कवि देवेन्द्र खेरेस (२०२७) ले हालै नवीन कविताकृति ‘कोलम्बस यात्रा’ (२०७५) सार्वजनिक गरेका छन् । उनका यसअघि दश वर्षअघि ‘रुङ्रीको बयान र नदी किनारा’ कविताकृति (२०६५) प्रकाशित छ । दिक्तेल, खोटाङमा जन्मिएका कवि खेरेस गद्य कविता मार्फत आफ्ना जीवानुभवलाई कलात्मक रूपमा पोख्ने स्रष्टा हुन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा प्रकाशित उनको ‘कोलम्बस यात्रा’ कविताकृति नेपालभित्र रहेकाले विदेशको अनुभव बुझ्न र नेपालबाहिर बसेकाले नेपाललाई एउटा नेपालीले कसरी सम्झन्छ भन्ने अनुभूत गर्न पढ्नै पर्ने कृति हो ।

पुस्तक आकर्षक आवरणबाहेक जम्मा ९६ पृष्ठमा सङ्गठित रहेको छ । प्रकाशकीय २ पृष्ठ र लेखकको निजी विचार दुई पृष्ठ छ भने कवि तथा समालोचक रक्ष राईको १० पृष्ठ लामो अत्यन्त मननीय सैद्धान्तिक र प्रायोगिक भूमिका रहेको छ । भूमिकाले एकातिर कविता विधालाई चिनाएको छ भने कवि देवेन्द्र खेरेसको व्यक्तित्वको विविध पाटोमा समेत प्रकाश पारेको देखिन्छ । वर्तमान अवस्थामा डायास्पोरा र युद्ध साहित्यको सिद्धान्त कसरी निर्माण गर्ने र त्यो सिद्धान्तको कसीमा काव्य व्यक्तित्वलाई के कसरी मूल्याङ्कन गर्नुपर्ला भन्ने प्रामाणिक र प्रस्तावित विचार भूमिकामा प्रस्तुत छ । विश्व काव्ययात्राका एक अभियन्ता कवि स्वयम् एउटा कोलम्बस भएको र उनको यात्राले नयाँ जीवनको नौलो गोलाद्र्ध खोजेको तर्फ सङ्केत गर्ने कवि आफ्नो यात्रामा अत्यन्त इमान्दार बनेर प्रस्तुत भएको वर्णन गरेका छन् ।

युद्ध साहित्य लेख्न युद्ध नै लडेको हुनुपर्ने होइन । पारिवारिक पीडा र छटपटी तथा युद्धका विषयको अध्ययन र वर्णनबाट पनि कवि कर्मले युद्ध साहित्यको सिर्जना गर्न सक्छ । यसका साथसाथै नेपालमा आफ्नो थातथलो रहेता पनि विदेश गई बस्नेहरूलाई नेपालले नेपाली होइन जस्तो व्यवहार गर्र्छ त अर्कोतर्फ जुन देशमा गएर बसेको छ त्यस देशका मानिस र राज्यले समेत आफ्नो नागरिकका रूपमा व्यवहार नगर्दा ज्यादै नै दुःख महसुस हुने विषय अत्यन्त महत्त्वका साथ कृतिमा उठान भएको छ ।

तेजविलास अधिकारी

लाखौँ नेपाली युवा विदेशमा छन् । उनीहरूको जीवन कुनै न कुनै रूपमा त्यतै खर्च भएको छ । बेलाबखत आइपुग्दा तिनीहरू लाहुरेको रूपमा चिनिने र समाजले लाहुरेभन्दा शब्दले होइन भावले आफूले आफ्नो जीवनको ऊर्जापूर्ण समय विदेश खर्चिएर पनि नेपालका लागि केही न केही गरिरहेको लाखौँ युवाहरूलाई देशले सम्झनु त कता हो कता उल्टै दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दा कवि मन कवितामा नराम्ररी अमिलिएको देख्न सकिन्छ ।

कविताकृति ‘कोलम्बस यात्रा’मा कविले छोटा र माध्यम आकारका जम्मा ३१ ओटा कवितालाई स्थान दिएका छन् । कविका कविता प्रस्तुति शैली सामान्य तर आकर्षक तथा भाव विशिष्ट तर सहज सुबोध्य देखिन्छ । मेरा कविताहरू, एक निर्वासित बकपत्र, सम्झना, मेरो खोटाङ, बिगवेन र ग्रीनबिच समय, विज्ञान र विज्ञापन, मृत सहरका बासिन्दाहरू, जिन्दगीको हिसाब, जीवनको फैलावट, घुम्ती, एभन नदी बग्न चाहन्छु, म सपना हार्न सक्दिनँ, छोराकी गर्लफेन्ड भेटेको दिन, सिपाही, युद्ध, हाम्रो यात्रा र सृष्टिको गीत, मलाई जूनघाम नसम्झ, मेरो आग्रह, मलाई परदेशी नभन्नू, अन्तिम प्रेमपत्रजस्ता शक्तिशाली कविता सङ्ग्रहभित्र समाविष्ट छन् ।

