता शीर्षकले बोक्नु परिहाल्यो । सबै फाल्दा अन्तिममा दुई नाम थिए मसँग । अर्को नाम बिम्बात्मक छोटो मीठो थियो । यो लामो नाम चाहिं पृथक् र विशेष लाग्यो । जुन अहिले अरूले पनि नामै सबसे मन पर्यो भनेर उत्साहजनक प्रतिक्रिया दिइरहनु भएको छ । यो प्रेमको सम्बन्धमा सोचेर राखिएको शीर्षक भने होइन । यसले भित्रका कविताहरूलाई बोल्छ नै । र कालान्तरसम्म पनि यो नाम स्मरणीय नै रहन्छ भन्ने विश्वासमा पनि यही राखेको हुँ ।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा मन लागेको उत्तर दिन सक्नुहुन्छ ।
– मेरो भन्नु केही छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।