फ्रेडरिक निच

फ्रेडरिक विल्हेम निचको जन्म अक्टोबर १५, १८४४ मा प्रसिया (वर्तमान जर्मनी) को एउटा सानो गाउँ रोकेन वे लुत्जेनमा भएको थियो । उनको नाम प्रसियाका राजा फ्रेडरिक विल्हेल्म चौथौंको नामबाट राखिएको थियो । जो निच जन्मेको दिन ४९ वर्ष पुगेका थिए । (पछि उनले आफ्नो बीचको नाम विल्हेम लेख्न छोडे)। निचका हजुरबुवा, गोटेल्फ एन्जेलबर्ट निच पनि दार्शनिक नै थिए । सन् १८४९ मा मस्तिष्क रोगबाट उनको बुवाको मृत्यु भयो । त्यो बेला उनी मात्र चार वर्षका थिए ।

स्कूल जाने उमेर पुगेपछि नाउम्बर्गको एक निजी प्रिपरेटरी स्कूलमा भर्ना भए । त्यहाँको पढाइ सकेपछि शुल्फोर्टा स्कूलमा शास्त्रीय शिक्षा अध्ययन गरे । १८६४ मा स्नातक गरेपछि दुई वर्षे सेमेस्टरको लागि बोन विश्वविद्यालयमा भर्ना भए ।

त्यसपछि फेरि लाइपजिग विश्वविद्यालयमा सरुवा भए । जहाँ साहित्य, भाषाविज्ञान र इतिहास सम्बन्धित अध्ययन गरे ।

उनी दार्शनिक आर्थर शोपेनहाउरको लेखनबाट निकै प्रभावित थिए । लाइपजिगमा संगीतकार रिचर्ड वाग्नरसँग मित्रताको शुरुवात गरे । जसको संगीतको उनले निकै प्रशंसा गरे ।

१८६९ मा स्विट्जरल्याण्डको वासेल विश्वविद्यालयमा शास्त्रीय शब्द विज्ञानको प्राध्यापक पद ग्रहण गरे । त्यही समयमा आफ्नो पहिलो पुस्तक, ‘द बर्थ अफ ट्र्याजेडी’ (१८७२) प्रकाशित गरे । स्नायु विकारबाट पीडित भएपछि सन् १८७९ मा वासेल विश्वविद्यालयको प्राध्यापक पदबाट राजीनामा दिए ।

१८८० पछि भने उनी प्राय एकान्तमा बस्न थाले । उनको सबैभन्दा महत्त्वपूर्ण कृतिहरू मध्ये एक, Thus Spok Zarathustra १८८३ र १८८५ को माझमा चार खण्डमा प्रकाशित भएको थियो । त्यसपछि वियोन्ड गड एण्ड एभिल (१८८६ मा प्रकाशित) लगायत अन्य पुस्तकहरू प्रकाशन भए । ‘दस् स्पोक जराथुस्त्र’ उनको सर्वाधिक रुचाइएको पुस्तक हो ।

१८८९ मा इटालीको टुरिनमा मस्तिष्क पक्षघात भयो । जीवनको अन्तिम दशक मानसिक पीडामा बित्यो । उनको पागलपनको कारण अझै पनि अज्ञात छ । इतिहासकारहरूले भने वंशानुगत मस्तिष्क रोग, ट्युमर या केही औषधिको अत्यधिक प्रयोग जस्ता विभिन्न कारणहरूलाई अघि सारेका छन् । ३५ अगस्त १९०० को दिन वाइमरमा उनको मृत्यु भयो ।

जराथुस्त्रको भूमिका

१.

दस स्पोक जराथुस्त्र

जब जराथुस्त्र तीस वर्षका भए, आफ्नो घर छोडेर पहाडमा गए । जहाँ आफ्नो एकान्तको भरपुर आनन्द उठाए । दस वर्षसम्म यसरी नै बसे । यसबाट रत्तिभर थकाइ मानेनन् । अन्ततः एकदिन उनको मन परिवर्तन भयो ।

गुलाबी बिहानको कुरा हो । उनी सूर्यको अगाडि गए । अनि भन्न थाले, ओ महान् तारा ! जसको लागि तिमी चम्किरह्यौ, उनीहरू नै नभएको भए तिम्रो खुशी के हुन्थ्यो हँ !