साहित्य आखिर एउटा बकपत्र नै हो त्यो भाषा नै शैली फरक प्रस्तुति मात्र हो । कवितामध्ये पनि गद्यलयमा कविले आफूलाई पोखिदिएका छन् र आफ्ना मनका सबै भाव सिनित्तै पारेर कागजका पानामा सबैका सामु प्रस्तुत गर्ने काम यहाँ भएको छ ।

मन–मस्तिष्कभरि
सुदूर अतीतका स्मृतिहरू बोकेर
घर आएको छु
मलाई परदेशी नभन्नू (पृ. ८९)

आफ्नो देश नेपालमा आउँदा थुप्रै सोच र विचारहरू नेपाल र नेपालीप्रति बोकेर आएको तथापि कसैले विदेशी आएछ भनेर सम्बोधन पो गर्ने हुन् कि भनी कवि पूर्ण सावधानी अपनाउन पुग्दछन् ।

माटोमा जन्मेर
माटोको टीका लगाएपछि
माटो पनि मुटु हुँदोरहेछ
माटो पनि मस्तिष्क हुँदोरहेछ
पानी हुँदा
पानी पनि प्राण बन्दो रहेछ । (पृ. ९०)

विश्वमा मानव जातिको यायावरीय यात्रा जारी छ । ऊ आफू जन्मिएको ठाउँमा हुर्कन, बढ्न र कर्म प्राप्ति गर्न पाएको छैन । एकातिर मानिसलाई विदेशीभूमिमा टेक्न बाध्य पार्ने राज्य संरचनाहरू छ भने अर्कातिर मान्छे स्वयम् कुनै भूगोल र सिद्धान्तभित्र मान्न रहिरहन्न । माटोले मान्छेको मुटुलाई सम्झाउँछ । आफ्नो मातृभूमिप्रति आफू जति नै टाढा भए पनि एउटा सङ्केत गराइराख्छ कि तेरो देश–जन्मभूमिप्रतिको जिम्मेवारी पूरा भएको छैन । तैँले आमालाई बिर्सनै हुँदैन । यी निस्फिक्री विषय यस कविताकृतिभित्र परेका छन् :

युद्धमा
हरक्षण
गुन्जिरहने
एम्बुस र गोलीको झङ्कार
हरघडी आँखामा नाचिरहन्छ

युद्धमा नम्बरी ढलेको दृश्य
र हरपल आइरहन्छन् स्मृतिमा
प्रियसी–सम्झनाहरू । (पृ. ७२–७३)

यौटा सिपाही युद्धमा समेत आफ्नो देश हरपल सम्झिरहन्छ र बाँचेँ भने आफ्नो संघर्षको कथा देश, घर र जीवन संगिनीलाई सुनाउने आकांक्षा पालेर निरन्तर कर्ममा लागिरहन्छ ।

उनीहरूलाई थाहा छैन
जीवनको पाठशाला
र जिउनुको महत्त्व
बिनाअर्थ बाँचेका एलियनहरू
पढ्दैनन् इतिहास
जान्दैनन् भूगोल (पृ. ६८)

समय अत्यन्त वेगवान् छ । विश्वलाई समयले धेरै कुरा सिकाएको छ । समयको झाेँक्कासँगै विशाल ज्ञानभण्डार लुकेको छ । आजका धनाढ्यहरू त्यो कुरा बुझ्दैनन आफ्नो मपाइँत्व प्रदर्शन र्गा पनि ज्ञान आवश्यक हुन्छ । बिना ज्ञानका पुस्ता कस्तो होला कविको चिन्ता गहिरिएको छ । अझै पनि रङ्गभेदी पक्ष कति शक्तिशाली रहेको छ भन्ने प्रमाण अनुभूतिका रङहरू भन्ने कविताले प्रस्ट पारेको छ ।

एकै ठाउँमा जन्मिएर
एकै भूगोलमा हुर्के, बढेर
एकै भाषा बोलेर
र एकै भान्सा प्रयोग गरेर
समानताको अनुभूति हुँदो रहेनछ । (पृ. ७१)

कवि पाठकलाई गहिरो गरी सम्झाउँछन् । मान्छेलाई कसरी चिन्नुपर्छ र व्यवहार गर्नुपर्छ । किन नेपालीहरू परदेशी भए ? प्रश्नको उत्तर नखोजिरहेको समयमा अत्यन्त महत्त्वपूर्ण प्रश्न र प्रतिप्रश्न राज्यलाई गर्न पुग्दछन् ।

