आजभन्दा दुई वर्ष एक हप्ताअघि अर्थात् सन् २०२२ को अगस्ट महिनाको १२ तारिखमा विश्वविख्यात लेखक सलमान रुश्दीमाथि सांघातिक आक्रमण भएको थियो । हादी मतार नाम गरेको उग्रवादी युवकले न्युयोर्कको चाउताउक्वामा आयोजित कार्यक्रममा सम्बोधन गरिरहेका रुश्दीमाथि चक्कुले आक्रमण गरी मरणासन्न अवस्थामा पुर्याइदिएको थियो ।
त्यस कहालीलाग्दो क्षण र त्यसपछिको जिन्दगीको अनुभवलाई समेटेर रुश्दीले पाँच महिनाअघि संस्मरण प्रकाशित गरेका छन् । ‘नाइफ: मेडिटेशन्स आफ्टर यान एटेम्पटेड मर्डर’ शीर्षकको उक्त पुस्तकमा उनले घृणालाई प्रेम र कलाले कसरी परास्त गरिदिन्छ भन्ने तथ्यलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन् ।
‘द सेटानिक भर्सेस’ नामक उपन्यास लेखेका कारण रुश्दीका विरुद्ध इरानका आयातोल्लाह अली खोमेनीले सन् १९८९ मा फतवा जारी गरेका थिए । उक्त उपन्यासले मुसलमानहरूका धर्मगुरु मोहम्मदको मजाक उडाएको आरोप लगाउँदै खोमेनीले रुश्दीका विरुद्ध ३० लाख डलर बराबरको इनाम राखी भौतिक आक्रमणको जोखिममा पारेका थिए । त्यसैले गर्दा उनीमाथि आक्रमणका अनेकौं प्रयास भएका थिए ।
त्यही फतवाका कारण बेलायतमा लामो समयसम्म कडा सुरक्षाघेरामा रहेका रुश्दी पछि अमेरिका बसाइँ सरेका थिए । अमेरिकामा त्यही फतवालाई कार्यान्वयन गर्नका लागि आक्रमणकारी युवक रुश्दी भए ठाउँमा पुगेर उनीमाथि १५ पटक प्रहार गरेको थियो । विडम्बनाको कुरा, अन्य देशबाट आएका लेखकहरूलाई अमेरिकामा सुरक्षित स्थान दिलाउने विषयमा बोल्दै गरेका रुश्दीमाथि आक्रमण भएको थियो ।
आफूमाथिको आक्रमणको विस्तृत विवरण रुश्दीले प्रस्तुत गरेका छन् । कसरी आक्रमणकारी आफू भएतिर दौडिँदै आयो र चक्कुले आफ्नो शरीरको विभिन्न भागमा आक्रमण गर्न थाल्यो भनी उनले गरेको वर्णनले पाठकको आङ सिरिङ्ग बनाउँछ ।
बाँच्नका लागि उनले गरेको संघर्षको वर्णन प्रशंसनीय छ । आक्रमणलगत्तै उनलाई एयर एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको थियो । त्यहाँ उनको कलेजो, सानो आन्द्रा, दाहिने हात र आँखाको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनी हप्तौंसम्म निको हुनका लागि रिह्याब सेन्टरमा बसेका थिए ।
यस्तो डरलाग्दो आक्रमणपछि उनको प्रबल जिजीविषा र आशावादका साथै उनकी पत्नी रेचल एलिजा ग्रिफिथ्सको प्रेम र अविरल सहयोगका कारण उनी यो पुस्तक प्रकाशन गर्न समर्थ भएको तथ्यलाई साक्षात्कार गर्दा पाठकको मन प्रफुल्लित हुन्छ ।
आफ्ना उपन्यासहरूमा जादूयी यथार्थवादको उपयोग गरी कल्पनाको लामो उडान गर्ने रुश्दीले (आक्रमणकारीसँगको काल्पनिक संवादको प्रकरणलाई एकछिनका लागि बिर्सने हो भने) संस्मरणमा तटस्थ शैली अपनाएका छन् । आक्रमणपछि आफ्नो शरीर र मनले गरेको अनुभवको विवरण प्रस्तुत गर्ने क्रममा रुश्दीले आफ्ना भाव र घटनाक्रमका विषयमा आफ्नो सोचको यथार्थ वर्णन गरेका छन् । यस्तो त्रासद क्षणमा समेत हास्यचेत सहितको (उपचार गर्ने डाक्टरहरूलाई दिएको नाम) साहित्यिक कला उपयोग गर्दै सुस्पष्ट रूपमा आघात, पीडा र पुनरुत्थानको वर्णन गर्न सक्ने रुश्दीको क्षमता स्तुत्य छ ।
वास्तवमा यो पुस्तक रुश्दीमाथिको हिंसामा मात्र केन्द्रित छैन । यो त रुश्दीले अनुभव गरेको प्रेमको मीठो दस्तावेज हो । एउटा पूरा अध्यायमा उनले कवयित्री ग्रिफिथ्ससँगको साक्षात्कार, प्रेम र विवाहको वर्णन गरेका छन् । ग्रिफिथ्सको निरन्तर सेवाका कारण आफूलाई तंग्रिन सजिलो भएको उनले उल्लेख गरेका छन् । त्यस्तै उनलाई भेट्न आएका छोराहरूको प्रेमले पनि बाँच्ने हौसला प्रदान गरेको भनी रुश्दीले गरेको वर्णन मर्मस्पर्शी छ ।