दश वर्षसम्म तिमी मेरै गुफामा माथि चढिरहेका छौ । यदि म लगायत यो चील र सर्प नभएको भए, तिमी आफ्नो उज्यालो यात्राबाट थकित भइसक्ने थियौ ।

तैपनि हरेक बिहान हामी तिम्रो प्रतीक्षा गर्थ्यौं । तिमीबाट अनन्त प्रकाश लियौं । यसको लागि तिमीलाई आशीर्वाद पनि दियौं ।

ओ तारा ! मह बटुल्दा बटुल्दै थाकेको माहुरीझैँ, म पनि आफ्नै मनदेखि थाकेको छु । अब भने यसलाई ग्रहण गर्न थापिएको हात चाहिन्छ ।

ज्ञानीहरू आफ्नो मूर्खता र गरीवहरू धनमा खुशी नभएसम्म, आफूसँग भएको उपहार सबैलाई दान दिन्छु ।

तसर्थ मैले गहिराइमा झर्नुपर्छ । जसरी तिमी साँझमा झर्छौ । समुद्र पछाडि लुक्छौ र संसारलाई उज्यालो दिन्छौ, खुशीले भरिएको ओ अनन्त तारा !

तिमीझैँ म पनि तल ओर्लनुपर्छ । मानिसहरूले अह्राएझैँ अब तल ओर्लन्छु ।

तसर्थ ओ अनन्त तारा ! शान्त आँखाले मलाई आशीर्वाद देऊ ।

आशीर्वाद देऊ । जुन कचौरा अनन्त प्रकाशले भरिन लागेको छ । पानी सुनौलो रङ लिएर बग्न चाहन्छ । जसले तिम्रो आनन्दको प्रतिबिम्ब सबैतिर फैलाओस् !

ओ तारा ! यो कचौरा फेरि आफैँ खाली हुँदैछ । जराथुस्त्र महान् चेतना बन्न जाँदैछ ।

यसरी जराथुस्त्रको यात्रा सुरु भयो ।

२.

जराथुस्त्र एक्लै पहाडबाट ओर्लिए । उनलाई बाटोमा कसैले भेटेन । जङ्गल पस्दा अचानक एक वृद्ध मानिस उनी सामु उभियो । जसले भोक र बिरामीको कारण आफ्नो यात्रा रोकेको थियो । अन्ततः उसले जराथुस्त्रलाई भन्यो:

“मेरो लागि यहाँ कोही अपरिचित छैन । धेरै वर्ष पहिले ऊ यतैबाट गएको थियो । उसलाई जराथुस्त्र भन्छन् । तर अहिले ऊ निकै परिवर्तन भएको छ ।

त्यस बेला तिमीले आफ्नो खरानीलाई पहाडतिर लगेका थियौ । के अब आफ्नो आगोलाई बेंसीहरूमा लैजान सक्छौ ? के तिमीलाई आगलागीले निम्त्याउने विनाशको डर लाग्दैन ?

हो, म जराथुस्त्रलाई चिन्छु । उसको आँखा शुद्ध छ । उसको मनमा कुनै घृणा लुकेको छैन । के ऊ नतर्कको साथमा नाच्दैन ?

परिवर्तन नै जराथुस्त्र हो । एउटा बालक जराथुस्त्र भएको छ । जागेको व्यक्ति जराथुस्त्र हो । निद्रालुहरूको देशमा तिमी के गर्न सक्छौ र ?

जसरी तिमी समुद्रको एकान्तमा बसेका छौ, त्यसले तिमीलाई जगाएको छ । के तिमी अब किनारमा जान सक्छौ ? के आफ्नो शरीरलाई फेरि जबर्जस्ती घिसार्छौ ?”

जराथुस्त्रले जवाफ दिए: “म मानवजातिलाई प्रेम गर्छु ।”

“किन ?” बूढोले सोध्यो, “के म जंगल र मरुभूमिमा गइनँ । त्यसो गर्नु मैले मानिसहरूलाई निकै प्रेम गरेकोले होइन र ?

