भारत पंजाबका द्वारका भारती जिन्दगीका आवाश्यकता परिपूर्ति गर्न जुत्ता सिलाउने आफ्नो पुर्खौली पेशामा रमाउँछ्न् । आफ्नो अस्तित्व, परिचय, आवाज र समाजप्रतिको आफ्नो जिम्मेवारी बहन गर्न साहित्य रचना गर्छन् । उनी पंजाबी भाषाका सुप्रसिद्ध लेखक तथा कवि हुन् । दलित साहित्य आन्दोलनमा सक्रिय छन् । उनको उपन्यास `मोची- एक मोचीका अदबी जिन्दगीनामा´ र कवितासङ्ग्रह `आजका एकलव्य´ चर्चित छन् ।

द्वारका भारती

औपचारिक शिक्षा १२ सम्मको मात्रै भएपनि उनलाई विभिन्न विश्वविद्यालयबाट प्रवचनको लागि निमन्त्रणा आइरहन्छन्/गइरहन्छन् । उनी कुशल अनुवादक पनि हुन् । यिनको कवितासङ्ग्रह `एकलव्यको ´ एमएको पाठ्यपुस्तकमा समाविष्ट छ । यिनले लेखेको उपन्यासमा`मोची´ मा थुप्रै सोध भएका छन् ।

१२ कक्षासम्मको अध्यन सक्याएर उनी आफ्नै गाउँ फर्किए । बाउबाजेको पेशा जुत्ता सिलाउने काम सुरू गरे । साहित्यमा बच्चैदेखि प्रभावित थिए । डा. सुरेन्द्र अज्ञातको क्रान्तिकारी लेखनबाट अत्याधिक आलर्षित थिए । उपन्यास `जुँठन´ लाई पंजाबीमा अनुवाद गरे । उपन्यास सर्वाधिक विक्री हुने पुस्तकको सूचिमा सुंचाकित हुन पुग्यो । अनुवादको साथसाथै उनले आफ्ना मौलिक सिर्जनाहरूमा पनि कलम चलाउँदै गए । दलित दर्शन, हिन्दुत्वका दुर्ग जस्ता पुस्तक पनि लेखे । उनी कविता, निबन्ध र कथामा पनि राम्रोसँग जमे ।

उनी भन्छन,`आजपनि समाजमा भाडा माझ्ने, जुत्ता सिलाउने जस्ता कामलाई हीनताबोधको दृष्टिकोणले हेरिन्छ । जसले नकारात्मक सोचलाई दर्साउँछ । मान्छे महान उसको पेशाले होइन कर्मले हुन्छ ।´

यिनलाई बेलाबेला मान्छेहरू यति प्रसिद्ध लेखक भएर अब जुत्ता सिलाउने जस्तो सानो काम के गरिरहेको ? भनेर सुनाउने गर्छन् । उनी त्यसको प्रतिकारमा कामको सानोठूलो तहमा वर्गीकरण नहुने र जुन कामले परिवारको पालनपोषण भएको छ त्यो कहिल्यै कमसल काम हुन्न भन्ने तर्क गर्छन् ।

सुभाषनगरमा उनको जुत्ता पसल छ । उनको दोकान प्राय ग्राहकभन्दा बढी, कवि, लेखक, सरकारी अधिकारी तथा शुभचिन्तकले घेरिएको हुन्छ ।

उनी फुर्सदमा भारतीय दर्शन, काल मार्क्स लगायत पस्चिमा र ल्याटिन अमेरिकाका साहित्य अध्यन गर्न रुचि राख्छन् ।

उनका केही अनूदित कविता प्रस्तुत छ :

°°°

जात

मलाई नभन्नू –
तँलाई ठूलो मान्छे बनाइदिन्छु
कसैँको बुई चढाएर शिखरमा पुर्‍याइदिन्छु
कुनै भव्य शहरको अग्लो घर तेरो नाम गरिदिन्छु
सम्पत्तिको थुप्रोमा तेरो ओछ्यान लगाइदिन्छु

यदि केही गर्न नै सक्छौ भने
मेरो अवस्था हेर

मात्र यति गरिदेऊ
सदियौंदेखि मसँग टासिएको
मेरो जात मेटाइदेऊ !

°°°

उदास कविता

म चाहन्छु
एउटा उदास कविता लेखूँ ( माफ गर्नुहोला वाजपेयी शैलीमा होइन)

आगो ओकल्ने कविता
दृष्टिविहीनको प्रकाशको कविता

तिनीहरूका लागि जसले कविताको अर्थ बुझ्दैनन्
तर उनीहरूको जिन्दगी कविता जस्तै हुन्छ
एउटा लामो कविता, अधिक उदास कविता, निराशावादी कविता
वरफ जस्तै चिसो कविता
पहेंलो पात झरे जस्तै
पतझड महसुसको कविता
बालुवा जस्तै तातो कविता
पश्चिमी पवन जस्तै चिसो
मरुभूमिमा उडेका बालुवा जस्तै
मृगतृष्णाको कुवा जस्तै कविता
धूलोको तूफान जसरी उठेको
विजुली जस्तै गड्गडाएको
वृक्ष जस्तै अटल
पत्थर जस्तै स्थिर
शब्दमा घुलमिल भएको कविता
आँखाबाट बगेको कविता
कुनै नाङ्गो पहाडमा उम्रेको
काँडाको झाडी जस्तै कविता

धेरै दिनदेखि चाहिरहेको छु
लेखूँ यस्तै उदास कविता

°°°
आजको एकलव्य

ए ! महाभारतका द्रोणाचार्य
तिमीले आज पुनः गुरू दक्षिणाको प्रपञ्च रचेका छौ
तर म आजको एकलव्य हुँ
पौराणिक कालको होइन ।

तिम्रो नसानसासँग परिचित छु
तिमी आजसमा महिमा मण्डित यसकारण छौ कि
गुरु दक्षिणाको साहारा लिएर
त्यो अबोध बालकको औंला काट्न लगायौ
जसको उद्धेश्य थियो
तिम्रा पक्षमा भएका घोडाहरूलाई
कसैले पनि माटो सुँघाइ नदियोस्
तिम्रो तेज सदाका लागि मलिन नहोस्

मैले तिम्रो चातुर्यलाई बुझिसकेको छु
हिजो जस्तै आज पनि मेरो कर्मठ औंला
तिम्रा आँखाका निसानामा छ
तिम्रो सर्प दृष्टि मैले आजसम्म भुलेको छैन
त्यसबेलाको तिम्रो विषालु मुस्कान
अझैसम्म मेरो छातीमा गडेको छ

म यसकुरामा जानकार छु कि
जब मेरा कर्मठ औंला
तिम्रो हातमा हुनेछ
इतिहासको वीरहरूका सूचिमा म हुनेछैन
मेरा हरेक कलाकृति तिम्रो हुनेछ
शरीर मेरो जल्नेछ
तिम्रो मुहार चम्कनेछ
अनि म सधैं जसरी
इतिहासको पानामा गधाको सिङ जसरी हराउने छु
तिम्रा महलको जगमा
पुरिएर बस्नेछु सदाका लागि

याद राख
पुनः मूर्ख बन्नेछैन
कथा उस्तै हुनेछ
औंला त्यही हुनेछ
तिम्रो माग पनि उस्तै हुनेछ
गुरु दक्षिणाको पनि अस्वीकार हुनेछैन
गुरु दक्षिणा अवश्य पाउने छौ
तर औंला काटेर होइन
औंला उठाएर !

°°°

प्रस्तुति: जनक कार्की