पारिवारिक स्तरको यो प्रेमसँगै विश्वभरका लेखक कलाकारहरूले आफ्नो स्वास्थ्यलाभको कामना गर्दै पठाएका भावुक सन्देशहरूको उल्लेख रुश्दीले गरेका छन् । सद्भावका ती शब्दहरूले पनि शारीरिक चोटबाट निको हुनका लागि मल्हमको काम गरेको उनको भनाइ छ । मृत्युको समीपमा पुग्दा एक्लोपनको अनुभव हुने भए पनि सहृदयीहरूका प्रेमिल शब्दले आफू एक्लो नरहेको र आफूले बाँचेको जीवन तथा रचेका कृतिहरू व्यर्थ नगएको अनुभव भएको भनी रुश्दीले दिएको अभिव्यक्तिले पाठकलाई भावुक बनाउँछ ।
पुस्तकमा रुश्दीले वाक् स्वतन्त्रताको पक्षमा आफ्नो अथक लडाइँको वर्णन गरेका छन् । कलाले पुरातनपन्थलाई चुनौती दिन्छ भन्ने रुश्दीले तार्किकता तथा वैयक्तिक स्वतन्त्रताले सामाजिक वा धार्मिक बन्देजलाई सदैव परास्त गर्ने उद्घोष गरेका छन् ।
धर्मलाई समेत तार्किकताको कसीमा राखेर हेर्ने र त्यसमा भएका विकृतिको निर्मम समीक्षा गर्ने रुश्दीको अडानले पश्चिमको इन्लाइटनमेन्ट सोचप्रणालीको प्रतिनिधित्व गर्दछ । क्रिश्चियन पुरातनपन्थमाथिको इन्लाइटनमेन्ट प्रहारका कारण उक्त धर्ममा विद्यमान कट्टरतामा ह्रास आएको देखिन्छ तर इस्लामी कट्टरतालाई न्यूनीकरण गर्न अझै लामो संघर्ष गर्नुपर्ने देखिन्छ । रुश्दी (र विगतमा इजिप्टेली उपन्यासकार नागिब महफूज) जस्ता लेखकहरूले त्यस्तो संघर्ष जारी राखेका छन् ।
हुन त निःशस्त्र लेखकमाथि आक्रमण गरी कट्टरपन्थीहरूको नजरमा मातर नायक बन्यो होला । तर रुश्दीले उसलाई (र उसको जस्तो सोच पाल्नेहरूलाई) महत्त्वहीन बनाउनका लागि जम्मा एक शब्द दिएका छन् – ‘ए’ । गधाजस्तो मान्छे अर्थात् एसिनाइन म्यानको छोटो रूप द यास अर्थात् गधा अनि त्यसको पनि छोटो रूप ‘ए’ भनी आक्रमणकारीलाई पुस्तकमा सम्बोधन गरी उनले हिंसालाई सामान्यीकरण गर्ने धार्मिक कट्टरताको धज्जी उडाएका छन् ।
द सेटानिक भर्सेसको जम्मा दुई पृष्ठ पढेर रुश्दीविरुद्ध नकारात्मक धारणा बनाएको आक्रमणकारीसँग रुश्दीले गरेको काल्पनिक संवाद रोचक छ । धर्मान्धताका कारण बुद्धिमा बिर्को लागेको मान्छेले रुश्दीको तार्किकतालाई ग्रहण गर्न नसक्ने भए पनि त्यस्तै किसिमका अन्य युवामा कट्टरताको भाव उत्पन्न नहोस् भन्ने आशयका साथ रुश्दीले गरेको यो संवाद सान्दर्भिक ठहरिन्छ ।
तर अहिलेका युवामा धार्मिक कट्टरता भन्दा पनि सूचना प्रविधिप्रतिको विवेकहीन लगाव खतरनाक रूपमा बढिरहेको तथ्यले रुश्दीलाई चिन्तित बनाएको छ । उनका अनुसार, कट्टरपन्थी इस्लामको साँघुरो सामूहिक चिन्तनको स्थानमा विशाल सामाजिक सञ्जालले एल्गोरिदमको कारागारमा प्रयोगकर्ताहरूलाई राखेर साँघुरो सामूहिक चिन्तन गराइरहेको अवस्था खतरनाक छ । वातावरण विनाश र सामाजिक न्यायमाथिको प्रहारप्रति जागरुक नयाँ पुस्ताले यी विषयको सम्बोधनका लागि उदारवाद अप्रभावकारी रहेको धारणा बनाउन थालेका छन् । फलस्वरूप, पश्चिमी विश्वमा उदारवादविरुद्धको जनमत बढिरहेको छ र यसले लोकतान्त्रिक मूल्यमान्यतालाई जोखिममा पारेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प जस्ता अनुदारवादी नेताहरूको उदय त्यही मोहभंगका कारण भएको रुश्दीले संकेत गरेका छन् ।
‘नाइफ’ आघात र त्यसबाट मुक्ति दिलाउनका लागि साहित्यले खेल्ने भूमिकाको गहन चिन्तन गर्ने सुन्दर कृति हो । घृणाजन्य हिंसालाई कलामार्फत मीठो जवाफ फर्काउने रुश्दीको यो प्रयासले पाठकलाई आनन्ददायी पठनको अवसर दिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।