अब म ईश्वरलाई प्रेम गर्छु । मानिसहरूलाई प्रेम गर्दिनँ । मानिस मेरो लागि निकै अपूर्ण वस्तु हो । मानिसको प्रेम मेरो लागि घातक हुनेछ ।”

जराथुस्त्रले जवाफ दिए: “मैले प्रेमको बारेमा के भनेको छु र ! बरू मानिसहरूका लागि उपहार ल्याएर आएको छु ।”

“उनीहरूलाई केही नदिनू,” बूढोले भन्यो, “बरू उनीहरूको दुःखको एक भाग लिनू । उनीहरूलाई साथमा लैजानू । यो नै उनीहरूको लागि चित्तबुझ्दो काम हो । यदि तिमीलाई यो काम मनपर्छ भने !

यदि उनीहरूलाई केही दिन्छौ भने, भिक्षा बाहेक अरू नदिनू । जुन भिक्षा जत्तिकै थोरै होस् । उनीहरूलाई यो माग्न प्रेरित गर ।

जराथुस्त्रले भने: “अहँ ! म केही दान गर्दिनँ । तैपनि म गरीव भने छुइनँ ।”

यो सुनेर बूढो हाँस्यो । अनि भन्यो: “त्यसो भए के उनीहरूले तिम्रो खजाना स्वीकार गर्लान् ! उनीहरू भिक्षुप्रति अविश्वासी छन् । हामी उपहार लिएर आएका छौं भन्नेमा उनीहरू विश्वास गर्दैनन् ।

हाम्रो पाइलाको आवाज उनीहरूको गल्लीहरूमा धेरै दिनदेखि खाली छ, जसरी रातमा बाटो सुनसान हुन्छ । जब उनीहरू ओछ्यानमा हुन्छन्, बाटोले सूर्योदय हुनुअगावै परदेशीको आवाज सुन्छ । तसर्थ उनीहरूले हाम्रो बारेमा आफैलाई सोध्छन्: त्यो चोर कहाँ गयो ?

मानिसहरूको बस्तीमा नजाऊ । बरू जंगलमै बस ! जीवजन्तुको साथमा जाऊ ! जस्तो कि, भालुहरूका बीचमा भालु, चराहरूका बीचमा चरा !”

“अनि जंगलमा तिमी के गर्छौ ?” जराथुस्त्रले सोधे ।

बूढोले जवाफ दियो: “म भजन सृजना गर्छु र गाउँछु । भजन गाउँदा हाँस्छु, रुन्छु र गुनगुनाउँछु । यसरी नै ईश्वरको प्रशंसा गर्छु ।

भजन गाउँदै, रुँदै, हाँस्दै र गनगन गरेर मेरो ईश्वरको स्तुति गाउँछु । तर हामीलाई उपहारको रूपमा के दिन्छौ ?”

जब जराथुस्त्रले यो कुरा सुने, बूढोलाई प्रणाम गरे र भने: “मैले तिमीलाई के दिनुपर्छ ? बरू मलाई देऊ । नत्र मैले तिमीबाट केही खोस्नेछु…!”

अन्ततः यसरी उनीहरू एक अर्काबाट अलग भए । स्कूले हुलका केटाकेटीझैँ हाँस्दै आफ्नो बाटो लागे ।

जब जराथुस्त्र एक्लै भए, आफ्नो हृदयलाई भने: “के यो कुरा सम्भव हुन सक्ला ! त्यो बूढोले अहिलेसम्म यो सुनेको छैन कि ईश्वर मरिसकेको छ !”

३.

जब जराथुस्त्र जंगल छेउको शहर पुगे, बजारमा धेरै मानिसहरू भेला भएको देखे । जहाँ सर्कसमा एउटा नतर्क डोरीमा नाच्दै थियो । जराथुस्त्रले उनीहरूलाई यसो भने:

“म तिमीहरूलाई महामानव बन्न सिकाउँछु । मानिस हुनु भनेको रूपान्तरण हुनु हो । मानिसलाई उछिनेर केही गर्न सकेका छौ ?

अहिलेसम्मका सबै प्राणीले आफूलाई रूपान्तरण गर्न सकेका छन् ? अन्ततः तिमी त्यो अनन्त ज्वारभाटा बन्न चाहन्छौ । तर विडम्बना ! मानिसलाई उछिन्नुको सट्टा किन सामान्य जनावर बन्न चाहन्छौ ?