त्यो–
जङ्गीअड्डा
प्रहरी प्रधान कार्यालय
लोकसेवा आयोग

न्यायालयले मलार्य शत्रु देख्न थालेपछि
मैले देश छाडेँ । (पृ. २४)

आज पनि न्याय प्रणाली उस्तै छ । वर्गलाई होइन थरलाई आरक्षण दिइएको छ । आरक्षण र समानुपातिक प्रणालीका नाममा सामन्त र दलालहरूकै परिवार र आसेपासे सत्ता र भत्ताको निकट टेक्न सफल भएका छन् । कविको विचारमा असहमत हुनुपर्ने केही देखिँदैन । आज पनि सहज ढङ्गले सरकारी कार्यालयको कर्मचारी कार्य सम्पादन गर्दैन । खुल्लमखुलला घुस चल्दैछ ।

राष्ट्रिय गीत गाउँदा गाउँदै
देशले मलाई अराष्ट्रिय बनायो
देशको कविता लेख्दालेख्दै
देशले मलाई देशविहीन बनायो । (पृ. २४)

राष्ट्रिय गीत अरूलाई घोकाउने र राज्यसत्तामा बसेका मान्छेले मनलाग्दी गर्ने विषयलाई केही नलुकाई कवि पोखिदिन्छन् । त्यति मात्र होइन कविले कुनै क्षेत्रमा स्वागत नगरेको र झोला बोक्न बाध्य पारेको निष्कर्ष छ ।

ए खोटाङ्गेहरू
पराई भूमिका
तिमीले बगाएका पसिनाले
तिम्री आमाको सिँगाने बुलाकी
फेर्न सक्यो कि सकेनौ ? (पृ. ३१)

आज
यो कोलम्बस यात्रामा
मेरो तप्त पाइलाहरू
उपहार पठाउँदैछु
खोटाङ !
तिमीले हिँडाउनू अब
उही पुराना धूले बाटाहरूमा । (पृ. ३१)

आफू बाँचेको युग, भूमि र जन्मेको जिल्ला र गाउँसम्म पनि अत्यन्त इमान्दार भएर कवितामा पोखिएका छन् । उनका कविताहरूले आफ्नो भूगोलको माया कसरी गर्ने ? यो सूत्र समेत सिकाएको छ । कतै व्यंग्य कस्तै कतै सँगै बस्दै र कतै समाधानको उपाय सरलरेखीय ढाँचामा सिकाउने सूत्र कविको कवितामा आएको छ ।

युवाहरू वर्तमान समयमा धेरै नै पथभ्रष्ट भएका छन् । युवाहरूलाई सही बाटोमा लैजाने योजना चाहिएको छ । राज्य त्यता अभिमुख हुन सकिरहेको छैन । आज युवाहरूले अठोटका साथ केही नगर्ने हो भने हाम्रो देश शक्तिशाली बन्न सक्दैन र विविध हिसाबले अवसरवादीहरूको निर्णयमा देशको पहिचान नै समाप्त हुन सक्ने विषय उनले प्रस्तुत गरेका छन् ।

ए बर्बाद युवाहरू हो !
मैले समयसँग बाजी मारेको
सम्पत्ति कहाँ छ ?
मलाई सधैँ हार मात्र नसम्झ
म हार्न सक्दिनँ । (पृ. ६१)

कवि कतै उत्ताउलिएका छैनन । यति संयमित देशका नेता भए, देशका कर्मचारी भए र भए भने सचेत युवा के नै चाहिन्थ्यो र ! कविले युगलाई पाठ सम्झाएका छन् । युवालाई कर्तव्य सुझाएका छन् र आमनागरिकलाई आफ्नो जीवन यात्राको कथा सुनाएका छन् । मान्छे प्राप्ति र अप्राप्ति जे होला कोलम्बस बाँच्न चाहन्छ । खोजी र अन्वेषणले उसलाई सत्यको निकट पुर्याउँछ । नवीन विषय सन्दर्भको बोध भएपछि ऊ जिम्मेवार बन्दछ ।

राज्यले त नेपाल छोडेर जानेहरू किन गए ? तिनीहरूले नेपालकै लागि केही गरिरहेका पो छन् किन ? हेर्नुपर्ने होइन र । त्यो आशा कहिलेसम्म गर्ने ? शासकहरू जुवा खेलिरहेका हुन् । युवाहरू कुलतमा फसिरहेका छन् र राष्ट्रसेवक भान्सामै बसेर हसुर्न व्यस्त भएको समय लालहरूको सट्टा दलालहरू हावी हुनु स्वाभाविक छ र असल प्रजातन्त्रप्रेमीहरू दुःखी हुनु सामान्य हो । तथापि निराशा हुनुहुँदैन निरन्तर खट्नु छ र पुनः घाउमा कुनै न कुनै रूपमा मल्हमपट्टि लगाउनु छ भन्ने समग्र निष्कर्ष निस्कन्छ ।