मानिसको लागि बाँदर के हो ?

हाँसो या लाजको पात्र । हैन र ? महामानवको जगतमा पनि तिमी त्यस्तै छौ । जसरी तिमी बाँदरलाई देखेर हाँस्छौ, उसलाई खिसी गर्छौ त्यसरी नै महामानव तिमीलाई देखेर हाँस्छन् । खिसी गर्छन् ।

तिमी कीराबाट मानिस भएका छौ । आफ्नो बाटो बनाएका छौ । तैपनि तिमीभित्र अझै धेरै कीरा छन् । कुनै समय तिमीहरू बाँदर थियौ । अझै पनि मानिस बाँदरभन्दा माथि उठ्न सकेको छैन । अहिले पनि तिमीहरू बाँदर नै हौ ।

तिमीहरूमध्ये सबैभन्दा बुद्धिमानी पनि बिरुवा र कीराको असमानता या ठिमाहा मात्रै हो । तर के तिमीलाई कीरा वा बिरुवा बन्न भनी आग्रह गर्न सक्छु ?

हेर, म तिमीलाई महामानव बन्न सिकाउँछु !

महामानव पृथ्वीको अर्थ हो । तिम्रो इच्छा भन्न देऊ । महामानव पृथ्वीको अर्थ हुनेछ !

म तिमीलाई विश्वास गर्छु । मेरा साथीहरू हो ! पृथ्वीमा तिमीहरू सत्यको साथमा रह । तिमीहरूसामु महामानवको आशा जगाउनेहरूलाई विश्वास गर ।

जीवनको तिरस्कार गर्नेहरू तिनीहरू हुन्, जो सडिरहेका छन् । आफ्नै विषले भरिएकाहरू हुन् । जसबाट पृथ्वी थाकेको छ । जो तिनीहरूबाट टाढा जान चाहेको छ ।

एक पटक ईश्वरको निन्दा चरम चुलीमा पुगेको थियो । तसर्थ ईश्वरको मृत्यु भयो । त्यसै गरी ती निन्दा गर्नेहरू पनि मरे । पृथ्वीको निन्दा गर्नु सबैभन्दा भयानक पाप हो । नजानेको हृदयलाई पृथ्वीको भन्दा बढ्ता मूल्याङ्कन नगर्नू !

एक पटक आत्माले शरीरलाई घृणित नजरले हेर्‍यो । त्यसपछि त्यो घृणा नै मुख्य शत्रु बन्यो । जसको सहयोगमा आत्माले शरीरलाई क्षुद्र, भयावह र भोकको विल्ला भिरायो । अन्ततः शरीरले पृथ्वीबाट पन्छिने बाटो खोजेको थियो ।

अहो ! त्यो आत्मा आफैमा कमजोर, डरलाग्दो र भोकले ग्रस्त थियो । क्रूरता नै आत्माको आनन्द थियो ।

मेरो प्यारा साथीहरू ! मलाई भन, तिम्रो शरीरले तिम्रो आत्माको बारेमा के भन्छ ? के तिम्रो आत्मामा गरीबी, प्रदूषण र नीच भावना छैन ?

साँच्चै ! प्रदूषित धारा नै मानिस हो । अपवित्र नभई प्रदूषित धारा ग्रहण गर्नको निम्ति सागर हुनुपर्छ ।

हेर, तिमीहरूलाई महामानव बन्न सिकाउँछु । ऊ त्यो समुद्र हो, उसमा तिम्रो अनन्त घृणा डुब्न सक्छ ।

तिमीले अनुभव गर्न सक्ने सबैभन्दा महान् कुरा के हो ? त्यो महा अपमानको घडी हो । त्यो घडी ! जसमा आफ्नै खुशी पनि तिम्रा लागि घृणा हुन्छ । तर्क र सद्गुण पनि ।

त्यो घडीमा जब तिमी भन्छौ, “मेरो खुशी के साँच्चै असल छ ! यो गरीबी, प्रदूषण र निराशाजनक आत्मसन्तुष्टिले भरिएको छैन ! तर मेरो खुशीले अस्तित्वलाई औचित्य दिनुपर्दैन ?”

त्यो घडी ! जब तिमी भन्छौ, “मेरो कारण के असल भएको छ ? के आफ्नो भोजनको लागि सिंहको रूप लिएर ज्ञान लिन चाहन्छौ ? यो गरीबी, प्रदूषण र निराशाजनक आत्मसन्तुष्टि हैन ?”

त्यो घडी ! जब तिमी भन्छौ, “के मसँग सद्गुण छ ? अहिलेसम्म यसले मलाई भावुक बनाएको छैन ? आफ्नै असल र खराबीमा कति थाकेको छु ? के यी सबै गरीबी, प्रदूषण र निराशाजनक आत्मसन्तुष्टि होइन ?”

त्यो घडी ! जब तिमी भन्छौ “मेरो न्याय कतिको उचित छ ? म देख्दिनँ कि म जोश र ईन्धन हुँ । के न्याय नै जोश र ईन्धन हो ?”

त्यो घडी ! जब हामी भन्छौं, “मेरो दया कतिको उचित छ ! के क्रुसमा दया छैन ? जसमा आफूलाई प्रेम गर्नेहरू झुण्डिएका छैनन् ? के मेरो दयाले क्रूसमा झुण्ड्याएर कसैको हत्या गरेको छैन ?”

के तिमीले कहिल्यै यसरी बोलेका छौ ? के तिमी यसरी रोएका छौ ? अहो ! तिमी यसरी रोएको मैले सुन्न पाए के होला ?

यो तिम्रो पाप होइन ? यो तिम्रो आत्म-सन्तुष्टि हो । जसले स्वर्ग पुकार्छ । तिम्रो पापले निकै संयमतासाथ स्वर्ग पुकार्छ ।

जिब्रोले चाट्ने विद्युतीय ऊर्जा कहाँ छ ? तिमीलाई पिलाउनुपर्ने उन्माद कहाँ छ ?

हेर, म तिमीलाई महामानव बनाउँछु । ऊ त्यही बिजुली हो । ऊ त्यही उन्माद हो ।

जराथुस्त्रले यसरी बोलिसकेपछि एक जना मानिसले नजिकै बोलायो । अनि भन्यो, “हामीले डोरीमा नाच्ने नर्तकको बारेमा पर्याप्त सुनेका छौं । अब उसलाई हेर्ने समय आएको छ ।”

अन्ततः जराथुस्त्रलाई देखेर सबै मानिसहरू हाँसे । नर्तक ! जसले उक्त शब्दहरू आफूमा लागू हुन्छ भन्ने सोचेको थियो । उनको प्रदर्शन शुरू भयो ।

४.

तर, जरथुस्त्रले मानिसहरूलाई हेरे र आश्चर्यचकित भए । त्यसपछि यसरी बोले:

मानिस जनावर र महामानवको बीचमा तानिएको डोरी हो । भयानक खाडलमाथिको डोरी । एक खतरनाक बाटो हो । जहाँ निर्धक्क भएर पछाडि हेर्न सकिँदैन । जहाँ हेर्दा थरथर काँप्न बाहेक अर्थोक केही गर्न सकिन्न ।

मानिसमा एउटा महान् चीज हो । ऊ एउटा अनन्त पुल हो । तर लक्ष्य होइन । मानिसमा अनन्त यात्रा छ । त्यसैले ऊ तल झर्दैछ ।

म ती मानिसहरूलाई प्रेम गर्छु । जो तल जान बाहेक कसरी बाँच्ने ? यो जान्दैनन् । किनकि, तिनीहरू टाढाका यात्री हुन् ।

म घृणाका महान् पुजारीहरूलाई प्रेम गर्छु । तिनीहरू महान् आराधकहरू हुन् । अर्को किनारको निमित्त लालसाका तीरहरू हुन् ।

म तिनीहरूलाई प्रेम गर्छु, जो ताराको संसार भन्दा बाहिर जान र बलिदान हुनको लागि कारण खोज्दैनन् । तैपनि आफूलाई भने पृथ्वीको लागि बलिदान दिन्छन् । ताकि त्यसपछि मात्रै महामानव पृथ्वीमा आउन सक्छन् ।

म उसलाई प्रेम गर्छु, जो जान्नको लागि बाँच्दछ । महामानव भएपछि बाँच्नुको कारण जान्न चाहन्छ । यसरी उसले आफ्नो पतनको बाटो खोज्छ ।

म उसलाई प्रेम गर्छु, जसले परिश्रम र आविष्कार गर्छ । ताकि उसले महामानवको लागि घर निर्माण गरोस् । उसको लागि माटो, पशुपंक्षी र बोटबिरुवा तयार गरोस् । किनकि, उसले त्यो आफ्नै धरतीमा खोज्छ ।

म उसलाई प्रेम गर्छु, जसले उसको सद्गुणलाई प्रेम गर्छ । सद्गुण पतनको बाटो लाग्ने इच्छा हो । लालसाको तीर हो ।

म उसलाई प्रेम गर्छु, जसले आफ्नो लागि आत्माको कुनै अंश राख्दैन । तैपनि पूर्ण रूपमा आफ्नो सद्गुणको आत्मा बन्न चाहन्छ । यसरी नै पुलमाथि आत्माको रूप लिएर हिंड्छ ।

म उसलाई प्रेम गर्छु, जसले सद्गुणलाई आफ्नो झुकाव र गन्तव्य बनाउँछ । यसरी नै आफ्नो सद्गुणको खातिर, ऊ बाँच्न वा बचाउन इच्छुक हुन्छ ।

म उसलाई प्रेम गर्छु, जो धेरै गुण चाहँदैन । एउटा सद्गुण दुई भन्दा निकै धेरै सद्गुण हो । तर कसैको भाग्यमा टासिदिनु भनेको उसको जीवनलाई गाँठो बनाइदिनु हो ।

म उसलाई प्रेम गर्छु, जसको आत्मा अनन्त छ । जसलाई कुनै धन्यवाद चाहँदैन र फिर्ता पनि लिदैन । किनकि, उसले सधैं दिन्छ । आफ्नो लागि राख्न चाहँदैन ।

म उसलाई प्रेम गर्छु, जसलाई आफ्नो पक्षमा पासा पर्दा लाज लाग्छ र सोध्छ, “के म बेइमानी खेलाडी हुँ ?” किनकी ऊ आत्मसमर्पण गर्न तयार छ ।

म उसलाई प्रेम गर्छु, जसले आफ्नो कामको अगाडि सुनौलो शब्दहरूको वर्षा गराउँछ । हरेक दिन गरेको वाचा भन्दा बढि गर्छ । किनकि, ऊ आफ्नै पतनको बाटो खोज्न चाहन्छ ।

म उसलाई प्रेम गर्छु, जो भविष्यलाई उचित ठान्छ । विगतलाई छुटकारा दिन्छ । वर्तमानको चपेटामा पर्न ऊ तयारी अवस्थामा छ ।

म उसलाई प्रेम गर्छु, जसले आफ्नो ईश्वरलाई सजाय दिन्छ । ऊ आफ्नो ईश्वरलाई प्रेम गर्छ । किनकि, उसले आफ्नो ईश्वरको क्रोधसँग सामना गर्नुपर्छ ।

म उसलाई प्रेम गर्छु, जसको आत्मामा गहिरो घाउ भएको छ । त्यही घाउको कारण उसको मृत्यु हुन सक्छ । यसरी नै स्वेच्छाले ऊ अनन्त यात्रामा जान्छ ।

म उसलाई प्रेम गर्छु, जसको आत्मा यति धेरै भरिएको छ कि, उसले आफैलाई बिर्सन्छ । तैपनि सबै चीजहरू उसैमा छन् । यसरी सबै चीजहरू उसको सामुन्य भएर जान्छ ।

म उसलाई प्रेम गर्छु, जो स्वतन्त्र आत्मा र हृदयले भरिएको छ । उसको शिर, मात्र उसको हृदयको आन्द्रा हो । तथापि, उसको हृदयले उसको विनास गराउँछ ।

म सबैलाई प्रेम गर्छु, जो मानिसमाथि झर्ने कालो बादलझैं एक-एक गरी झर्ने थोपाझैं छन् । उनीहरूले बिजुलीको आगमनको घोषणा गर्छन् र घोषणाकर्ताकै रूपमा झुन्डिन्छन् ।

हेर, म बिजुलीको सूचना हुँ । बादलबाट झर्ने ठूलो थोपा हुँ । बिजुली हुँ । महामानव हुँ ।